नेपालगन्जः जहाँ एक संक्रमित मरेपछि बल्ल अर्काे सक्रंंमितले बेड पाउँछ 

महेश नेपाली

नेपालगञ्ज

बाँकेमा बिहिवार मात्र १२ जाना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

भेरी अस्पतालका चारवटै आइसाेलेसन वार्ड संक्रमितले खचाखच भरिएका छन्। बेड नपुगेर काेलियामा समेत राखेर संक्रमितकाे उपचार भइरहेकाे छ।

मृत्य भएका संक्रमित आइसाेलेसनबाट बाहिर निकालिएपछि काेलियामा राखेका संक्रमितले बेड पाइरहेकाे भेरी अस्पतालकी काेभिड वार्डमा कार्यरत सिनियर नर्स शारदा चाैधरीले बताइन्।

बाँकेकाे स्थिति भयावह छ। स्वास्थ्यकर्मी थकित छन्। अधिकांश बिरामीकाे अवस्था गम्भीर छ। यस्ताे अवस्थामा पनि स्वास्थ्यकर्मीहरु नथाकिकन ड्युटी गरिरहेका छन्।

बिएल नेपाली सेवासँग सिनियर नर्स चाैधरीले लामाे सास तान्दै भनिन्, 'अक्सिजन अभाव छ। अवस्था सुधाराेन्मुख छैन। प्रायः बिरामीहरु निकै ढिलाे उपचार गराउन आउनुहुन्छ,' उनले भनिन्, 'त्यतिबेला शरिरमा अक्सिजनकाे मात्रा निकै कम भइसकेकाे हुन्छ। बाँकेमा अक्सिजनकाे साह्रै अभाव छ।'

उनका अनुसार शरीरमा अक्सिजनकाे मात्र ९२ प्रतिशतभन्दा बढी हुनुपर्छ तर कतिपय काेभिड संक्रमितकाे शरीरमा अक्सिजनकाे मात्र घटेर ३५ सम्म पुगेकाे हुन्छ। ती बिरामीलाई निकाे बनाएर घर फर्काउन लगभग असम्भव नै हुन्छ। भेन्टिलेटरमा राखेकाे संक्रमितकाे चान्स त लगभग शुन्य दशमलव एक प्रतिशत मात्र हुन्छ। उनले थपिन्, 'याे भनेकाे त भगवान् भराेसा हाे।'



नेपालगन्ज जाँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोली 



सक्रमितकाे संख्या दिनानुदिन बढिरहेकाे छ। मर्नेकाे संख्या पनि कम छैन। तर मर्नेभन्दा बढी संक्रमित हुने र सिरियस हुनेहरु छन्। जसका कारण अस्पतालसम्म पुगेका संक्रमितहरु बेड नपाएर फर्किनु परेकाे छ।

बुधबार बाँकेकाे बैजनाथ गाउँपालिका चिसापानीकी एक काेराेना संक्रमित महिलालाई अस्पतालले भर्ना लिन नमानेपछि नेपालगन्ज शिक्षण अस्पतालबाट रुँदै घर फर्किएकी थिइन्।

टाउकाेमा सेतो रुमाल बाँधेकी ती महिला अस्पतालको ढोकामा थुचुक्क बसेका फाेटाे सामाजिक सञ्जालमा देखिएकाे छ। नेपालगन्जको चर्को गर्मीमा पसिना पुछ्दै आँखाभरि आँसु लिएर अस्पतालमा भर्ना हुने आशामा उनले दिन बिताएकाे खबर सार्वजनिक भएका छन्।

उनलाई सास फेर्न गाह्रो हुँदा पनि अस्पतालमा बेड अभाव भएपछि भर्ना हुन सकिनन् र रुँदै घर फर्किनु पर्‍याे।

बेड र अक्सिजन अभाव भएपछि बाँकेका अस्पतालहरु संक्रमितलाई घर फर्काउन बाध्य छन्। शिक्षण अस्पताल कोहलपुरबाट दैनिक दुई-तीन जना संक्रमित भर्ना नपाएर फर्किने गरेको अस्पतालका चिकित्सक डा. देवेन्द्र आचार्यले बताए। उनका अनुसार कतिपय भर्ना भएका बिरामीका आफन्तले आफ्नै प्रयासमा अक्सिजन जोहो गरिरहेका छन्।

