स्वर्गद्वारीका पुजारीकाे गुनासाे : भक्तजन रक्सी खाएर आउँछन्, भेटी नचढाइ टिकटक बनाएर जान्छन्

Breaknlinks
Breaknlinks

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हाे, नेपाल। यहाँका अधिकांश मानिसले धर्म र संस्कृतिप्रति ठूलाे आस्था राख्छन्। मन्दिर जानु, पूजापाठ गर्नु अधिकांश नेपालीकाे दैनिकी हाे। मन्दिर दर्शनकाे लागि उनीहरू लामाे दुरी पूरा गरेर अनेकाैँ स्थानमा पुग्ने गर्छन्। यसरी मन्दिर दर्शन गर्न र घुम्नकाे लागि धेरै नेपालीकाे राेजाइमा पर्ने मध्ये एउटा धार्मिक तथा पर्यटकीयस्थल हाे, स्वर्गद्वारी।

स्वर्गद्वारी प्युठानको सदरमुकाम खलंगादेखि करिब २६ किलोमिटर पश्चिमतर्फ पर्छ। लुम्बिनी प्रदेशकाे स्वर्गद्वारी नगरपालिका– २ मा पर्ने याे क्षेत्र समुन्द्री सतहबाट ७ हजार फिटकाे उचाइमा छ। जुन २ हजार ६ सय राेपनी क्षेत्रफलमा फैलिएकाे छ। दाङ र अर्घाखाँचीकाे संगमस्थल भालुवाङ हुँदै यहाँ पुग्न सकिन्छ। 

०००

सत्य युगमा देवताहरुले यात्रा गरेको तपोभूमि रोल्पाको रुन्टीगढी गाउँपालिका– १ को रुम्टी गाउँमा वि.सं. १९१६ मा जन्मिएका १०८ महाप्रभु बालतपस्वी श्री नारायण गौतम १९५२ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्नि प्रज्योलित गरी १९५२ वैशाख पूर्णिमादेखि यहाँ अखण्ड महायज्ञ सुरु गरेकाे इतिहासमा उल्लेख छ। जुन विश्व शान्तिको लागि संचालित अखण्ड यज्ञ हालसम्म पनि जारी छ।

महाप्रभु गाउँको माथि एउटा स्मरणीय ओढारमा ५ वर्षको उमेरमा अदूश्य भइ ३ वर्षपछि विद्वानका रुपमा प्रकट भएको विश्वास गरिन्छ। यसरी १८४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दीक्षा प्राप्त गरेपछि उनको नाम हंसानन्द गिरी भएको हो। उनी गाउँ छोडेर चेलाहरुसहित धर्म रक्षाका लागि हिँडे। स्वर्गद्वारीमा पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहीद्वार हुँदै गएको किम्वदन्ती रहेको छ। त्यही किंवदन्तीअनुसार यस ठाउँको नाम स्वर्गद्वारी राखिएको जनविश्वास छ। एउटा स्वच्छ भूमि भएकोले हिँड्दा हिँड्दै स्वर्गद्वारी भन्ने ठाउँको प्राचीन यज्ञशाला रहेको समतल भूमिमा बाझको बोटमुनि आश्राम राखी बस्ने निधो गरेका र त्यहाँ बिस्तारै मन्दिरको स्थापना गरेको पाइन्छ।

०००

त्यहाँ स्वर्गद्वार अथवा गुप्तिसागर गुफा पनि रहेको छ। उक्त गुफाबाट प्रभुले स्नानको निम्ती २३ सय मिटर तल लुङ्ग्रीमाढी नदीको दोभानमा झरी सोही द्वारमार्फत नै फिर्ता भएकाे भनाइ छ। यो गुफा अहिले खोज अनुसन्धानको विषय बनेको छ। हवनकुण्ड बेदद्वार अग्नि स्थापना गरी दीप प्रज्ज्वलित भएको हालसम्म निरन्तर अग्नि जलिरहेको छ। हरेक दिन २ केजी ध्यूद्वारा पूजा गरिने पुजारीहरू बताउँछन्। वेद गुरुहरुद्वारा पूजा गरिने उक्त हवनकुण्डको विभूती प्रसादको रुपमा ग्रहन गरिन्छ। विभूती ग्रहण गर्दा रोगव्याधी नलाग्ने समेत विश्वास छ।

स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गरेवापत पुण्य कमाउने र मनोकंक्षा पूरा हुने विश्वास गर्ने गरिएको छ।

स्वर्गद्वारीमा वैशाख पूर्णिमा बुद्धजयन्ती, उभौली पर्व, जेष्ठ, भाद्र, कार्तिक र माघे सक्रान्तिमा भव्य मेला र मान्छेहरुको आवतजावत हुने गर्छ। यहाँका मुख्य तिर्थयात्रीहरु भारतकाे उत्तर प्रदेश र बिहार क्षेत्रका हुन। उनीहरू वर्षमा तीन पटकसम्म यहाँ आउने गर्छन्। नेपालका विभिन्न ठाउँबाट यहाँ आउनेकाे त घुइँचाे नै लाग्छ।

