नदेखिएका गिरिजाबाबु

कुमुद लोहनी-

काठमाडाैं

कोइराला र लोहनी परिवारको सम्बन्ध अहिलेको होइन। हजुरबुवाको पालादेखि हो। मूलतः मेरो हजुरबुवा र गिरिजाबाबुको बुवा कृष्णप्रसाद कोइरालाबीच राम्रो सम्बन्ध थियो। त्यतिखेर सुरु भएको पारिवारिक सम्बन्ध अहिलेसम्म उस्तै छ। 

मेरो बुवा चन्द्रिकाप्रसाद लोहनी र गिरिजाबाबुबीच खुब राम्रो दोस्ती थियो। गिरिजाबाबुसँग एकदमै मिल्ने साथीहरूको जमात सानो थियो, यसमा मनहरि बराल, हरिप्रसाद खनाल, भैरवप्रसाद अर्याल र मेरो बुवा पर्नुहुन्थ्यो। 

खासमा मेरो बुवाको उमेर तारणीबाबुसँग मिल्थ्यो। तर, उहाँको कोइराला परिवारका सबैसँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि बिपी र गिरिजाबाबुसँग विशेष सम्बन्ध थियो। त्यसको पनि खास कारण छ–बुवा बनारसमा आइएस्सी पढ्न जाँदा उहाँ बिपीसँगै बस्नुभएको थियो। त्यतिबेला बिपी बिए पढ्दै हुनुहुन्थ्यो। 

गिरिजाबाबु पनि बनारसमै पढ्न जानुभएको थियो। तर, उहाँको मन पढाइभन्दा संगठनतिर लाग्यो। उहाँले बीचमा पढाइ छोडे पनि अंग्रेजी मोह थियो। अंग्रेजी भने खुब जाँगर लाएर पढ्नुहुन्थ्यो। त्यसैले अक्सर उहाँको कोठामा अंग्रेजी उपन्यास भेटिन्थे। 
उहाँको एउटा गज्जबको बानी थियो– कुनै अभियानमा लागेपछि त्यसलाई फत्तै नगरी नछोड्ने। उहाँ सात दिनसम्म पानीमात्र पिएर काममा पूरै खट्न सक्नुहुन्थ्यो। यसको मतलब यो होइन, खानाप्रति उहाँ अनुदार हुनुहुन्थ्यो। 

उहाँलाई मिठो खाने इच्छा जहिले पनि हुन्थ्यो, तर खान नपाए पनि गुनासो गर्नुहुन्थेन। खानमात्र होइन, पकाउन पनि उत्तिकै रुचि राख्ने। प्राउनको डिस खुब मिठो बनाउनुहुन्थ्यो। उहाँले मलाई थुप्रैचोटि यो ‘आइटम’ बनाएर ख्वाउने बाचा गर्नुभएको थियो, तर मैले त्यो सौभाग्य कहिल्यै पाइनँ। 

पहिले मनहरि बा र भैरव बा काठमाडौं आउँदा प्रायः मेरोमा बस्ने–खाने गर्नुहुन्थ्यो। गिरिजाबाबु आफ्ना यी परममित्रलाई भेट्न मेरोमा आउँदा छेड हान्दै भन्नुहुन्थ्यो, ‘ए, म बुढालाई नबोलाएको!’

गिरिजाबाबुलाई बँदेलको मासु खुब मनपथ्र्यो। उहाँ सिकारको पनि सोखिन। विराटनगरमा पहिले के थियो र, चारैतिर घनाजंगल त हो नि! एकपल्ट गिरिजाबाबु बन्दुक बोकेर सिकार खेल्न जानु भएको थियो। केही भेटिएनछ मयुर मारेर फर्किनुभयो। त्यतिबेला गिरिजाबाबुले मयुर मारेको विषयलाई लिएर साथीभा र आफन्तहरूमाझ ठूलै हल्लीखल्ली भयो, त्यस्तो गर्नु हुँदैन थियो भनेर। 

...

राजनीतिक र पारिवारिक दुवै रूपले हाम्रो घनिष्ठ सम्बन्ध थियो, कोइराला परिवासँग। गिरिजाबाबु केटाकेटीलाई खुब माया गर्नुहुन्थ्यो। साथीको छोरा भएकाले होला मैले उहाँको खुब माया पाएँ। फेरि मेरो बानी, फ्याट्टै भनिहाल्ने। उहाँलाई यो खुब मनपथ्र्यो। हामी फुच्चेहरू प्रायः बिपीभन्दा गिरिजाबाबुसँगै झम्मिन मन पराउँथ्यौं। किनभने उहाँ हाम्रा सबै माग पूरा गरिदिनुहुन्थ्यो।