'अस्पतालमा बेड थपिए पनि अक्सिजन चाहिएजति नहुँदा बिरामी फर्काउन बाध्य भएका छाैं,' उनले सुनाए, 'सिकिस्त बिरामी आउँदा पनि अक्सिजन अभाव छ। त्यसैले भर्ना लिन सकिरहेका छैनाैं। लाचार भएर फर्काउनु बाहेक विकल्प नै छैन।'



काेराेना उपचारकाे बाहनामा चर्काे रकम असुल्ने ह्याम्स र केएमसीलाई सरकारको चेतावनी



महामारीकाे सबैभन्दा ठुलाे मार खेपिरहेकाे बाँकेमा अस्पतालसम्म आएका बिरामीलाई स्रोत र बेडकाे अभाव देखाएर भर्ना नलिनु अस्पतालको गैरजिम्मेवारीपन भएकाे बाँकेमा बसिरहेका जुम्लाका दिपेश नेपालीले बताए।

'सरकारले बेलैमा स्रोत र साधन उपलब्ध गराउन नसक्नु कमजोरी हो। निजी अस्पतालले व्यवसायमुखी नभई सेवामुखी धारणा पनि राख्न जरुरी छ। तर महामारीको कठिन घडीमा पनि पसल थाप्ने चलनले हामीलाई लज्जित बनाएकाे छ।'

सुरुमा शिक्षण अस्पतालले ३ सय बेड क्षमताको कोभिड अस्पताल बनाउने भनेर सरकारसमक्ष प्रतिबद्धता जनाएको थियो। बेड जडान गरेपछि अक्सिजनको माग गरेको छ। अस्पतालमा बेड व्यवस्थित रुपमा राखिएका छन् भने हाल १ सय २७ जना संक्रमितलाई भर्ना गरेर उपचार पनि भइरहेको छ। नयाँ बिरामी भर्ना गर्नेबित्तिकै अक्सिजन अपुग हुने चिकित्सक आचार्यले बताए।

अस्पतालमा १८ वटा ठूला सिलिन्डर बराबर क्षमता भएको लिक्विड ट्यांकी छ। त्यो ट्यांकीको अक्सिजन खपत भइसकेको अस्पतालका प्रमुख सुरेशकर्ण कनौडियाले बताए। भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन धौ-धौ भइरहेका बेला नयाँ बिरामी थप गर्न नसकिने उनकाे भनाइ छ।

यसले गर्दा अस्पतालमा राखिएका थप नयाँ बेड खाली छन्। नेपालगन्जमा दुईवटा अक्सिजन प्लान्ट छन्। तिनको क्षमता १ हजार १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्नु हो, जसमध्ये ५ सय सिलिन्डर भेरी अस्पतालले खपत गरिरहेको छ। बाँकी २ सय सिलिन्डर शिक्षण अस्पतालले खपत गर्छ।



कर्णालीमा संयमता खाेई ?



नेपालगन्जकाे अक्सिजन प्लान्टले सुर्खेत, धनगढी, दाङ, बर्दिया, टीकापुर, हुम्ला, जुम्लासम्म पुर्‍याउँछ। साथै, होम आइसोलेसनमा बसेका बिरामीले समेत निजी पहलमा अक्सिजनको प्रयोग गरिरहेका छन्। 

डा. कनौडियाका अनुसार भारतबाट लिक्विड अक्सिजन ल्याउन पहल भइरहेको छ। 'सरकारले दुई-तीन दिन समय लगाएर भए पनि आपूर्ति पूरा गरे बिरामी फर्काउनुपर्ने स्थिति आउने छैन', उनले भने। 

एक जना बिरामीलाई मोटामोटी प्रतिदिन दुई-तीन सिलिन्डर आवश्यक पर्छ। शिक्षण अस्पतालले अक्सिजन अभाव भएको जनाउँदै बिरामी फर्काउनुपरेको अवस्थाप्रति प्रशासन गम्भीर देखिँदैन।

अस्पतालले प्रशासनसमक्ष तीन सय बेडको वार्ड सञ्चालन गर्न ५ सय सिलिन्डर अक्सिजन माग गरेको थियो। बेड थप्दैमा उपचार भइहाल्छ भन्ने सोचले गर्दा बिरामी मारमा परेका छन्।

प्रकाशित मिति: : 2021-05-07 10:41:00

प्रतिकृया दिनुहोस्