सिरियामा अमेरिकाले बच्चा मारेकै हो?

सिरियामा अमेरिकाले बच्चा मारेकै हो?

हालै कुराकानीका क्रममा एउटा भाइले मलाई भन्याे–‘अमेरिका जहॉं पस्छ, त्यहाँ रगत र बिष पुग्छ।’

अचम्म मान्दै मैले सोधें– कसरी? 

उसले मलाई सिरियामा एउटा बमले क्षतिग्रस्त बनेकाे घरको पृष्ठभूमिमा तीन जना ठिटलाग्दा बच्चाबच्ची उभिएको र त्यसैमाथी रातों अक्षरमा ‘एमसीसी’ लेखिएको एक ह्रदयविदारक चित्र पठायाे। र भन्याे– ‘तपाईं आफै हेर्नुहोस्।’ 

सिरियामा एमसीसी लागु भएकाे छैन। तर यहाँकाे फाेटाे साेशल मिडियामा पाेस्ट गर्दै निकै ठूलाे भ्रम फैलाउन खाेजिएकाे छ। वास्तविकता के हाे भने, सिरियामा त्यहॉंक क्रूर शाषक बसर अल–असदले आफ्नै जनता मारिरहेका छन्। हालसम्म ५ लाख मान्छेको ज्यान गएको अन्तर्राष्ट्रिय टिप्पणी छ। १० लाख विस्थापित छन्। सिरियाको इडलिब प्रान्तमा अस्तिमात्र शिशु र बच्चा मारिएका छन् र उनीहरूको पीडालाई संयुक्त राष्ट्र संघले २१ औं शताब्दीको सबैभन्दा क्रुर मानवीय सन्त्रासकाे रुपमा ब्याख्या गरेकाे छ।

याे पनि : सिआईएसँग नडराउने साथी

सन २००० को मध्यमा आफ्ना बाबु हाफ़िज़ अल–असद मरेपछि सत्ता बसर अल–असदको हातमा आएको हो। हाफ़िज़ अल–असद १९६३ देखि सैनिक ‘कू’ को श्रृंखलाबद्ध सत्ताको खेलमा भाग लिएर सिरियाको सत्ता क़ब्ज़ा गरी १९७१ देखि राष्ट्रपति बनेका थिए। तर नाममा “राष्ट्रपति” भनिएपनि यिनले आफ्ना सबै प्रतिद्धन्द्धी तह लगाएर सर्बसत्तावादी राजा बनेका थिए।

जतिबेला नेपालका विद्यालयमा ‘हाम्रो राजा हाम्रो देश। प्राणभन्दा प्यारो छ’ भन्न सिकाइन्थ्यो, त्यति नै बेला हफ़िज़ले सिरियाको चोकचोकमा आफ्नाे फोटाे टाँसेका थिए। हरेक शिक्षकलाई उर्दी जारी गरिएकाे थियाे– उनीहरुले हरेक बच्चालाई राजा हफ़िज़को भक्तिगान गर्न सिकाउने।

बच्चादेखि बुढाबुढीलाई हरेक दिन रटाइन्थ्यो: ‘हाम्रा अनन्त नेता, हफ़िज़ अल–असद।’ कसैले मानेपनि नमानेपनि एक किसिमको निरङ्कूसतंत्र नै थियो सिरियामा। हफ़िज़को मृ्त्युपश्चात यिनैको छोरो बसर अल–असद ले सत्ताको बागडोर सम्हाले। सिरियाका अभागी जनतासँग बसरको नेतृत्व मान्नुको विकल्प थिएन। तरपनि यसरी ज़बर्दस्ती लादिएको सर्बसत्तावादबाट खुसी हुन नसकेका जनताले क्रूर शाषकविरुद्ध जन–विद्रोह गरे। अहिले यसकाे आयतन बढेकाे छ। 

याे पनि: चीनको बिआरआईलाई काउन्टर दिन एमसीसी आएको हो?

