तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन भोलिबाट सुरु हुने

गैरआवासीय नेपालीहरुको लागि ज्ञान, आविष्कार, विज्ञाता तथा अनुभवको आदानप्रदान गर्न तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन मंगलबारबाट काठमाडौँ सुरु हुँदैछ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद्को ११औँ महाधिवेशनसँगै यस वर्षको सम्मेलन आयोजना गरिएको हो।

सोमबार काठमाडौँकाे सोल्टी होटलमा आयोजित कार्यक्रममा एनआरएनएका प्रवक्ता साेम सापकाेटाले नेपाली अर्थतन्त्रलाई ज्ञानमा आधारित अर्थतन्त्रमा रुपान्तरण गर्न स्थानीय तथा विश्वव्यापी तहमा साझेदारी अभिवृद्धि गर्दै अगाडि बढ्न सम्मेलन आयोजना गरिएको बताए।

एनआरएनका प्रवक्ता सोम सापकोटाले यो बर्षको सम्मेलनको मुल बिषय राष्ट्रिय योजना आयोगको १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्यहरुमा आधारित रहेर तय गरिएको बताए।

‘सम्मेलन विज्ञान, प्रविधी र आविस्कारलाई नेपालीको हितमा प्रयोग गर्ने विषयमा आवश्यक छलफल र रणनीति तर्जुमा गर्न जीवन्त हुन्छ,’ 
उनले भने, ‘यो वर्षको सम्मेलन मुल बिषय नेपालको राष्ट्रिय योजना आयोगको १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्यहरुमा आधारित रहेर तय गरिएको हो।’

यसैगरी सापकाेटाका अनुसार यस सम्मेलनमा चारवटा मुख्य सत्रहरु रहने छन् भने अन्य १२ वटा वैज्ञानिक सत्रहरुसमेत समेटिने छ।

विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिनेछ। सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा राखेको उनले बताए। 

गैरआवासीय नेपाली संघले ज्ञान सम्मेलन हरेक दुईदुई वर्षमा गर्दै आएको छ।

 

 

प्रकाशित मिति: : 2023-10-16 18:39:00

प्रतिकृया दिनुहोस्