जो लेख्नकै लागि अमेरिकाबाट नेपाल आइरहन्छन्

जिन्दगीका घुम्तीमा तमाम चिजवस्तुहरु देखिन्छन्। कयौं नयाँ मान्छेसँग भेटघाट, चिनाजानी भइदिन्छ। कतिपय नयाँ थरी कुरा सुनिन्छन्। कतिपय ठाउँ, घटना, चिजवस्तु र मान्छेसँगका कुराकानीका क्षण अविस्मरणीय बनिदिन्छन्। त्यसैले त जिन्दगीले बाटिरहेकै हुन्छ जन्मदेखि मृत्युसम्म अनुभवको डोरी।

जिन्दगी जिउने क्रममा केही कुरा सिक्ने हिसाबले मान्छे पुगिरहेको हुन्छ धर्तीको कुना काप्चातिर। यसरी केही कुरा सिक्ने र सिकाउने उद्देश्यले केही वर्ष अघिदेखि नेपालको सुदूरपश्चिम क्षेत्रमा यायावर बनिरहेका छन्– अमेरिकी लेखक माथ्थेव माइकल (Matthew Michel)। यसपटक तिनै माथ्थेव माइकलसँग भेट्ने अवसर मिलाएका थिए, सिडिसी डोटीका अध्यक्ष हेमराज जोशीले। जोशी आफू पनि सामाजिक अभियन्ता भएका र स्वयमसेवामा खटिइरहेका हुनाले उनी आफू जस्तै स्वयमसेवीहरुको सम्पर्कमा रहिरहन्छन्।

यो वर्ष कोस्टारिका, निकाउगुवा र क्यानाडा घुमेर नेपाल पुगेका माथ्थेव माइकल भेटिएका थिए सुदूरपश्चिमको कैलालीमा। धनगढीस्थित रुवस होटेलमा शिक्षा क्षेत्रका लागि प्रदेशस्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी चलिरहेको थियो। जहाँ सहभागीका रुपमा देखिएका थिए, माथ्थेव पनि।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा विपद र सिकाइ कसरी कार्यान्वयन गर्ने भन्ने एउटा क्लस्टर छ। यही क्लस्टरलाई सवलीकरण गर्ने जिम्मा पाएको छ, सिडिसी डोटीले। जुन कार्यक्रम यतिखेर दार्चुला, बैतडी, बझाङ, डोटी र कञ्चनपुरमा सञ्चालित छ। माथ्थेव माइकल यस पटकको सुदूरपश्चिम यात्राका क्रममा सोही संस्थाका अध्यक्ष हेमराज जोशीको सम्पर्कमा आएका थिए।

जोशी बताउँछन्, ‘माथ्थेव माइकलले विद्यालयमा दुई/चार महिना पढाउँदै हिँड्ने क्रम जारी छ। डोटीको भगवती मावि तलारामा पनि करिब दुई महिना जति शिक्षण गरेका थिए। यो वर्षको उनको नेपाल आगमनमा सुरुमै हामीसँग भेट भयो सिडिसीमा झण्डै डेढ महिना जति भोलेन्टरी काम गरे। हामीलाई वेभ साइट बनाउनदेखि केही टेक्निकल पार्टमा सपोर्ट गरेर बझाङतिर हिँडेका हुन्। अहिले उनी पोखरा पुगेका छन्।’

माथ्थेव माइकल स्वयमसेवी मात्र नभएर कवि लेखक पनि हुन्। उनका अनुसार Limped Prose,Toothpick Book, Dental Floss Book, Crayon Book, Band Name Book लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् भने केही कृति प्रकाशोन्मुख छन्। यूएसएमा जन्मेका माथ्थेव माइकलले पढाइका क्रममा केही वर्ष जर्मनमा बिताए भने अधिकांश समय अमेरिकाकै केही कलेज र युनिभर्सिटिजहरुमा धाए।

हिंसाका विरोधी उनी साकाहारी हुन्। उनले पछिल्लो समयमा हिन्दु र बुद्ध दर्शनको पनि अध्ययन गरे। उनी सुनाउँछन्, ‘मैले धेरै कुरा अध्ययन गर्न पाएको त छैन। जे जति अध्ययन गरे, त्यसका आधारमा हिन्दू र बुद्ध दर्शन दुबै मन पर्छ। तुलनात्मक हिसाबले भन्नुपर्दा अझै बुद्ध दर्शनले बढी मात्रामा तानेको छ।’

