मालामा उनिएको सुन्तला

भिजिट नेपाल २०२०

मैले यात्रा तय गर्दै गर्दा बेलाबखत छुटेकै हुन्छ केही न केही समान। गाडी चढ्दासम्म भएकै हुन्छ कतै न कतै अलमल।

अहिलेसम्म गजबको अनुभव बटुल्न दिएका छन् जिन्दगीका हरेक यात्राहरूले। अलमलाइरहन्छ जिन्दगीले कतै न कतै। सोच्छु उसो त जिन्दगी भन्नु पनि एक किसिमको सुन्दर अनि रोचक अलमल नै त हो।

आमाको पेटमा चलमलाउदादेखि चितामा पुर्‍याउँदासम्म भइरहेकै त हुन्छ कहि न कही अलमल। यसपटक पनि यस्तै भयो। यो सम्राटहरूको सहर छोडेर दुई चार दिनका लागि बाहिरिँदा अलमलिएँ कोठामा, बानेश्वर चोकमा अनि कलङ्की पुगुन्जेलसम्मको यात्रामा।

एघार बजे कलङ्की पुग्छु भनेको मान्छे बल्ल एक बजे पुगेछु कलङ्की बाबा पेट्रोल पम्प छेउमा। दुई घण्टा अघि नै कलङ्की पुगिसकेका कवि दीपेन्द्र सिंह थापाको धैर्यताको बाँध फुटिसकेको थिएन। पर्खिरहेकै थिए उनी म आउने बाटोमा नजर बिछ्याएर।

दीपेन्द्रले माइक्रोबसको स्टाफसँग सिटको लागि कुरा गर्दै गर्दा पछाडिबाट पाखुरो समात्छ कसैले र भन्छ, ‘दाइ उता हेर्नोस न ऊ त्यो कार जादैछ पोखरा। ल आउनोस्  छिटो।’

बिहान पोखराबाट आएको कार फर्किरहेको रहेछ। प्रतिव्यक्ति ६ सय रुपैया भाडा दर तोकेर तीन जनालाई चढाउन सफल भए ती भाइ। हामीबाट लिएको भाडाको रकम मध्येबाट ६ सय रुपैया कमिसन गोजीमा राखेर बाँकी रकम सुम्पे ड्राइभरको हातमा।

उक्त दृश्य देखेपछि एकछिन ड्राइभरतिर प्रश्न तेर्स्याएँ – ‘तपाईले आफैं खोज्नु पर्थ्यो नि यात्रु। हामीलाई आफैंले बोलाउन किन सक्नु भएन?,’ उनले विस्तारै कथा सुनाए, ‘के गर्नु दाइ यहाँ यस्तै छ। पहिले त प्राइभेट गाडीलाई यहाँ रोक्न नै दिँदैन। दोस्रो कुरा हामीले चढाउँदा बबाल गरी हाल्छन्। यिनीहरूसँग कहाँ सक्नू। यो त उनीहरूकै साम्राज्य हो। यहाँ यस्ता दस पन्ध्र जना दलालहरू छन्।’

केही बेर मौन बनेर सोचिरहेँ। आफैंले आफैलाई भनिरहेँ, ‘दलाल र माफियाले चलाएको देशमा यस्तै त हो।’

ट्याक्सीमा हुईँकिदै पुग्छौ हामी चार घन्टामै दमौली। जहाँ हामीलाई कुरिरहेका थिए गण्डकी बाङ्मय प्रतिष्ठानका अध्यक्ष गीतकार सागर उदास। त्यो रात सागरको आतिथ्यमा बित्यो।

भोलिपल्ट पुग्नु थियो स्याङ्जाको सुन्तलाबारी होमस्टे अर्थात वालिङ ४ एलादी खाल्टे।

बिहान सबेरै उठ्दा पनि भइहालेछ फेरि अलमल। पोखरामा कुरिरहेका थिए क्यानोनिङका मित्रहरू। दमौलीबाट पोखरा पुग्न दुई घन्टा लागिहाल्यो। दाबाले कहाँ पुग्नु भो भनी बारम्बार फोनको घन्टी बजाइरहँदा साहस नै आइरहेको थिएन फोन उठाउन। अपरिचित मित्रहरूलाई लामो समय कुराउँदा मनमा पैदा भएको ग्लानीले रन्थनिरह्यौं हामी। तथापि लाज पचाएर भन्न विवश भइरहे पुग्दै छौं भनेर।

