शुक्रबार, १४ नोभेम्बर २०२५

त्याे ‘कुलत’ अनि अभिषेकलाई सुधारेकाे आमाकाे आँशु

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैं
• • •

बाउआमकाे प्रेमले पुलपुलिएकाे एउटा छाेराे, साथसंगत अनि लहड र रहरहरूले कतिबेला जिन्दगीलाई दलदलमा फसाँउदै लैजान्न कहिलेकाहिँ आफैलाई थाहा हुन्न। जब शरीरमा नसा नसामा रगतभन्दा छिटाेछिटाे ड्रग्सका सर्काहरू दाैडिन थाल्छन् अनि लाग्छ, याेभन्दा मजा संसारमा अरु के हाेला र? जीवन हाे। कहिलेकाहिँ त्यही नशाले थिचेका सपनाहरुले आफैलाई चिमाेट्छन्। बाउआमाकाे त्याे निश्चल प्रेमले बिथाेल्न थाल्छ। अनि फेरि सुध्रिने हुटहुटी चल्छ। अभिषेककाे जीवनमा ‘नशा’ बनेकाे ड्रग्सकाे त्याे लत यस्तै हुटहुटीले छुटाइदियाे, जहाँ उनका अघि आमाका आँशु छल्किरहेका थिए।


सानोबेला असाध्यै ज्ञानी थिए भनेर बाआमाको मुखबाट सुनेका थिए अभिषेक चौहानले। 

पहिलो सन्तान नै बुझकी जन्मिएपछि दोस्रो सन्तान जन्माउन चाहेनन् अभिभावकले।

एक्लो छोराको आनीबानी देखेर आमाबुबा खुसी थिए। उनी परिवारका लागि मात्र होइनन् समाजमा पनि उदाहरणीय पात्र थिए। 

छिमेकीले आफ्नो छोराछोरीलाई अभिषेकजस्तो बन्न सुझाव दिन्थे। तर अपसोच, समयसँगै बदलियो अभिषेकको स्वभाव पनि। 

कुनैबेला परिवार र समाजका लागि असल अभिषेक एकाएक खराब भइदिए। आफ्नै बानीबेहोराले।

सानो छँदा आर्मी बन्ने सपना थियो अभिषेकको। उनका अंकल आर्मी थिए। आर्मीको पोशाकमा अंकललाई सुहाएको देख्दा उनको मनमा पनि रहर पलाएको थियो, सेनामा भर्ना हुने। 

तर उमेर बढेसँगै उनको आर्मी बन्ने सपना पनि गायब भइदियो। 

कक्षा–८ मा पढ्दै गर्दा अभिषेकले आफूभन्दा ठुला दाइहरूको नक्कल गर्न थाले। ती दाइहरू चुरोट तान्थे। 

त्यो देख्दा अभिषेकलाई लाग्थ्यो, ‘चुरोट खाने दाइहरू हिरो हुन्’। उनलाई पनि ती दाइहरूजस्तै हिरो बन्ने सोच आयो। 

त्यही सोचले उनले १४ वर्षको उमेरमा पहिलोपटक चुरोट ताने। पहिलोपटक चुरोट तान्दा उनलाई रमाइलो लाग्यो। चुरोटको स्वाद मिठो नलागेपनि। 

चुरोट खाँदा घरमा कराउँछ भन्ने हेक्का थियो उनलाई। त्यसैले दिनमा चुरोट पिउँथे अनि साँझ फर्किदा हात धोएर चुइगम चपाउँदै घर फर्किन्थे। 

उनको त्यो जुक्तिलाई बुझ्न सकेकी थिइनन् आमाले। बुबा भने विदेशमा थिए। 

आमासँग लुकेर कयौं पटक चुरोटको धुँवा उडाए अभिषेकले। तर झुठो कुरा कतिन्जेल टिक्न सक्थ्यो र!

