सोमबार, ०८ सेप्टेम्बर २०२५

भुल्न नसकिने त्याे हिउँद...

News Image
• • •

केही दिनयता चिसो असाध्य बढेको छ। यो लेख तयार पार्दासम्म चिसोका कारणले मात्रै यस बर्ष अफगानिस्तानमा १२४ जनाको मृत्यु भइसकेको छ। संसारभरि प्रतिवर्ष चिसोका कारणले करिब साढे चार मिलियन मानिसहरूको मृत्यु हुने तथ्याङ्कहरूले देखाउँछ। नेपालमा पनि चिसोका कारणले थुप्रै व्यक्तिहरूले बर्सेनि ज्यान गुमाइरहेकै छन्।

चिसोमा गर्न हुने र गर्न नहुने, खान हुने-नहुने कुराको फियरस्त सामाजिक सञ्जालमा राखेको थिएँ। सबैलाई सावधान पनि गराएको थिएँ। हिउँदको समयमा तापक्रम कम हुँदै जान्छ। ओढ्ने, बिछ्याउने र जीउमा लगाउने लुगाको व्यवस्थापन गर्न हरेक मानिसका लागि चुनौतीको विषय बन्न जान्छ। मानिसको वर्ग कुन हो र उसले लगाउने तथा खानेकुराको पहिचान कस्तो छ भनेर थाहा पाउने हो भने चिसोमा मानिसहरूको लुगा हेरे पुग्छ।

अहिले पनि सडकमा काम गर्ने र सडकमै सुत्ने मानिसहरू निकै छन्। ती सडक आश्रित मानवहरूका लागि चिसो छेक्ने साधन कही छैन। त्यसकारण उनीहरू सडकमै जन्मन्छन् र सडकमै विलिन हुन बाध्य हुन्छन्।

मेरो मानसपटलमा चेत जागरुक भएदेखि अहिलेसम्मको हिउँदलाई गहिरोसंग नियालेको छु। बालापनमा बुवाआमाले मलाई सुताउने ओछ्यान भनेको मान्द्रो वा गुन्द्रीबाहेक केही हुँदैन थियो। बेलुकी खाना खाई सुत्नेबेला लगाइएको मान्द्रोमा पल्टिँदा चिसोले जिउ चसक्क हुन जान्थ्यो।

बालापनको उमेरले होला चिसोलाई पचाएर भए पनि सुतिन्थ्यो। जवानीका हरेक हिउँदहरू पीडा र कष्टबाहेक केही भएनन्। विज्ञानको अध्ययनमा होस् वा स्वास्थ्य प्राविधिक पढ्दाका दिन हुन्, हरेक हिउँदमा लगाउन एक मात्र ज्याकेट हुन्थ्यो। पाँच वर्ष जति पूरानै भए पनि नफेरिकनै लगाउनु पर्ने। जागिरका दिनहरूमा आफ्ना निजी दिनहरू दुखका साथ पार लगाउनु पर्ने बाध्यता थियो।

त्यो हिउँद साह्रै नै पीडादायक बन्यो, जुन हिउँदमा बुवाको देहवसान भयो। पुष माघको कठ्याङ्ग्रिँदो जाडोमा बुवाको दिनरात उपचारमा सेवा गर्नुपर्ने अनि दैनिक जान-आउन ६ घण्टा लाग्थ्यो। हिँडेर बुवाको काखमा आइपुग्नु पर्ने बाध्यता थियो। वि.स. २०५९ माघ ७ को दिन त मेरा लागि अति नै दर्दनाक थियो।

हिउँदको चिसो, त्यसमा पनि बुवाको अन्त्यष्टिपश्चात एक धोती र पिछ्याैरामा मात्रै दिन र रात व्यतीत गर्नुपर्ने हुन्थ्यो। अझै १०/१२ दिनको कार्य गर्दा त झन घनघोर पानी परेर खपिनसक्नु भएको थियो। १२औँ दिनमा दुई घण्टा खाली खुट्टाले हिँडेर खोलामा गई संस्कारिक कार्य सम्पन्न गरी पुनः दुई घण्टा खाली खुट्टा हिँडेर फर्कँदाको त्यो कहाली लाग्दो क्षण हरेक हिउँदले सम्झाइरहन्छ। कुनै हिउँद आउँदा पनि बिर्सन सकिँदैन।

