नेपालमा ‘ड्रग्स’ धन्दा: थाेरै समातिन्छन् काराेबारी, जेलमा धेरै प्रयाेगकर्ता (भिडियाेसहित)

Photo credit– brock university
Photo credit– brock university

कानुनत: लागुऔषध बेचबिखनसँगै प्रयोग गर्न पनि पाइँदैन। तर समाजमा लागुऔषध प्रयाेगकर्ताहरू बढेकाे बढ्यै छन् भने कारोबार पनि बढिरहेको छ। अझ नेपाललाई लागुऔषध काराेबारीहरूले ट्रान्जिट बनाइरहेका छन्। 


गृह मन्त्रालय र तथ्याङ्क विभागले विस २०६३ सालमा गरेकाे सर्वेक्षणअनुसार नेपालमा ४३ हजार ३ सय ९ जना  लागुऔषध प्रयाेगकर्ता थिए। 

२०६९ मा त्यो संख्या बढेर ९१ हजार ५ सय ३४ जना लागुऔषध प्रयोगकर्ता पुगे। पछिल्लाे पटक २०७६ सालमा गरिएको सर्वेक्षणअनुसार लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको छ। 

विभिन्न ४६ वटा जिल्लाहरूको सुधार गृह, कलेजलगायत क्षेत्रमा गरिएको सर्वेअनुसार पुरुष १ लाख २१ हजार ६ सय ९२ जना छन् भने महिला ८ हजार ७ सय ३२ जना छन्। 

२०७६ सालमा गरिएको सर्वेक्षणले लागुऔषध प्रयोगकर्ताको संख्या ५.०६ प्रतिशतले वृद्धि भएकाे देखाइरहेकाे छ। 

प्रत्येक सर्वेक्षणले लागुऔषध प्रयोगकर्ता बढेको देखिनु समाजका लागि समस्या त हो नै तर यसमा सरकारी सम्यन्त्र निराकरणमा नलाग्नु चिन्ताको विषय बनेको छ। अझ लागुऔषध प्रयोग गर्ने उमेर समूह हेर्ने हाे भने समाजशास्त्रीलाई थप चिन्तित बनाउँछ। 

लागुऔषध प्रयोग गर्नेमा सबैभन्दा धेरै २५ देखि २९ वर्षसम्मका ३५.२ प्रतिशत छन्। यो उमेर समूह भनेको जीवनकाे निकै महत्वपूर्ण उर्जावान समय हो। र भविष्यकाे बाटो निर्माण गर्ने समय पनि हो।

यस्तै २० देखि २४ वर्षका ३४.३ प्रतिशत, ३० देखि ३४ वर्षका १२.६ प्रतिशत, १५ वर्षदेखि १९ वर्षसम्मका ७.२ प्रतिशत, ३५ वर्षदेखि ३९ वर्षसम्मका ६.५ प्रतिशत र ४० वर्षदेखि माथि उमेरका ४.२ प्रतिशतले लागुऔषधको प्रयोग गर्छन्।

सर्वेक्षणअनुसार ३४.९० प्रतिशतले धुँवाबाट नशा लिन्छन् भने ३३.७० प्रतिशतले मुख, २९.३० प्रतिशतले सुइँ र २.१० प्रतिशतले लागुऔषध प्रयोगकर्ताहरूले सुँघेर नशा लिने गरेका छन्। 

कति समातिए लागुऔषध प्रयोगकर्ता?

तथ्यांकले नेपालमा पछिल्लो वर्षहरूमा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाउँछ। पछिल्लाे पाँच वर्षमा नेपालमा २४ हजार ७ सय ५५ जना लागुऔषाध प्रयोगकर्ता पक्राउ परेका छन्।

२०७६ सालमा ४ हजार ५ सय ५४ जना प्रयोगकर्ता पक्राउ परेका थिए। जसमा पुरुष ४२ सय १ जना थिए भने महिला १ सय ९२ जना थिए।

२०७७ सालमा ४ हजार ६ सय २६ जना समातिएकोमा पुरुष ४ हजार २ सय ८२ र महिला १ सय ९५ जना छन्।२०७८ मा ५ हजार ७ सय ९० जनामध्ये पुरुष ५ हजार ३ सय १९ र महिला २ सय ५० जना छन्। 

