बुधबार, ०५ अगस्ट २०२६

छोरा बोकेर हिमाल चढेकी आमाको कथा देखाउँदै किम्फ प्रारम्भ थप सामग्री

छोरा बोकेर हिमाल चढेकी आमाको कथामा बनेको फिल्म देखाउँदै १९औं काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को प्रारम्भ भएको छ।
हिमाल खबर

हिमाल खबर

काठमाडाैं
News Image
• • •

बिहीबार किम्फको प्रारम्भमा अमेरिकी निर्देशक कायल रुडिकको ‘ड्रिम माउन्टेन’ फिल्म प्रदर्शन गरिएको हो। यसमा पर्वतारोहण प्रशिक्षक समेत रहेकी आरोही पासाङल्हामु शेर्पाले छोरा नोर्बु सहित हिमाल चढेको कथा समेटिएको छ।

सोलुखुम्बुको लुक्लामा जन्मिएकी उनलाई सगरमाथा आरोही पासाङल्हामु शेर्पासँग जोडेर सबैले ‘हिमाल नै चढ्छे होला’ भन्दै जिस्क्याउने गर्थे। बाल्यकालको त्यो प्रसङ्ग सुनाउँदै उनले भनिन्, “यही कुराले पनि बच्चाबाटै हिमाल चढ्ने सपना बनाएँ। किशोर अवस्थामा आमा गुमाएँ। अनेक समस्यासँग जुधे पनि आफ्नो सपनालाई मर्न दिइनँ।”

उनले आफ्नो यात्राबाट अरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरेको सुनाइन्। फिल्ममा पनि शेर्पाले भनेकी छन्, “म आमा हुँ, तर अझै पनि मेरो सपनासँगै बाँचेकी छु।”

यो फिल्मसँगै प्रारम्भ भएको किम्फका पाँच दिनमा ‘जलवायु कर्म’ मा आधारित रहेर २८ देशका ६० फिल्म प्रदर्शन गरिने भएका छन्। जसमा हिमाली जीवनका जटिलता तथा विविधतालाई देखाइनेछ।

चलचित्र विकास बोर्डको हलमा आयोजित उद्घाटन समारोहमा बोल्दै भारतीय वातावरण अभियन्ता एवं शिक्षा सुधारक सोनम वाङ्गचुकले जलवायुका विषयलाई किम्फले आधार बनाएकोमा प्रशंसा गरे। “हाम्रो एकल प्रयासमा संसार परिवर्तन हुँदैन,” वाङ्गचुकले भने, “जलवायु परिवर्तनको डर हिमाली देशहरूमा छ। त्यसैले मानिसको जीवन जिउने शैलीमा फरकपन ल्याए मात्र परिवर्तन ल्याउन सकिन्छ।”
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!