बिपीलाई हामी चाहिनेभन्दा बढी गिरिजाबाबुसँग घुलमिल भएको मन परेको रहेनछ। एकदिन भन्नुभयो,‘तिमीहरूजस्ता मान्छे जतिबेला पनि त्यहीँ टाँस्सिने होइन, तिमीहरूजस्ता मान्छे हामीसँग बस्ने हो।’

बिपी भन्नुहुन्थ्यो, ‘प्रजातन्त्रपछि पार्टीलाई डाक्टर, इन्जिनियर, वैज्ञानिक चाहिन्छ, देश विकास गर्न। हामी केही केटाहरू बिपीको नजरमा पढन्ते विधार्थीमा पथ्र्यौं। उहाँ ‘गिरिजा अलि उद्दण्ड छ’ भन्नुहुन्थ्यो। तर, त्यो बिपीले मनमा इस्र्या राखेर भन्नुभएको हो जस्तो मलाई लाग्दैन। अध्ययनमा मेरो बुवासँग बिपीको राम्रो हिमचिम थियो। 

...

गिरिजाबाबुलाई गाली गर्नुपर्‍यो भने प्रायः सबैले बिपीले जेल जर्नलमा लेख्नुभएको ‘हवल्दार’ को संज्ञा दिन्छन्। ‘यो हवल्दार त हो नि’ भन्छन्। तर, वास्तवमा बिपीको भनाई बंग्याइएको हो। गिरिजाबाबु बिपीका निकै आज्ञाकारी हुनुहुन्थ्यो। उहाँमा अनुशासन थियो। उहाँ बिपीलाई मात्र होइन, आफ्ना अग्रज सबैको उत्तिकै इज्जत गर्नुहुन्थ्यो। निडर र आफ्नो कामप्रति इमानदार। आदेश दिएपछि जस्तोसुकै काम इमानदारीपूर्वक पूरा गर्ने। त्यसैले बिपीले गिरिजाबाबुलाई एउटा बिम्ब दिनुभएको थियो–हवल्दार। 

तर, यही विम्ब विरोधीहरूका लागि आलोचनाको हतियार बन्न पुग्यो। मेरो विचारमा विश्वेश्वरप्रसाद कोइरालालाई बिपी बनाउनमा सबभन्दा ठूलो हात अरू कसैको छ भने त्यो गिरिजाबाबु नै हो। किनभने कांग्रेसको प्रायः सम्पूर्ण संगठन गिरिजाबाबुले नै गर्नुभयो। गिरिजाबाबुले तयार पारेको संगठनमा राजनीति गर्न बिपीलाई सजिलो भएको हो। गिरिजाबाबुले भारत निर्वासनमा रहेका बिपीलाई देश फर्काउन सबै वातावरण तयार पार्नुभएको थियो। मलाई थाहा छ, उहाँले बिपीलाई देश फर्काउन करिब ७–८ वर्ष खर्चिनुभयो। उहाँले त्यतिबेला थुप्रै पञ्चायती नेताको उपयोग गर्नुभयो। 

...

गिरिजाबाबुमा मैले २०५१ सालसम्म कुने परिवर्तन देखिनँ। त्यसपछि भने उहाँको स्वभावमा परिवर्तन आएको थियो। पहिले उहाँको इमेज थियो–कुनै कुरा बोल्यो भने पुर्‍याइहाल्ने। उहाँले आफूले बोलेको कुरा पूरा गर्न सक्नुभएन भने टाउको लुकाएर हिँडनुहुन्थ्यो। उहाँलाई आँखा जुधाउन गाह्रो पथ्र्यो। तर, २०५१ पछि उहाँमा राजनीतिक तिकडम बढी हावी भयो। त्यसपछि उहाँले धेरै कुरामा सम्झौता गर्नुभयो। पहिले कम्युनिस्टहरूलाई सत्तोसराप गर्नुहुन्थ्यो, पछि उनीहरूसँगै मिल्नुभयो। उहाँ पहिले त्यति ठट्टा गर्ने स्वभावको हुनुहुन्थेन। मिल्ने साथीहरूसँगको कुरा अर्कै हो। उहाँ २०४८ सालसम्म निकै गम्भीर देखिनुहुन्थ्यो। २०५१ सालपछि मैले उहाँको स्वभावमा अलि परिवर्तन पाएँ–खुब ठट्टा गर्नुपर्ने। 

एकपल्ट म कामले काठमाडौंबाट विराटनगर आउँदै थिएँ। त्यही प्लेनमा गिरिजाबाबु पनि हुनुहुन्थ्यो। उहाँको चुरोट पिउने बानी। उहाँलाई थाहा थियो, म पनि चुरोट पिउँछु भनेर। विमानस्थलमै लाइटर माग्नुभयो। मैले खल्तीबाट निकालेर दिएँ। फ्याट चुरोट बाल्नुभयो र धुवाँ उडाउँदै मलाई भन्नुभयो, ‘यो लाइटर म तेरो बाउलाई लगेर दिन्छु।’ परेन फसाद! म बुवाको अगाडि कहिल्यै चुरोट पिउँदिनथेँ। भनेँ, ‘ए लाइटर पनि दिनुपर्ने, ब्ल्याकमेलिङ पनि गर्ने!’ मलाई अत्याउन पाएकोमा उहाँ खुसी हुनुभयो र मज्जाले हास्नुभयो। 

पछिल्लोपल्ट गिरिजाबाबु प्रधानमन्त्री भएपछि उहाँकोमा आउनेजाने क्रम अलि पातलिएको थियो। उहाँलाई सधैं ‘किचेन क्याबिनेट’ ले घेरिरहेको हुन्थ्यो। त्यसैले मलाई उहाँकहाँ जान मन लाग्दैन्थ्यो। एकदिन एउटा त्यस्तै कार्यक्रममा गिरिजाबाबु भेटिनुभयो। सोध्नुभयो, ‘अचेल आउनै छोडिस्।’

मेरो पहिलेदेखिकै फ्याट्ट बोल्ने बानी। भन्दिएँ, ‘के आउने, तपाईंलाई फुर्सदै हुँदैन। भेट्नै गाह्रा छ।’ त्यसपछि उहाँलmे यस्तो उत्तर दिनुभयो, म चकित परेँ–‘तिमी ठिटाहरू ९ बजेसम्म सुत्छौ, अनि कहाँबाट भेट हुन्छ।’

उहाँले ‘पाँच–साढे पाँच बजे फोन गर्नू, म आफै उठाउँछु’ भन्नुभयो। त्यसपछि म फोन गरेर धेरैपल्ट भेट्न गएँ। उहाँ बिहान ४ बजेसम्म उठिसक्नुहुन्थ्यो। दुई कप चिया खाएपछि ट्वाइलेटतिर लाग्नुहुन्थ्यो। समयको निकै ख्याल राख्ने। कहिलेकाहीँ बिहान मेरो घर आउँदा भन्नुहुन्थ्यो, ‘यति बजे आउँदैछु, चिया तयार पारेर राख्।’ भनेको समयमै गेटमा आइपुग्नुहुन्थ्यो। घडीको सुई एक मिनेट यताउता हुँदैनथ्यो। गिरिजाबाबुको यो बानी मलाई गज्जब लाग्थ्यो। 

मेरो घर पस्ने मोडहा अलिक सानो छ। गेटसम्म उहाँको गाडी आइपुग्दैन्थ्यो। त्यसैले एक मिनेट हिँड्नुपथ्र्यो। उहाँ जहिले पनि मेरो घर आउँदा भन्नुहुन्थ्यो, ‘अलिकति बाटो किन् न, यार। तेरोमा आउँदा जहिले हिँडनुपर्छ।’

...

एकपल्ट मेरो कान्छी छोरीले गिरिजाबाबुको घरको नम्बर थाहा पाइछे। त्यसपछि ऊ दिनहुँ बिहान ५ बजे उठेर गिरिजाबाबुलाई फोन गर्न थाली। फोन त गर्थी, तर राम्रोसँग होइन। गाली गरेर। फोनमा भन्ने रहिछे, ‘फटाह प्रधानमन्त्री।’

गिरिजाबाबु यो सुनेर खुब मज्जाले हास्नुहुँदोरहेछ। त्यसैले छोरीलाई पनि रमाइलो लागेछ क्यार। यो कुरा पछि मेरी आमाले थाहा पाउनुभयो। उहाँ अत्तालिनुभएछ। मलाई आएर भन्नुभयो, ‘ए, तेरी छोरीलाई सम्झा! बिहान उठेर गिरिजाबाबुलाई जे पायो त्यही भनेर फोन गर्छे।’

एकदिन गिरिजाबाबु घुम्दै मेरो घर आइपुग्नुभयो। समान्य शिष्टाचारपछि भन्नुभयो, ‘ए तेरी छोरी त कडा रहिछे, शैलजाजस्ती।’ त्यसपछि फेरि हास्नुभयो–जोडले। उहाँ केटाकेटीसँग खुब रमाउनुहुन्थ्यो। 

...

गिरिजाबाबुले कांग्रेसको प्रायः संगठन एक्लैले विस्तार गर्नुभयो। एकपल्ट मेरो हजुरबुवा विराटनगरमा बिरामी पर्नुभएछ। त्यतिबेला बुवा दादरबेरियाको खेतीमा हुनुहुन्थ्यो। बुवाकहाँ समाचार पुगेछ, हजुरबुवा बिरामी भएको। हतारहतार घोडा चढेर विराटनगर फर्किनुभएछ। यो घटना मध्यचैततिरको हो–विराटनगरमा ‘लु’ (तातो हावा) चल्ने बेला। बुवा घर फकिँदै गर्दा एउटा गोरो मान्छेलाई टाढाबाट साइकल पेल्दै आइरहेको देख्नुभएछ। र, मनमनै सोच्नुभएछ, ‘कस्तो पागल खैरै (विदेशी) रहेछ।

यस्तो लु चलिरहेको बेला पनि साइकल चलाउँदै यो अनकन्टार बाटोमा हिँडिरहेको छ।’ त्यो गोरो मान्छे नजिक आएपछि बुवा त चकितै पर्नुभएछ। त्यो उहाँकै परममित्र गिरिजाबाबु पो रहेछन्। घोडा रोकेर सोध्नुभएछ, ‘कहाँ हिडेँको?’ गिरिजाबाबुको स्वभाविक उत्तर थियो, ‘रंगेली। त्यहाँ पार्टीको एउटा कार्यक्रम छ। मिलाउन जान लागेको।’

कहिलेकाहीँ हामी घरमा गिरिजाबाबुको अवगुण केलाउने प्रयास गथ्र्यौं। त्यतिबेला मेरो बुवा भन्नुहुन्थ्यो, ‘गिरिजाले संगठन विस्तार गरेको हो। त्यही भएर तिमीहरू गिरिजालाई सतही रूपमा नहेर।’

वास्तवमा गिरिजाबाबुसँग गज्जवको ‘कन्फिडेन्स’ थियो। एकपल्ट के कुरामा हो, स्व.खुमबहादुर (खड्का) जीलाई चित्त बुझेको रहेनछ। बाहिर गिरिजाबाबुसँग आज नराम्ररी बाझ्छु भनेर भित्र छिर्नुभयो। तर, उहाँ त गिरिजाबाबुलाई देखेपछि फतक्क गल्नुभएछ। केही कुरै उठाउन सक्नुभएन। बाहिर निस्किएर मलाई भन्नुभयो, ‘लोहनीजी, के भा’हो। गिरिजाबाबु नजिक पुगेपछि बोली नै फुट्दैन। प्लिज मेरो कुरा पनि राखिदिनू न!’

गिरिजाबाबुसँग बलियो संगठन थियो। उहाँ बिहानै उठेर देशभरिका आफ्ना संगठनको जानकारी दिइसक्नुहुन्थ्यो। मेरो विचारमा गिरिजाबाबुको राजनीतिका आफ्ना समकालीन साथीबीच अलिकति ‘ग्याप’ थियो। हामी जुनियर प्वाक्क बोलिहाल्थ्यौं। उहाँहरू बोल्न नसक्ने।

...

सुरुमा गिरिजाबाबुको विवाह अन्तै हुने निधो भएको थियो–लगभग ‘फिक्स’ जस्तै। त्यतिबेला एकजना ज्योतिषी घुम्दै कोइराला निवास आएको रहेछ। उसले हात हेरेर गिरिजाबाबुको बिहे ‘फिक्स’ हुन लागेकी केटीसँग नहुने ठोकुवा गर्दै बुवा कृष्णप्रसादलाई भनेछ, तेरो छोराको बिहे तैंले भनेको ठाउँमा हुँदै हुँदैन। बिहे भइसकेकी केटीसँग हुन्छ।’

नभन्दै गिरिजाबाबुको विवाह त्यस्तै भयो। हामी विराटनगरको घरमा हुँदा गिरिजाबाबुका यस्ता थुप्रै रोचक घटना बुवाले सुनाउनुहुन्थ्यो। 

गिरिजाबाबुले २०४६ सालसम्म राष्ट्रिय पोसाक लगाउनुभएन। बिपी भने बनारसमा हुँदा पनि राष्ट्रिय पोसाक लगाएर चिटिक्क परेर बस्नुहुन्थ्यो। गिरिजाबाबु हाफ सर्ट, ह्वाङल्यांग परेको पाइजामा र टोपी भिरेर संगठनको काममा सक्रिय हुनुहुन्थ्यो। २०४६ पछि उहाँले राष्ट्रिय पोसाक लाउन थाल्नुभयो। पछि उहाँ राष्ट्रिय पोसाक लगाउँदा बिपीभन्दा बढी स्मार्ट देखिनुहुन्थ्यो। 

...