यस्तै २०७९ मा ६ हजार १ सय ८६ जना पक्राउ परेकामध्ये महिला ३ सय २४ र पुरुष ५ हजार ६ सय ३३ जना छन्।

त्यसैगरी २०८० को माघसम्म ३ हजार ५ सय ९९ जना पक्राउ परेका छन्। जसमध्ये पुरुष ३ हजार ५ सय ४० जना छन् भने महिला १ सय ७३ जना छन्।

देशभरको कारागारमा हाल २२ हजार ६ सय ११ जना कैदीबन्दीहरू छन्।

त्यसमध्ये ६ हजार ७२ जना लागुऔषध प्रयोगकर्ता हुन्। अर्थात् २१.१६ प्रतिशत कैदीहरू लागुऔषधको कारण सजाय भोगिरहेका छन्।

लागुऔषधको ट्रान्जिट बन्दै नेपाल

२०७९ जेठ–२६ गते लागुऔषध नियन्त्रण ब्यूरोले एउटा ‘अप्रेशन’ चलायो।

२६ गतेदेखि ३१ गतेसम्म गरेको त्यो निगरानीमा नेपाल प्रहरीले ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकन महिलालाई समात्यो। जुन अहिले सम्मकै ठुलो परिणामको लागुऔषध थियो।

‘विदेशी महिलाहरूको साथबाट बरामद गरिएको त्यो हेरोइनको मूल्य करिब १ अर्ब २ करोड पर्न जान्छ’, नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूराका डीएसपी प्रेमबहादुर शाहीले भने। 

नेपाललाई ‘ट्रान्जिट’ बनाएर लागुऔषधको तस्करी गरिरहेकाहरूलाई प्रहरीले चक्मा दिएको उनको भनाइ छ।

०७१ चैत–२० गते।

नेपाल प्रहरीले ११ केजी काेकिनसहित मलेसियन ३६ वर्षीया मारिना बिन्ती जमालुदीनलाई पक्राउ गर्‍याे। 

पाँच वटा ल्यापटपको ब्यागभित्र फल्स बटम बनाएर लुकाई छिपाई लैजाने क्रममा उनी विमानस्थलबाट पक्राउ परेकी थिइन्।

काठमाडौंबाट दोहा हुँदै इटालीको रोम जान लागेकी उनलई लागुऔषध नियन्त्रणबाट खटिएको टोली पक्राउ गरेको थियो।

उनको साथबाट बरामद भएको कोकिनको अवैध बजार मूल्य अन्दाजी २२ करोड पर्न जान्छ। जुन ७१ सालसम्मकै ठुलो परिणाम हो। 

‘हामीलाई प्राप्त भएको सूचनाअनुसार मलेसियन महिलालाई समात्न हामी सफल भएका हौं’, ९ वर्षअघिको कुरा सम्झदै शाहीले भने, ‘मारिना प्रयोगकर्ता होइनन् तर लागुऔषध ओसारपोसार कसूरमा समातिइन्।’

अझै पनि कारागारको जीवन बिताइरहेकी छिन् मारिना बिन्ती।

उनका अनुसार लागुअ‍ैषध उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार गर्नेलाई जन्मकैदसम्मको सजाय हुन्छ। 

नेपाल प्रहरीले बर्सेनि लागुऔषधको बरामद गरिहेको छ। जसमध्ये सबैभन्दा धेरै गाँजा बरामद हुन्छ। 

२०७६ को रेकर्डअनुसार प्रहरीले ४७ सय किलो १८२ ग्राम गाँजा, ६ सय १८ किलो चरेश, ७ किलो हेरोइन, ४४ किलो अफिम र १५ केजी कोकिन बरामद गरेको छ।

त्यसैगरी २०७७ सालमा प्रहरीले ४७ सय किलो गाँजा, ५ सय ११ किलो चरेश, ९ किलो हेरोइन,  २ सय ६२ किलो र ९३२ ग्राम कोकिन समातेको छ।

२०७८ सालमा ८२ सय ३६ किलो गाँजा बरामद गरेको प्रहरीले ४ सय ७८ किलो चरेश, ७५ किलो हेरोइन,  ५२ किलो अफिम र १ किलो ५६० ग्राम कोकिन बरामद गरेको छ।

२०७९ सालको तथ्याङ्कअनुसार प्रहरीले २० हजार ६७१ किलो गाँजा, ६ सय ३० किलो चरेश, १५ किलो हेरोइन, ३७ किलो अफिम र १४ किलो ५७१ ग्राम कोकिन फेला पारेको छ।

त्यसैगरी २०८० सालको माघ महिनासम्म प्रहरीले १५ सय ८२ किलो गाँजा, २ सय १२ किलो चरेश, ११ किलो हेरोइन, २९ किलो अफिम र २ किलो ९१६ ग्राम कोकिन बरामद गरेको छ।

त्योसँगै प्रहरीले बुप्रेनर्फिम २२ हजार ३ सय ८६ एम्पुल, डाईजोपाम २६ सय ८७ एम्पुल, फेनारगन ३३ हजार ६ सय ३७ एम्पुल, नाइट्रोभेट ट्याब्लेट ७२ हजार २ सय ८३ लगायत २९ हजार ४ सय ७९ ट्याब्लेटहरू बरामद गरेको डीएसपी शाहीले बताए। 

बरामद गरिएका लागुऔषधको नेपालमा कम प्रयोग हुन्छ। तर यसको मूल्य करोडौंमा हुने गरेको उनको भनाइ छ।

‘ड्रग्सको नेटवर्क ठुलो छ। बरामद भएका लागुऔषधको मूत्य प्रहरीले पनि ठम्याउन सक्दैन’, डीएसपी शाहीले बताए। 

रोजगार नगर्ने लागुऔषध प्रयोगकर्ता!

देशमा बेरोजगारीको कारण लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढिरहेको तथ्याङ्कले देखाउँछ।

कुल १ लाख ३० हजार ४ सय २४ लागुऔषध सेवन गर्नेहरूमध्ये ३९.७ प्रतिशत रोजगार नगर्ने छन् भने १५.९ प्रतिशत व्यापारमा आवद्ध छन्।

१५.६ प्रतिशत दैनिक ज्यालादारी, ११.७ प्रतिशत नोकरी, ८.७ प्रतिशत अध्ययन, ४.१ वैदेशिक रोजगार, ३.० कृषि, उद्योग र अन्य ०.६ प्रतिशत छन् भने ०.२ प्रतिशत पेन्सनवाला छन्।

त्यसमा  पनि ८० प्रतिशत युवाहरू साथी–संगतकै कारण लागुऔषधमा फस्ने गरेको शाहीले बताए। 

त्याेसँगै मनोरञ्जन, उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन र पढाइकाे समस्याले पनि युवाहरू कुलतकाे बाटाे राेज्छन्।

‘लागुऔषधको प्रयोग गर्दा के हुन्छ भन्ने कौल्तहताको कारण पनि युवाहरू कुलतमा फस्छन्’, उनी भन्छन्, ‘देखासिकीले पनि युवाहरूलाई कुलतको दुनियाँमा पुर्याउँछ।’

अथाह प्रेम र घृणाको कारणपनि युवाहरू लागुऔषध प्रयोगकर्ता भएको बताउँछन् ‘मार्ग दशक सुधार केन्द्र’का सञ्चालक सुमन खड्का।

‘परिवारले आफ्नो छोराछोरीलाई कस्तो व्यवहार गरिरहेको छ, त्यसकारण पनि युवाहरूले कुलतको बाटो रोज्छन्’, दुई दशक कुलतमा फसेर सुध्रिएका खड्का भन्छन्, ‘परिवारबाट धेरै माया पाएर  पुल्पुलिएर बच्चा एडिक्शनमा फस्छन् र परिवारबाट घृणित भएका छोराछोरी नि कुलतको बाटो पछ्याउँछन्।’ 

विशेषगरी फर्मासेटिकल ड्रग्स र ब्राउन सुगरहरू दक्षिण सीमानाबाट नेपाल भित्रिएको देखिन्छ। र, नेपालमा गैरकानुनी रुपमा गाँजा र चरेशको खेती हुन्छ। सोहीकारण पनि युवाहरू कुतलमा आकर्षित हुँदै गइरहेका छन्। 

त्यसैगरी  लागुऔषध प्रयोगकर्ताले सबै भन्दा बढी साथीसंगीबाट लागुऔषध प्राप्त गर्ने  गरेको देखिएकाे छ।

जसमा ६७. ७ प्रतिशत लागुऔषधको स्रोत साथीसंगी, डुलुवा बिक्रेता १४. १ प्रतिशत, औषधि पसल ८.४ प्रतिशत, अन्य पसल ७.२ प्रतिशत, इन्टरनेटको माध्यम २.५ प्रतिशत र अन्य ०.४ प्रतिशत लागुऔषधका स्रोत रहेको छ।

कसरी राेक्न सकिन्छ दुर्व्यसन?

पछिल्लाे समय नेपालमा लागुऔषध प्रयोगकर्ताहरूकाे मुद्दा दर्ता संख्या बढ्दाे छ। 

२०७६ सालमा २ हजार ९ सय ३ मुद्दा दायर भएको थियो भने २०७७ सालमा ३ हजार ९ मुद्दा, २०७८ सालमा ३ हजार ८ सुय ५३ मुद्दा, २०७९ सालमा ४१ सय मुद्दा र २०८० माघसम्म २ हजार ३ सय २० वटा मुद्दा दर्ता भएको छ। 

लागुऔषध नियन्त्रण ब्यूरोका डीएसपी शाहीका अनुसार बर्सेनि लागुऔषध प्रयोगकर्ताहरूकाे संख्या र मुद्दा दर्ता हुनु देशको लागि उचित होइन। 

‘यो समस्यालाई रोक्नका लागि नेपाल प्रहरी दिनरात खटिरहेको छ तरपनि प्रयोगकर्ता बढिरहेका छन्’, उनी भन्छन्, ‘देशलाई चाहिने युवाहरू लागुऔषधमा फसिरहेका छन्। त्यसैले लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्नु ठिक होइन।’

नेपालमा बढिरहेको लागुऔषध प्रयोगकर्ताहरूको संख्या घटाउनका लागि सरकारले पहल गर्नुपर्ने शाहीको भनाइ छ।

‘सरकार र प्रहरीले लागुऔषधलाई नियन्त्रण गर्नका लागि पहल त गरिरहेको छ, त्यहिपनि लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढिरहेको छ। अब यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’, उनले भने। 

दिनप्रतिदिन बढिरहेका लागुऔषध प्रयोगकर्ताहरूलाई रोक्नका लागि परिवार पनि सचेत हुनुपर्ने डीएसपी शाहीको सुझाव छ।

‘घरका परिवारले पनि आफ्नो छोराछोरीको व्यवहार कस्तो हुँदैछ भनेर याद गर्नुपर्छ। स्कुल जानेबेला छोराछोरीले मागिरहेको पैसाले के गरिरहेको छ भनेर अभिभावकले ध्यान दिनुपर्छ’, उनले भने, ‘बाआमाले आफ्नो छोराछोरीको दिनचर्यालाई नियाल्नुपर्छ, तबमात्रै हाम्रा देशका सन्ततीहरू राम्रा हुन्छन्।’

हुँदैन कानुनको पालना

लागुऔषध नियन्त्रण ऐन, २०३३ काे प्रावधान अनुसार गाँजा सेवन गर्नेलाई एक महिनासम्म कैद सजाय र २ हजार जरिवाना रहेको छ।

यस्तै २५ बोटसम्म गाँजाको खेती गर्नेलाई ३ महिनासम्म कैद सजाय र ३ हजार जरिवाना, २५ देखि माथि खेती गर्नेलाई ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ। 

यस्तै अफिम, कोकालगायतबाट उत्पादन भएको लागूऔषध प्रयोग गर्दा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना लाग्ने कानुनी प्रावधान रहेको छ। 

यसैगरी, अफिम, कोकाको खेती गर्नेलाई २५ बोटसम्मलाई एक देखि तीन वर्षसम्म कैद र ५ हजार जरिवाना, २५ देखि माथि गर्नेलाई ३ देखि १० वर्षसम्म कैद र २५ हजारदेखि २ लाखसम्म जरिवाना लाग्ने प्रावधान छ। 

त्यस्तै उत्पादन, तयारी, खरिद बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्नेलाई २५ ग्रामसम्मलाई पाँच देखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना, २५ देखि एक सय ग्रामसम्म फेला पारेमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना, एक सय ग्रामदेखि माथि भएमा १५ वर्षदेखि जन्म कैदसम्म र पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

प्रकाशित मिति: : 2024-03-20 20:00:00

प्रतिकृया दिनुहोस्