कक्षा १० पढ्दै गर्दा आमाले उनको ‘राज’ थाह पाइन्। त्योपनि स्कूलबाटै। 

एकदिन साथीहरूसँगै अभिषेकले चुरोट तानिरहेका थिए, बिन्दास पारामा। तर त्यतिबेलै उनीहरूलाई शिक्षकले रंगेहात समाते।

त्यसपछि उनै शिक्षकले सबैको घर–घरमा गएर अभिभावकलाई उनीहरूको सबै पोल सुनाइदिए।  

असल छोराले चुरोट पिउँछ भनेर थाह पाएपछि रिसाएकी थिइन् आमा। उनले अभिषेकलाई सम्झाइन्। तर आमाको कुरा सुन्ने पक्षमा थिएनन् छोरा अभिषेक। 

बरू, आमालाई चुरोट खान्न भनेर झुठो कसम खाए होलान् उनले तर चुरोट खान भने छाडेनन्। 

हिरो देखिन चुरोट पिउन सुरु गरेको अभिषेकका लागि त्यो त एक सिढी मात्र थियो, कुलतको बाटो पछ्याउने।

अभिषेकले चुरोट पिउन थालेको डेढ वर्ष हुँदैथियो। उनले गाँजाले पनि लठ्याउँछ भन्ने कुरा थाह पाए, साथीहरूकै संगतबाट। 

कक्षा–१० को परीक्षा दिएर फूर्सदमा बसेका थिए अभिषेक। त्यतिबेलै उनले गाँजाबारे बुझेका थिए। उनले गाँजाको पनि स्वाद चाखे। 

चुरोटभन्दा उनलाई गाँजाको सवाद ठिक लाग्यो। 

चुरोटलाई बिर्सिएर गाँजा उडाउने थालेका अभिषेकले ट्याब्लेट पनि खान थाले। उनको नशाप्रतिको लगाव झन–झनै बढ्न थाल्यो। 

एकपछि अर्को गर्दागर्दै उनी ब्राउनसुगर हुँदै सुइँसम्म पुगे। तर कसरी उनलाई पत्तो छैन। 

‘यो नशा यसरी बढ्दो रहिछ कि आफैंलाई पनि थाह नहुँदो रहेछ’, अभिषेकको अनुभव छ, ‘त्यो चुरोट कसरी सिरिन्जसम्म पुग्यो मलाई थाह छैन।’

कक्षा १० पास गरेर कलेज पढ्न थालेका अभिषेकले नयाँ साथी बनाए, तर आफूजस्तै। 

स्कूल पढ्दा ठिकठाक रहका अभिषेक कलेज पढ्न थालेपछि झनै उग्र बने। नशाको उनको डोज पनि बढ्यो। 

ड्रग्सले बिथल्यो अभिषेकको पढाइ

‘एसएलसी’ पास गरिसकेका अभिषेकले जसातसो १२ कक्षा पार गरे। ‘ब्याचलर’ भर्ना पनि भए। तर पढाइ पूरा गर्न पाएनन्। 

स्नातक तहमा पहिलो वर्ष कटाएका उनले दोस्रो र तेस्रो वर्ष कटाउन सकेनन्। 

दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षमा पढिरहेका अभिषेकले कलेजमा तिर्नुपर्ने ३० हजार रुपैयाँ बाँकी थियो। 

आमाले कलेजका लागि भनेर अभिषेकलाई पैसा पनि दिइन्। तर अभिषेकले मात्र ३ हजार तिरे। बाँकी पैसा सबै लागुऔषधमा खर्चिए। 

‘मेरो पहिलाे वर्ष क्लियर छ। दाेस्राे वर्षकाे परीक्षामा विषय लाग्यो। तेस्राे वर्षमा तिर्नुपर्ने पैसा ३० हजार थियो ३ हजार मात्र तिरें। बाँकीको पैसा ड्रग्समा खर्चिएँ। तर परीक्षामा पैसा तिर्न नसकेपछि पढाइ पढाइ छोड्नु पर्‍याे’ उनलाई अझैपनि पछुतो छ। 

