मन्दिरा अधिकारी
राजा इन्द्र एकदिन स्वर्गलोकबाट धरतीमा झरे। उनी आफ्नी आमाका लागि पारिजातको फूल लिन आएका थिए। धरतीको त्यो खाल्डो काठमाडौं थियो।
फूल टिप्न लागेका इन्द्रलाई काठमाडौँका मानिसले ‘चोर’ सम्झिएर समाती राखे। वर्षौसम्म उनीहरूले इन्द्रलाई छोडेनन्। उता फूल लिन गएको छोरो नफर्किएपछि आमा इन्द्रायणी पीरमा थिइन्।
अनि उनी आफैँ धरतीमा झरिन्।
र, उनले मृत्यु भएका सबैलाई स्वर्ग लैजाने वाचा गरेर इन्द्रलाई छुटाएर लगिन्।
त्यो यहाँका मान्छेका लागि एउटा ठूलो विजय थियो।
अन्तत: त्यही विजायोत्सव ‘इन्द्रजात्रा’ भयो। र, अब त्यो काठमाडौँमा नेवार समुदायका लागि एउटा गौरवपूर्ण पहिचान बनिसकेको छ।
भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म ८ दिन मनाइने येँयाः अर्थात् इन्द्रजात्रा यंलाथ्व काठमाडौंका नेवाः समुदायको पहिचान बोकेको पर्व हो।
राजा गुणकामदेवको पालादेखि प्रचलनमा आएको इन्द्रजात्रा उत्सवमा कालभैरव मन्दिरको अगाडि लिङ्गो गाडी इन्द्रको ध्वजा फहराएपछि आरम्भ हुन्छ। उक्त दिन स्नान गरी, श्रृङ्गारपटार गरी चोखो भएर बिहानै इन्द्रध्वज उठाउने, लिङ्गो पूजा गरी शीरमा पुष्प गुच्छाले सजाइ, छातासहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमान् ढोका अगाडि तलेजु भवानीको मन्दिरसामु राखिन्छ।
यस पर्वमा विशेषगरी जीवित देवी अर्थात् कुमारीको रथ तानेर जात्रा मनाइन्छ। कुमारीको रथको अघि-अघि गणेश र भैरवको पनि रथ तानेर जात्रा गरिन्छ।
जहाँ कुमारीको रक्षकको रूपमा गणेश र भैरवको स्थापना गरिएको हुन्छ।
यसदिन विशेष गरेर स्वर्गका राजा देवराज इन्द्रलाई सहकालको देवताको रूपमा पूजा गरिन्छ। र, इन्द्रजात्राको अघिल्लो दिन ५०४ कुमारीको पूजा गर्ने प्रचलन छ।
इन्द्रजात्रामा नेवार समुदायले आ- आफ्ना घरमा समयबजी खाने र टोलछिमेकमा पनि समयबजी बाँड्ने प्रचलन छ।
नेवाः समुदायको बस्तीमा विशेष गरेर गणेशको मन्दिरअगाडि कलात्मक रूपले समयबजी, मिठाइ र फलफूल सजाएर प्रदर्शन गरिन्छ।
टोलटोलमा र छरछिमेकमा गएर ‘ला छकू वयेक समयबजी, वल वल पुलुकिसी’ अर्थात् (मासु एकटुक्रा आउने गरी समयबजी, आयो आयो ऐरावत हात्ती) भनेर लय मिलाएर देउसी र भैलोजस्तै समयबजी माग्न जाने चलन छ।
समयबजी भन्नाले चिउरा, कालो भट्मास, अदुवा, लसुन, बोडी, तोरीको साग, आलु, छोयला, बारा, माछा र अण्डा आदिको परिकार हो।
युवा विश्व हिन्दू महासंघका अध्यक्ष राजन मर्हजनका अनुसार इन्दजात्रा विशेषत: १५ दिन मनाइने भए पनि अहिले आएर सातदेखि आठदिन मात्रै मनाइने प्रचलन भएको बताउँछन्।
उनकाअनुसार तीजको दर खाने दिनदेखि नै इन्द्रजात्राको उत्सव सुरु हुन्छ। त्यसकारण १५ दिन हुन्छ।
तर, सबैले मानिआएको चलनअनुसार पर्व आठ दिनसम्म मनाइन्छ।
यो जात्राको प्रचलनसँगै जोडिएको जनविश्वास अनुसार इन्द्रजात्राको बेलामा दिवङ्गत भएका पितृआत्माहरू आउँछन्।
उनीहरूले लिङ्गो पूजा गर्दा आफ्ना सन्तानले दिने धूप, घ्यूको दीप, नैवेद्य, भजनपाठ सुनेर ‘पापमुक्त’ भई शान्ति प्राप्त गर्दछन्।
इन्द्रजात्राको अवधिमा भगवानका दश अवतारको लीला पनि देखाइन्छ।
यसैकारण इन्द्रजात्राको रातमा दीपावली गर्ने चलन चलेको छ।
उनकाअनुसार इन्द्रजात्रा यःसिं राखेको चार दिनपछि कायाअष्टमीका दिन पूजा गरेर विभिन्न नाच गरी कुमारीको रथ तानेर टेकु दोभानमा लगेर विसर्जन गरेपछि जात्रा समापन गरिन्छ।
