नेपालबाट अमेरिकामा जनकारबाहीको धम्की, निशानामा कानून व्यवसायी खगेन्द्र जीसी

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकाको पहिलो नेपाली कानून व्यवसायी खगेन्द्र जिसीले आफ्नै मातृभूमी नेपालबाट जनकारबाहीको धम्की आएको समाचार सार्वजनिक गरेका छन्। उनले नेपालबाट  अज्ञात व्यक्तिले फोन गरेर आफूलाई बारम्बार धम्की दिइएको बताउँदै कारबाहीका लागि नेपाल प्रहरीमा उजुरी दिएका छन्।

उजुरीमा राजेन्द्र बजगाईले जनअदालतमा मुद्दा दायर गरेकाले रुपन्देहीको जन अदालतमा उपस्थित हुन भन्दै जनप्रकाश शर्माका नामबाट ९८४८०७४५९० र ९८४१२६४९१७ नम्बरबाट फोन गरेर धम्की आएको उल्लेख गरिएको छ। 

अन्तर्राष्ट्रिय अदालतमा एनसेलविरुद्धको विचाराधीन मुद्दामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै आएका जीसीले यही मुद्दाको सन्दर्भमा आफूलाई झुटो आरोप लगाउँदै धम्की आएको बताएका छन्। 

जीसीले सुरक्षाको माग गर्दै उजुरीका लेखेका छन्, ‘निजको उक्त कार्य नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १६८ १ घ अनुसारको कसुर भएकाले निज तथा निजसँग संलग्न अन्य व्यक्तिलाई समेत खोजी गरेर पक्राउ गरी उक्त ऐनको दफा १६८ २ बमोजिम हदैसम्मको कैद तथा जरिवाना गरी पाउँ।'

नेपाल र नेपालीको प्रतिष्ठाका लागि काम गरिरहेको एकजना प्रतिष्ठित गैरआवासीय नेपाली व्यक्तित्व जीसीलाई आफनै मातृभूमीबाट आएको यो धम्कीले सिङ्गो गैरआवासीय नेपाली समुदायमै एक किसिमको सन्त्रास पैदा भएको छ। 

न्युयोर्कको म्यानहा्याटट्नमा क्षेत्री एण्ड एशोसिट्स पीसी नामक कानून व्यवसायी फर्म सञ्चालन गरिरहेका जीसीको नेपालमा पनि शाखा कार्यालय सञ्चालनमा छ। 

प्रकाशित मिति: : 2022-08-15 02:33:00

प्रतिकृया दिनुहोस्