नेपालसँग तुलना गर्ने हो भने हामी नेपाली धेरै कुरामा भाग्यमानी थियौं।  हाम्रा राजा जनताका लागि केही काम गरेर मन जित्ने प्रयास गर्थे। राजा महेन्द्र अमेरिकी भ्रमणबाट दुईटा महत्वपूर्ण कुराको चेत लिएर फर्किएका थिए। उनकाे पहिलो बुझाइ थियाे– देश जाेड्न राजमार्ग आवश्यक छ। र दोश्रो–आफ्ना छोरा वीरेन्द्रलाई अमेरिकाकाे उच्च विश्वविधालय हार्वर्ड पढ्न पठाउने। वीरेन्द्रले अमेरिकामा विधिको शासन र जर्ज वाशिंगटनको “जनताको मन जित्नुपर्छ” भन्ने लोकतान्त्रिक आदर्श सिकेका थिए।

नेपाल फर्केपछि उनले विकासका केही मन जित्ने काम गरे। वीरेन्द्रको जनतासँग नजिक हुने र नेपाली जनतालाई नै सर्वोपरी ठान्ने सोच राज परिवारमै धेरैलाई मन पर्दैन्थ्यो तर पनि उनले जनआवाजलाई दमन गर्नु हुँदैन भन्ने कुरा राम्राेसँग बुझेका थिए। यसैकाे उदाहरण हाे, २०३६ सालकाे जनमत संग्रह। 

नेपालका राजाले १९८० मा जनमत संग्रह गराउँदै गर्दा सिरियाका राजाले भने प्रजातन्त्र माग्नेमाथी गोलाबारूद बर्षाए। अलेप्पोमा अन्दोलनकारीले सरकारी प्रतिष्ठानविरुद्ध छापामार अभियान चलाएपछि  हफ़िज़को सरकारले शहरमा नियन्त्रण गुमाउन पुग्याे। यो घटनाबाट प्रेरित भएका प्रजातन्त्रप्रेमीहरुले हमा, होम्स, इडलिब, लाटाकिया, दीर एज–जोर, मारारे–एन–नेम र जिसर ईश–शगोरमा समेत क़ब्ज़ा जमाएका थिए।

सन १९९० तिर नेपालमा हड्ताल र प्रजातन्त्र समर्थकका आवाज़ बुलन्द भएपछि राजा वीरेन्द्रले राजनैतिक दलमाथिको प्रतिबन्ध हटाए  र आफु संवैधानिक राजा बन्न सहमत भए। उनले मुख्य विपक्षी गुटको प्रतिनिधित्व गर्न र राजनीतिक सुधारको लागि उनीहरूको मागलाई समायोजन गर्न नयाँ संविधान तयारका लागि एक स्वतन्त्र संविधान सिफारिश आयोग गठन गरे। उता सिरियाको राजाले भने राजनैतिक दलमाथीको प्रतिबन्ध अझै कडा बनायाे।

सिरियाले आफ्नो देशमा दमन त जारी नै राख्यो बरु लेबनानमा समेत आफ्नो नियन्त्रण विस्तार गर्न आतंकवाद र धम्की प्रयोग गरिरहेको थियो। 

२०११ मा देशनिकाला, कारावास र यातनाविरूद्ध नागरिकले गरेको शान्तिपूर्ण जुलुसलाई बशर अल–असादको नेतृत्वमा रहेको सिरियाली सरकारले सामूहिक नरसंहारमा परिणत गर्यो। सयौं निर्दोष नागरिकको हत्या गरेपछि सिरियाली शाषकमाथी अन्तर्राष्ट्रिय दबाब तीब्र भयाे। र बसर अल–असदलाई अवैध शाषक घोषित गर्दै त्यहॉंको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेको सिरियाली राष्ट्रिय गठबन्धनलाई १ सय ३० भन्दा बढी देशले सिरियाली जनताको एकमात्र वैध प्रतिनिधिको रूपमा मान्यता दियाे। याे अभियानमा अरब लीग, ईयू र टर्की समेतले लोकतन्त्रलाई साथ दिएका छन्। अमेरिकाले त लोकतन्त्रलाई समर्थन नगर्ने कुरै भएन। आफूविरुद्ध लगाएको संयुक्त आर्थिक प्रतिबन्धबाट कस्सिँदै जॉंदा बसर अल–असदले आफू बॉंच्नका लागि एउटा रचनात्मक ब्रह्मास्त्र प्रयोग गर्यो। लोकतन्त्रिक शक्तिबाट घेरिएपछि उसले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई गुहार्यो। 

२०१५ मा रुसले असदको तर्फबाट सैन्य हस्तक्षेप गरेर फ्री सिरियन आर्मी (लोकतान्त्रिक पक्षको) पकडमा रहेको दोश्रो ठूलो शहर अलेप्पो लगायतका पृथक क्षेत्र पुनस् सरकारको क़ब्ज़ामा गयो। 

