निर्माण सम्पन्न नहुँदै चर्कियाे नाग्म-जुम्ला जाेड्ने पक्की पुल

कर्णाली राजमार्गको जुम्ला-कालिकोट जोड्ने पक्की पुल निर्माण सम्मान नहुँदै चर्किएको छ। निर्माण हुन मात्रै छ वर्ष लागेकाे पक्की पुल सम्पन्न हुन लागेकाे अन्तिम चरणमा चर्किएको हाे।

लामाे समय काम सुरु हुन नसकेकाे पक्की पुल अन्तिम चरणमा आएर चर्किएपछि हिमा नदीमाथि लागेकाे बेलिब्रिज पुल नै ओहोरदोहोरकाे सारथि बनेकाे छ।

पुलले कालिकोट र जुम्लाको सिमाना नाग्म बजारलाई जोड्छ। तिला-७ का कृष्णबहादुर बुढाले पक्की पुल बन्ने भनिएको ६ वर्षसम्म पनि बन्न नसक्नु दुःखद भएको बताए।

'सँगै काम थालिएका कर्णाली राजमार्गका अन्य पुल बनेर सञ्चालनमा आइसकेका छन्,' उनले भने, 'तर याे पुल बनाउन लागेको यत्रो वर्ष हुँदा पनि निर्माणाधीन अवस्थामै रहने भयाे। यो कसको लापरबाहीले हो तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने देखिन्छ।'

उनले यही असार महिनाभित्र पुल बनेर सञ्चालनमा आउने आशा गरेको बताए। तर पुल निर्माणको अन्तिम चरणमा प्रिटेस्ट गर्दा पुलको बीचको भाग नै चर्किएपछि झन् अन्योल सिर्जना भएको छ।

लामो समयसम्म पुल निर्माणको काम चलिरहनु, त्यसैमा पनि सञ्चालनमा नआउँदै चर्किनु बिडम्वना नै रहेको धेरैकाे कर्त छ।

असार महिनाभित्रै पुलमा गाडी गुडाउने तयारी भइरहेको सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्माले बताए। उनले भने, 'भने पुलको फाइनल स्टेसिङ गर्दा बीचमै चर्किएपछि निर्माणको काम रोकिएको छ।'

सञ्चालनमा नआउँदै पुल चर्किनुको कारण खाेजी हुनुपर्ने खड्कबहादुर खत्रीले बताए। 'पक्की पुल निर्माणमा यस्ताे लापरबाही किन भएकाे हाे छानबिन हुनुपर्छ,' उनले भने, 'विभिन्न बहाना बनाउँदै पुल निर्माणको काम धकेल्दै जाने तर सरकार म्याद थप्दै ठेकेदार कम्पनीलाई सहज बनाउँदै जाने हो भने अबको दश वर्षसम्म पनि पुल बन्न सक्ने अवस्था छैन।'

सिंजाखोला पुल निर्माणको कामका लागि २०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्ट्रक्सन प्रालिसँग सम्झौता भएकाे थियाे। सम्झौतामा २०७५ चैत १४ गते पुलको निर्माण कार्य सकिएर सवारीसाधन आउजाउ गराउने उल्लेख छ। तर ६ वर्ष लगाएर बनाइएकाे पुल अन्तिम समयमा आएर चर्किएको छ।

कमसल सामग्रीको र अदक्ष जनशक्ति लगाउँदा पुल चर्किएको हुनसक्ने आशंका हुन थालेका छन्। सम्झौतामा कर्णाली राजमार्गको छिडेना र सिंजाखोला पुलको एउटै ठेक्का बनाइएको छ। जसमा एकमुष्ट रकम १३ करोड रुपैयाँ रहेको छ।