पोखरा पुगेर परिचित बनेका ती अनुहारहरू थिए, ‘किशोर शाही, दबिन्द्र तमाङ, बिक्रम कार्की, भक्त विश्वकर्मा र उनै दावा तामाङ। सबै जना प्रेमिल, संवेदनशील मन भएका निकै नै प्यारा थिए।

दावाको मन्दमुस्कान भरिएको अनुहार र भद्रपन, दबिन्द्र र भक्तको शालिनता, किशोरको परिहासपूर्ण व्यवहार र बिक्रमले शालिनतापूर्वक सुनएका हिमाल चढ्दाका अनुभवले झनै स्वभाव बढाइरहेको थियो यात्राको।

आपसमा गफिँदै अघि बढेका यात्री र मननयोग्य यात्राको छुट्टै साङ्गीतिक लय थियो। पोखराबाट ५७ किमी दूरी पार गरेपछि आइपुग्छ त्रियासी बजार। घुम्तीहरूले नागबेली परेको पहाडी सडक पार गरेर त्रियासी पुग्न पब्लिक गाडीलाई झन्डै अढाइ घन्टा लाग्छ।

त्यहाँबाट ७ किमी कच्ची बाटो पार गरेपछि आइपुग्छ सुन्तला गाउँ सामुदायिक हेमस्टे, खाल्टे। जहाँ यातायातका साधनका रुपमा जीप र मोटरसाइकलहरू मात्र देखिन्छन्।

खाल्टेमा पुग्दा घरका धुरी मात्र देखिन्थे। वरिपरि पहेलपुर देखिने सुन्तलाको जङ्गल छोपिएका थिए घरका भित्ताहरू। पाहाडी गाउँ। गाउँलेहरूको निर्दोष हेराई। छुट्टै सुन्दरता बोकेको थियो गाउँले। ‘स्थानीय साधन श्रोतको पहिचान गरी उत्पादन बढाऔं, विकास र प्रवर्धन गरी यसमै रमाऔं’ भन्ने मूलनाराका साथ महोत्सवको तयारीमा उत्साहित देखिन्थे स्थानीयहरू।

गण्डकी प्रदेशीय प्रथम क्यानोनिङ, सुन्तला खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६ लेखिएको ब्यानर बोकेर झाँकी सहितको र्‍याली निस्किने तयारी हुँदै थियो। समय अनुसार यातायात, शिक्षा स्वास्थ्य र सञ्चारको सुविधा भइदिँदा स्वर्णिम दिनहरू व्यतित गर्न सकिन्छ गाउँमा।

बारीको अर्ग्यानिक साग सब्जी, फलफूल, प्राकृतिक सुन्दरता, मौलिक भेषभूषा, गीत संगीत, उदार दिल भएका सहयोगी मनहरू जहाँ भेटिन्छन् त्यही नै स्वर्ग हो। यस अर्थमा भन्नु पर्दा स्याङ्जाको खाल्टेको सुन्तलाबारी होमस्टे स्वर्गको सुन्दर बस्ती हो।

त्यतै छ शान्ति र अमन चैन पनि। जहाँबाट बिहान उठ्ने बित्तिकै एकातिर कान्छी मनकामना माताको मन्दिर रहेको सुन्दर पहाड देखिन्छ भने अर्कोतिर हुस्सुको सेतो च्यादर ओढेको आँधीखोलाको किनारको रमणीय दृश्य देखिन्छ।

जम्मा बत्तीस घरधुरी भएको उक्त गाउँमा दुई परिवार बाहुन छन् भने तीस परिवार गुरूङ छन्। सबै जना आत्मीयतापूर्वक बसेका छन्। यसै सन्दर्भमा लालप्रसाद काफ्लेले सुनाएका थिए, ‘मेरा त अभिभावक नै गुरूङहरू बनेका छन्। आफ्नै बाआमाबाट तृरस्कृत भएको म गुरूङ दाजुभाइहरूकै साथ र सहयोगले दिनचर्या चलाइरहेको छु।’

पञ्चेबाजाको मनै छुने ध्वनि, झाँकी र गुरूङ भाषाको मौलिक गीत गाएर कार्यक्रमस्थलतिर बढिरहेको र्‍यालीले बढाइरहेको थियो सुन्तला महोत्सवको रौनक।

विद्यालयका सम्पूर्ण केटाकेटीलाई पंक्तिवद्ध बनाएर ल्याइरहेका थिए नजिकका विद्यालयका शिक्षक शिक्षिकाहरूले। मेहनतका साथ मञ्च सजाइएको थियो। स्टलहरूमा व्यपारीले सामान मिलाइरहेकै थिए। डाँडापाखा थर्किने गरी सुनिरहेकै थियो माइकमा उद्घोषकको आवाज ध्वनि।