पहिले गिरिजाबाबुलाई भाषण गर्न फिटिक्क आउँदैन्थ्यो। मेरो मस्तिष्कमा एउटा घटना ताजै छ। २०३६ सालमा बहुदल र निर्दलबीच हुन लागेको जनमत संग्रहको प्रचार गर्ने क्रममा गिरिजाबाबु काठमाडौंमा हुनुहुन्थ्यो। सानो गौरचनमा बहुदल पक्षको भाषण सुन्न ठूलो जनमानस ओइरिएको थियो। 

त्यतिबेला गिरिजाबाबु निकै जोसिनुभएको थियो। कस्सिएर भाषण गर्न स्टेजमा पुग्नुभएको थियो, तर माइक समातेपछि उहाँका हातगोडा सबै लत्र्याकलुत्रुक्क भएछन्। त्यत्रो जनमानसलाई के भनेर सम्बोधन गर्ने! 

‘उपस्थित सज्जनबृन्द’ भन्ने कि ‘साथीभाइ’ भन्ने–उहाँलाई फसाद परेछ। मुखबाट आवाजै निस्किएनछ। थुप्रै साहस गरेपछि उहाँले तीनपल्ट एउटै थेगो प्रयोग गर्नुभयो, ‘चाइने...चाइने..चाइने।’

त्यो शब्द बोल्नुभएको माात्र के थियो, त्यहाँ भाषण सुन्न आउनेहरूले ‘नचाइने’ भन्दै खिसी उडाए। 

पछि धरानमा उहाँको भाषण सुनेपछि म चकितै भएँ। किनभने मलाई थाहा थियो, गिरिजाबाबु राम्रो भाषण गर्न जान्नु हुन्न भन्ने। धरानमा उहाँ कार्यक्रममा जाँदा माओवादलिे कालो झन्डा देखाएर विरोध गरेछन्। उहाँले ती प्रदर्शनकारीलाई यसो भनेर गलाइदिनुभयो, ‘मलाई आज निकै खुसी लागिरहेको छ। हामीले ल्याइदिएको प्रजातन्त्रका कारण तपाईंहरूले आज कालो झन्डा देखाउन पाउनुभएको छ। यो प्रजातन्त्रको अनुपम नमुना हो। हिजो पञ्चायतीकालमा हामी देशका प्रधानमन्त्रीलाई यसरी

खुल्लमखुला कालो झन्डा देखाउन पाउँथ्यौं? म आज निकै खुसी भएको छु।’

त्यसपछि सबैले झन्डा लुकाएका थिए, ‘यो निकै ज्याद्रो रहेछ’ भन्दै। 

वास्तवमा गिरिजाबाबुले प्रधानमन्त्री हुने सपना कहिल्यै देख्नुभएको थिएन। २०४६ सालपछि उहाँ नेपाली राजनीतिको केन्द्रविन्दुमा रहनुभयो। उहाँ ६ पल्ट प्रधानमन्त्री हुनुभयो। यो सबै उहाँले कर्मले पाउनुभयो। प्रजातन्त्रमा उहाँको प्रतिबद्धता वास्तवमै अनुकरणीय छ। 

...

गिरिजाबाबुसँग मेरो सम्बन्ध सानैदेखि भए पनि राजनीतिक सम्बन्ध सुरु भएको २०२७ सालपछि हो। त्यतिबेला म आदर्श विधालयको चुनावमा नेविसंघको उपाध्यक्ष निर्वाचित भएँ। गिरिजाबाबुले आदेश दिनेबित्तिकै हामी कुदिहाल्थ्यौं। 

उहाँसँग मेरो पहिलो विवाद २०४३ सालमा भयो। त्यतिबेला कांग्रेसले नगर पञ्चायतको निर्वाचन उपयोग गर्ने रणनीति बनाएको थियो। मैले विराटनगरबाट आफ्नो नाम दर्ता गराएँ। त्यतिबेला चुनावमा उठ्न अहिलेजस्तो सजिलो कहाँ थियो र!

सबैतिरबाट स्वीकृति लिएपछि र पञ्चायती शासकलाई विश्वास भएपछि मात्र लड्न पाइन्थ्यो। मैले आफ्नो उम्मेदवारी दिइसकेपछि मेरिकाबाट बोलाएर ज्वाइँ लक्ष्मण बस्नेतलाई उठाउने निर्णय भएछ। 

एकदिन गिरिजाबाबु विराटनगरको मेरो घर आउनुभयो। र, थाहा नपाएको पारामा भन्नुभयो, ‘कुमुद, तिमी चुनाव उठ्न लागेको?’

