सहरमा पाइला टेक्ने सोच मात्रै छ गाउँसँग

सहरमा पाइला टेक्ने सोच मात्रै छ गाउँसँग

लकडाउनका कारण पहाडमै थुनिएका मेरा पाइला गाउँघर डुल्न व्यस्त भए यसपल्ट। लड्न, भिड्न तथा संघर्षका तानाबुना बुन्न सिकाउने जिन्दगीले समयमै सिकाइसक्छ विगतका दिनहरुको सम्झनामा डुब्न र  यादको तकिया भिजाउन। विगतमाझैं काफल, ऐसेलु, किम्बु, आलबोखडा जस्ता कतिपय फलहरु हतारिदै पाकिरहेका थिए। बादरले टुसा चपाएर बचेका गहुँका बोट काट्न तल्लिन थिए औंलाहरु। पलभरमै गडगडाउँथ्यो आकाश। चल्थ्यो हावाहुरी। क्षणभरमै दर्किन्थ्यो पानी। उजाडिंदै गएको एक उदाश वस्ती।

त्यही वस्तीभित्र लुकेर बसेका थिए मेरा विगतका तमाम यादहरु। जिन्दगी विगतको याद र वर्तमानको संघर्ष अनि भविष्यको अन्योलताभित्र हल्लिरहने आशाको एक त्यान्द्रो न हो। तर पनि विगत बिर्सिन्छ मान्छे। अहंकारको कम्बल ओढ्छ र फुर्ति लडाउछ मान्छे। सम्पत्तिको लोभले अन्याय, अत्याचारको दलदलमा भाँसिदै जान्छ। आखिर प्रस्थानको समयमा खाली हात जानु छँदैछ। लग्दैन कसैले केही। मात्र दुखाएर जान्छन् कोही कोहीले कयैंका मनका पाटा। जसरी दुखाउँछन् सामन्ती सोचका धनिमानिहरु गरिबको मन। जसरी दुखाउँछन् जनताका इच्छा र चाहनालाई  विश्वासघाती बनेका घुस्याहा नेता। बेलाबखत जसरी दुखाइरहन्छ ठूलो राष्ट्र भएकै अहंकार बोकेर भारतले नेपालीको मन।

दोफरको समय, म गाउँ पुग्दा भरखर धुँवा उडिरहेको थियो एकाद घरको घुरीबाट। कामबाट फर्किएर विहानको खाना पाकिरहेको संकेत गरिरहेको थियो उक्त धुँवाले। विगतमा बिहानी स्कुलबाट घर फर्किदा उडिरहेको देखिन्थ्यो यस्तै धुँवा। विगत सम्झाउने तमाम चिजहरु छन् गाउँमा। कुनै पर्वाह छैन गाउँलाई लकडाउनको। कामकाजको समय काम नगरी पाइँदैन खान। निर्धक्कसँग हिँडिदिन्छन् गोरेटामा। गाउँलेको लागि कोरोना भाइरसभन्दा कम छैनन् जंगलका बदेल र बादरहरू। जसले वर्षेनी चौपट्ट परिरहेका छन् बालीनाली।

यो वर्षको आकाश जो हरेक दिन वर्सिरह्यो त्यो पनि एक प्रकारको भाइरस नै थियो। गरामा काट्न नपाएर काला भैसकेका थिए गहुँका बाला। आकाश खुल्दा हतारहतार काटेका बाला पनि आँगनमा सुकाउन नपाउँदा उम्रिन थालिसकेका थिए। कतिपय ठाउँमा कुहिएका चामल वितरण गर्ने कार्य चलेकै थियो। ‘आखिर गरिवको व्यथा बुझिदिने अगुवाहरु हुँदा हुन त देशको हालत यस्तो किन हुँदो हो। यहाँ त गरिबकै पसिनाको कमाई (रेमिट्यान्स) मा मोज गर्ने नेताहरु छन्। नेताको चाकडी गरेर हंगामा मचाउने केही तिनका आसेपासेहरु छन्। यस्तै हो यो देश तर पनि गलत भइरहेको देख्दा आवाज निकाल्न डराउनु हुन्न है,’ बाटोमा भेट हुँदा व्यक्त गरेका थिए समाजसेवी रामचन्द्र नौन्यालले।