यसैबीच आइसिस नामक आतंककारी संगठन समेतको साथ लिएर अल–असदले नरसंहार मच्चाएपछि संयुक्त राष्ट्र संघले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विद्रोहीहरुको साथ दिन आग्रह गरेकाे थियाे। ओबामाले पनि यूएनकाे आग्रहलाई स्विकार गर्दै विद्रोहीहरुलाई सीआईएद्धारा तालिम दिए। पुटीनले भने सिरियाका राष्ट्रपतिलाई साथ दिइरहे। आधुनिक समयमा सिरियामा देखिएकाे अवस्था अमेरिका र रुसबीच ‘प्रोक्सी वार’ बनेको छ। 

सद्दाम हुसेनलाई जस्तै गरी अल–असदलाई पनि तह लगाउन ओबामालाई आग्रह गरिएकाे थियाे। तर सिरियामा सिधै हात हाल्न अमेरिकी जनताको अभिमत ओबामाले पाएनन्। सिरियाले रासायनिक हतियार प्रयोग गरेमात्र अमेरिकाले हमला गर्ने घाेषणाका बीच ओबामा पछाडि हटेका थिए। ओबामाको कार्यकाल सकिनै लाग्दा पुटीन र अल–असदले ‘त्यो काले’ लाई जिस्क्याउनुपर्छ भन्ने पारामा सिरियाका निर्दोष नागरिकमाथि रासायनिक हतियारको प्रयोग गरे। यसमा उनीहरुकाे चाल ओबामाको शेखी झार्ने मात्र थियाे। 

२०१६ को चुनावमा अमेरिकाकाे राष्ट्रपतिमा डाेनल्ड ट्रम्पकाे उदय भयाे। अल–असदले जनता मार्ने काम जारी राखे। केही अबोध बालबालिकाले रासायनिक हतियारको प्रयोगका कारण आमाका काखैमा अन्तिम श्वास लिएको भिडियो सार्वजनिक भएपछि संसार स्तब्ध भयो।

त्यत्ति बेला ट्रम्प को भर्खरै नाती जन्मेको थियो। यसरी आफ्नै नातीजस्ता बच्चा मार्नेलाई म त छोड्दिन् भनेर बम हान्ने तयारी गरिरहँदा अमेरिकाकाे घाेषित नीतिले उनलाई राेक्याे। अमेरिकी नीतिअनुसार अन्य देशमा आक्रमण गर्न कांग्रेसको अनुमोदन जाहिन्छ। ट्रम्प केही समय चुप लागेर बसेपनि सिरियामा निर्दाेष बालबालिका मारिने क्रम राेकिएन। यसपछि उनले निर्दाेष व्यक्ति नमराेस् भन्ने कुराकाे सुनिश्चितता गर्दै ‘टाेमाहक’ नामक मिसाइल असदकाे सैन्य क्याम्पमा खसाले। 

ट्रम्पलाई आफू ओबामा भन्दा फरक राष्ट्रपति भएकाे देखाउन मनपर्छ। भर्खरै उनले इरानका सैन्य प्रमुख कासिम सुलेमानीलाई इराकस्थित बगदादकाे विमानस्थल नजिकै ड्राेन हमलाबाट मिसाइल प्रहार गर्ने स्विकृति दिएका थिए। सुलेमानी लामाे समयदेखि अमेरिकाविरुद्ध सैन्य गतिविधिमा सलंग्न थिए।

पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस र ओबामाले पनि आफ्नाे कार्यकालमा सुलेमानीलाई मार्न चाहेका थिए तर उनीहरुले अमेरिकी युद्धका नियम विपरीत जनादेश विना आक्रमण गरेनन्। ट्रम्पले यसरी कांग्रेसलाई साथ नलिइकन युद्धमा होमिने छाँट देखाएपछि हाल अमेरिकी कांग्रेसले राष्ट्रपतिको युद्ध अधिकार कटौती गरेकाे छ। संवैधानिक चेक–एण्ड–ब्यालेन्सको प्रावधान यसरी अमेरिकामा प्रयोग भएको छ। यसले कुनैपनि अमेरिकी राष्ट्रपतिलाई निरङ्कूस हुनबाट रोक्छ। 

(लेखक अमेरिकास्थित मोर्गन विश्वविद्यालयका सह–प्राध्यापक हुन्।) 
 

प्रकाशित मिति: Feb 21, 2020 23:17:16

प्रतिक्रिया दिनुहोस

सबै