मैले भनेँ, ‘हो गिरिजाबाबु, मैले नामसमेत दर्ता गराइसकेँ।’

त्यसपछि उहाँले भन्नुभयो, ‘नाम फिर्ता लेऊ, यार।’

मैले मानिनँ। 

त्यसपछि थुप्रैपल्ट उहाँ मेरो घर आउनुभयो। हरेकचोटि नाम फिर्ता लिन आग्रह गर्नुहुन्थ्यो। म किन मान्थेँ? तल्लो पंक्तिका थुप्रै कार्यकर्ताको मप्रति ठूलो विश्वास थियो। मैले गिरिजाबाबुको कुनै अनुरोध मानिनँ। पछि उहाँ मेरो उम्मेदवारीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर प्रस्तुत हुनभयो। मैले उहाँलाई सल्लाह दिएँ, ‘गिरिजाबाबु, म सबै कानुनी प्रक्रिया मिलाएर चुनाव लड्न लागेको। फेरि ममाथि साथीहरूको थुप्रै दबाब छ।’

मैले उहाँलाई प्रतिद्धन्द्धीका रूपमा नहेर्न आग्रह गरेँ, त्यतिबेला। तर, गिरिजाबाबु मेरो नाम फिर्ता गराउन अडिग हुनुहुन्थ्यो। त्यसको कारण थियो–उहाँले मलाई माया गरे पनि आफ्नो ‘किचने क्याबिनेट’ बाट बढी दबाब महसुस गरिरहुनभएको थियो।’
धेरै आग्रहपछि मैले उहाँलाई एउटा उक्ति दिएँ, ‘साँप पनि मर्ने लाठी पनि नभाँचिने। लक्ष्मणबाबुलाई बसाउने वातावरण मिलाउनुहोस्। म पनि उठ्दिनँ। तेस्रो व्यक्ति उठाऊँ।’

तर, उहाँ मान्नुभएन। उहाँलाई थुप्रै दबाब आएछ क्यार! आखिर दुवै हार्‍यौं। त्यसपछि गिरिजाबाबुसँग मेरो सम्बन्ध बिग्रियो। ४ वर्षसम्म हामी सम्बोधनविहीन रह्यौं। उहाँले एकैचोटि २०४८ सालमा मलाई फोन गर्नुभयो। र, भन्नुभयो, ‘कहाँ छौं। यार? तिमीसँग भेट्नुपर्‍यो।’

त्यतिबेला २०४६ सालको प्रजातन्त्र स्थापनापछि गिरिजाबाबु सुनसरी क्षेत्रबाट निर्वाचन लड्ने निश्चत भएछ। म त्यतिबेला सुनसरीमा सक्रिय थिएँ। उहाँलाई मेरो अनुपस्थिति खट्किएछ। महाराजगन्जस्थित सशांकको घरमा भेट्न बोलाउनुभयो। धेरै पछि गिरिजाबाबुले सम्झिएकाले म फुरुंग थिएँ। गएँ। गिरिजाबाबुलाई भेट्न। 

सशांकको घरको भुइँतलामा एउटै बैठक कोठा छ। उहाँले त्यहीँ लानुभयो। र, कोठाको चुकुल लाएर भन्नुभयो, ‘तिमी अहिलेसम्म मसँग रिसाइरहेका छौं कि क्या हो? छोड्देऊ पुरानो कुरा।’

मेरो उत्तर थियो, ‘मैले बिर्सिसकेँ, गिरिजाबाबु।’

त्यसपछि उहाँले मलाई क्षेत्रीय कमान्डर नियुक्त गर्नुभयो। उहाँ उठ्दा सबै चुनाव जित्नुभयो, सुनसरीबाट। त्यसपछि हाम्रो बिग्रेको सम्बन्धमा अझ बढी सुधार आयो। 

...

पछिल्लोपल्ट गिरिजाबाबुकै निर्वाचन क्षेत्रबाट छोरी सुजाता संविधानसभा निर्वाचनमा उठ्ने निर्णय भयो। गिरिजाबाबुले फेरि आग्रह गर्नुभयो, छोरीको निर्वाचनमा खटिदिन। म गिरिजाबाबुको कुरा काट्न नसकेर फेरि सुनसरीमा खटिएँ। तर, यसपालि वातावरण खल्बलिसकेको थियो। कुनैबेला हामी गाउँ छिर्दा सबै अतालिन्थे, कांग्रेस आयो भनेर। यसपालि माहोल अर्कै थियो। 

गिरिजाबाबुका लागि १६ वर्ष सुनसरीमा कमान्डरका रूपमा खटिँदा पहिलोपल्ट हार सामना गर्नुपर्‍यो। म सुजाताको पराजयमा गिरिजाबाबुलाई दोष दिन्नँ। किनभने त्यतिबेला उहाँलाई ‘मिस गाइड’ गरिने काम भएको थियो। 