हिन्दु संस्कार अलिक अरु धर्मभन्दा कठिन छ भनेर त्यसबेला थाहा पाएको थिएँ। मैले संस्कारिक धर्म निर्वाह पूरा गरिसकेपछि त्यो चिसोले उत्पन्न भएको दिर्धरोग 'बाथ' कहिले निको नहुने गरी शरीरमा टाँसिएर आयो। बुवाको किरिया संस्कारमा सुन्निएका मेरा हातगोडाले भन्दै थिए, 'कर्म संस्कार अलिक सजिलो बनाएको भए हुन्थ्यो।' असाध्य दुख गरेपछि पितृको मुक्ति र स्वर्गको बास हुन्छ भनेर नै किरियापुत्रीहरू दुख र पीडा सहने गर्छन्। मैले त्यो हिउँदमा जति पीडा भोगेँ, त्यति सायद जीवनका कुनै हिउँदमा भोगिनँ हुँला।

जनयुद्धको अवधिका हिउँदहरू पनि निकै नै कष्ठकर हुने गर्थे मेरा लागि। माओवादी सेनाको हेडक्वाटर जस्तै थियो मेरो घर। सयौंको संख्यामा आउने माओवादी कार्यकर्ताहरूलाई खानादेखि लुगाफाटोको व्यवस्थापन मैले नै गर्नुपर्थ्याे। गाउँका मानिसहरूसंग त झन लुगाफाटो हुने कुरै थिएन। करिब दुई/तीन वर्षका हिउँदहरू माओवादी कार्यकर्ताको व्यवस्थापन र उनीहरूसंग मिसनमा रातिराति हिँड्नमा बित्यो।

म सरकारी जागिरमा स्वास्थ्यकर्मी भएका कारणले होला माओवादीहरूको मप्रतिको विश्वासको रुझान घटेको थिएन। बरु प्रहरी प्रशासन र सुरक्षा निकायबाट ममाथि केरकार र अनुसन्धान निकै नै चलेको थियो। पौषको अन्तिमतिर एक रात निकै चिसो थियो। दुई बजे राति प्रहरी घरमा आएर मलाई प्रहरी कार्यालयमा लगेका थिए। मर्ने-बाँच्ने कुनै ठेगान नै थिएन र पनि परिवारका सदस्यहरूलाई हिम्मत नहार्न भनेको थिएँ। उनीहरूलाई सान्त्वना दिँदै म प्रहरी कार्यालयतिर हिँडेको त्यो हिउँद पनि मेरा लागि अति नै पीडादायक थियो। दुई दिनको प्रहरी कार्यालयको बसाइमा प्रहरीको एक प्रश्न हुने गर्थ्याे ‘तँ माओवादीहरूलाई किन पाल्छस्।’ मेरो पनि प्रस्ट जवाफ हुन्थ्यो कि ‘गाउँमा माओवादीलाई पालेन भने ज्यानको ठेगान हुँदैन। बाध्यताले पाल्नै पर्छ।’

यसरी धेरै हिउँदहरू सुरक्षा निकायबाट दिएको मानसिक प्रताडनमा बित्ने गर्थे। जनयुद्धमा मेरो घरबाट खाना खाई निस्केका दुई जना माओवादी बहिनीको बाटोमा सेनासंगको मुटभेडमा भएको मृत्युको घटनाले अहिलेसम्म मन पोलेको छ। खाना खाने क्रममा ती बहिनीहरुमध्ये एक जनाले भन्ने गर्थिन् 'मरे शहीद बाँचे संसार जितिन्छ। जनताको उन्मुक्तिका लागि हामीले शिरमा कफन बाँधेका छौं।' त्यस्ता बलिदानपूर्ण महिलाहरूको नाम निशान नै छैन, अहिले माओवादीको कुनै डायरीमा।

व्यक्तिगत स्वार्थ र सत्ताको रसोस्वादनबाहेक जनताको मुक्तिको कुनै निसान देखिँदैन। त्यसैले युवाहरू आत्महत्याको निर्णयमा पुग्नु परेको छ। माओवादी युद्धको हिउँदहरूमा मैले पनि मेरो ल्यागतले भ्याएसम्म योगदान दिएको थिएँ। मजस्ताहरु नभइदिएको युद्ध सफल हुने कल्पना पनि गर्न सकिँदैन थियाे।

मेरो जीवनमा हिउँदका दिनहरु पर्यायवाची जस्तै बनिदिए। विवाहपश्चातका हिउँदहरू पनि त्यति सुखद रहेनन्। जागिरको भूगोल परिवर्तनपश्चात जनताको सेवा गर्छु भन्ने हेतु कार्यालयमै डेरा लिई दुई वर्षसम्म एक कोठामा बिताएको जीवनको कथा छुट्टै छ। कर्तव्य पालनको सिलसिलामा जागिर गर्दै गर्दा पुषको अन्धकार रातमा उपचारको बहानामा आएको एक जँड्याहाले पाँच महिनाको छोरीसहित एक कोठामा बसेका हामी सपरिवारमाथि नानाथरी गाली गलौच गर्दै हातपात गरेको सम्झना छँदैछ। पुषको चिसोमा पाँच महिनाको छोरी लगेर प्रहरीको शरणमा गएको जीवनको पहिलो अनुभव थियो।

