म पैसा धेरै भएर चुनावमा लड्न आएको हाेइन : दिनेश श्रेष्ठ (भिडियाेसहित)

रविन पुन मगर (आइडु)

सिन्धुपाल्चोक

दिनेश श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

पर्यटन विषयमा पिएचडी अध्यनरत श्रेष्ठ लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिँदै आएका छन्। सिन्धुपाल्चोक र सिङ्गो नेपाली राजनीतिलाई नजिकबाट नियालेका उनी अहिले आफैं चुनावी प्रतिस्पर्धामा छन्।

सिन्धुपाल्चोकको सर्वाङ्गीण विकासका एजेण्डा बोकेर चुनावी मैदानमा हाेमिएकी उनै श्रेष्ठसँग बिएल नेपाली सेवाका लागि रविन पुन मगर (आइडु)ले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


तपाईंको राजनैतिक पृष्ठभुमि के हो?

यो जनमानसमा आइरहेको प्रश्न हो, धेरै व्यक्तिहरुले मलाई अन्य पार्टीबाट टिकट नपाएर आएको पनि ठान्नुभयो। जुन स्वाभाविक पनि हो। तर म हालसम्म कुनै राजनैतिक दल, कुनै विद्यार्थी संगठनसंग आवद्ध थिइनँ। राजनैतिक बेथिति देखिरहेको कुरा हो। विशुद्ध विद्यार्थी जीवनमै थिएँ। अहिले पनि म पढिरहेको छु तर अब चाहिँ राजनीतिमा पनि योगदान दिन्छु भनेर आएको छु।

तपाईंले चुनावी अभियानलाई कसरी अगाडि बढाइराख्नु भएको छ?

म राष्ट्रिय स्वतन्त्र पार्टीसंग अवद्ध भइसकेपछि व्यक्तिगतभन्दा पनि पार्टीगत रूपमा सक्रिय छु। अहिले मेरा सहकर्मी, शुभचिन्तकहरुसंग मिलेर गाउँ-गाउँहरुमा चुनावी माहोल बनाउँदै छौँ। हामीले आवाज पुग्न नसकेको ठाउँमा आवाज पुर्याइरहेका छौँ। यो सन्दर्भमा हामीले जनताको माया हौसला पाइरहेका पनि छौँ।

तपाईं त एक विद्यार्थी पनि हुनुहुन्छ। युवा मानेर पार्टीले टिकट दिएकाे छ, यसलाई कसरी सदुपयोग गर्नुहुन्छ?

टिकटकाे लागि अन्य साथीहरु पनि हुनुहुन्थ्यो, तर धेरै जनाको रोजाइमा म परेर आएको हुँ। मैले ग्रामीण विकास पढेको कारणले पनि हाम्रो गाउँ ठाउँको विकास र निकासको बारेमा बुझेकाे छु। कृषि र पर्यटन नै मुख्य आधार हुन् भन्ने बुझेकाे छु। हाम्रो जिल्लामा भएका एग्रो टुरिजम, शैक्षिक गुणस्तर  जस्ता थुप्रै कुराहरूलाई लिएर म समग्र जिल्लाको लागि सोचेको छु। म यो अवसरलाई सकारात्मक रुपमा सदुपयोग गर्नेछु।

चुनाव जित्नका लागि पैसाको खोलाे नै बगाउने चलन छ नि, तपाईंले त्यसरी नै खर्च गर्न सक्नुहुन्छ?

मैले पनि त्यस्तो पैसाको खोला बगाउने भन्ने हुँदैन। म एकदमै धनाढ्य भएर राजनीतिमा आएको होइन। यहाँ यति भोटरलाई यति पैसा दिन्छु भन्नेहरु पनि हुनुहुन्छ। कसैले मेरो यति भोट छ, म भोट दिन लगाउँछु भन्दै बार्गेनिङ गर्नेहरु पनि हुनुहुन्छ। त्यही कारणले अहिले हामीले यो अवस्था भोगिरहेका छौँ। म त्यस्तै विकृति कुरा चिर्न आएको व्यक्तिले यस्ताे गर्ने कुरै हुँदैन। मैले आफ्ना सकारात्मक विचारहरु लिएर आएको छु। म जनतालाई त्यही विचारहरु बाँड्छु।

ठुला पार्टीहरूकाे गठबन्धन चुनावी मैदानमा छन् नि, तपाईंलाई बलियो प्रतिद्वन्द्वी को लाग्छ?

जित हारको कुरा गर्ने हाे भने त खासमा यहाँको जनताको जित हुनुपर्छ भन्ने हो। म व्यक्तिगत रुपमा कसले जित्छ र कसले हार्छ भनेर आएको हैन। मलाई हार्ने डर भएको भए म किन उम्मेदवारी घोषणा गर्थेँ र? हामी सबै जनताबीच जाने हो। जसलाई जनताले मत दिनुहुन्छ, त्यही मान्छेले जित्ने हो। मलाई कसैसँग डर छैन। म आफ्नो तरिकाले जनताबीचमा जाँदै छु।

अन्त्यमा, सिन्धुपाल्चोक क्षेत्रका जनताले तपाईंलाई नै किन जिताउने?

म आफ्नो ठाउँको लागि केही गर्छु भनेर आएको छु। युवा पनि हुँ, शिक्षित पनि छु। मैले आफ्ना क्षेत्रका समस्याहरु नजिकबाट नियालेको छु। अबको दिनमा गर्नुपर्ने परिवर्तनको योजना बनाएको छु। शिक्षा, स्वास्थ्य हाम्रो नैसर्गिक अधिकार हो। त्यो कुराको लागि पनि म चुनावमा होमिएको छु। सकारात्मक परिवर्तनका लागि मलाई भोट दिनुहुनेछ भन्ने विश्वास लिएको छु।

प्रकाशित मिति: : 2022-11-04 08:30:00

प्रतिकृया दिनुहोस्