विशेषगरी इन्द्रजात्रा यँलाथ्व चतुर्दशीको दिनबाट सुरु भए पनि यंलाथ्व (भाद्र शुक्ल) द्वितीयामा शुभसाइत पारेर इन्द्रध्वज ठड्याउन कालो बोकासहित नालाको जङ्गलमा वनयात्रा गरिन्छ। र, कालो बोकाले जुन रुखमा हान्छ, त्यही रुख काटेर चित्तापोलबाट तान्दै सूर्यविनायक, ठिमी, कोटेश्वर बानेश्वर, भद्रकाली सहिदगेट, टुडिखेल, हुँदै भेटाहिटीमा यःसिं ल्याउने गरिन्छ।
भोटाहितिमा यःसिं राखेको चार दिनपछि कायाअष्टमीका दिन विधिवत यःसिं गाड्ने ठाउँमा राजपुरोहितले होम गरी पूजा गर्छन्।
३२ हात लामो यःसिं हनुमान ढोकामा ल्याएर येँयाः जात्रा सुरु भयो भन्ने प्रमाणसहित साइत हेरेर यंलाथ्व द्वादशीको दिन यःसिं ठड्याइन्छ। भने त्यही दिन बेलुकी हनुमानढोकामा विभिन्न देवदेवीको नाच नचाइन्छ भने दशअवतार, दीप्याखं, लाखे नाच, मजिपा लाखे, कुम्हो नाच, भक्तपुरको माकः प्याखं, महांकाल नाच, हल्चोकको सवभक्कु भनेर चिनिने आकाशभैरव गण नाच, किलागलबाट पुलुकिसि नाच र दीप्याखं आदि देवदेवताको नाच काठमाडौँका ठाउँ-ठाउँमा नचाइन्छ।
यःसिं ठड्याएको पर्सिपल्ट यँलाथ्व चतुर्दशीको दिन क्वःने अर्थात् सहरको तल्लो क्षेत्रतिरबाट कुमारीको रथ तान्छ। यही दिनलाई इन्द्रजात्रा भन्ने गरिएको छ। यस दिन मरुटोल अर्थात् वसन्तपुरबाट रथ तानेर काठमाडौँको जैसीदेवल, ज्याबहाल, लगन, ब्रह्मटोल, कोहिटी, चिकंमुगल हुँदै भीमसेनस्थान लगायतका विभिन्न ठाउँको परिक्रमा पछि वसन्तपुरमै ल्याएर त्यसदिनको जात्रा टुङ्ग्याइन्छ।
त्यसको भोलिपल्ट थःने अर्थात् सहरको माथिल्लो क्षेत्रबाट कुमारीको रथ यात्रा गरिन्छ। त्यसदिन वसन्तपुरबाट रथजात्रा सुरु गरेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर पुगेपछि जात्रा सम्पन्न हुन्छ। त्यसपछि सबभन्दापछिको दिन यँलागा चौथी अर्थात् भाद्रकृष्ण चौथीको दिन नानीचायाः भनेर रथ मरुटोलबाट प्याफल हुँदै किलागलबाट इन्द्रचोकतिर तानेर जात्रा सम्पन्न गरिन्छ।
रथ जात्रा गरिँदा रथको अगाडि अगाडि लाखे नाच र पुलकिसि नाच ल्याइन्छ। त्यसपछि गणेश र भैरवको रथ अनि सबैभन्दा पछाडि कुमारीको रथ तानेर ल्याइन्छ।
नानीचायाःको दिन बेलुकी यःसिं ढालेर येँयाः जात्रा सम्पन्न भएको घोषणा गरिन्छ। त्यसपछि इन्द्रध्वज अर्थात् यःसिंलाई टेकु दोभानमा लगेर विसर्जन गरिन्छ।
उनका अनुसार परापूर्वकालमा इन्द्रजात्रा मनाउने तरिका र अहिलेको तरिकामा अलिअलि भिन्नता पनि आइसकेको छ।
‘हामी सानो छँदा रातभर लाखे नाच र पुलकिसि नाच नाँच गर्ने गरिन्थे, तर आजकाल यी सबै हराउँदै गएका छन्’ उनी भन्छन्, ‘यो भनेको हरेक कुरा परिवर्तन हुने शताब्दी रहेछ अब यस्तै भइरह्यो भने जात्रा नै लोप भएर जाने अवस्था सिर्जना हुन पनि सक्छ।’
२०६२–२०६३ भन्दा अघि र त्यसपछिका जात्रामा झन राजनीतिले पनि फरक बनायो।
त्यो बेला राजा थिए, अब राष्ट्रपति छन्।
‘पहिला गण्तन्त्र भन्दा अघि इन्द्रजात्राका दिन राजा आएर अवलोकन गर्थे, त्यसताका माहोल नै छुट्टै हुन्थो, वातावरण नै अलग हुन्थो, तर आजकाल त्यो अवस्था छैन। त्यसैले पनि पहिला पहिलाको तुलनामा जात्रा मनाउने तरिका परिवर्तन हुँदै गएको छ’ उनले भने।
भिडियाे :
फाेटाे/भिडियाे : शनि शाक्य
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया