कमल विक
उमेरले ७० वर्ष कटेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उर्जा कति लाेभ लाग्दाे छ, उनको पछिल्लो सक्रियता हेरे पुग्छ।
उनको सक्रियता देख्दा लाग्छ, उनी युवा अवस्थामै छन्। सिंहदरबार र बालुवाटारमा रणनीतिक योजना बनाउन होस् वा झापामा सेल्फी खिच्न या त सुदूरका बेदना सुन्न ओली सक्रियताका साथ उपस्थित हुन्छन्।
गएको मंसिरमा एमालेले गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा ओली निरन्तर १८ दिन हिँडेर १ हजार ८ सय ८९ किलोमिटर दूरी पार गरे। बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङका बिचमा पर्ने सयाैँ बस्तीमा पुगे।
नागरिकका कुरा सुने। दिनमै दर्जन कार्यक्रमलाई सम्बाेधन गरे। युवामा उर्जा भरे। उनको यो साहस कम प्रशंसायोग्य थिएन।
ओलीको शारीरिक सक्रियतामात्र होइन, उनको साहस र आत्मविश्वासको उचाइ पनि उस्तै लोभ लाग्दो छ। ओलीले गत चैत २३ गते कास्की पुगेर भनिदिए, ‘मेरो कपाल पलाउन थालेको छ, २० वर्षजति अरु कसैले आश नगरे हुन्छ।’
ओलीले यति भन्दै गर्दा हलमा उपस्थितमा हाँसो गुञ्जिएको थियो। पछिल्लो समय उनको आत्मविश्वास बढ्दै गइरहेको देखिन्छ।
जुन शनिबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको पार्टीको प्रतिनिधि परिषद् प्रथम बैठकमा एमालेलाई देशको निर्णायक शक्ति बनाउने हुटहुटी दर्साए।
‘हाम्रो पार्टी जो राष्ट्रिय शक्ति हो, मूल राष्ट्रिय शक्ति हो, त्यस प्रमुख राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहन्छौँ।’
ओली र एमालेमा प्रकट यो आत्मविश्वासको मुख्य कारण भने पुष्पकमल दाहाल प्रचण्ड हुन्।
२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनपछि एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा गएको थियो।
तर, संसदको पहिलो पार्टी नेपाली काँग्रेसले केही महिनामै एमालेलाई सडकमा पुर्यायो। जसलाई एमालेले इतिहासकै ‘प्रतिकुल मोड’का रुपमा व्याख्य गरेको छ।
यही प्रतिकुल मोडबाट एमालेको ओरालो यात्रा सुरु भएको थियो। एमालेको ओरालो यात्रा त मंसिरको निर्वाचनमा धेरै सिट गुमाएर भएको थियो।
जसोतसो मंसिरपछि सत्तामा आएको एमालेलाई काँग्रेसले सडकमा पुर्याएपछि सत्ताको शक्ति गुमायो। एमालेले सत्ताको शक्तिमात्र गुमाउनु परेको थिएन, माओवादी र काँग्रेस मिलेर भ्रष्टाचारका फाइलहरू खोल्दा एमालेका शीर्ष नेताहरूसमेत जेलमा पुगे।
उपप्रधानमन्त्री भएका टोपबहादुर रायमाझी अहिले पनि जेलको हावा खाइरहेका छन्। उनैसँगै जेलमा पुगेका काँग्रेसका नेता बालकृष्ण खान भने छुटे।
आफ्ना नेताहरू जेलमा कोचिन थालेपछि र आफू नै संलग्न रहेको झापाको गिरीबन्दू टीलगायत प्रकरणका फाइलहरू खुल्ने संकेत देखेपछि ओली बालुवाटार धाए।
फलस्वरुप: गत चैत २१ मा एमालेले फेरि सत्तामा पुग्यो। काँग्रेसलाई सडकमा पुर्यायो। सत्तामा पुग्नुलाई एमालेले वर्तमान राजनीतिको सबैभन्दा ठुलो उपलब्धि भनिरहेको छ।
ओली सत्तामा पुग्नुलाई एमालेमाथिको तोडिएको रुपमा व्याख्या गर्छन्। ‘पहिलेको (काँग्रेस–माओवादी) गठबन्धन एमालेमाथिको घेराबन्दी थियो। हामीले त्यो घेराबन्दी तोडेर नयाँ सरकार बनाउन सफल भएका छौँ।’
एमालेलाई यो अवसर प्रदान गर्ने पात्र उनै प्रचण्ड हुन्, जसले देशको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसलाई प्रतिपक्षमा पुर्याएर एमालेलाई सत्ताको सारथी बनायो।
फलस्वरुप केन्द्र सरकारका ८ मन्त्रालय एमालेले हाँक्न पाएको छ। गण्डकी र कर्णाली प्रदेश सरकारको नेतृत्व हाँकिरहेको छ। अझै नेपाली काँग्रेसले नेतृत्व गरिरहेको कोशी प्रदेश सरकार पनि एमालेको भागमा छ।
पार्टीले हासिल गरेका उपलब्धि र माओवादीसँग सत्ता समीकरण गर्न पाएकोमा एमालेका अन्य नेताहरू पनि उत्साहित छन्।
एमाले केन्द्रीय कमिटी सदस्य आरसी न्यौपाने भन्छन्, ‘नेपाली जनताको भावना अनुसार गठबन्धन भएको हो। त्यसैले यस गठबन्धनलाई बैज्ञानिक, बस्तुपरक भन्नुपर्छ।’
अर्की केन्द्रीय कमिटी सदस्य कल्पना थापाले एमाले–माओवादी सत्ता समीकरणलाई अनिवार्यतासँग जोड्छिन्। ‘कम्युनिष्ट सिद्धान्तगत हेर्दा यी दुई पार्टी एक ठाउँमा हुनुपर्ने थियो। विभिन्न कारणले बिचमा छुटिएको थियो। मिल्नुपर्ने अनिवार्य थियो। मिल्यो, राम्रो भयो।’
नयाँ सत्ता समीकरणले प्रदेश तहमा भने हलचल ल्याएको छ। केन्द्र सरकारले एकखालको लय समाते पनि प्रदेशहरूमा भागबण्डा नमिल्दा किचलो उस्तै छ।
एमाले र एकीकृत समाजवादीको टक्रावका कारण सरकारको आयुमा नै प्रश्न उठ्न थालेको छ।
भिडियो रिपार्ट:
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया