जीवनभरिको कमाइ श्रीमतीलाई दिए, उनीसँगै मुद्दा लड्दा-लड्दै आश्रम पुगे

Breaknlinks
Breaknlinks

ज्यान शिथिल छ। आँखा कमजोर छन्। नजरले हत्तपत्त ठम्याउन सक्दैनन् तर पनि फेरि काम गर्छु भन्ने जुनून छ उनमा। श्रीमतीसँग मुद्दा लड्दालड्दै आफैं थलिएका उनी अहिले आश्रमको सहारामा बस्छन्। 


सिन्धुपाल्चोकका रामबहादुर श्रेष्ठले सानै उमेरदेखि काम गरे। १० वर्षको उमेरमा त उनी व्यापारी भइसकेका थिए। 

रहरले होइन बाध्यताले।

आठ वर्षको उमेरमा आमा गुमाएपछि उनी काठमाडौं हानिए। त्यसपछि उनले भाँडा माझ्ने काम गर्न थाले। भाँडा माझेर उनले महिनामा ६५ रुपैयाँ कमाउँथे। 

उनको लागि नयाँ सहर थियो काठमाडौं। तर त्यही ठाउँमा काम गरेर उनले पैसा कमाए अनि आफ्नै गाउँमा एउटा किराना पसल खाेले।। 

१० हजार लगानीमा किराना पसल सञ्चालन गर्दा उनी मात्र १० वर्षका थिए। पढ्ने उमेरमा व्यवसायी बनेका रामबहादुरको जाँगर र मेहनत देखेर गाउँले नै दंग पर्थे।

एकदिन उनी पसलको सामान किन्न बजार गएका थिए। त्यहाँ उनले मेसिनबाट स्विटर बुनिरहेको देखे। त्यो देखेर रामबहादुर आकर्षित भए।

‘मेसिनले स्विटर बुनेको देख्दा रमाइलो लाग्यो। मलाई पनि स्विटर बुन्न मन लाग्यो तर आउँदैन थियो’, उनी भन्छिन्, ‘त्यही पनि मैले हार मानिनँ, स्विटर बुन्ने मान्छेसँग मेसिन चलाउनका लागि तालिम लिएँ।’

मनमा आँट र काम गर्ने हुटहुटी थियो उनमा। त्यसैले त एक महिनामै उनी मेसिन चलाउन सिपालु भए। 

त्यसपछि उनले आफ्नै कपडा सिलाउने पसल खोले। २० हजार लगानीमा। 

किराना पसललाई बेचेर २०३८ सालमा नयाँ पसल खोलेका रामबहादुर खुसी थिए, आफ्नो कामप्रति।

तर उनको त्यो खुसी धेरै समय टिक्न सकेन। अपसोच, उनको कपडा सिलाउने मेसिन चोरी भयो। 

भोक–तिर्खा बिर्सिएर जमाएको पैसाले मेसिन किनेका थिए उनले। तर त्यही मेसिन चोरिएपछि उनी निरास भए। 

‘मेहनतले कमाएको पैसाले मैले मेसिन किनेका थिएँ। त्यो पसलबाट आम्दानी पनि राम्रो भयो। तर के गर्नु चोरी भइहाल्यो’, चार दशकअघिको कुरा सम्झिएर भावुक हुन्छन् रामबहादुर।

दुई वर्षसम्म चलाएको पसलबाट मेसिन चोरी भएपछि अन्योलमा थिए उनी। 

अब के गर्ने?

गाउँमा केही सीप नलागेपछि उनी फेरि काठमाडौं छिरे।  

नयाँ काम गर्ने जोश र जाँगर बोकेर राजधानी आएका उनलाई एक साथीले क्यान्टीन चलाउने ‘आइडिया’ दिए। 


 त्यसपछि ३० हजार लगानीमा उनले शंकरदेव क्याम्पसमा क्यान्टीन चलाउन सुरु गरे। 

‘सुरुवाती दिनहरूमा क्यान्टीन त्यति चलेन तर विस्तारै सोचेभन्दा धेरै विद्यार्थीहरूको भीड लाग्न थाल्यो’, उनले बिएल नेपाली सेवासँग भने, ‘मैले दुई–चार जना कर्मचारी राखेको थिएँ।’ 

दिनको ३० हजारसम्मको खाजा बिक्री हुन्थ्यो उनको क्यान्टीनमा। तर उनी क्यान्टीनका सञ्चालक मात्र थिएनन् खसीको ठेकेदार पनि थिए। 

टुकुचाको खसी बजारमा थियो, उनको खसीकाे ठेक्का। त्यहाँबाट पनि उनको राम्रै आम्दानी हुन्थ्यो। त्योबेला उमेर थियो, व्यापार थियो अनि पैसा पनि। उनले कमाएकाे त्यही पैसाकाे पछि थिइन् सिन्धुपाल्चोककी सुशीला नापीत। 

