कोरोनाले प्रभावित भयो ३३ जनाको संसदीय सुनुवाइ

रातोपाटी

काठमाडौं

केपी ओली नेतृत्वको सरकारले नियुक्तिका लागि सिफारिस गरेका ३३ जनाको संसदीय सुनुवाई अन्योलमा परेको छ । संसदीय सुनुवाइ समितिका सभापतिलाई कोरोना संक्रमण भएपछि सुनुवाई अन्योलमा परेको हो । संसदीय सुनुवाइका लागि ११ राजदूत, २१ संवैधानिक अंगका पदाधिकारी र एकजना न्यायपरिषद सदस्यको नाम संसद सचिवालयमा दर्ता भइसकेको छ । 

संघीय संसद सचिवालयमा संसदीय सुनुवाइका लागि न्याय परिषद सदस्य, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायका पदाधिकारीका साथै ११ देशका राजदूतको नाम दर्ता भएको छ ।

सचिवालयमा शुक्रबार न्याय परिषदका सदस्य र आइतबार लोकसेवा आयोगसहितका संवैधानिक निकायका पदाधिकारी र ११ देशका राजदूतका लागि सुनुवाइका लागि पत्र दर्ता भएको प्रवक्ता डा. रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

एमालेको उम्मेद्वार रामबहादुर थापा ‘बादल’ हो, कोही झुक्किनु जरुरी छैन: जीवनराम श्रेष्ठ (अन्तर्वार्ता)

संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्ण कोरोना संक्रमण भएर आइसोलेशनमा बसेका कारण समितिको बैठक बस्न नसकेको उनले जानकारी दिए ।

संघीय संसदका महासचिव भरतराज गौतमसमेत सुनुवाई समितिको सचिव छन् । उनी पनि कोरोना संक्रमित भएपछि उपचारका क्रममा छन् । समितिका सभापति र सचिव नै बिरामी भएका बेला संसदीय सुनुवाइका लागि कहिले उजुरी आह्वान गर्ने, कहिले सुनुवाई सुरु गर्ने भन्नेमा अन्यौल देखिएको छ । 

प्रकाशित मिति: : 2021-05-18 09:27:00

प्रतिकृया दिनुहोस्