तिहारको औंशीको दिन र दसैंको फूलपातीका दिन प्रभुको सम्झनामा देश विदेशबाट हजारौँ भक्तजनहरुको उपस्थितिमा प्रभुको रथयात्रा निकाल्ने प्रचलन समेत रहेको छ।

यहाँ करिब ३ सय ५० गाई, १ सय ४० साँढे र उत्तिकै संख्यामा राँगा/भैँसी समेत रहेका छन्। ती बस्तुभाउहरुको हेरचाहको र पालन पोषणको लागि घाँस काट्ने र ग्वाला जाने कामदार राखिएको छ। यहाँ आगो बाल्नको लागि काठको मुढाहरु काट्ने बोक्ने मान्छे पनि राखिएको छ।

गाई, भैंसीको गोबर मलबाट बनेकाे मलिलो माटोबाट साग/तरकारी उत्पादन गरिन्छ। उक्त साग/तरकारी यहाँ आउने भक्तजनले किन्ने गर्छन्। साथै यहाँ खाने बस्ने व्यवस्था समेत रहेकाे छ।

०००

स्वर्गद्वारी मन्दिर नजिकै म्युजिकल वाटर फाउन्टेन पनि छ। नेपाली सेनाले सुविधा सम्पन्न पानीको फोहोरासहितको स्वर्ग बाटिका बनाएको छ। नेपाली सेनाको ईन्द्रध्वज गणले स्वर्गद्वारी नगरपालिका– २ मा बाटिका बनाएर मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हाे। फाउन्टेनको कारण स्वर्गद्वारीमा पर्यटकीय विकासमा टेवा पुग्ने समेत अनुमान गरिएको छ। यसको रेखदेख नेपाली सेनाले नै गर्ने गरेको छ।

स्वर्गद्वारी भौगोलिक विविधताले भरिपुर्ण छ। यस क्षेत्रमा विभिन्न प्रजातिको गुराँसहरु फूल्छन्, काफलहरु प्रशस्त पाइन्छ। स्वर्गद्वारी मन्दिर एउटा स्वच्छ धार्मिक स्थल हो, जहाँ दर्शन गरे आफूले मागेको कुरा पूरा हुने जनविश्वास रहेकाे छ। स्वच्छ मन लिएर प्रभुको पूजा गरे मन शान्ति हुने यहाँ आउने दर्शालुहरू बताउँछन्।

०००

काेराेना महामारीपछि पर्यटक आगमनमा कमी

कोरोना महामारीपछि स्वर्गद्वारी क्षेत्रमा पर्यटकहरूकाे आगमनमा कमी आएकाे स्वर्गद्वारी मन्दिरका प्रमुख वासुदेव भट्टाराई बताउँछन्। अहिले भारतबाट दर्शनार्थीहरू आउने गरेपनि आन्तरिक पर्यकटकाे आगमन न्यून रहेकाे उनकाे भनाइ छ।

‘काेराेनापछि पहिला जस्ताे मानिसहरू आउनुभएकाे छैन। अहिले विहार क्षेत्रका यात्रीहरूकाे गर्दा चलेकाे छ। उनीहरूले चढाउने दानबाटै कामदारहरू पालिएकाे छ,’ भट्टाराईले बिएल नेपाली सेवासँग भने। पर्यटककाे कमीले आर्थिक व्यवस्थापनमा समस्या भएकाे उनले बताए।

पछिल्ला दिनहरूमा यहाँ आउने मानिसहरूकाे उद्देश्य पूजापाठ नभएर मनाेरञ्जन मात्रै हुने गरेकाे भट्टाराईले बताए।

‘धेरै नेपालीहरूले त अचेल धर्म गर्न छाेडे, मासु भात र रक्सी खाएर पूजा गर्न आउछन्,’ भट्टाराईले भने,‘केही यात्रीहरू त टिकटक बनाउन रमाइलो गर्न मात्रै आउँछन्।’

हाल समयअनुसार यहाँ पूर्वाधार निर्माण नहुँदा पनि पर्यटकहरूकाे कमी भएकाे हुन सक्ने उनकाे भनाइ छ।

‘चुनावमा नेताहरू आएर याे गर्छु र त्याे गर्छु मात्रै भन्छन् तर यहाँकाे समस्या कसैले बुझेका छैनन्, अब त पूजारी पाल्न पनि गाह्राे हुन अवस्था छ,’ भट्टाराईले भने।

प्रकाशित मिति: : 2022-06-07 06:00:00

प्रतिकृया दिनुहोस्

    १००%मा १०% एस्ता मानिसहरू हुन सक्छन् हुन्न् भन्न सकिन्न

    • एक बर्ष अगाडि
    • गाउँले यम मगर