दसैँ बिदामा यसरी घुम्नुहाेस् राप्ती क्षेत्र

BreaknLinks
BreaknLinks

कलल बगिरहेको नदी। नदीले दिइरहने सिरसिर चिसो हावा। हावाको गतिसँगै नदी किनारै किनार यात्रा। जुन यात्राको आनन्दता सायदै मिल्न सक्छ। 

यस्तै आनन्दता लिन कुनै समुन्द्रको तटमा जानु पर्दैन। मात्र एउटा छोटो यात्रामा निस्कनुस्। राप्तीको यात्रामा। 

‘राप्ती’ एउटा नदीको नाम याद आयो होला। हो, नदीको नाम पनि हो। जुन दाङ हुँदै बाँकेतर्फ बग्ने नदी र चितवनमा रहेको नदीलाई राप्ती नदी भनिन्छ।

मैले भन्न खोजेको यी राप्ती नदी होइन। दसैं बिदा छोटो छ? कम खर्चमा धेरै ठाउँ घुम्न मन छ? फेरि भन्छु एकपटक राप्तीको यात्रामा निस्कनुस्।

राप्ती अर्थात् साविकको राप्ती अञ्चल। दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानको यात्रामा।

यी जिल्लामा घुम्न निस्कनुभयो भने नदीदेखि ताल, मठ मन्दिरदेखि गुम्बासम्म, तराईदेखि हिमालसम्म र स्वच्छ हावाको सिरसिर बतासमा मन भुलाउन सकिन्छ। 

बबई, राप्ती, भेरी, शारदा, माडी नदीको स्पर्श, स्वर्गद्वारी, खैराबाङ मन्दिरको आशिर्वाद, हिमशिखरबाट निस्केको चिसो पानी, बुट्यानदेखि गगनचुम्बी बोटहरुबाट निस्केको अक्सिजन लिँदा यात्रा रोमाञ्चक बन्छ।

तर कसरी?

पहिला दाङको यात्रामा निस्कनुस्। दाङ लुम्बिनी प्रदेशको तराई जिल्ला पनि हो। राप्ती र बबई गरी दुई नदी भएको दाङमा थुप्रै पर्यटकीय स्थलहरु छन्। 

विश्वकै अग्लो त्रिशुल भएको धारापानी धाम, अम्बिकेश्वरी मन्दिर, बाह्रकुने दह, राप्ती शान्ति उद्यानदेखि चमेरो गुफासम्म अवलोकन गर्न सकिन्छ।

मोटर यात्रामा यी क्षेत्रको अवलोकन एक दिनमा गर्न सकिन्छ।

त्यसपछि सल्यानको यात्रामा निस्कनुस्। दाङको तुलसीपुर हुँदै सल्यान पुग्न सकिन्छ। तुलसीपुरदेखि सल्यानको कपुरकोटसम्मको यात्रा कठिन छ। 

सडकमा परेको खाल्डाखुल्डी, धुलो धुवाले कपुरकोटसम्म यात्रा कठिन भए पनि त्यसपछिको यात्रामा कठिन महसुस हुने छैन।

राप्ती राजमार्गको यात्रा निकै रोमाञ्चक बन्छ। सल्यानको सल्लाघारीदेखि डाँडापाखा, खोचका बस्तीहरुले यात्रालाई कतै बोरिङ बनाउने छैन।

दसैँको बिदामा यहाँको यात्रामा निस्कनुभयो भने हल्का चिसो मौसम, पिच गरेको राप्ती राजमार्गमा मोटर यात्रा जति गर्यो उति नै मिठास बन्दै जान्छ। 

सल्यानको खैराबाङ मन्दिर प्रमुख पर्यटकीय स्थल हो। तर, राप्ती राजमार्गदेखि पूर्वतर्फ पर्छ। यहाँ जान नसकिए पनि राप्ती राजमार्गमा पर्ने कुपिण्डे दहको अवलोकन गर्न सकिन्छ।