जनताको सेवाका लागि रातदिन काम गर्छु भनेर खटिने राष्ट्र सेवकहरूलाई जनताहरूले नै घात गर्छन् भने त्यसको कुनै समाधान छैन। काम गर्ने राष्ट्र सेवकले नै भागेर जानु पर्दछ। यसै नियतिका कारणले पनि होला जनतामा अहोरात्र खटिने कर्मचारी समाजमा टिक्न सक्दैनन्। जनताबाट लुटिखानेहरू र जनतालाई दिग्भ्रमित बनाउनेहरूको बोलबाला रहने गर्दछ समाजमा।

काठमाडौंको बसाइका हिउँदहरू भने लालनपालनका दृष्टिले त्यति धेरै दुखपूर्ण रहेनन्। सुकिला-मुकिलाहरूको बीचमा जाँदा अलिक आफूले पनि राम्रो बन्नुपर्ने बाध्यताले गर्दा दुई जोर ज्याकेट भए पनि किन्न बाध्य भएको थियो। साना छोरा र छोरीलाई हिम्मतका साथ पाल्छु, पढाउँछु भनेर काठमाडौँमै लगेको थिएँ। छोराछोरीको लालनपालन र जागिरको कार्य संगसंगै गर्नुपर्ने बाध्यताका कारण करिब दुई वर्ष बुवा र आमाको भूमिका मैले नै निर्वाह गर्नुपर्ने बाध्यता थियो। तीन कक्षामा पढ्ने छोरी र एलकेजीमा पढ्ने छोरालाई एक्लैले हुर्काउन निकै दुख भइरह्यो। सन्तान हुर्काउँदाको पीडा कस्तो हुन्छ भनेर त्यतिबेला गहिरो गरी अनुभूति भएको थियो। छोराछोरीलाई खुसीसंग राख्न सक्नु नै मेरो ठूलो सफलत थियो।

यसरी प्रत्येक हिउँदमा गाउँघरतिर सुन्ने र सुनाइने बात अर्थात् लोक कथा र मेरा जिन्दगीका कथाहरुको लर्को उस्तै लम्बेतान बनिदिन्छ। स्वयममा एक दिन पूरै चिस्सिनु पर्ने जीवनमा हिउँदका दिन र रातले खेलेको भूमिकाले निकै नोस्ट्याल्जिक बनाइरहेको हुन्छ। अचेल प्रत्येक हिउँद आउँदा केवल एकै विषयको चिन्ता हुने गर्दछ। हरपल सोचिरहन्छु, ‘हामीजस्ता जागिर भएकाहरूले हिउँदको चिसो छल्नका लागि त मुस्किल पर्दछ भने ती व्यक्तिहरू जसको बस्ने छाना छैन, लगाउने लुगा छैन र खाने कुनै अन्न छैन तिनीहरूका लागि प्रत्येक हिउँदमा राहतको जोहो गर्ने को होला?'

हाम्रो देशमा अहिले हेर्दा सात सयमाथि त सरकार मात्रै छन्। सरकारको काम भनेको जनताको पीडामा मल्हम लगाउनु हुनुपर्ने हो। यहाँका सरकारले आफ्नो र आफ्ना कार्यकर्ताको स्वार्थबाहेकको कुनै कार्य गरेको देखिँदैन। बरु एक सरकारले अर्को सरकारलाई दोष थुपारेर आफू कसरी बँच्ने भन्ने मात्रै ध्यान छ।

मैले कुनै सरकारको विरोध गर्न खोजेको होइन् तर राज्य प्रणालीभित्र यदि  व्यवस्थित योजनाका साथ कार्य गरिएन भने यी समस्याहरू सधैं यस्तै रहिन्छ। सयौं हिउँदहरू आए पनि जनताले आकाश ओढेर जमिनमा ढुङ्गा सिरानी हालेर सुत्नुको विकल्प देखिनेवाला छैन। यहाँ हुनेखाने, टाँठाबाठा र ती महामहिम भनाउँदाका लागि बाहेक अरु कसैका लागि केही हुने देखिँदैन। यस्तै हो भने त जनताले बलिदानी दिएर आएको लोकतन्त्र पनि शक्तिको उन्मक्ततामा रमाइरहेकाहरुले कुन बेला चिस्स्याइ दिन्छन् भनी शंका गर्नुपर्ने भइसक्यो। 

मंगलबार, माघ १७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (1)

dan saud Jan 31, 2023

intelligent