विरगञ्जमा वडा अध्यक्षनै लागुऔषधसहित पक्राउ 

पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नं १ का वडाध्यक्ष अम्बिका सहनी अवैध लागुऔषध खैरोहिरोइनसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वडा अध्यक्ष सहनीलाई वीरगंज महानगरपालिका वडा नं १९ बर्वास्थित तिलावे पुलबाट गएराति पक्राउ गरेको हो।

वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट प्रहरीले ७९ ग्राम खैरो हिरोइन बरामद गरेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। त्यसैगरी प्रहरीले सोही वडाका सदस्य बलिष्टर सहनीलाई पनि पक्राउ गरेको छ। उनलाई प्रहरीले वडाध्यक्षसँगै पक्राउ गरेको हो।

प्रहरीले राम आदेश सहनीलाई पनि पक्राउ गरेको छ। उनी बलिष्टरका नातेदार भएको प्रहरीले जनाएको छ। पक्राउ परेका बलिष्टर सहनी पकहा मैनपुर गाउँपालिका वडा नं १ कै वडा सदस्य हुन्।

पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-19 11:15:00

प्रतिकृया दिनुहोस्