विप्लपसँग वार्ताको तयारी भइरहेको छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन्। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको बताएका हुन्। 
    
“सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ”, सरकारका प्रवक्ता गुरुङले भने, “वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ।”

उनले  प्रधानमन्त्रीको आह्वानअनुरुप वार्ताको वातावरण अघि बढेको आफूले अनुभूति गर्न पाइरहेको उल्लेख गर्दै भने, “वार्ता सफल होस्, म पुनः शान्तिपूर्ण बाटोमा आउन आह्वान गर्दछु, शान्तिपूर्ण, सकारात्मक दृष्टिकोणबाट मात्र सामाजिक र राजनीतिक रुपान्तरणमा जानुपर्छ ।”

प्रकाशित मिति: : 2021-03-01 21:33:00

प्रतिकृया दिनुहोस्