कलेजमा तिर्न दिएको पैसा आफैंले चलाएपछि उनलाई घरमा फेरि माग्न मन लागेन। त्यसैले उनले २७ हजार रुपैयाँको लागि पढाइ नै त्याग्नुपर्यो। 

त्यतिबेला उनलाई पढ्ने रहर पनि थिएन। ‘त्यो समय म नशा गथें। पढेर के हुन्छ भनेर सोच्थें। त्यसैले होला पढ्नुपर्छ जस्तो लागेन’, उनी भन्छन्, ‘तर अहिले लाग्छ मैले गलत गरेछु।’

कुलतको कारण पढाइ छुटेपछि उनी झनै बिन्दास भए। आफ्नो मनोमजी गर्न थाले। घर बाहिर–बाहिरै रमाउन थाले।

घरमा त पैसा माग्न मात्र जाने गर्थे अभिषेक। उनले लागुऔषध किन्न धेरैपटक आमासँग पैसा मागे। झगडा गरे। आमालाई कयौं पटक रुवाए। त्यसको त कुनै हिसाबकिताबै छैन उनीसँग। 

लागुऔषध किन्ने पैसा कमाउन उनी आफैंले पनि काम गर्न खोजेका थिए तर दुई–तीन महिनाभन्दा धेरै काममा टिक्नै सकेनन् अभिषेक। 

‘धेरैजसो एडिगहरू अरूको निगरानीमा बस्न सक्दैन। किनकी उनीहरू आफ्नै पारामा बाँच्न रुचाउँछन्। यहीकारणले मैले पनि धेरै काम गर्न सकिनँ’, अभिषेक सम्झन्छन्, ‘ड्रग्स खाने पैसा घरमा मागेर हुन्छ कि झगडा गरेर हुन्छ। जुटाएकै हुन्थें।’

नशामा घुलिन थालेपछि परिवारसँगको अभिषेकको सम्बन्ध पनि खस्किदैं गयो। ‘म कुलतमा फसेपछि बुबाआमा सँगै खाना खाएको दिन त कमै थियो’, उनले भने, ‘औंलामा गन्दा पनि कम थियो। 

एक्लो सन्तानले नशालु पदार्थ खाएकाे देखेर बुबाआमा टुटिसकेका थिए। अम्मल छोड्न सुझाए पनि। तर अभिषेक आफ्नै अडानमा रहिरहे। 

यतिसम्म कि आँखा अगाडि आफूसँगै ड्रग्स खाने साथी बित्दा पनि ड्रग्स छाडेनन् अभिषेकले। बरू, आफैंसँग बहाना गरिरहे। 

‘आफ्नै आँखा अगाडि हामीले साथी गुमायौं। त्यो देख्दा हामीले अबदेखि नखाने योजना बनायौं। तर फेरि खान सुरु गरिहाल्यौं’, उनी सुनाउँछन्, ‘यो ड्रग्स यस्तो डेन्जर चिज रहेछ कि साथीको ज्यान लियो। त्यही पनि हामीले खान छोडेनौं।’

लागुऔषधले साथीको ज्यान निलिसकेको थियो। अभिषेकको बाआमालाई पनि छोरा गुमाउने डर थियो। 

‘रिह्याब’को त्रास

वि.स २०७४ सालको साँझपख। महिना भने यकिन छैन अभिषेकलाई। उनी घरमै थिए। आमालाई पसलमा काम गर्न सघाउँदैथिए। 

त्यतिबेला ‘राशन’ पसल थियो चौहान परिवारको। त्यही पसलका सामान मिलाइरहेका थिए अभिषेक, नशाकै तालमा। 

यतिबेलै उनलाई दुई–चार जना केटाहरूले ‘तिमीसित काम छ’ भन्दै घरबाहिर ल्याए। अभिषेक पनि उनीहरूलाई पछ्याउँदै घरबाहिर निस्किए। 

