अमात्यको एक गीतले ‘शिवानी’लाई रातारात हिट बनायो

भनिन्छ, उमेर बढ्दै गएपछि मान्छेलाई विगतको यादले सताउँदै जान्छ। नोस्ट्याल्जिक बनाइरहन्छ। त्यही नोस्ट्याल्जिक मन लिएर केही समयअघि आफूलाई खोज्दै नेपालगन्जको बस्ती–बस्तीमा पुगेकी थिइन् शिवानी सिंह थारु पनि। उनको यात्रा आत्मपरक निबन्ध, कथा र उपन्यास लेखनको हो। ‘मैले पहिलो उपन्यास प्रकाशन गर्नुअघि नै सोचेको थिएँ, नेपागन्जमाथि लेख्न। यहाँ पटकपटक आएर रिसर्च गर्न थालेको पनि थिएँ। पछिल्लो समय अलिदिन बढी बसेँ’, कुराकानीका क्रममा उनले सुनाइन्।

उसो त काठमाडौंमा हुर्के बढेकी शिवानीको जन्मभूमि पनि हो नेपालगन्ज। त्यही सहरमा बिताएकी हुन् उनले आफ्नो बाल्यकाल। एउटा ग्ल्यामरस छविबाट सुरु भएको जिन्दगीको क्रियाशील र रोमान्टिक पाटो केही समययता अलि बढी नोस्ट्याल्जिक बनिरहेको छ। मनभरी सम्झनाका पाटाहरू बिछाएर उनी खोज्न थालेकी छन् बाल्यकाल बिताएका ती स्थान, केही चिजवस्तुहरू, त्यो प्रकृति र त्यतिखेरका अनुहारहरू। केही अझै उस्तै देखिन्छन्। केही विलीन भइसके। उनी ती सबैलाई विगतमा उभ्याएर पटकपटक हेरिरहेकी छन्। सम्झिरहेकी छन्।

सत्र अठार वर्ष पहिले नेपाल टेलिभिजनबाट एउटा चर्चित कार्यक्रम प्रसारण हुन्थ्यो ‘मेरो गीत मेरो संगीत’। हँसमुख मुहार लिएर कार्यक्रम प्रस्तोताका रुपमा देखापर्थिन् उनी। त्यही कार्यक्रम बन्यो, उनलाई पब्लिक फिगर बनाउने आधार पनि। लगत्तै सुरु गरिन्, मूल्याङ्क टक सो। योगेश्वर अमात्यको ‘जब सन्ध्या हुन्छ’ बोलको गीतमा मोडलिङ गरेर थप चर्चा बटुल्न सफल भएकी शिवानी कतिपय एफएम रेडियोहरूमा समेत बनिन् कार्यक्रम प्रस्तोता।

शब्द चयन र बोलीमा छुट्टै विशेषता भएकी उनी निकै नै रोचक ढंगले कार्यक्रम प्रस्तुत गर्ने मध्येकी एक हुन्। उनले चलाएका कार्यक्रम रातारात हिट हुन थालेपछि बढ्दै गयो माग पनि। दुई वर्ष बीबीसीको मिडिया एक्सनमा समेत काम गर्ने अवसर पाएकी उनले नाटक लेखिन्। मूलधारका पत्रपत्रिकामा लेखहरू छापिँदै गए। काठमाडौंमा एक दिन नामक उपन्यास प्रकाशित भएपछि दर्ज भइन् राम्रै लेखकको रुपमा।

पछिल्लो समय फुलटाइम लेखक बनेकी शिवानी द्वन्द्वकालका धैरै कुराहरू आउन नसकेकोमा चिन्ता व्यक्त गर्छिन्। उनी भन्छिन्, ‘राज्यले दमन गरेको होस् वा आन्दोलनकारीले, ती पिछडिएकाे समाजका सदस्यका द्वन्द्वका कथाहरू लेखिनुपर्छ। ती कथा आएका छैनन्। जसले भावी पुस्तालाई पाठ सिकाउँछ। इतिहासको कुरा गर्ने हो भने त झन एक चौथाइ पनि आउन सकेको छैन।’

मान्छेको छोटो जिन्दगीमा पढ्नु र लेख्नु पर्ने कुरा धेरै नै भएको महसुस गरेरै हाल समय तालिका अनुरुप डोर्याइरहेकी छन् जिन्दगीलाई। बिहान सबेरै उठेर एक्सरसाइज गर्छिन्। तत्पश्चात प्राणायाम गर्छिन्। बिहानको नास्ता लिइसकेपछि ९:३० देखि १ बजेसम्म तल्लीन हुन्छिन् लेखन कार्यमा। नुहाउने, खाना खाने समय हो १ देखि २ बजेसम्मको। दुई बजेपछि सुरु हुन्छ उनको पढ्ने समय।