मन्त्रीको आगमनको पर्खाइमा बसेका कैयौं मनहरू नजर बिछाइरहेका थिए सडकको घुम्तीतिर। एक घन्टा अघिदेखि स्वागतार्थ हातमा फूलमाला लिएर सडकमा पंक्तिवद्ध भएका महिला पुरूष तथा स्कुले केटाकेटीहरू खिन्न भइसकेका थिए। लामो समयसम्म उभिँदा थकित बनेका कतिपय त थचक्क बस्न थालेका थिए सडकमा। कसैलाई यसरी घन्टौ कुराउनु पनि एक प्रकारको हिंसा नै हो। हाम्रा हरेक पार्टीका अधिकांश नेताज्यूहरू यो विषयमा कहिल्यै संवेदनशील हुन सकेनन्। शक्तिको धुलो उडाउने नेता र तिनको चाकडीमा लमतन्न पर्ने कार्यकर्ताको मारमा परिरहे हरेक व्यवस्थामा सोझा, निर्दोष गाउँले मनहरू।

एघार बजे सुरू हुने भनिएको कार्यक्रममा दुई बजे बल्ल धुलो उडाउँदै आइपुग्छ भूमि व्यवस्था, सहरी तथा गरिबी निवारण मन्त्री विराजमान भएको पजेरो।

आशन ग्रहणमै आधा समय खर्चेर उपस्थित अधिकांशका पाइला मञ्चतर्फ लम्कने बनाउनुपर्ने हामी नेपालीको संस्कार नै बनिसकेको छ। यो सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म देखिएको एक प्रकारको रोग नै हो। अर्को दुर्भाग्य हो माइक पाएपछि समयको ख्याल नै नगरी भाषण लम्ब्याइरहनु। कतिपय वक्ताहरूले त श्रोताहरूको भयो भन्ने तालीको संकेत समेत बुझ्न नसकी प्रसंसाकै ताली ठानेर पिङ मच्चिएझै मच्चिँदै लम्ब्याइ रहेका हुन्छन् भाषण। 

कार्यक्रममा आयोजकले अतिथिका लागि बनाएका मालाहरूले सिम्बोलिक रुपमा गहिरो र घतलाग्दो अर्थ बोकेका थिए। मालामा फूलसँगै उनिएका थिए सुन्तलाका दाना पनि।

ती मालामा उनिएका सुन्तलाका दानासँगै उनिएका थिए एकताबद्ध भएका गाउँलेका भावना, श्रम र पसिनाका थोपा।

खाल्टेका गाउँलेले सुन फलाइरहेका छन्। आफ्नो परिश्रममा सन्तुष्टि लिएका छन्। र गर्व गर्न सिकेका छन् किसान हुनुको। सुन्तलाको दाना उनेको फूलको माला प्रतीक हो स्वाभिमानको, परिश्रमको अनि कृषि प्रदान देशको। माग पनि हो कृषिमा आउने अनुदानदेखि गाउँसम्म पुग्ने पक्की बाटो निर्माणको। उनीहरूले अतिथिका घाँटीमा माला लगाइरहदा लाग्थ्यो बहुमूल्य उपहार दिइरहेका छन्। सहरतिर निम्तो पठाइरहेका छन् सुन्तलाबारी घुम्न आइदिनुहोला र अरुलाई नि भनिदिनुहोला भनेर। उसो त स्याङ्जा केही वर्ष अघिदेखि सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनिदै आएको जिल्ला पनि हो।  

कार्यक्रमस्थलबाट नजिकै थियो चार सय वर्ष पुरानो सिमलको रूख। त्यही रूखको मुनि अवस्थित सामुदायिक भवनमा पाकिरहेको थियो पाहुनाहरूलाई खाना। दुई बजे तिर बल्ल खाना खाएर म निस्किएँ गाउँतिर। मलाई नेताका भाषण सुन्न खासै मन लाग्दैन। त्यसैले खोज्न थाले गाउँको कथा, पुराना बुढापाकाका अनुभवहरू। जुन पछिल्ला लेखहरूमा आउने नै छन्।

यसैक्रममा भेटिएका थिए गुमानसिंह गुरूङ र उनकी जहान धनामाया गुरूङ। उनकै घरमा दुई रात बास पनि बसेँ। तीन छोरा तीन छोरीका अभिभावक बनेका बुढाबुढीसँग लामो समयसम्म चलिरह्यो भलाकुसारी।

गुमानसिंह अवकाशप्राप्त भारतीय आर्मीका सुबेदार हुन्। अहिले सुन्तला खेती गरेर गाउँमै रमाएका छन्। उनी जस्ता भारतीय आर्मीबाट अवकाश प्राप्त धेरै जनाले गरिरहेका छन् सुन्तला खेती।