सुरुमा त उनलाई ती अन्जान पुरुषहरू प्रहरी हुन् कि जस्तो लागेको थियो तर उनीहरूले ‘ट्याक्सी’ ल्याएको थाहा पाएपछि अभिषेकले चाल पाइहाले, उनीहरू प्रहरी होइनन्, रिह्याब सेन्टरबाट आएका हुन्। 

‘पुलिस हुन्थ्यो भने त गाडी हुन्थ्यो। साइन बज्थ्यो। तर त्यतिबेला पुलिसको गाडी थिएन मात्र ट्याक्सी थियो। त्यसपछि मैले थाह पाए कि उनीहरू रिह्याबका मान्छे हुन्’, अभिषेक सम्झन्छन्, ‘रिह्याबका मान्छेले दुव्र्यसनीलाई ट्याक्सीमा हालेर लैजान्छ भनेको कुरा साथीको मुखबाट सुनेको थिएँ।’

एक दशम नशामा घुलिसकेका अभिषेकलाई रिह्याब जाने कुनै रहर थिएन। तर ट्याक्सी नजिकै पुगेपछि उनलाई केहीपनि बोल्न मन लागने। 

उनी चुपचाप ट्याक्सीभित्र बसे। बुबाआमासँग मुरमुरिदैं। इच्छाविपरीत रिह्याब जाँदा–जाँदै अभिषेकले सोचिरहेका थिए, ‘पख्! अब त म झनै धेरै खाइदिन्छु।’

सुधार केन्द्र पुग्दा समेत उनलाई बुबाआमासँग रिस उठिरहेको थियो। तर केही बोल्न सकेनन्। सायद, अभिषेकको मन डर थियो। 

‘नयाँ ठाउँ थियो। कसैलाई चिनेको पनि थिइनँ। मनमा डर थियो। त्यसैले केही बोलिनँ। अनुशासित भएर उपचार गराएँ’, उनले भने, ‘तर सुध्रिने इच्छा भने मनमा कहिल्यै लागेन।’

रिह्याब बसेको १५ दिनसम्म उनमा धेरै समस्या देखियो। भोक–प्यास र निन्द्रा नलाग्नेदेखि छटपटी भयो अभिषेकलाई। 

तर धन्न! १५ दिन चाहिँ कट्यो। 

सुधार गृहमा बस्न थालेको १६औं दिनपछि उनलाई भोक लाग्न थाल्यो अनि निन्द्रा पनि।  

उनमा सकारात्मक सोच पलाउन थाल्यो। नशाबिनै बाँचिन्छ भन्ने विश्वास बढ्यो। 

लागुऔषध नखाएको चार महिनापछि उनले रिह्याब सेन्टरमा काम गर्न थाले। उनले त्यही सुधार गृहमा झन्डै एक वर्ष बिताए, सुध्रिएर पनि। 

सुधार गृहमा काम गर्न पाउँदा उनी खुसी थिए। बेलामौकामा मात्र घर जान्थे। धेरैजस्तो उनको समय रिह्याबमा नै बित्थ्यो। 

बुबाआमा पनि खुसी नै थिए। छोरा सुध्रिएको देखेर। तर आमाबुबाको त्यो खुसी धेरै समय टिक्न सकेन मुहारमा। 

नशा नखाएको वर्ष दिनपछि अभिषेकले फेरि ड्रग्स खाइदिहाले। 
एकदिन विराटनगर जाने काम थियो अभिषेकको। त्यहाँ उनको एउटा मुद्धा चल्दैथियो। 

विराटनगरको बसपार्क पुगे अभिषेक। तर उनको मनमा अनेकथरि सोच पलायो। 

उनले आफ्नो अगाडि दुई वटा बाटो बनाए। एक–भारतको बोर्डर, अर्को–जेल। 

त्यतिबेला उनको मनमा नकारात्मक सोच आयो, ‘जसरी भएपनि जेलै बस्नुपर्ने हो। बरू, खाएरै जान्छु।’