'सुरुदेखि नै उक्त पुल निर्माणमा अवरुद्ध सिर्जना हुँदै आएको थियो। पुलको पहिलो डिजाइन नै गलत थियो। जसले सम्झौता गर्दाको वर्षका पुल निर्माणको काम अघि बढ्न सकेन,' इन्जिनियर शर्माले भने, 'अर्को डिजाइन गर्नुपर्ने भयो। पहिलो ठेक्का सम्झौताको अवधि डिजाइनमै बित्यो।'

इन्जिनियर शर्माका अनुसार ठेक्का नं. ३ मा रहेको नाग्म जुम्ला जाेड्ने पुल यो वर्ष सकिने गरी म्याद थप गरिएको थियो। तर पुल नै चर्किएपछि पुल निर्माणको कामसमेत अनिश्चित बनेको छ।

जनशक्ति भारतबाट ल्याउनुपर्छ

अब पुललाई ग्राउटिङ गरेर पुन: स्टेसिङ गरेर मात्र निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। 'प्रिस्टेस गर्दा पुल चर्किएको छ। फेरि ग्राउटिङ गर्नुपर्छ। जसका लागि नेपालमा उपकरण र जनशक्ति पाइँदैन। भारतबाट विज्ञ र टेक्नोलोजी ल्याएपछि मात्र काम अघि बढ्छ।'

उनले थपे, 'ग्राउटिङ गरेर पुल कण्डिसनमा ल्याएपछि मात्र प्रिस्टेस गर्न मिल्छ। प्रिस्टेस गर्दा पुल चर्कियो। चर्किएको देखिँदा देखिँदै गाडी चलाउन मिलेन। पुलको भित्रि भागसमेत चर्किएको छ कि हेर्नुपर्ने अवस्था देखियो।'

भारतीय विज्ञसँग छलफल भइसकेको उनले बताए। उनले भने, 'साउन पहिलो सातामै आएर दरार आएको ठाउँमा दबाब दिएर बनाइ करेक्सन हुनेछ।'

तीन पटक म्याद गुज्रियाे

अहिलेसम्म तीन पटक पुलको म्याद थपिसकिएको छ। रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ।

कर्णाली राजमार्गमा आधा दर्जन बढी पुल बन्न लागेकोमा नाग्म गमगडी पुल मात्र बन्न बाँकी छ।

इन्जिनियर शर्माले कमसल सामाग्रीको प्रयोग नभइ स्टेसिङ गर्दा समस्या आएको जिकिर गरे। उनका अनुसार प्रिस्टेसको पुल कर्णालीमा कतै छैन। 

हाइअल्टिच्युडमा पहिलो पटक फरक टेक्नोलोजीको पुल बनाउँदा समस्या आएको उनको भनाइ छ। 'पुल निर्माणको काम गर्दा कत्तिको तापक्रम थियो वा दक्ष जनशक्तिको प्रयोग भइरहेको थियो कि थिएन भन्ने कुराले पनि फरक पार्छ,' उनले भने।

उनका अनुसार पुल निर्माणको काम गर्दा जुम्लाको तापक्रम २१ देखि २२ डिग्री सेल्सियस थियो। चर्किएको पुल कन्ट्रयाक्टरले नबनाएसम्म सवारीसाधन चल्न दिइँदैन। अहिले गाडी गुडाउँदा त कुनै फरक पर्दैन। सयौं वर्ष गाडी गुडाउनुपर्ने भएकाे हुँदा खेलाची गर्न मिलेन।

अहिलेसम्म काम गरेको कन्ट्रयाक्टरले भुक्तानी नपाएको इन्जिनियर शर्माले बताए। उनले भने, 'पुल सबै हिसाबले परिपक्क नबनाइँदासम्म भुक्तानी नदिने र अहिलेसम्म प्रयोगमा आएको टेक्नोलोजी फेल भएमा फेरि भत्काएर बनाउनुपर्ने हुन्छ।'

पुलको लम्बाइ ४० मिटर र चौडाई ११ मिटर छ। यो पुलले ५० टन लोड धान्ने बताइएको छ।

प्रकाशित मिति: : 2022-07-16 16:01:00

प्रतिकृया दिनुहोस्