विन्सटन लिन्डिसले विश्व बैकमा काम गर्थे। सन् २०११ म माथ्थेव माइकल पनि लिन्डिसले सँगै बस्थे। तिनैले लिन्डिसलेले माथ्थेव माइकललाई नेपालको बारेमा बताए र नेपाल घुम्न प्रेरित गरे। त्यसपछि मात्र माइकलले योजना बनाएका हुन नेपाल घुम्ने।

सन् २०१५ मा पहिलो पटक नेपाल प्रवेश गरका माथ्थेव माइकलले नेपालमा झण्डै एक महिना बिताए। त्यो समयमा काठमाडौंमा तीन दिन बसेपछि उनी पुगे पोखरा। सुन्दर सहर पोखरामा उनले एक हप्ता बिताए। त्यसपछि गोर्खा गए। पुनः काठमाडौं फर्के।

भूकम्पको खबरले नेपाल आएका उनी भन्छन्, ‘मेरो पहिलो यात्रा नै मेरो लागि उपहार बन्यो। त्यतिखेरै यहाँको बारेमा धेरै कुरा थाहा पाएँ।’ त्यतिबेला उनले नेपालका केही सरकारी र निजीस्तरका विद्यालय समेत भिजिट गर्ने मौका पाए।

स-साना नानीबाबुहरुसँग रमाउन खोज्ने उनलाई कुनै पनि ठाउँका संस्कृतिकले त्यतिकै छुन्छ। सानोमा इलेक्टोनिक इन्जिनियर बन्ने रुचि थियो उनको। तर उनी लागे डिजाइन पार्ट र सिर्जनातिर। इतिहासका पुस्तक पढेर र मुभि हेरेर बेलाबखत नोस्ट्याल्जिक बनिदिन्छन् उनी। गीत संगीत सुन्न मन पराउँछन्।

उनका एक भाइ र तीन बहिनी छन्। ती एक भाइ भनेका उनका सहोदर भाइ नभएर उनकी फुपूका छोरा हुन्। जसको बुवाको थिए, उनलाई थाहा छैन। मात्र फुपू र भाइको बारेमा थाहा छ। यो घटनाले पनि बेलाबखत उनलाई निकै भावुक बनाइदिन्छ। उनी भन्छन्, ‘मेरी आमा क्याथलिनसँग बिहेका बारेमा र अन्य कुरामा धेरै मजाक भैरहन्छ। ३९ वर्ष भैसक्यो, अब त आफूलाई सुहाउने केटी खोजेर बिहे गरे हुन्थ्यो भन्ने चाहना छ आमाको। मलाई भने एक्लो यात्री बनेर धेरै ठाउँ घुम्नु छ। धेरै कुरा सिक्नु छ।’

उनका बुवा माइकल पहिले ट्रक चालक थिए। अहिले होटेल म्यानेजरको रुपमा काम गर्छन्। आमा बुवालगायत नातेदारहरुले उनलाई नेपाल धेरै टाढा छ। अब नजाऊ भनिरहन्छन्। तर, उनी सबैका कुरा सुन्छन् र फिस्स हाँसी मात्र दिन्छन्। लोभ्याइरहेकै हुन्छ नेपालीको मायाले। यहाँको सौन्दर्यले। मन मिल्ने मान्छे पाएको खण्डमा नेपाली केटीलाई नै जीवन साथी बनाउने इच्छा समेत बेलामौकामा नजानिँदो पाराले प्रकट गर्छन् उनी।

‘मेरो घरमा मेरा बुवा राम्रा पाठक थिए। बुवाले विज्ञानसँग सम्बन्धित भएर लेखिएका फिक्सनका पुस्तकहरु मलाई पढ्न दिनुहुन्थ्यो। पछि कलेजमा पढ्नेताका उपन्यास, कविता, अनुवाद साहित्य अध्ययन गरेँ। तिनै पुस्तकहरु मेरा लागि प्रेरक बने जस्तो लाग्छ। त्यसपछि पानी विज्ञान, वातावरण विज्ञान जस्ता विषयको अध्ययन गरेँ। म थुप्रै कलेज र युनिभर्सिटिज पुगेँ। थुप्रै विषय अध्ययन गरेँ। मास्टर्स लेभलको अध्ययन पुरा गरेँ। तर, सँगसँगै कविता पनि लेखिरहेँ’, उनले विगत सम्झिँदै सुनाए।

