आइतबार, १७ अगस्ट २०२५

कांग्रेस नेता घिमिरे भन्छन्ः धर्मनिरपेक्षता ‘षड्यन्त्रपूर्वक’ घोषणा गरियो

 माधव ढुङ्गेल

माधव ढुङ्गेल

काठमाडौं
• • •

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पहिलो संविधानसभामा कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले केही नेताहरूको षड्यन्त्रले नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरेका छन्।

बीएल नेपाली सेवासँगको कुराकानीका क्रममा नेता घिमिरेले नेपालको संविधान घोषणा गर्ने क्रममा नै अपराध गरिएको जिकिर गरे। उनले डेमोक्रेटिक तरिकाले संविधान बनाएका भारत र अमेरिकामा संविधानको धारा-धारामा छलफल र मतदान भएर संविधान पास गरेको तर, नेपालमा एकमुस्ट पास गरिएको बताए।

उनले भने, ‘नेपालमा तीनजना नेताहरू एकजना सुवास नेम्वाङजी बितेर जानुभयो, एकजना डा. बाबुराम भट्टराई अर्का एकजना कृष्णप्रसाद सिटौलाले मस्यौदा तयार पारेर- हुन्छ भन्ने हुन्छ भन्नुस्, हुन्न भन्ने हुन्न भन्नुस् भनेर एकमुस्ट पास गरियो। यो जस्तो अपराध केही पनि होइन।’

उनले पहिलो संविधान सभाका सभासदहरूलाई के पढियो, के पढिएन भन्ने नै थाहा नपाएका र टेबुल ठोक्नु बाहेक केही काम  नगरेको टिप्पणी गरे।

उनले धर्मनिरपेक्षताको विषय संसदमा पेस गर्ने दस्तावेजमा उल्लेख नै नभएको समेत दाबी गरे।

उनले भने, ‘संसदमा पेस गर्ने दस्तावेज सांसदहरूलाई बाँडिन्छ। तर धर्म निरपेक्षताको बारेमा न त पेस गर्नुअघि बाँडेकोमा छ न बैठकपछि बाँडेकोमा छ। अहिले जानुस् रेकर्डमा पनि छैन। आवाजमा मात्रै छ भ्वाइस् रेकर्डमा। दस्तावेज नै छैन। देशमा यसरी षड्यन्त्र गरेर यस्ता महत्वपूर्ण मुद्दाहरूमा…।’

उनले पहिलो संविधान सभामा रोष्ट्रमबाटै बोलेको कुरा स्मरण गर्दै भने, ‘यदी संविधान सभाबाट संविधान जारी गरेर स्थायित्व दिने हो भने हामीले धर्मनिरपेक्षता, संघियता, समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको बारेमा जनमत संग्रह गर्नुपर्छ नत्र स्थायीत्व हुँदैन भनेर भनेको थिए। अहिले त्यही हुँदैछ।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!