प्रदेश सरकारकाे बजेटमा 'ब्रम्हलूट' (भिडियाेसहित)

सिरहाकाे नवराजपुर गाउँपालिकामा विकास निर्माणका लागि प्रदेश सरकारबाट आएकाे बजेटमा ब्रम्हलूट मच्चिएकाे छ।

उपभाेक्ता समितिमार्फत हुने विकास निर्माणकाे बजेट कामै सम्पन्न नगरी समितिमा बसेकाहरूले मिलाेमताेमा लूट मच्याउँदै आएका छन्।

स्थानीय तहसँग समन्वयसमेत नगरी आफूखुशी समिति गठन गरेर प्रदेश सरकारबाट आएकाे बजेट ब्रम्हलूट गरिएकाे जनप्रतिनिधिहरूकाे भनाई छ।

प्रदेश सरकारका अर्थ याेजना तथा यस क्षेत्रका प्रदेश सांसद विजय यादव र समितिका पदाधिकारीहरूकाे मिलाेमताेमा अनियमितता हुँदै आएकाे बताईन्छ।

यी दुईकाे मिलाेमताेमा नवराजपुर-३ काे शहिद रमेश महताे स्कूलमा ५० लाख, थान चाेक गेट निर्माणमा २५ लाख, बरगाछीदेखि सुपहा राेडमा माटाे भर्ने नाममा ५० लाख, जगतपुरकाे बजरंगवली मन्दिर निर्माणमा १० लाख, मुसहरी स्कूलमा ३० लाख र आधारभूत प्रावि जगतपुरमा २५ लाख हिनामिना गरिएकाे छ।

त्यस्तै नवराजपुर- १ मा गेरूवाहा प्रfवि स्कूलकाे ४ काेठे भवन निर्माणमा १० लाख, गेरूवा राम जानकी मन्दिर रकरमनिया मन्दिर निर्माणमा १५ लाख, करमनिया पासवान टाेलमा दलित दलान, भगवतीपुर दलित दलान र भगवतीपुर दिनाभद्री मन्दिर निर्माणमा पनि व्यापक अनियमितता भएकाे जनप्रतिनिधिहरूले बताएका छन्।

वडा नम्बर २ मा पनि प्रदेश सरकारकाे बजेटमा व्यापक अनियमितता भएकाे छ। यस वडाकाे स्कुल निर्माणका नाममा एक कराेड ५० लाख, पुल र महादेव मन्दिर निर्माणमा क्रमश: २२ र ५ लाख अनियमितता भएकाे पाईएकाे हाे।

नवराजपुरकाे वडा नम्बर ४ मा पनि प्रदेश सरकारकाे बजेटमा अनियमितता भएकाे छ। यस वडाकाे सुन्दरपुर प्रावि स्कूलकाे नाममा १५ लाख, सुन्दरपुर नदी तटबन्धमा ५ लाख र  ओमशान्ति भवन नवकाटाेलकाे नाममा करिव १६ लाख अनियमितता भएकाे छ।

त्यस्तै वडा नम्बर ५ काे मेन्हादेखि कुसुण्डीसम्मकाे ग्राभेलमा २० लाख, वजरंगवलि मन्दिर ७ लाख, देवनगर डिहिवर वावाकाे मन्दिरकाे पर्खाल निर्माणमा १० लाख, उपेन्द्र प्रावि कुसुण्डीकाे भवन निर्माणमा १० लाख र सलहेश बाबा सामुदायिक भवन निर्माणमा २५ लाख हिनामिना गरिएकाे पाईएकाे हाे।

नवराजपुर ४ का वडाध्यक्ष मदन यादव भन्छन्, 'प्रदेश सरकारकाे बजेटमा व्यापक अनियमितता भएकाे छ, अख्तियारकाे ध्यान जाओस्।'

वडा नम्बर- १ का दिनेश्वर यादव भन्छन्, 'मेराे वडामा आएकाे प्रदेश सरकारकाे बजेटमा पनि धेरै अनियमितता भएकाे छ।

नवराजपुर वडा नम्बर-२ का अध्यक्ष गाेपालप्रसाद साहले पनि आफ्नाे वडामा आएकाे प्रदेश सरकारकाे बजेटमा व्यापक अनियमितता भएकाे बताएका छन्।

प्रकाशित मिति: : 2021-07-19 16:46:00

प्रतिकृया दिनुहोस्