नेपाल, इथियोपिया जस्ता केही मुलुकहरुको शान्तिका बारेमा अध्ययन गर्ने इच्छा छ उनको। यसै क्रममा उनले आफ्नो चाहना प्रकट गरे, ‘केही समय नेपाल बसेर फर्किएपछि मास्टर्स अफ पिस अध्ययन गर्ने सोच रहेको छ। त्यसपछि पुनः नेपाल आउने मन छ।’

एउटा कवि लेखक वा संवेदनशील व्यक्ति बेलाबखत नोस्ट्याल्जिक भइरहन्छ। समयले विकास र परिवर्तनका पखेटा फटफटाएसँगै मनले पनि फटफटाइरहन्छ विगतका दिनको यादरुपी पखेटा। मान्छे सामाजिक प्राणी हो। घर परिवार र समाजमा भएका वा देखिएका र कतै अध्ययन गरेका वा हेरेका केही सामग्रीहरु, विगतदेखि वर्तमानसम्मका गतिविधिहरु नै उसका स्मृतिपटलमा जमेका यादका पत्रहरु हुन्। उसको जिन्दगीका निधि हुन्। ती पत्रहरु बेलाबखत पल्टिरहन्छन्। माथ्थेव माइकललाई पनि ती दिनको सम्झनाले कहिलेकाहीँ नोस्ट्याल्जिक बनाइरहेकै हुन्छ।

मुभी हेर्न र गीतसंगीत सुन्न औधी मन पराउने उनलाई नेपाली लोकगीतले निकै छुन्छ। केही लोकगीतका पंक्तिहरु गाएर सुनाउँछन् पनि। ‘सुदूरपश्चिमको डेउडा गाउन मन छ तर गाउन सकिरहेको छैन। डेउडा खेलमा त कतिपटक जानीनजानी सहभागी भएँ पनि। अभ्यासको कमीका कारण अलि गाह्रो हुन्छ। सिक्ने क्रम जारी नै छ’, उनले बताए।

यहाँको चालचलन, रीतिरिवाज, भेषभूषा, गीतसंगीत सबै पक्षले प्रभावित तुल्याएको छ उनलाई। उनी प्राय ढाकाटोपी लगाएर हिँड्छन्। निकै नै मन पर्छ रे ढाका टोपी। ‘मसँग थुप्रै ढाकाटोपी छन्। केही किनेको हुँ , केही उपहार पाएको’, उनले मुस्कुराउँदै सुनाए।

सुदूरपश्चिमेली टिपिकल परिकारहरु साकाहारी छन्। त्यसैमा पनि लोकल परिकारको स्वाद नै गजबको। जिब्रो पट्काउँदै सुनाउँछन्, ‘सुदूरपश्चिमका लोकल परिकारहरु निकै मन पर्छन्। परिकार मात्रै हैन, यहाँका मान्छे पनि सहयोगी, मायालु र उदार मनका छन्। प्राकृतिक र सांस्कृतिक हिसाबले त्यस्तै सुन्दर छ नेपाल। त्यस्तै सयौं, हजारौं वर्षअघिका धेरै कुराहरु छन् यहाँ।’

आठ वर्षअघि प्रेमिकाले छोडेपछि नितान्त एक्ला यायावर बनिरहेका उनी मस्त मौलाना जस्तै देखिन्छन्। साथमा कपि र कलम भएकै हुन्छ। उनका अनुसार यहाँ आएपछि हरेक दिन मनमा केही न केही तरङ्गहरु पैदा भइरहेकै हुन्छन्। तिनैलाई कपिमा उतार्छन्। साहित्यिक मनहरु भेट्दा झन कवि बाशोका हाइकु सुनाउन पनि पछि पर्दैनन्।

यतिखेर भने उनी बाबालिकाहरुका लागि पुस्तक लेखिरहेको छन्। कुनै दिन नेपाली र डोटेली भाषामा पुस्तक लेखेर सोही भाषामा बालबालिकालाई पढाउने सपना पनि देखिरहेकै छन् उनी। यी घुमन्तेको जिन्दगी बडो लोभलाग्दो देखिन्छ। उनी र उनी जस्ता कतिपय विदेशी लेखक अनुसन्धाता भेट्दा मनमा एउटै प्रश्नले डेरा जमाइरहन्छ, विदेशीले आएर यहाँका लेख्नुपर्ने विषयवस्तु सजिलैसँग देखिरहेका छन्, हामी किन देख्न सकिरहेका छैनौँ? लेख्नकै लागि भनेर हामी किन घुम्न सकिरहेका छैनौं ? 

प्रकाशित मिति: : 2023-01-30 06:55:00

प्रतिकृया दिनुहोस्