दुइटा नेपाली दैनिक पत्रिका र एउटा न्युयोर्क टाइम्स पढिसकेपछि पल्टाउँछिन् नेपाली साहित्यका पुस्तकहरू। जसमा कविता एउटा र कथा अथवा उपन्यासमध्ये एउटा हुन्छ। तत्पश्चात वाकिङ गर्न रुचाउँछिन्। वाकिङबाट फर्केपछिको समय व्यतित हुन्छ अँग्रेजी साहित्यका पुस्तक पढ्नमा।

वर्षमा एकपटक नचिनेको ठाउँ, नयाँ सहर घुम्नुपर्छ भन्ने सोच बोकेकी उनीसँग यात्रामा निस्किँदा पढ्ने कुराको नाममा हुन्छ, मात्र त्यो ठाउँको नक्सा। त्यो समयमा केवल मान्छे, सहर र ठाउँ पढ्न रुचाउँछिन् उनी। त्यहाँ जाँदा हराइन्छ। त्यो हराउनु भनेको पनि आफूलाई पाउनु जस्तै लाग्छ उनलाई। तर, नयाँ ठाउँमा पुग्दा सकेसम्म त्यहाँका स्थानीय पत्रपत्रिका पढ्न छुटाउँदिनन्।

खनपिनका सवालमा यो खानुपर्छ, यो बनाउनुपर्छ भन्ने कहिल्यै कुनै योजना हुँदैन उनको। भोक सबैभन्दा महत्वपूर्ण भैदिन्छ उनका लागि। भोक लागेको समयमा जे भेटायो त्यही मिठो लाग्ने उनलाई नयाँ ठाउँमा जाँदा पनि दालभात नै चाहिन्छ भन्ने हुँदैन। जहाँ जुन परिकार भेटिन्छ, त्यही मिठो मानेर खाने गरेको बताउँछिन्।

हरेक महिना, हरेक वर्ष कुनै न कुनै पुस्तकले छोएकै हुन्छ भन्ने शिवानीका लागि हरेक दिन नयाँ दिन र हरेक वर्ष नयाँ कल्प बनिदिन्छन्। अर्को वर्ष जब नयाँ पुस्तक पढ्छिन्, तिनैले आशन जमाइ दिन्छन् मनमा। उनी बताउँछिन्, ‘अब धेरैमा ३०/३५ वर्ष बाँचिएला। समय छोटो छ। त्यसैले विश्वभरीका राम्राराम्रा पुस्तक छानेर पढ्नुपर्ने हुन्छ।’ सहरमाथि लेख्ने योजना बनाएपछि पढेका र उनलाई निकै प्रभाव पारेका यी ५ वटा पुस्तकको चर्चा उनकै शब्दमा गरिएको छ।

१. इस्तानबुल (Istanbul): Orhan Pamukको सहरका बारेमा लेखिएको उपन्यास हो। जसलाई पहिलो लकडाउनताका बढो प्रेमले पढेको हुँ। एउटा बुढो हुँदै गएको मान्छे नोस्ट्याल्जिक हुँदाखेरी सहरप्रति कस्तो खालको विचार आउँछ। आफूलाई पाउनका लागि कस्तो खालको ठाउँमा फेरि घुम्न थाल्छ भन्ने भावनाले लेखिएको पुस्तक हो यो। इस्टानबुल एशिया र युरोपको प्रवेशद्वार हो। पामुकले दुइटा सभ्यता एक ठाउँमा मिसिएपछि त्यहाँको रहनसहन, भेषभूषा, खानपिन, आर्किटेक, मान्छेको चेतनास्तर कस्तो हुन्छ, त्यहाँको साहित्य कस्तो हुन्छ भन्ने हिसाबले इस्टानबुलमाथि लेखेका हुन्। नेपागन्ज सहर पनि भारत र नेपालको बोडर हो। पहाड वा भित्रि नेपाल जहाँबाट आउँदा नि अर्कै देश जस्तो लाग्ने सहर हो। म नेपालगन्जमाथि लेख्न खोज्दै छु, त्यस हिसाबले पनि मलाई यो पुस्तक मन परेको हो।

२. Maxmum City: Bombay lost and found (म्याक्सिमम सिटी बम्बे लस्ट एण्ड फाउन्ड) : सुकेटु मेहेता (sukutu Mehta) द्वारा लिखित यो पुस्तक पनि लकडाउनकै समयमा पढेकी हुँ। सुकेटु मेहेता जन्मे बम्बईमा र हुर्के न्युयोर्कमा। ठ्याक्कै मजस्तै। म पनि नेपालगन्जमा जन्मेँ, काठमाडौंमा हुर्केँ। मेहेता स्कुल छुट्टीमा बम्बई आउँथे। आइसकेपछि न्युयोर्क फर्किन मन नपराउने। फर्किदा रुँदै जाने। मन बम्बैया, नोस्टाल्जिक पन उस्तै तर रहनसहन सबै न्युयोर्कको भैसकेको। यो अवस्थामा कस्तो खालको लेखिन्छ त भन्ने उदाहरण हो यो पुस्तक। जसभित्र १९९० मा हिन्दु मुसलमानका बीच दरार आएको कुरा पनि छ। नेपालगन्जमा पनि २०५६ मा हिन्दु मुसलमानको दङ्गा र २०६६ मा मधेशी र पहाडियाका बीच झगडा भएको थियो। मिलेर बसेको समाजमा एकाएक झै-झगडा र दङ्गा सुरु भयो। म र म जन्मेको सहरसँग मिल्दो जुल्दो कथा भएका कारण यो पुस्तकले छोयो।