उनी अस्पतालमा काम गर्थिन्। खाजा खान रामबहादुरको क्यान्टीन पुग्थिन्। त्यही क्यान्टीनमा उनीहरूको भेट भएको थियो। ‘उनी मेरो गाउँकी केटी थिइन्। काठमाडौं आएपछि चिनजान बढ्यो। माया बस्यो अनि विवाह भयो’, रामबहादुरले सुनाए। 

विवाह गरेको वर्ष दिनपछि उनले २०४६ सालमा ‘बिक्रम टेम्पो’ किने। २ लाख ५० हजार रुपैयाँ तिरेर। 

क्यान्टीनबाट कमाएको पैसालाई उनले टेम्पोमा लगानी गरेका थिए। त्योबाट पनि आम्दानी गरिरहेका थिए रामबहादुरले।

शंकरदेव क्याम्पसमा उनले चलाएको क्यान्टीन देखेर लोभिएका थिए पीके क्याम्पसका एक व्यक्ति। ‘उहाँको नाम मैले ट्याक्कै बिर्सिएँ तर उहाँसँग मेरो राम्रो चिनजान थियो’, उनी सम्झिन्छन्।  

त्यही चिनजानको व्यक्तिले उनलाई पीके क्याम्पसमा क्यान्टीन चलाउन टेण्डर हाल्न लगाए। रामबहादुर दुविधामा परे। तर उनले २०५० सालमा पीके क्याम्पसमा टेण्डर हाले।

भाग्यबस, उनको पीके क्याम्पसमा टेण्डर पर्यो। 

१२ वर्ष शंकरदेवमा चलाएको क्यान्टीन उनले एक साथीलाई जिम्मा दिए। अनि पीके क्याम्पसमा नयाँ क्यान्टीन चलाउन थाले। 

नयाँ क्यान्टीनमा उनले सोचेभन्दा धेरै भीड लाग्यो।

दिनमै उनले ४० हजार रुपैयाँसम्मको खाजा बेच्थे। त्यो देखेर उनी आफैं नै दंग पर्थे। ‘स्टुडेण्ड धेरै थिए, त्यसैले क्यान्टीन राम्रो चल्थ्यो’, उनी भन्छन्, ‘दिनमा नभएको पनि ३५ हजार त मज्जाले हुन्थ्यो।’

१० जना कर्मचारी राखेर चलाएको क्यान्टीनबाट भएको आम्दानीबाट उनले ६ वटा टेम्पो किने। त्यसपछि ८ वर्ष चलाएको क्यान्टीन उनले सदाका छाडिदिए। 

जीवनभर कमाएको पैसाले टेम्पो किनेर उनी ‘राम साहु’ बनेका थिए। त्यो नाम भने उनलाई टेम्पो डाइभरहरूले दिएका थिए। ‘टेम्पो  चालकहरुले राम साहु भनेर बोलाउन थालेपछि मेरो नाम चर्चित भयो’, हाँस्दै उनी भन्छन्, ‘त्यसपछि म सबै जनाको लागि नै राम साहु भएँ।’

६ वटा टेम्पोबाट उठाएको पैसाले गुजरिरहेको थियो, राम साहुको जीन्दगी। खान र लगाउन पुगिरहेको थियो। 

तर २०५६ सालमा सरकारले बिक्रम टेम्पोले प्रदुषण गरेको भन्दै टेम्पो चलाउन प्रतिबन्ध लगायो। 

०५६ भदौ ५ गतेको मन्त्रिपरिषदको बैकठले एकाएक गरेको त्यो निर्णय सडकमा उत्रिए, टेम्पो चालक र साहु। त्यसपछि सरकारले टेम्पोको सट्टामा माइक्रोबस चलाउन दियो। 

टेम्पो जुन रुटमा चल्थ्यो, त्यही चल्न थाल्यो माइक्रोबस पनि। 

दुई वर्ष गाडीको साहु बनेर कमाएको पैसाले उनले २०५८ सालमा भक्तपुरमा चार आना जग्गा किने। आनाको एक लाख रुपैयाँमा। 

अनि दुई पटक गरेर साढे तीन तला घर ठड्याए। उनले जीवनभर पसिना बगाएर कमाएको पैसाले घर र जग्गा जोडे। करोडौंको सबै सम्पत्ति उनले श्रीमती सुशीलाको नाममा राखिदिए। 

तर त्यही श्रीमतीले उनलाई नमज्जासँग धोका दिइन्। 

‘श्रीमतीले विश्वासघात गर्छिन् भनेर कहिल्यै सोचेको थिइनँ तर उसैले मलाई बिगारिन्’, श्रीमती सम्झिएर अझैपनि झस्किन्छन् राम साहु।  

जीवनभर साथ दिन्छु भनेर वाचा गरेकी श्रीमतीले यसरी धोका दिन्छिन् भनेर कहिल्यै सोचेका थिएनन् उनले। सपनामा पनि। 

एकदिन उनी माइक्रोबसको खलासी बनेर डुलिरहेका थिए। त्यहीबेला उनको गाडी रोकियो। कोटेश्वर चोकमा।

