भक्तपुरमा शहरी, सुरुङ र अस्पताल आयोजना

-रमेश गिरी
 सरकारले आर्थिक वर्ष २०७७/०७८ मा भक्तपुर जिल्लामा ठूला आयोजना सञ्चालनमा ल्याउने भएको छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा भक्तपुरमा महत्वाकाङ्क्षी ठूला आयोजना सञ्चालन गर्न बजेट विनियोजन भएपछि यसको कार्यान्वयन तत्काल शुरु गर्ने तयारी भएको छ ।

 प्रतिनिधिसभा सदस्य महेश बस्नेतको विशेष पहलमा भक्तपुरमा ठूला आयोजना यसै वर्ष सञ्चालनमा आउने भएको हो । सांसद बस्नेतले भने, ‘उपत्यकाभित्र पछाडि परेको भक्तपुरको विकासले विगत तीन वर्षयता निकै तीव्रता पाएको छ, म विगतमा मन्त्री हुँदा र अहिले सांसद भएर आएपछि हामीले अगाडि सारेका योजनाहरुले धमाधम मूर्त रुप पाउँदैछन्, बजेटमा हाम्रा आयोजनालाई समेटिएको छ, भक्तपुरले गर्व गर्ने ठाउँ पाएको छ ।’

सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार एवं स्तरोन्नतिका लागि रु एक अर्ब बजेट विनियोजन गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु एक अर्ब र जाइकाबाट पलाँसे–साँगा सुरुङ्ग मार्गसहित रु २२ अर्बको लगानीमा यी आयोजना सम्पन्न गरिने भएको छ । 

त्यसैगरी भक्तपुरमा बन्ने नयाँ शहरका बारेमा पूर्वमन्त्री बस्नेतले भने, ‘चाँगुनारायणमा एक लाख र सूर्यविनायकको बालकोटदेखि गुण्डुसम्मको १८ हजार रोपनीसमेत उपत्यकामा चार वटा नयाँ शहरको डिपिआर तयार भइसकेको छ । चाँगुमा लगानी बोर्डमार्फत विदेशी लगानीकर्तासमेतको रु एक खर्ब लगानीमा यो आयोजना सम्पन्न गरिने भएको छ । बालकोट–गुण्डु खण्डमा रु ४० अर्ब कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रियस्तरका बैंकमार्फत लगानी हुने भएको छ । आगामी दुई वर्षभित्र यो आयोजना सम्पन्न गर्नेर्छौँ ।’

विस्तृत आयोजना प्रतिवेदन बनिसकेको र लगानीको स्रोतसमेत जुटिसकेकाले भक्तपुरतर्फको नयाँ शहर निर्माण ढिला नहुने बताउँदै उनले १७  ब्लक बनाएर दुई वर्षभित्र सम्पन्न हुने गरी काम गरिने जानकारी दिए । त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको गठ्ठाघरमा पाँच हजार क्षमताको आधुनिक सभागृहको निर्माण यस वर्षदेखि शुरु हुने भएको छ । शहरी विकास मन्त्रालयमार्फत डिजाइन र डिपिआर सम्पन्न भइसकेकाले ढिला नगरी काम हुने भएको छ । 
नेकपाका केन्द्रीय सदस्य बस्नेतका अनुसार चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ७५० रोपनी क्षेत्रफलमा आधुनिक वीर अस्पतालको भवन निर्माण शुरु हुने भएको छ । चिनियाँ सरकारको सहयोगमा रु चार अर्बको लगानीमा ३०० शय्याको केद्रीय सरुवा रोग अस्पताल निर्माण यसै वर्षदेखि ढिलो नगरी शुरु गरिने छ । 

यता कोटेश्वर–जडिबुटीको बढ्दो सडक जाम हटाउन सांसद बस्नेतको पहलमा स्वदेशी र विदेशी बिज्ञको टोलीसंँग भएको पटकपटक छलफल र अनुगमनले यस वर्ष सार्थकता पाउने भएको छ । कोटेश्वर–जडिबुटीमा सुरुङ मार्ग निर्माण गर्न विस्तृत सर्भे भइसकेको जानकारी दिँदै सांसद बस्नेतले भौतिक पूर्वाधार मन्त्रालय र जाइकाको संयुक्त लगानीमा सुरुङ्ग मार्ग तथा आकाशे पुल (फ्लाइ ओभर) निर्माणको काम शुरु गरिने बताए । 

त्यसैगरी सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई भक्तपुर जिल्लाको अर्को उचित ठाउँमा स्थानान्तरण गरी केन्द्रीय मानव अङ्ग ट्रान्सप्लान्ट केन्द्रका। रुपमा विकास गर्ने भएको छ । यसका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट रु एक अर्ब बजेट विनियोजन भएको छ । जग्गा व्यवस्थापनका लागि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा छलफल भइरहेको जनाइएको छ । सूर्यविनायक प्राणी उद्यानको डिपिआरका लागि बजेट व्यवस्थापन भइसकेको र विदेशी लगानी खोजेर आयोजना निर्माणलाई तीवता दिइने बताइएको छ ।  

त्यसैगरी काठमाडौँबाट शुरु भइसकेको विद्युतीय तार भूमिगत गर्ने कार्य आगामी आर्थिक वर्षमा भक्तपुरमा पनि हुने भएको छ । आगामी वर्ष  भक्तपुर, ललितपुर र चितवनमा विद्युतीय तार भूमिगत गर्न अर्थमन्त्री डा. खतिवडाले बजेट विनियोजन गरेपछि सो काम भक्तपुरमा पनि सञ्चालन हुने भएको हो । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र विश्व बैंकको सहयोगमा भक्तपुरका चार वटै नगरपालिकाका मुख्य शहर र घनाबस्तीमा पहिलो चरणमा विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब बजेट छुट्टिएकाले यो कार्य यसै वर्ष शुरु हुने भएको हो । 

त्यस्तै, हनुमन्ते र मनोहरा करिडोर सडक निर्माण एवं ढल राख्न सरकारले रु तीन अर्ब  विनियोजन गरेको छ । उच्चस्तरीय वाग्मती सभ्यता र मेलम्ची आयोजना कार्यान्वयन एकाइबाट पनि यसमा बजेट छुट्टिएको छ । भक्तपुर र ललितपुरको सिमाना गोदावरी खोलाको बालकोट–इमाडोल खण्ड, घट्टे खोलाअन्तर्गत कटुन्जे–दधिकोट–गुण्डु, काँलाचा खोलाअन्तर्गत सूर्यविनायक–सिपाडोल तथा खस्याङ्गखुस्याङ्ग खोलाको भक्तपुर र चाँगुनारायण नगरपालिकाका दुवाकोट–झौखेल खण्डको विस्तृत सर्वेक्षण भएको छ ।

सरकारले भक्तपुरका चारै नगरपालिका (भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण) मा ऐतिहासिक, कलात्मक, सांस्कृतिक र सम्पदा बस्तीको विकास एवं संरक्षण गर्न, पाण्डोबजार क्षेत्रमा रात्रिकालीन पर्यटन क्षेत्र बनाउन, नीलबाराही क्षेत्रमा राष्ट्रिय पर्यटन गन्तव्य एवं साँगाबाट ललितपुरको लाकुरी भञ्ज्याङसम्म शंखधर पदमार्ग निर्माण र २५  भन्दा बढी मठमन्दिर निर्माण गर्न रु एक अर्बभन्दा बढीको बजेट विनियोजन गरेको सांसद बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-05-29 16:02:07

प्रतिकृया दिनुहोस्