कुपिण्डे दहसम्म शारदा नदीको स्पर्श हुन्छ। त्यसपछि शान्तिगरजस्ता साना बजार र श्रीनगर बजारले गजबले स्वागत गर्छ।

श्रीनगरबाट रुकुम (पश्चिम)को यात्रा पनि कम रोमाञ्चक छैन। उही राप्ती राजमार्ग हुँदै सल्यानको बांगेलाखुरीबाट रुकुमको त्रिवेणी हुँदै मुसिकोट पुग्न सकिन्छ।

राप्ती राजमार्गको यात्रा सल्यान र रुकुममा कठिनाइ कतै भोग्नु पर्दैन। यात्रा गर्दा सल्यानका नेतृत्व र रुकुमका नेतृत्वदायी भूमिकामा रहेकालाई धन्यवाद दिन मन लाग्छ।

राप्ती राजमार्गको यात्रा कहिले खोँचमा, कहिले मोडैमोडमा, डाँडा र गहिराइमा गर्दा मनलाई आनन्दता प्राप्त हुन्छ।

सल्यानको कपुरकोटबाट रुकुमको सदरमुकाम मुसिकोट खलंगासम्मको यात्रा करिब पाँच घण्टामा गर्न सकिन्छ।

रुकुम (पश्चिम)मा पुगेपछि स्यार्पुतालको अवलोकन गर्न सकिन्छ। तर, कुनै विशेष ठाउँको अवलोकन भन्दा पनि मोटर यात्रामा सल्यान, रुकुमका खोँचमा बनेका गाउँ, डाँडामा बसेको बस्तीले यात्रालाई कत्ति पनि निराश बनाउँदैन।

रुकुमको खलंगा बास बस्ने ठाउँ हो। एकरात यहाँ मज्जाले बिताउन सकियो भने नजिँदै एयरपोर्ट, खलंगा बजार मुनतिरको सानी भेरी नदीलाई नियाल्न सकिन्छ।

यसपछि उस्तै मोटर यात्रा सुरु हुन्छ रुकुम (पूर्व)को। रुकुम (पूर्व) मध्यपहाडी लोकमार्ग हुँदै जान सकिन्छ। खलंगाबाट रुकुम (पूर्व)को रुकुमकोट करिब एक घण्टामा पुग्न सकिन्छ।

मध्यपहाडी लोकमार्गको यात्रा पनि सहज छ। चौडा बाटोमा पिजैपिजको यात्रा गर्न सकिन्छ। रुकुमकोट पुग्दा थोरै कच्चीबाटो भएपनि फरक बाटोको यात्रा गरेझैं लाग्छ।

यसपछि तपाईंका दुई विकल्प छन्, यात्राका। रुकुमकोट हुँदै मध्यपहाडी लोकमार्गबाट बाग्लुङ हुँदै पोखरा जाने कि? रोल्पा, प्युठान जाने? 

एउटा रोज्न सकिन्छ। 

रोल्पा हुँदै यात्रा गर्दा माओवादीको आधार इलाका भनिने थवाङलाई गजबले अवलोकन गर्न सकिन्छ। रोल्पा हुँदै प्युठानको स्वर्गद्वारी पनि पुग्न सकिन्छ।

प्युठान नपुगी राप्ती राजमार्ग हुँदै पुनः दाङ पनि झर्न सकिन्छ।

यसरी मोटर यात्रा गर्दा छोटो समय अर्थात् बढीमा पाँच दिनमा गजबले सबै ठाउँमा अलोकन गर्न सकिन्छ। यो भन्दा पनि कम दिनमा यहाँको यात्रा गर्न सकिन्छ।

विशेष गरेर राइडरहरुका लागि राप्ती राजमार्गदेखि मध्यपहाडी लोकमार्गको यात्रा रोमाञ्चक बन्न सक्छ।

एकपटक तपाईं पनि दसैं बिदामा पुग्ने प्रयास गर्नुस्।

प्रकाशित मिति: : 2023-10-23 07:10:00

प्रतिकृया दिनुहोस्