‘म छक्क परेको थिएँ किन गाडी रोक्कियो भनेर तर पछि थाह पाएँ मेरो गाडी रोक्नेहरू सिद्धार्थ बैंकका कर्मचारी रहेछन्’, उनी सुनाउँछन्, ‘मैले ऋण गरेर गाडी निकालेको थिएँ तर मेरी श्रीमतीले घरजग्गा मेरो होइन भनेपछि गाडी लिन आएको रहिछन्।’

गुडिरहेको गाडी बिच रोडमै रोकिएपछि उनी सरासर घर फर्किए। श्रीमतीले आफूमाथि गरेको विश्वासघात सम्झिएर धरधरी रोए। 

श्रीमतीले उनमाथि ‘घरजग्गा एकलौटी हो भनेर’ मुद्दा हालेकी रहेछिन्। त्यसपछि उनीसँग न परिवारको साथ रह्यो न त जीन्दगीभर कमाएको सम्पत्ति नै।

श्रीमतीले लगाएको मुद्धाको तारिख धाउँदै बित्न थाल्यो रामबहादुरको दिन। यता उनी बेरोजगार हुँदै गए। उता श्रीमतीले भने महिनाकै ६० हजार घरको भाडा उठाउँदै गइन्। तर एक पैसा पनि रामबहादुरकाे हातमा परेन। 

...त्यसपछि आश्रम बन्यो साहरा

घरको मुद्दा चलिरहेको थियो। श्रीमती भक्तपुरको घरमा थिइन्, रामबहादुर भने कालीमाटीमा डेरा लिएर बस्न थालेका थिए। त्यही बसेर उनले २०६२ सालदेखि तरकारी बेच्न थाले। 

‘बेरोजगार भएको थिएँ, त्यसैले तकारी बेच्न सोच बनाएँ’, उनले भने। ‘पेट त पाल्नै पर्‍याे  नि!’

साथीहरूको सहयोगले उनले कालीमाटीमा बिहानको २ बजेदेखि ७ बजेसम्म तरकारी बेच्न थाले। त्यहाँबाट उनले दैनिका १५ हजार रुपैयाँ कमाउन थाले। जसोतसो चलिरहेकै थियो। 

तर उनलाई रोगले चेप्न थाल्यो। प्रेसर र सुगरको बिरामी भए, रामबहादुर। एकपटक त रामबहादुरलाई सुगरले पनि ढलायो। 

‘मुद्दाको तारेख धाउन गाउँ पुगेको थिएँ, औषधि खान बिर्सिएछु अनि ढलेछु। साथीहरुले मलाई काठमाडौं ल्याएको रहेछन्। होस आउँदा अस्पतालमा थिएँ। तर कसरी आइपुग पत्तो पाइनँ’, त्यो दिन धन्न बाँचेका थिए रामबहादुर। 

दीर्घकालीन रोगले च्यापेपछि फूर्तिला रामबहादुर कमजोर बन्दै गए। तरकारी पसल गरेर कमाएको पैसा सबै औषधि खर्च र कोठाभाडा तिरेर सक्काए। 

शरीर थलिदैं गयो। काम गर्ने जाँगर पनि हराउन थाल्यो। त्यसपछि रामबहादुरले मानव सेवा आश्रमको ढोका ढकढकाउनु पर्यो। काम गरेर खान नसक्ने भएपछि उनलाई साथीले नै २०७६ सालमा आश्रम पुर्याइदिए। 

चार वर्षदेखि आश्रमको छहारीमा बसिरहेका छन् रामबहादुर। परिवार नभएजस्तो।

तर उनलाई खोज्न न श्रीमती आएकी छन् न त उनकी छोरी नै। 

रामबहादुरकी छोरी अहिले २० वर्षकी भइन्। तर कहिल्यै पिता खोजिनन्। उनी सुनाउँछन्, ‘पाँच वर्षको उमेरमा श्रीमतीले मलाई छोरीबाट छुट्याइन्। अहिले मलाई छोरीले चिन्दिनन्। सायद, आमाले छोरीलाई भड्काइसकिन्।’

करिब दुई दशकदेखि उनको सारथी बनेको छ, प्रेसर र सुगरको औषधि। 

त्यही औषधिले शरीरलाई गलाइरहेको छ। आँखा कमजोर बनेको छ। तरपनि उनमा केही गर्छु भन्ने जोश अझै छ। 

‘भक्तपुरको घरजग्गा तीन भागमा बाँडिएको छ। श्रीमती, छोरी र मेरो नाममा पनि अंश छ। तर आश्रममा यसरी बसेको छु। निको भएछु भने फेरि काम गरेर पैसा कमाउनेछु।’

कुनैबेला क्यान्टीन र गाडीकाे साहु बनेका रामबहादुरलाई अहिले एउटै कुराले पिरोलिरहेको छ, ‘बेक्कारमा विवाह गरेछु। विवाह नगरेकाे भए म अहिले पनि राम साहु भनेरै चिनिन्थें हाेला।’ 


जसले छोरालाई सबथोक दिइन्, आज उनै आमा आश्रममा छिन् (भिडियोसहित)

प्रकाशित मिति: : 2024-01-31 22:00:00

प्रतिकृया दिनुहोस्