पहिलो कार्यकालमा देश उज्यालो बनाएका कुलमानले यसपालि के गर्लान् ?

नेपालमा दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ अन्त्य गरेर ‘उज्यालो नेपालका नायक’ को उपमा पाएका व्यक्ति हुन्– ‘कुलमान घिसिङ’। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रुपमा चार वर्षे कार्यकाल पूरा गरी अवकाश पाएका ११ महिनापछि फेरि त्यही जिम्मेवारीमा फर्किएका छन्।

अघिल्लो पटकको कार्यकालमा लोडसेडिङ अन्त्यको अभियानको अगुवाई गरेका थिए– घिसिङले। असंभव भन्ने धेरैलाई उनले लोडसेडिङ अन्त्य गरेर देखाइदिए। नेपाली जनताले सोही जिम्मेवारीमा दोहोरिएको देख्न चाहन्थे तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को तीव्र आकांक्षाभित्र लुकेको स्वार्थ रोक्न कुलमानको पुनर्नियुक्ति गरेनन्। मुखले कुलमानको पक्षमा वकालत गरेको देखिने  तत्कालीन उर्जामन्त्री वर्षमान पुनले पनि दिलदेखि कुलमानको ‘फेवर’ गरेनन्। अनि एक जना सक्षम व्यवस्थापकको छवि बनाएका राजनीति चलखेलको शिकार बने।

घिसिङले यसअघि चारवर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए। उनलाई ओली सरकारले हटाएको भने होइन। तत्कालीन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको नियुक्तिमा बढी नै रुचि देखाए। ओलीले यसलाई अतिरिक्त आकांक्षाका रुपमा बुझे। त्यस कारण तत्कालीन प्रधानमन्त्रीले उनलाई पुनर्नियुक्ति दिएनन्। ओलीकै सिफारिशमा प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका थिए। उनी प्राधिकरणभित्रकै वरिष्ठतम मध्येका एक कर्मचारी थिए।

आम नेपालीले घिसिङलाई प्राधिकरणको निर्देशकमा दोहोरीएको देख्न चाहेपनि त्यसो हुन सकेन्। उनलाई दोहोर्याउन माग राख्दै सडकमा आन्दोलन समेत भएको थियो।

ओली सरकार ढलेर प्रधानमान्त्री शेरबहादुर देउवा नेतृत्वाको सरकार बनेपछि बुधबार घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।

अघिल्लो पटकको कार्यकालमा लोडसेडिङको अन्त्य, विद्युत चुवाटमा कमि तथा घटामा गएको संस्थालाई नाफमा पुर्याएका घिसिङलाई हिजोको मानकलाई उछिन्नुपर्ने चुनौती थपिएको छ। विशेष गरी उनको सफलता अमेरिकी कम्पनी ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’सँग नेपाल सरकारले गरेको एमसीसी सम्झौताको भविष्यसँग जोडिएको छ। घिसिङलाई माओवादीले पुनर्नियुक्त गरे पनि एमसीसीमा राष्ट्रघात भएको आरोप लगाउँदै त्यसलाई संघीय संसद्बाट अनुमोदन गराउन माओवादी बाधक बन्दै आएको छ। 

अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले पनि व्यक्तिगत जीवनकै लागि यो सबै भन्दा ठूलो चुनौती भएको स्वीकार गरेका छन्। विशेष गरी उत्पादित विजुली उपभोक्तासम्म पुर्याउन आवश्यक पर्ने ट्रान्समिशन लाइन निर्माण नै प्राधिकरणको मुख्य कार्यकारीमा उनको दोस्रो ‘इनिङ’को चुनौती हो।

तर, चुनौतीको सामना गर्न आफूमा जोश, जागर रहेकोले काँधमा काँध मिलाएर अगाडि बढ्न सकेमा विगतको भन्दा पनि ठूलो सफलता पाउन सकिने उलने दावी समेत गरेका छन्। 

हुन पनि घिसिङ जीवनमा यस्ता धेरै चुनौतीको सामना गरिसकेका छन्। उनी कडा मिहिनेत गर्ने व्यक्ति हुन्। 