त्यसपछि उनी बोर्डतर्फ लागे। अनि फेरि ड्रग्स खाइदिए। 

भोलिपल्ट बिहान, धेरैपछि ड्रग्स खाएर होला अभिषेकको होस हराइसकेको थियो। उनलाई आफूले गरेको कुराहरू पनि याद भएन। 

छोडिसकेको ड्रग्स खाइसकेपछि उनमा फेरि जोश आइदियो, पुरानै लयमा फर्किने। 

सुध्रिसकेका अभिषेक पुनः दुव्र्यसनी भए। त्यो दोस्रो पटक थियो उनले कुलतको बाटो पछ्याएको। 

‘त्यत्रो समय नखाएको मैले फेरि खान सुरु गर्दा एउटा गिल्ड थियो। ड्रग्सको सेवन बेक्कार पनि लाग्यो। तर खान भने छोडिनँ’, बिएल नेपाली सेवालाई उनले भने, ‘आजसम्म पनि त्यो गलत लाग्छ।’

एकपटक सुध्रिसकेपछि फेरि लागुऔषधको सेवन गर्दा अभिषेकको ड्रग्सको डोज झनै बढेको थियो। उनले त्यो डोज पनि पुर्याउँदै गए। 

तर उनको मनमा एउटा गुनासो चाहिँ थियो, ‘मैले छोडिसकेको चिजलाई खाएर राम्रो गरिनँ।’

ड्रग्स खाँदा–खाँदै सबैथोक सिध्याइसकेका थिए अभिषेकले। उनीसँग गुमाउने केही थिएन। घर नगएको पनि एक महिना भइसकेको थियो। 

सधैं ड्रग्समा झुल्लिरहने अभिषेकको मनमा एकदिन एउटा कुरा उठ्यो, ‘ड्रग्स खाएर मैले सबै सिध्याएँ। मसँग गुमाउने चिज केही छैन। भएको सम्बन्धहरू पनि बिग्रिसक्यो। अब त म सुध्रिनैपर्छ।’

त्यो पहिलोपटक थियो अभिषेकले आफूलाई सुर्धान खोजेका। नत्र त उनी ड्रग्समै रमिरहेका थिए। 

सुध्रिने हुटहुटी 

आजभन्दा ठ्याक्कै ६ वर्षअगाडि अभिषेक दोस्रो पटक रिह्याब गएका थिए। आफ्नै खुसीले। 

उनी सुध्रिन चाहन्थे, नयाँ जीवनको सुरुवात गर्न चाहन्थे। जब अभिषेकले आफूलाई सुधार्ने अठोट गरे तब उनले आमालाई झलझली सम्झिए।

आमाले आफ्नो लागि बगाएको आँसु सम्झिए अनि कसैले नदिएको साथ आमाले दिएको स्मरण गरे। त्यसले पनि उनमा झनै हिम्मत बढ्यो, कुलत छाड्ने। 

अभिषेकलाई अहिले लाग्छ, आमाको आँसु नै बन्यो उनका लागि सुध्रिने ‘टर्निङ पोइन्ट’। 

दोस्रो पटक रिह्याब जाँदा उनले कसैले बताएनन्। यतिसम्म कि बुबाआमालाई समेत कानोकान खबर गरेनन्। 

‘अब त सुध्रिन्छु नै’ भनेर सुधार गृह छिरेका अभिषेकले पहिलोभन्दा दोस्रो पटक धेरै समस्या भोगे। उनी एक महिनासम्म निदाउन सकेनन्। शरीर कमजोर बन्यो। 

तर उनमा एउटा आत्मविश्वास थियो, सुध्रिएरै घर फर्किने। 

सायद, अभिषेकको त्यही विश्वासले नै उनलाई रिह्याबमा सिकाएका हरेक कार्यक्रममा सहभागी हुन र अगाडि बढ्न फौसला दियो। 

जसोतसो उनले तीन महिना बिताए दोस्रो रिह्याबमा। तीन महिना सुधार केन्द्रमा बसेर फर्किएपछि लागुऔषधविरुद्धको विभिन्न कार्यक्रमहरू सहभागी हुन थाले अभिषेक। 