अधिकांशले पोखरा, बुटवल जस्ता सहरमा घर बनाएका छन् तर बुढेशकाल गाउँमै बिताउने सोचले बसेका छन्। उद्यम गरिरहेका छन्।

त्यस्तै भारतीय सेनाका अवकाशप्राप्त अर्का उद्यमी हुन् क्याप्टेन डिल बिक्रम गुरूङ। तिनै डिलबिक्रमको अगुवाइमा तयार भएको हो सुन्तलाबारी सामुदायिक होमस्टे। जहाँ पन्ध्र घरमा चलाइएको छ होमस्टे। 

सुन्तलाबारी होमस्टेको प्रवर्धनमा लागिपरेका र बढीभन्दा बढी पर्यटक भित्र्याउने सोच बोकेका अर्का अगुवा हुन् मोहन खनाल। स्याङ्जा क्यानोनिङ तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष खनालका अनुसार उक्त गाउँको पुछारमा ३५ र ३८ मिटरका दुई वटा झरना छन्। ती भरनाहरूमा अहिलेसम्म एक सय पचास जना स्वदेशी तथा विदेशीले क्यानोनिङ खेलिसकेका छन्।

झरना, गुफा खोच प्राकृतिक सुन्दरता सबै कुराले भरिपूर्ण छ गाउँ। गुमानसिंह गुरूङका अनुसार सुन्तलाका बगान ठेकामा बिक्रि गर्ने गरिएको छ। यसरी बिक्री गर्दा यो वर्ष सबैभन्दा बढी मूल्य पाउनेले ४ लाख रुपैयासम्म पाएका छन्। गुमानसिंको बारीमा ३ सय बोटा सुन्तला छन्। उनले पोहर साल एक लाख बीस हजारमा बिक्रि गरेका रहेछन् तर यो वर्ष पोहरको अनुपातमा फलेनछन्। यसवर्ष जम्मा सत्तरी हजार मात्र हात पारेछन्। यो वर्ष गाउँमा थप १२ हजार बिरुवा रोपिएको कुरा समेत सुनाए उनले।

औपचारिक कार्यक्रम सिद्धिए लगत्तै निकै नै गम्भीर स्वभावका डेनी गुरूङको नेतृत्वमा खाजा खान बस्दा प्रेम गुरूङको सुरिलो भाका र भावपक्षले मोहनी लगाएको थियो। आत्मीयता बढाएको थियो। यसरी गीतसङ्गीतमा रमाउँदाको क्षणले पनि आफैंमा एक प्रकारको महोत्सवको आभास दिलाइरहेको थियो। तर, त्यो आभास भन्नु पनि केवल जिन्दगीको अलमल नै त हो।

ज्ञानीहरूले रहेक मानिसको जन्म र मृत्यु दुबैलाई महोत्सवकै रुपमा लिने गर्छन्। परमात्मासँग लिन भैसकेका ती मुक्तात्माहरूको जीवनमा सधै नै चलिरहेकै हुन्छ महोत्सव। हामी जस्ता सर्वसामान्य मनुवाका लागि क्षणिक समयको लागि आयोजना गरिएको महोत्सव एक किसिमको सामान्य चिनारी मात्र न हो। जुन व्यापारसँग जोडिएको हुन्छ, पेटसँग जोडिएको हुन्छ अनि जोडिएको हुन्छ हरेक दिन कामको चटारोबाट एकाद दिनका लागि थकाइ मार्ने अवसरसँग।

नयाँ आगन्तुकको गाउँलेसँग र गाउँलेहरूको नयाँ आगन्तुकहरूसँगको चिनजान गर्ने अवसर पनि त दिलाउँछ महोत्सवले। साथै पुनः गाउँ  घुम्न आउन र त्यस्ता सुन्दर गाउँ, मौलिक संस्कृति र गाउँलेहरूको उद्यमशिलतासँगै उत्पादित बस्तुको प्रचारप्रसार गरिदिन गरिएको अनुरोध पनि त गरिरहेको हुन्छ महोत्सवले। जुन एक प्रकारको विशेषता पनि त हो महोत्सवको। खाल्डेवासीले उदार दिलले गरेको सत्कार प्रसंसनीय थियो, स्मरणयोग्य थियो।

प्रकाशित मिति: Jan 13, 2020 19:31:51

प्रतिक्रिया दिनुहोस

सात दिन देखि सडकमा
  • दिलबहादुर छत्याल
सबै