वि.सं. २०२७ मंसिर १० गते रामेछाप जिल्लााको हालको सुनापति गाउँपालिकाको बेथानमा उनको जन्म भएको थियो। दुर्गम क्षेत्रको मध्यम परिवारमा जन्मिएका उनको बाल्यकाल यति सहज थिएन। काठमाडौंबाट नजिक भएका कारण उनी प्रथामिक शिक्षा पूरा गरेर दाजुहरुको साथमा राजधानी छिरे। 

उनले पहिलो पटक काठमाडौं आएपछि बिजुली देखेका थिए। विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले ‘कसम’ खाए मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु। अहिले उनले बेथानमा बिजुली बलिसकेको छ। बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेकाछन घिसिङ। 

काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए। कुलमान त्यहाँ पनि प्रथम नै भए। तर, ‘फस्र्ट ब्वाई’ सिद्धार्थ बनस्थली विद्यालयमा गएपछि शिक्षकहरुले नै उनलाई धेरै राम्रो पढाई भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए। त्यसै अनुसार उनी निजी स्कुलमा भर्ना भए। 

एसएलसी उत्तीर्ण गरेपछि उनले लैनचौरको अमृत साइन्स क्याम्पसबाट आइएससी उत्तीर्ण गरे। त्यसपछि उनी छात्रवृत्तिमा भारतको जम्सेदपुरमा बिद्यतीय इन्जिनियरिङ पढन् गए। जम्सेदपुरबाट वि.सं.२०५० मा ‘बीएससी इलेक्टिकल इन्जिनिङ’ सकेपछि ०५१मा उनी नेपाल फर्किएर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको रुपमा जागिर खाए।

काम गर्दै पढ्ने क्रममा उनले पुल्चोक इन्जिनियरिङ् क्याम्पसबाट ‘पावर सिस्ट इन्जिनियरिङ’मा स्नातकोत्तर गरेका थिए। उनले पोखरा विश्व विद्यालयबाट एमबीए पनि गरे।

उनले सर्वप्रथम नेपाल बिद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरका रुपमा सेवामा प्रवेश गरेका थिए। प्राधिकरणमा कार्य गर्दै जाँदा उनले रसुवाको चिलिमे जलबिद्युत परियोजनाको जिम्मेवारी पाएका थिए। उनी परियोजनाको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट ३ वटा अन्य आयोजनाको निर्माण सुरु गरेका थिए। पछि उक्त परियोजनाबाट हटाइएपछि उनी २ वर्षसम्म जिम्मेवारीविहीन बनेका थिए।

उनी सर्वसाधारणमा यति लोकप्रिय भएकी उनको नाममा गीत बन्यो, कलाकारहरुले म्यूजिक भिडियो बनाए। चर्चा गर्न छुटाउ नै नहुने प्रसङ्ग त यो छ की सर्वसाधारणले स्वतस्फूर्तरुपमा कुलमानको पक्षमा सयौं टिकटक बनाएका थिए। बुधबार पुन: विद्युत प्राधिकरणमा नियुक्त भएपछिदेशभरिबाट सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको ओइरो लागेको छ। 

घिसिङ सन् २०१६ को सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। उनी नियुक्ति हुने वर्षमा सुख्खयाममा दैनिक १८ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने अवस्था थियो। उनले नियुक्त भएको दोस्रो महिना,२०७३ साल कात्तिक १४ (लक्ष्मी पूजा)मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा सुरु गरेका थिए। सो परीक्षण सफल भएको आधारमा २०७३ चैत १ देखि देशव्यापीरूपमा लोडसेडिङ अन्त्य गर्न उनी सफल भएका थिए।

चार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६/७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था बनेको थियो।

यसरी छोटो कार्यकालमा आम नेपालीको मन जित्न सफल कर्मनिष्ठ कुलमानबाट फेरि पनि सबैले ठूलो अपेक्षा गरेका छन्। राम्रो काम गरेरकार्यकाल सम्पन्न गर्नेलाई जुनसुकै सरकारले पनि पुनः नियुक्त गर्नसक्ने गतिलो पाठ पनिघिसिङको नियुक्तिले दिएको छ। उनै ‘उज्यालो नेपालका नायक’ कुलमान घिसिङलाई सफल कार्यकालका लागि शुभकामना।

प्रकाशित मिति: : 2021-08-12 20:28:00

प्रतिकृया दिनुहोस्