पाकिस्तानका वजिर–ए–आजम इमरानले भ्रष्टाचारविरूद्ध कम्मर कसेँ, आफ्नो नेतृत्वमा ‘हाई लेभल कमिसन’ घोषणा

The Nation

पाकिस्तानका वजिर–ए–आजम (प्रधानमन्त्री) इमरान खानले भ्रष्टाचारविरूद्ध कम्मर कसेका छन्। आफू पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएपछि मंगलबार पहिलो बजेट पेश गरेका इमरानले राष्ट्रको नाममा सम्बोधन गर्दै भ्रष्टाचारविरूद्ध ‘हाई लेभल कमिसन’ गठन गर्ने घोषणा गरेका छन्। 

उनले नयाँ गठन गरिने कमिसनमा पाकिस्तानको आन्तरिक खुफिया विभाग (आइएसआई), संघीय अनुसन्धान एजेन्सी (एफआइए), खुफिया विभाग (आइबी), राजस्व विभाग (एफबिआई) र प्रतिभूति तथा विनिमय विभाग (एसइसिएपी) लाई समावेश गराइने जानकारी दिए। उनले कमिसनको रेखदेख सबै आफैले गर्ने बताएका छन्।

विपक्षी पार्टीविरुद्ध निकै आक्रामक देखिएका इमरानले पछिल्लो १० वर्षयता देश लुट्ने कुनै पनि राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई सरकारले नछाड्ने घोषणा गरे। उनले पाकिस्तानलाई कंगाल बनाउन पाकिस्तान पिपल्स पार्टी (पिपिपि) र पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता पूर्व प्रधानमन्त्री विलावल भुट्टो र नवाज सरिफले ब्रम्हलुट मच्चाएको आरोप लगाए। 

उनले पूर्व राष्ट्रपति आसिफ जरदारीले पनि देश बर्बाद गर्न कुनै कसर बाँकी नराखेको बताए।

इमरानले आफू प्रधानमन्त्री नियुक्त भएदेखि नै विपक्षीहरूले आफूलाई काम गर्न नदिएको आरोप लगाए। उनले मनि लाउन्ड्रीङमार्फत नवाज सरिफ र भुट्टो परिवारले १० वर्षभित्र देशको २४ हजार अर्ब रुपैयाँ लुटेको आरोप लगाए।

उनले देशबासीको नाममा सन्देश दिँदै भने, ‘पाकिस्तानलाई ‘फेलियर स्टेट’ बाट जोगाउनु मेरो कर्तब्य थियो। अहिले यो बोझबाट सफलता पाएको छु। अब मेरो काम १० वर्षयता देशको ढुकुटी रित्याउने विरूद्ध कार्यवाहीको अभियानलाई अगाडि बढाउनु हुनेछ।’

उनले पाकिस्तानको संकटको घडीमा सहयोग गर्ने साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स र चीन सरकारलाई विशेष धन्यवाद दिएका थिए।

साढे नौ महिनाअघि पाकिस्तानको प्रधानमन्त्री नियुक्त भएका इमरानले देशको पहिलो बजेट सार्वजनिक गरेपछि पाकिस्तानको अवस्था अव स्थिर भएको दावी गरे।

भ्रष्टाचारको मुद्धामा पूर्व प्रधानमन्त्री सरिफ पाकिस्तानको जेलमा छन्। पूर्व राष्ट्रपति जरदारीलाई पनि नक्कली बैक अकाउन्ट बनाएर मनि लाउन्ड्रीङ गरेको आरोपमा पाकिस्तानको अदालतले यसै साता जेल सजाय तोकेको थियो। जरदारीका छोरा तथा पूर्व प्रधानमन्त्री विलावल भुट्टो देश बाहिर छन्। उनीमाथि पनि भ्रष्टाचारको मुद्धा छ।

प्रकाशित मिति: : 2019-06-12 10:07:22

प्रतिकृया दिनुहोस्