म्यान्मार सैन्य ‘कू’विरूद्ध ‘ब्ल्यू शर्ट’ प्रदर्शन

The Irrawaddy
The Irrawaddy

म्यान्मार सैन्य हिरासतमा रहेका राजबन्दीको रिहाइ माग गर्दै बुधबारदेखि देशभरि नीलो शर्ट (‘ब्ल्यू शर्ट’) अभियान सुरु भएकाे छ।

बर्मेली–नेपाली साहित्यकार सुधाले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार, सैनिक हिरासतमा रहेका तीन हजारभन्दा बढी प्रजातन्त्रवादी राजबन्दीहरूको पक्षमा ‘ब्ल्यू शर्ट’ प्रदर्शन गरिएको हो। 

सेनाको हिरासतमा रहेका बन्दीहरू सैनिक ‘कू’को विरोध गर्ने क्रममा पक्राउ परेका हुन्। राजबन्दीहरूलाई रिहाई नगरेसम्म हरेक दिन नीलो रंगको शर्ट लगाएर आन्दोलनकारीले ‘कू’को विरोध गर्ने छन्। 

'जुन्ता' विरोधी अभियन्ता, पत्रकार, विद्यार्थीहरूले प्रजातन्त्र पक्षधरलाई नछाडेसम्म उनीहरूको सम्झनामा प्रदर्शन जारी राख्ने बताएका छन्। 

बर्मेली–नेपाली वरिष्ठ साहित्यकार लक्ष्मण न्यौपाने भन्छन्, ‘ब्ल्यू शर्ट एक प्रकारको शान्तिपूर्ण अभियान हो। सडकदेखि सामाजिक सञ्जालसम्म जहाँबाट सकिन्छ ब्ल्यू शर्ट लगाएर आफ्नो हातमा थुनामा रहेका प्रजातन्त्रवादीको नाम लेखेर उनीहरूको मुक्तिको माग गरिन्छ।’

नीलो शर्टले प्रजातन्त्र समर्थक र स्वतन्त्रताको वकालत गर्ने पत्रकार उ विन टिनलाई सम्झना गरेको छ। जो– प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा लाग्दा १९ वर्ष लामो जेल जीवन बिताएका थिए।

पत्रकार टिनले जेलमुक्त भएपछि राजबन्दीहरूको रिहाइको माग गर्दै बाँचुन्जेलसम्म ब्ल्यू शर्ट लगाइरहे। उनको आठ वर्षअघि सोही शर्टसँगै मृत्यु भयो। म्यान्मारका आन्दोलनकारीले अहिले उनै पत्रकार टिनको स्मरण गरिरहेका छन्।

पक्राउ परेका प्रदर्शनकारीहरूको नाम हत्केलामा लेख्दै उनीहरूले तीन औँलाको विरोध जनाउँदै आएका छन्। 

सामाजिक सञ्जालमार्फत् व्यापक बनेको नयाँ शैलीको अभियानमा हिरासतमा रहेका प्रदर्शनकारीको तस्विरहरू छ्याप्छ्याप्ती देखिन्छन्। उनीहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ।

नेशनल लिग फर डेमोक्रेसी पार्टीका नेता–नेतृ, चर्चित मोटरसाइकल अभियन्ता को वा मोई नाईङ–लगायतको रिहाईको लागि आन्दोलनकारीले सक्दो प्रयास थालेका छन्। 

साहित्यकार सुधाले भनिन्, 'अप्रिल २१ राजबन्दीहरूको ‘ब्ल्यू शर्ट’ को दिन हो। प्रजातन्त्रका लागि लड्दै जीवन गुमाउनुहुने आदर्णीय अग्रज पत्रकार उ विन टिनको आठौँ स्मृति दिवश पनि हो। उहाँ प्रजातन्त्रप्राप्तिको आन्दोलनको महानायक हो।'

उनी जेलबाट रिहा भएपछि पनि अन्य राजवन्दीहरू सबै रिहा नहुन्जेलसम्म जेलकै ‘ब्ल्यू शर्ट’मा दैनिक लगाउने प्रतिज्ञा गरेका थिए।

पत्रकार टिनको स्मरण गर्दै 'ब्ल्यू शर्ट' सुरू भएकाे अभियानले नरसंहारकै रूप लिनसक्ने गृहयुद्ध र सैनिककाे बबन्डर रोकेर राजबन्दीलाई शर्तबिना रिहाई गर्नुपर्ने माग अघि सारेकाे साहित्यकार सुधाले बताइन्।



मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ 

म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए 

सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना



 

प्रकाशित मिति: : 2021-04-22 19:03:00

प्रतिकृया दिनुहोस्