नौन्याल र सीताराम क्याम्पसका क्याम्पस प्रमुख चेतराज भट्टसँग यस्तै कुराकानी गर्दै यात्रारत रहँदा बाटोमा भेटिएका थिए शमशेर भण्डारी। त्यहाँका स्थानीयका अनुसार त्यस क्षेत्रकै सुकुम्बासी हुन् उनी। डोटीको जैनोली गाउँमा कामकाज गर्दै जिन्दगीका कयौं वसन्त विताए। जैनोलीमा जग्गा बाँझो छ। कमाउनेहरु छैनन्। त्यहाँका अधिकांश बासिन्दा मधेश झरिसके। तर पनि पाएनन् शम्सेरले आफ्नो जमिन भन्नलाई।

जिन्दगीभर कयौंको नामको जमिनमा खनजोत गरे। माटोसँग मितेरी लगाए। कसको काम गरेनन् र उनले त्यो गाउँमा। तर लालपुर्जा नामक कागजको टुक्रामा अटेनछ कतै उनको नाम। नशामा ताकत छउन्जेल अरुको नोकर बनिरहुन्जेल मिठो बोल्दै फकाउने समाजले कहाँ वास्था गथ्र्यो र उमेर ढल्किदै जान थालेपछि।

डाँडाकाँडा उनै हुन् उस्तै थिए। खेत पाखो जे जति हुनु पर्थ्यो छदैथियो। आकाशतिर उत्तानो परेर हेरिरहेकै थिए खोलानाला। न्याउली कोइलीको आवाजको झनाट सुनिएकै थियो। गाउँमा धेरै कुराहरु छदै थिए। तर पनि, जवजव विगत छाइदिन्थ्यो स्मृतिपटलमा धेरै कुरा भेटिदैन थिए । कैयौं दिनसम्म कान थापेर बस्दा पाइएन सुन्न कतै बाँसुरीको धुन। रनवन पुरै गुञ्जाएमान गरेर निस्किने ठाडी भाकाहरु पनि सुनिएनन् जंगलतिर। बन्दुक बोकेका चोरीचोरी शिकार खेल्नेहरु देखिन्थे कतै घुम्तीमा। बँदेलको बिगबिगी छ जंगलमा। बाँदरको राज छ पाहाडमा। बाँझो छ प्रायजसो खेत पाखो। आकाश वर्सिरहँदा समेत भल बगाउन नसक्ने निरिह खोलाहरु छन्। अनि ती कतिपय खोलाको छातीमै टेकेर बनाइएका सडक छन्। पुस माघको जाडोमा फ्याट्टफुट्ट बाहिर भित्र गर्ने दुई चार माहुरी जस्ता केही पाइलाहरु छन् गारेटामा हिँडिरहेका।

जिन्दगीको जून भन्नु नै आमा बुवा हुन्। जो अस्ताइ सकेका थिए। आमाको पछि लागेर हिँडेका गोरेटाहरु खोजिरहन्थेँ म। बुवा छदाका दिनहरु कल्पिरहन्थेँ। समयले मबाट खोसिसकेको थियो धेरै कुराहरु। ओथारो लाग्ने घरसम्म नहुँदाको पीडा थियो मनभरी। एक यायावर जिन्दगीका एकजोर आँखा लिएर टुलुटुलु हेरिरहेँ निकैंबेरसम्म घरको अवशेष। गाउँ घुम्दै गर्दा भेटिएकी देउसराले एकोहोरो भनिरहिन्–‘गोसाई आब गाउँमै बस। टिन लाइबर दुई कोठा बनाएँ। आखिर उही घाम पानीबाट है बच्नाखिलाई चाहिन्या त हो, जतरो घर भए पन। भोल त सबै यही रने हो,’ निकै नै मार्मिक थियो देउसराको भनाई।

देउसरा मजस्तै पुराना चिजबिज र आफ्नो संस्कृतिप्रति गर्व गर्थिन्। तर, हिजो आज उनी पनि चिन्तित देखिन्छिन् गाउँ रित्तिदै गएकोमा। संस्कृति नासिदै गएकोमा। त्यसैले त उनी भनिदिन्छिन् – ‘कोरोना ऐल हैन उइलै आएको हो। तमीलाई थाहा छैन् गाउँ सकिएको?’ बेलाबखत बडो भावपूर्ण प्रश्न तेस्र्याउछिन् देउसराले।

