कहाँ छ राहत! राजधानीकै मजदुरलाई मर्नुबाहेक अर्को विकल्प छैन (भिडियाेसहित)

मनीषा अवस्थी

काठमाडाैं

‘कोठामा एक किलो चामल छ। यस्तै अवस्था भइरहे हामीलाई मर्नुबाहेक अर्काे विकल्प छैन,’ ललितपुर वडा नम्बर–८ गुइटोल बस्ने मजदुरको सामुहिक आवाज हो, यो। 

गुइटाेलमा रहेकाे कार्पेट र मुर्ती बनाउने कारखाना तथा विभिन्न निर्माणस्थलमा काम गर्ने मजदुरको चुलो बल्न छोडिसकेको छ। यहाँ रहेका करिब १ सय ५० मध्ये २५ जनासँग खाद्यान्न र पैसा दुबै सकिएको अवस्था छ।  ‘लकडाउन’ को दोस्रो सातादेखि नै उनीहरू पैचो जाेहाे गरेर छाक टारिरहेका छन्।

यही टोलमा बस्ने रौतहटकी बिमला लामाले आफ्नो ५ जनाको परिवार रहेको र काम ठप्प हुँदा कोठामा खानेकुरा केही नभएको बताइन्। भनिन्, ‘बुढाबुढीको काम बन्द भएको छ । अहिले पैसा र खानेकुरा दुबै सकिएका छन् । बुढाले कतैबाट एक किलो, आधा किलो चामल मागेर ल्याउनु भएकाे थियाे। त्यसले टारिरहेका छाैं।’ लामा जाेडीसँग नागरिकता छैन। 

यस्तै रौतहटकै राम सवारत पनि आफ्नो कोठामा एक–दुई दिनको लागि मात्र खानेकुरा भएको बताउँछन्। निर्माणस्थलमा दैनिक ज्यादारीमा काम गर्ने सवारतले ‘लकडाउन’ मा पुरै देश ठप्प हुने कल्पनै गरेका थिएनन्। तर हाल घरपरिवार सम्झदै बसिरहेका छन्।   

यस क्षेत्रमा बस्ने सबै मजदुर समस्यामा छन्। तर केही मानिसको भने चुल्हो बल्नै छाडेको छ।  

वडा कार्यालय बन्द

सरकारले अहिले सबै स्थानीय तह र मातहतका वडा कार्यालयलाई आफ्ना क्षेत्रका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको तथ्यांक संकलन गर्न भनेको छ। तर, गुइटोलमा रहेको वडा कार्यालय भने बन्द छ। वडा कार्यालयसँगै रहेको स्थानीय स्वास्थ्य संस्था पनि अन्त्यै सारिएको सूचना टाँसिएको छ । वडा कार्यालयको गेटमा राहत फाराम बन्द गरिएको सूचना टाँस गरिएको छ । सूचनामा वडाको टोली घरमै आएर फाराम भरिदिने भनिएको छ। तर, त्यहाँस्थित मजदुरको बस्तीमा कुनै व्यक्ति फारम भर्न नआएकाे उनीहरु बताउँछन्। गत सोमबार बिएल नेपाली सेवाको टोली त्यहाँ पुग्दा अपरान्ह ३ बजे कार्यालय बन्द थियो। ‘बिगत केही दिनदेखि नै बन्द छ,’ स्थानीय बताउँछन्। 

घरबेटी नै दिँदैनन् सिफारिस

अखिल नेपाल ट्रेड युनियन महासंघको उपमहासचिव राजकुमार लामाले घरधनीले नै आफ्नो घरमा बस्ने व्यक्तिको सिफारिस गर्न नमानेको बताए । उनले भने, ‘यो टोलमा घरबेटीले नै सिफारिस गर्न मानेका छैनन्। त्यसको कारण थाहा छैन तर घरबहाल कर तिर्नुपर्ने डरले सिफरिस नगरेको हुनसक्छ।’ 

घरबेटीले वडा कार्यालयमा आफ्नो घरमा बस्ने व्यक्तिको सिफरिस गरेपछि वडाले तथ्यांक संकलन गरेर राहतका लागि सिफारिस गर्नेछ । तर घरधनीले नै सिफारिस नगर्दा वडा कार्यालयमा समस्या देखिएको छ। 

सरकारले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरेको ‘लकडाउन’ तेस्रो सातामा छ। अघिल्लो २ साता काम गर्न नपाएका कयौं दैनिक मजदुर भोकभोकै बस्नुपर्ने बाध्यतामा छन् । हुन त सरकारका विभिन्न निकाय पनि दैनिक ज्यालादारी गर्ने त्यस्ता मजदुरलाई खाद्यान्न लगायत अति आवश्यक चिज वितरण गर्ने प्रक्रियामा छन्। तर सरकारी प्रक्रिया लामो र झन्झटिलो हुने र कतिपय स्थानमा मजदुरसँग नागरिकता र अन्य कागजपत्र नहुँदा उनीहरूलाई राहत पाउन सकिरहेका छैनन्। 

यति बेला अन्य गैरसरकारी संघसंस्था आ–आफ्नै ढंगले राहत बितरण गरिरहेका छन्। सरकारले गैरसरकारी संस्थाले बिना अनुमति राहत बितरण गर्न नपाउने नीति ल्याए पनि त्यो लागु भएको छैन। कयौं संस्थाहरु आफ्नो प्रचार गर्नकै लागि राहत बितरणमा लागेका छन्। तर, गुइटोलमा भने अहिलेसम्म कुनै टोली पुगेको छैन। 

अहिले महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सारा विश्व त्रसित छ । भाइरसबाट हजारौंले ज्यान गुमाइसकेका छन् भने लाखौ मानिस संक्रमित छन्। भाइरसको जोखिमका कारण कयौं शहर बन्द छन्। नेपालमा पनि संक्रमणकाे ९ वटा मुद्धा देखिएकाे छ।  

प्रकाशित मिति: : 2020-04-08 20:36:00

प्रतिकृया दिनुहोस्