यस्तै, मेरो अर्को राजनीतिक विश्लेषण छ। वास्तवमा संविधानसभा कांग्रेसको एजेन्ड थिएन। २००७ सालमा एकपल्ट संविधानसभाको कुरा उठाएको भरमा कांग्रेसले यसपालि ब्याज खान मिल्दैन्थ्योजस्तो मलाई लाग्छ। फेरि माओवादीसँग १२ बुँदे सम्झौता हुँदा नेपालमा धर्म निरपेक्षता र संघीय गणराज्यसम्बन्धी कुनै सम्झौता भएको थिएन। आफ्नो कुनै एजेन्डा नभएको विषयमा कांग्रेसले पहिलोपल्ट निर्वाचन लड्दै थियो। 

धर्म निरपेक्षतामा जाँदा भारतीय जनता पार्टी बिच्किएको थियो। स्थानीय मतदाताहरू हामीलाई भन्ने गर्थे, अहिलेको एजेन्डा कांग्रेसको हुँदै होइन, किन कांग्रेसलाई भोट हाल्ने? निर्वाचनका बेला खटिने क्रममा ममाथि सांघातिक हमला हुने प्रयास भएपछि त्यो ठाउँ छोडेर हिड्नुपर्‍यो। मैले सुरक्षित स्थानमा पुगेर गिरिजाबाबुलाई फोन गरेँ। 

उहाँले पहिलो बाक्यमै सोध्नुभयो, ‘स्थिति कस्तो छ?’ मैले सबै चुनावी माहोल बताउँदै गिरिजाबाबुलाई निर्वाचन रोक्न आग्रह गरेँ। उहाँ त ढुक्क हुनुहुँदोरहेछ, सुजाताले चुनाव जित्ने कुरामा। मेरो कुरा पत्याउँदै पत्याउनु भएन। त्यसपछि मलाई एकछिन झोक नै चल्यो। एक त ज्यान बचाएर हिँडेको, त्यसमाथि गिरिजाबाबु मेरो कुरा पत्याउनुहुन्न। वास्तवमा उहाँलाई ‘मिस गाइड’ गरिएको रहेछ, चुनावी माहोलको विषयमा। 

मैले भनेँ, ‘गिरिजाबाबु मैले तपाईंको चुनावको कमान्डर भएर यत्रो समय काम गरिसकेँ। के म तपाईंलाई ठगौंला?’
त्यसपछि उहाँ झस्किएझैँ हुनुभयो। र, भन्नुभयो, ‘म चुनाव रोक्न सकिदनँ, यार। यो मेरो प्रतिष्ठाको कुरा पनि हो।’
त्यसपछि मैले ‘ठिकै छ’ भनेर फोन राखेँ। आखिर सुजाता पनि हारिन्। कांग्रेसले नसोचेको पराजय भोग्नुपर्‍यो, संविधानसभा निर्वाचनमा। 

...

२०५१ सालको एउटा घटना मलाई अझै याद छ। त्यतिबेलाजति गिरिजाबाबु विचलित भएको मैले कहिल्यै देखेको थिइनँ। 
२०४८ सालको निर्वाचनमा कांग्रेस बहुमतले विजयी भएपछि गिरिजाबाबु देशको पहिलो प्रधानमन्त्री हुनुभयो। उहाँलाई ५ वर्ष देश सञ्चालन गर्ने ‘म्यान्डेट’ थियो। तर, कांग्रेसभित्रको गुटबन्दीले सरकार ढल्न पुग्यो। पार्टीका आफ्नै निर्वाचित प्रतिनिधिको असहयोगले सरकारको नीति पारित हुन सकेन। यही कारण २०४६ सालको प्रजातन्त्रपछि निर्वाचित प्रधानमन्त्रीले राजीनामा गर्नुपर्‍यो। 

गिरिजाबाबु त्यतिबेला यति ‘डिमोरलाइज’ हुनुहुन्थ्यो, उहाँ अर्कै पार्टी स्थापना गर्ने बाटोमा पुगिसक्नुभएको थियो। उहाँले रातारात विधान तयार गरेर नेपाली कांग्रेस (विश्वेश्वर) नामको पार्टी खडा गरिसक्नुभएको थियो। यो पार्टी उमेश गिरीले निर्वाचन आयोगमा दर्ता गराएका थिए। तर, उहाँ चुनाव चिह्नका कारण पछाडि हट्नुभयो। 

गिरिजाबाबुलाई रुख चिह्न निकै प्यारो। उहाँ अर्को पार्टी गठन गर्दा रुख चिह्न नपाइने डरले पछाडि सर्नुभयो। पछि निर्वाचित संसद भंग गरेर अर्को निर्वाचन घोषणा गर्दा उहाँ त्यतिबेला आफूलाई धोका दिने व्यक्तिकै लागि भोट माग्न जानुभयो। यसले पार्टीभित्र उहाँको समर्थनमा रहेका अरू कार्यकर्ताबीच ठूलो असन्तुष्टि बढेको थियो। जनता पनि दिगभ्रमित थिए। 

...