३.(नाइट वाक्स) Night Walks: १९औं शताब्दीको लन्डनको बारेमा चाल्स डिकेन्सन (Charles Dickens) द्वारा लिखित निबन्ध सङ्ग्रह हो। पढ्दा १९औंं शताब्दीको हो भन्ने लाग्दैन। यसलाई पनि लकडाउनकै समयमा पढेँ। यसभित्रको मुख्य निबन्ध नै नाइट वाक्स हो। जहाँ रातमा सहर कस्तो देखिन्छ त भन्ने कुरा उल्लेख गरिएको छ। लेखकलाई इन्सोमेनिया थियो। उनी रातभर डङ्डङ्ति सहर घुम्थे। राति सहरमा जेजे देख्थे, जस्तो खालको वातावरण हुन्थ्यो त्यसकै बारेमा उल्लेख गरेका छन्।

हामी थर्डवल्ड भूगोलको हिसाबले भन्छौं। वइस्टमा जाँदा उनीहरूको समाजमा थर्डवल्ड हेप्ने शब्द हो। नाइट वाक्स पढ्दा उनीहरूको दृष्टिमा थर्डवल्डको देशजस्तो लाग्छ। किनकि त्यहाँ यति धेरै घरवारविहीन मान्छेहरू छन्। अधिकतम जाडोमा जुत्ताचप्पल नलगाएरै एकसरो लुगाको भरमा बसिरहेका छन्। सडकका पेटीमा सुतिरहेका छन्। जड्याहाहरूको झगडा भैरहेको छ। त्यहीँनेर पुलिसको लेनदेन पनि भइरहेको छ। यसले मलाई रातमा पनि सहरलाई हेर्नुपर्छ भन्ने दृष्टिकोण दियो।

४. हाम्रो समाज एक अध्ययन: मानवशास्त्रीय दृष्टिकोणबाट लेखिएको जनकलाल शर्माको यो पुस्तक आठ महिनाअघि पढेको हुँ। जसले अहिलेसम्म प्रभाव पारिरहेको छ। हरेक नेपालीले पढ्नुपर्ने पुस्तक हो यो। यसमा नेपालको हरेक समुदाय जातजातिलाई विषयगत रुपमा नभएर जस्तो छ, जे छ त्यस्तै लेखिएको छ। नेपालको जातजाति आफ्नो विशेषतासहितमा विशेष लाग्यो। जस्तो थारु जातिको झुस्रोफुस्रोपना प्रकृतिसँग नजिक बस्दाखेरीको हो। त्यही नै उसको विशेषता हो। त्यो विशेषतालाई हामीले सम्मान गर्नु पर्दछ। पहाडमा बस्ने पहाडीको आफ्नै विशेषता छ। हिमालमा बस्ने शेर्पाको आफ्नै विशेषता छ। पल्लो किराँत, वल्लो किराँतको आफ्नै विशेषता छ। नेवारहरूको आफ्नै सभ्यता छ। नेपाली समाजका हरेक जातजातिलाई आफ्नो विशिष्टताको सम्मान गर्न सिकाएको हुँदा मलाई एकदमै मन परेको पुस्तक हो यो पनि।

५. तरुण तपसी: लेखनाथ पौड्यालको यो पुस्तक पढ्दा एउटा लहडमा पढेँ। त्यो कुराले अहिले आएर किन हिट गरिरहेको छ भने नेपालगन्जमा म जन्मिदा हुँर्किदाका दुई/तीनटा रुख जस्ताका त्यस्तै छन्। कविले ऋषि बनाएको रुखले जसरी तरुणलाई इन्सपायर गर्छ त्यसरी नै यी रुखहरूले पनि मलाई इन्सपायर गरिरहेका छन्। नेपालगन्जका यी रुख अहिले पनि उस्तै हरियापरिया छन्। चारैतिर फैलिएका छन्। अहिले आएर यी रुखले मसँग सम्वाद गरिरहेका छन्, जसरी त्यो रुखले तरुण तपसीसँग सम्वाद गरेको छ।

तरुण तपसीमा जुन मनोवाद छ रुखको, त्यही कुरा अहिले मैले यी रुखहरूलाई हेर्दा फिल गरिरहेको छु। त्यतिखेर त ठिकै लागेको थियो। अहिले मेरा लागि जीवन्त भएर आयो तरुण तपसी। त्यो पुस्तकले एकदम इन्सपायर गरिरहेको छ। एकपल्ट पुनः पढ्छु भन्ने लागिरहेको छ।

प्रकाशित मिति: : 2023-03-29 21:40:00

प्रतिकृया दिनुहोस्