सुटिङ नसकिँदै किन विवादमा मुछियाे ‘गदर २’ ?

File Photo
File Photo

बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको फिल्म ‘गदर २’ सुटिङ सुरु हुनासाथ विवादमा तानिएको छ। फिल्मको सुटिङ १० दिन यता काँगडाको पालमपुरस्थित भलेड गाउँमा भइरहेको छ। जहाँ सनी र अमीषासहित अन्य कलाकार सुटिङका लागि पुगेका छन्।

समाचारअनुसार फिल्मको सुटिङ भइरहेको घरको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन्। घरका मालिक देशराज शर्माले फिल्म सुटिङअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका छन्।

‘फिल्मको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपैयाँ दिने सहमति भएको थियो। तर उनीहरुले फिल्मका लागि पूरा घरसँगै दुई नहर र मेरो ठूलो दाइको घर पनि सुटिङका लागि प्रयोग गरे,' उनले भनेका छन्।

घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपैंयाँको बिल निर्माताको कम्पनीलाई बुझाएपछि यो विवाद सुरु भएको हो।

फिल्म ‘गदर २’ सन् २००१ मा आएको फिल्म ‘गदर’को सिक्वेल हो। यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो।

प्रकाशित मिति: : 2021-12-22 10:13:00

प्रतिकृया दिनुहोस्