२०४८ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराई हार्नुभयो। यसको सारा दोष गिरिजाबाबुमाथि लगाइयो। वास्तवमा त्यतिबेला भट्टराई निर्वाचन हार्नुमा गिरिजाबाबुको कुनै दोष थिएन। 

२०४६ सालमा भट्टराई अन्तरिम प्रधानमन्त्री हुँदा उहाँले नेपाली सेनालाई चलाउनुभयो। उहाँले त्यतिबेला केही अपरिपक्व निर्णय गर्नुभएको थियो। त्यसको प्रभाव निर्वाचनमा पनि पर्‍यो। 

गिरिजाबाबुले २०४६ सालको आन्दोलन सफल भएपछि टुँडिखेलमा एउटा भाषण दिनुभएको थियो, जुन त्यतिबेला विवादास्पद भएको थियो। 

उहाँले त्यतिबेला ‘यो जित पञ्चको पनि हो’ भन्नुभएको थियो। एकातिर कृष्णप्रसाद भट्टराईको सेना चलाउनेदेखि केही अपरिपक्व निर्णय, अर्कोतर्फ गिरिजाबाबुको त्यो भाषण। यसकारण पुराना पञ्चदेखि सेनाहरू गिरिजाबाबुप्रति केही झुकाव राख्न पुगे। उनीहरूको तर्क थियो, ‘कृष्णप्रसादभन्दा त गिरिजाबाबुले नै हाम्रो सम्बोधन गरेको छ।’

त्यतिबेला बिपीको मेलमिलाप नीति सही रूपमा गिरिजाबाबुले अनुसरण गरेको हो कि भन्ने उनीहरूलाई लागेको थियो। त्यसैले यी सबै शक्ति भट्टराईको विरोधमा उत्रेका थिए। यसको राजनीतिक लाभ पछि गिरिजाबाबुलाई नै भयो। 

...

वास्तवमा गिरिजाबाबु दरबारसँग होलेरी काण्डदेखि असन्तुष्ट हुनुहुन्थ्यो। त्यतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ माओवादीविरूद्ध प्रतिकारमा उत्रिन सेना प्रयोग गर्ने पक्षमा हुनुहुन्थ्यो। तर, दरबार यसमा असहमत भयो। पछि उहाँले यही कारण पनि राजीनामा दिनुपर्‍यो। उहाँ भन्नुहुन्थ्यो, ‘राजालाई आर्मी चिफहरूले मिसगाइड गरे।’

राजा वीरेन्द्रको हत्या हुँदा उहाँ बढी चिन्तित देखिनुहुन्थ्यो। उहाालाई बिपीको निधनभन्दा राजा वीरेन्द्रको निधनले बढी प्रभावित तुल्याएको थियो। भन्नुहुन्थ्यो, ‘सान्दाजुको निधन हुनुअगाडि नै मलाई थाहा थियो, उहाँ क्यान्सरका कारण मर्दै हुनुहुन्छ भनेर। तर, यति सज्जन राजा (वीरेन्द्र) पनि यसरी मर्छन् भन्ने पत्याउनै गाह्रो छ।’

गिरिजाबाबु अन्तिम समयसम्म बिपीको मेलमिलाप नीतिप्रति अडिग रहनुभयो। वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्र राजा भए। उहाँ ज्ञानेन्द्रको राज्यारोहणप्रति त्यति नकारात्मक हुनुहुन्थेन। यी राजाले वीरेन्द्रले गरेको गल्ती सच्याउँछन् कि भन्ने उहाँलाई लागेको थियो। तर, ज्ञानेन्द्रले ठिक उल्टो काम गरे। 

अझ राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरिजाबाबु बढी विचलित देखिनुभएको थियो। उहाँले सुरुका दिनमा राजा ज्ञानेन्द्रसँग ३–४ पल्ट भेट्ने प्रयास गर्नुभएको थियो। तर, भेट भएन। यसबीच राजा ज्ञानेन्द्रलाई गिरिजाबाबुको विरोधमा उचाल्ने ठूलै झुन्ड सक्रिय भयो। 

गिरिजाबाबु पनि गणतन्त्रवादीहरूको झुन्डमा पुग्नुभयो। पछिल्लो समय गिरिजाबाबुकहाँ गणतन्त्रवादीको भीड जम्मा भएको थियो, कुनैबेला बिपीकहाँ राजावादीको झुन्ड जम्मा भएजस्तै। 

(लोहनी गिरिजाप्रसाद कोइरालाको सुनसरी निर्वाचन क्षेत्रका कमाण्डर हुन्। नवीन अर्यालले उनीसँग गरेकाे कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2021-03-20 19:48:00

प्रतिकृया दिनुहोस्