उनको सोच सकारात्मक हुन थाल्यो। सुध्रिने उनको संकल्प झनै बलियो भयो।

नशाबिहिन बाँचिरहेका अभिषेकले एक रिह्याब सेन्टरमा काम गर्न थाले। जुन रिह्याबलाई  उनले चिनेकै दाइले सञ्चालन गरिरहेका थिए। 

त्यो रिह्याबमा दुई–तीन वर्ष काम गरे अभिषेकले। त्यहीँ बसेर दुव्र्यसनीलाई सुधार्न जाने। 

त्यसपछि आफूजस्तै कुलतमा फसेका हजारौं युवालाई सुधार्न आफैंले सुधार केन्द्र सञ्चालन गर्ने योजना बुने अभिषेकले।
‘म पनि रिह्याब बसेरै सुध्रिएको हुँ। त्यसैले अरूलाई पनि सुधार्न मैले रिह्याब सञ्चालन गरें’, द हिलिङ्ग होम सुधार केन्द्रका प्रबन्ध निर्देशकसमेत रहेका अभिषेक भन्छन्, ‘दुव्र्यसनीको उपचार सम्भव छ।’

अभिषेकले धेरै पटक गुमाइसकेका थिए अभिभावकको विश्वास। त्यहीपनि उनले आमालाई आफूले रिह्याब खोल्न लागेको बताए। 

आमाले पनि उनलाई सुधार केन्द्रका लागि भनेर केही रकम दिइन्। अभिषेकले त्यो पैसा रिह्याबमा खर्चिए। 

सुधार गृह सुरु गरेपछि उनले पूजा गरे। रिह्याबमा गरेको पूजामा उनले आमालाई बोलाए। आमा पनि छोराको खुसीमा सहभागी भइन्। 

‘मैले आमालाई रिह्याब खोल्छु मात्र भनेको थिएँ तर कस्तो छ र कहाँ छ भनेर भनेको थिइनँ। तर पूजाको दिन आमालाई देखेर धेरै खुसी थिएँ। किनकि आमाले मैले नभनेपनि साथीहरूलाई सोधेरे भएपनि थाहा पाइसक्नुभएको रहेछ’, अभिषेकका लागि त्यो सबैभन्दा खुसीको क्षण थियो। 

त्यही दिन थियो अभिषेकले पहिलोपटक परिवारले आफूलाई पनि विश्वास गर्छ भनेर महसुस गरेको।

आफूले विगतमा धेरै गल्ती गरेको महसुस अझैपनि हुन्छ अभिषेकलाई। तर सबैभन्दा धेरै दुःख आमालाई रुवाएकोमा लाग्छ उनलाई। 

‘मैले लागुऔषध नखाएको भए म अर्कै अभिषेक भइसक्थें तर आज सुध्रिसकेको अभिषेकमा पनि खुसी छु’, उनी भन्छन्, ‘विगतमा धेरै आमालाई रुवाए पनि अब रुवाउने छैन।’
कुनैबेला आफूले गरेको गल्तीका कारण परिवारसँग बिग्रिएको सम्बन्ध अहिले सुधारिरहेका छन् अभिषेकले। बुबाआमालाई कहिल्यै दुःख नदिने उनले आफैंसँग वाचा गरेका छन्।

१२ वर्षसम्म नशामा रुमलिएका अभिषेक अहिले आफ्नो कामप्रति खुसी र सन्तृष्ट छन् तर कहिलेकाहीँ आफूसँगै ड्रग्स खाएर हिँडेका साथीहरू गुमाउनुपरेको सम्झिएर भावुक हुन्छन् अनि आफैंसित दुखेसो पोख्छन्, ‘यदी त्यतिबेला अहिलेजस्तो रिह्याब हुन्थ्यो भने मेरो साथी आज मसँगै हुन्थ्यो होला!’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!