बिहिबार, ०५ नोभेम्बर २०२६

‘सरकार केन्द्रीत व्यक्तिहरूद्वारा कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र’

News Image
• • •

नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध दुष्प्रचार तथा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसको निष्पक्ष छानबिनका लागि कांग्रेस तयार रहेको निष्कर्ष निकालेको छ।

बिहीबार पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकपछि सहमहामन्त्री प्रकाश रसाइलीले उक्त निष्कर्ष निकालेको जानकारी दिए।

उनले भने, ‘सरकार केन्द्रित केही व्यक्तिहरू संलग्न भएर नेपाली कांग्रेस पार्टीका विषयमा दुष्प्रचार गर्ने, पार्टी नेतृत्वका बारेमा खराब प्रचार गर्ने र नेपाली कांग्रेस पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भएको छ। जस्तोसुकै छानबिनका लागि पनि नेपाली कांग्रेस पार्टी तयार छौँ, हाम्रो नेतृत्व तयार छ। तर प्रमाणका आधारमा हुनुपर्छ। बिना प्रमाण पूर्वाग्रही ढंगले गरिने कुरालाई हामी स्वीकार गर्दैनौँ।’

रसाइलीले छानबिन प्रतिशोधपूर्ण भए कांग्रेसले प्रतिकार र प्रतिवाद गर्ने चेतावनीसमेत दिए। सत्यतथ्य र प्रमाणका आधारमा प्रक्रिया अघि बढेमा छानबिनमा सहयोग गर्ने उनले स्पष्ट पारे।

उनले यस विषयमा संसद् र संसदीय समितिमा पनि छलफल हुनुपर्ने बताए। सांसदहरूसँग भएको छलफलमा उक्त विषयलाई संसदीय समिति र संसद्मा कसरी प्रभावकारी रूपमा उठाउने भन्नेबारे पनि कुराकानी भएको उनले जानकारी दिए।

बैठकमा भोटेकोसी क्षेत्रमा दसैँका बेला प्रभावित भएका नागरिकको अवस्थाबारे पनि छलफल भएको रसाइलीले बताए। प्रभावित नागरिकले बस्न, खान र बासको व्यवस्था पाउन नसकेको उल्लेख गर्दै उनले उनीहरूको वर्तमान अवस्था बुझ्नुपर्ने बताए।

उनले भने, ‘दसैँको बेलामा पनि धेरै आम नागरिकहरूको बिचल्ली हामीले त्यहाँ देख्यौँ। बस्न नपाएको, खान नपाएको, साह्रै पीडामा रहेका नागरिकहरूको गास, बासको अवस्था के छ भन्नेबारे स्थानीय जनप्रतिनिधि र संघीय सांसदहरूलाई बोलाएर छलफल गर्ने र आवश्यक पर्ने सहयोग पार्टीले गर्ने विषयमा कुरा भएको छ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!