वैदेशिक रोजगारीका लागि मलेसिया प्रमुख गन्तव्य

नागरिक दैनिक

सविता खड्का
File Photo
File Photo

नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागका अनुसार विगत ५ महिनामा (गत बैशाखदेखि भदौसम्म) १ लाख ६९ हजार ६ सय ९३ जना विदेश गएका छन्। तीमध्ये मलेसिया जानेको संख्या ८० हजार ८ सय २३ जना रहेको छ। बैशाखमा मलेसिया जानेको संख्या २ हजार ५ सय ३८ जना, जेठमा ७ हजार १ सय ४१, असारमा १५ हजार ७ सय ८०, साउनमा २२ हजार ३ सय ६१ र भदौमा ३३ हजार ३ जना गएका छन्। केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो भने अहिले मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए। दिन प्रतिदिन नेपालीहरू वैदेशिक रोजगारीको खोजी गर्दै मलेसिया जानेको संख्या बढिरहेको उनले बताए।

विभागको तथ्याङ्क अनुसार बैसाखदेखि भदौसम्ममा मलेसिया पछि साउदी अरब जानेको संख्या २२ हजार ७ सय ८९ रहेको छ। त्यस्तै गरी कतारमा २० हजार ६ सय ३२, कुवेतमा १७ हजार ३ सय ६२ जना र युएईमा १४ हजार ८ सय १ जना वैदेशिक रोजगारीको क्रममा गएको तथ्याङ्क छ। गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाली मजदुरका रूपमा गएको देखिन्छ।

प्रकाशित मिति: : 2022-11-17 11:03:00

प्रतिकृया दिनुहोस्