सडक शिक्षकको संघर्षः भित्तामा कालोपाटी, सडकमा कक्षाकोठा

तेजन खड्का

दार्जीलिङ
Photo: Reuters
Photo: Reuters

कोरोनाभाइरस महामारी संकटले विश्वभरका शैक्षिक संस्थाहरू लगभग बन्द गर्नैपर्ने बाध्यता आइलाग्यो।

लामो बन्दाबन्दीले विद्यालय खुल्न सकेनन्। जसले विद्यार्थीहरूको पढाईलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित गर्‍याे।

ग्रामिण भेगका विद्यालय र विद्यार्थीहरू झन् बढी प्रभावित बने। यसकाे तुलनामा शहरी क्षेत्र महामारीले कम प्रभाव पार्‍याे। प्रायः शहरी क्षेत्रमा इन्टरनेटकाे सजिलै पहुँच हुँदा भर्चुअल माध्यमबाट भएपनि केही शैक्षिक गतिविधहरू निरन्तर चलिरहे।

गाउँ क्षेत्रका शैक्षिक गतिविधिहरू ठप्प भएकाे सत्यलाई पनि नकार्न सकिँदैन। बालबालिकाहरू अनलाइन कक्षाका लागि स्मार्टफोन वा ल्यापटप किन्न सक्दैनन्। उनीहरूको  अभिभावकलाई पनि आफैमा परिवार चलाउन धाै-धाै भइरहेकाे छ।

प्रायः स्कूलहरू सुनसान छन्। विद्यार्थीहरू सडक तथा खोला–नाला छेउछाउ भेटिन्छन्। उनीहरू पुस्तक संसारबाट टाढिएको डेढ वर्ष भइसक्यो। तर पनि विद्यालय खुलेका छैनन्। खोल्न सक्ने अवस्था पनि छैन।

संकटकाे अवस्थामा पनि कतिपय शिक्षक तथा सामाजिक कार्यकर्ताहरू भने विद्यार्थीहरूकाे पढाई प्रभावित नबनाेस् भन्दै शैक्षिक गतिविधि नरोक्न दतचित्त भएर लागिरहेका छन्। जुन, उदाहरणीय र सुखद पक्ष हाे।

यसैबीच पछिल्लाे समय मित्रराष्ट्र भारतका एक जना शिक्षककाे काैशलता भने सामाजिक सञ्जालमा भाइरल बनेकाे छ। भारतको पश्चिम बंगाल राज्यस्थित बर्धमान जिल्लाका ३४ वर्षीय दीप नारायण नायककाे शैक्षिक काैशलताले राम्राे चर्चा पाएकाे हाे।

यहाँसम्म कि उनलाई एसियाभरकै एक कुशल र सडक शिक्षक मान्न थालिएकाे छ।

भित्तामा कालोपाटी बनाएर शिक्षण

उनले विगत एक वर्षदेखि घर–घरको भित्तामा कालोपाटी बनाएर विद्यार्थीहरूलाई अक्षर कोर्न सघाइरहेका छन्।

अनलाइन कक्षाको पहुँचभन्दा टाढा रहेका ग्रामिण भेगका बालबालिकाको भविष्य सोच्दै उनले सडकमा कक्षा सञ्चालन गर्दैआएका हुन्।

कोरोना महामारीले स्कूल बन्द भएपछि तल्लो वर्गका छात्र–छात्रा कक्षाकोठा भुल्न बाध्य थिए। विद्यार्थीसँग पढ्नको लागी मोबाइल, ल्यापटपजस्ता साधनहरू थिएनन्। बालबालिकाहरू सडकमा समय बिताउँथे। तर शिक्षक दीपको आगमनपछि आजभोलि उनीहरू फेरिएका छन्।

विद्यार्थीहरू सडकमा भए पनि सडक शिक्षकसँगै छन्। पढिरहेका छन्। उनीहरू कविता लेख्छन्। मास्क लगाउने र हात धुनेसम्मका नयाँ–नयाँ तरिका सिक्छन् र समाजभरी सिकाउँदै हिँड्छन्।

उनीहरू भित्ताछेउका विद्यार्थी मात्रै होइनन्, अब सामाजिक कार्यकर्तासमेत बनिसके। यसक्षेत्रका स्थानीयहरू दीपलाई 'सडक शिक्षक'काे नामले बोलाउँछन्। माया दर्साउँछन्। उनले घर–घरका भित्तामा कालोपाटी बनाएका छन्। कोरिएको कालोपाटी सामु राखिएका प्रत्यक बिद्यार्थीलाई सडकबाटै पढाउँछन्।

रोकिएन त्रास, रोकिएन शिक्षा

विश्व महामारी कोरोना केही हदसम्म कम भए पनि त्रास भने अझै कायमै छ। स्कूल खुले पनि बालबालिकाहरू भने सुरक्षित छैनन्। बंगालको बर्धमान गरिबीले थिचिएकाे इलाका हो। बालबालिकाहरू अनलाइनमार्फत् जोडिन सक्ने अवस्था छैन।

उनीहरूकाे माता–पिता अधिका‌ंश ज्यालादारी तथा मजदुर श्रमिक हुन्। सन्तानको पेट पाल्न पसिना बगाइरहेका उनीहरू यस्तो अवस्थामा शिक्षा सोच्नसमेत सक्दैनन्।

'अधिकांश बालबालिकाहरू तल्लो वर्गका छन्। उनीहरू शिक्षाबाट पूर्णरूपमा टाढा हुँदै थिए। तर, म रोकिइनँ। मैले उनीहरूलाई क-ख-ग दिने बाचा गरे', सडक शिक्षक दिपले भने।

उनका अनुसार बालबालिकाहरू गाई चराइरहेको अवस्थामा भेटिन्थे। सडक छेउछाउ यता–उता घुमिरहेका हुन्थे।

प्रकाशित मिति: : 2021-09-23 09:19:00

प्रतिकृया दिनुहोस्