हो तराई झर्ने होडबाजी, गाउँ रित्तो बनिरहेको परम्परा पनि कोरोनाभन्दा कम डरलाग्दो कहाँ छ र। हाम्रा नेताहरुले गाउँको विकास गर्ने योजना तर्जुमा गर्दा हुन्, कृषिलाई महत्व दिएर वेरोजगारलाई राहत दिँने कार्यक्रम लागू गर्दा हुन् त हेपिनु पर्दैनथ्यो भारतीयहरुसँग। जानु पर्दैनथ्यो दरवानी गर्न। यहाँ त चटके कार्यक्रमहरु लागू गर्दा समेत कमिसन मागेको कुरा सुनाउँछन् कतिपय किसानले। टाठाबाठाले मात्रै पाउछन् सरकारी अनुदान।

कैयौंले सोधिरहन्थे मलाई– ‘घर काठमाडौंमा बनाइस कि तराईमा?’ हाल समाजको दृष्टिमा जसले सहरतिर घर बनाउन सक्यो ऊ ठूलो मान्छे ठानिन थाल्यो, चाहे उसले चोरी डकैती गरेर, घुष खाएर अर्थात् अनैतिक कार्य गरेर कमाएको किन नहोस्। यो सबै परिणति निम्त्याएको हो यो देशको राजनीतिमा बेलाबखत झुल्किने केही दुष्ट गोसाईहरुले।

गाउँघरतिर प्रायले सोधिरहन्थे मलाई त्यही प्रश्न। म मुसुक्क मुस्कुराइदिन्थेँ। जवाफ थिएन मसँग। तर पनि घरिघरि यही प्रश्न आइरहन्थ्यो। गाउँ मेरा लागि एक सुन्दर बिम्ब बनेर बाँचिरहने छ मनभरी। म हिजोकै गाउँ खोजिरहेको थिए। हिजोकै जनजीवन खोजिरहेको थिएँ। समयका पल्ला फेरिइसकेका थिए। हिजो बिलाएर गइसकेको थियो केवल भैतिक अवशेषहरु मात्र छोडेर। आज तड्पिरहेको छ आधुनिकताका धर्साहरु समेट्न। जब शासकहरु समयसमयमा गाउँतिर दृष्टि पुर्‍याउन सक्दैनन्। गाउँको विकास गर्न, बेरोजगारी समस्या समाधान गर्न खोज्दैनन् कसरी सत्ता टिकाउने सोचमा मात्रै देखिन्छ तब दार्चुलाका केही गाउँझैं आफ्नो पहिचान गुमाउन पुग्छन् कतिपय गाउँहरु। निरिह बनेर बरालिन्छन् गाउँका पाइलाहरु।

बरालिदा बरालिँदै चटक्क छोड्न बेर लाउँदैनन् गाउँलाई। भौतिकवादी दुनियाँमा मेरो गाउँ पनि लम्किरहेको छ भौतिकवाद तिर। तराईमा आठ दश धुर जमिन किन्न सक्नुलाई निकै ठूलो उपलब्धि ठानिने समाजको नजरमा पर्दैनन् हिजोआज एकल महिला, अनाथ अशक्त अनि सिमान्तकृतहरु। गाउँ सहर बन्ने सोचमा छैन अचेल। गाउँ त सहरमा कसरी पाइला टेक्न सकिन्छ भन्ने सोचमै रुमल्लिएको देखिन्छ।

हेमन्त विवशका केही पढ्नैपर्ने आलेख

१. 
गोसाई आब केलाई चाहियो पर्देश सरकार?
२. लकडाउन, सेतीका छाल र फैलिँदै गरेको जाल
३. चैत मात्तर गयो गोसाई बिसुँ आएइन
४. चैत, क्वारेन्टाइन र कोरोना पूजा
५. अधुरै रह्यो जन्मथलो हेर्ने इच्छा 
६. काट्न खोजेँ आफ्नै घाँटी
७. प्रश्न सोधिरहन्छ साला जिन्दगी
८. चिया पसल चलाउँदै सांसद (भिडियोसहित)
९. गलीगली

प्रकाशित मिति: Jun 04, 2020 13:26:17

प्रतिक्रिया दिनुहोस