के नेपालको कारण सन् १९६२ को भारत–चीन युद्ध भएको थियो?

के नेपालको कारण सन् १९६२ को भारत–चीन युद्ध भएको थियो?

‘भुटान र नेपालमाथी हुने कुनै पनि आक्रमणलाई भारतले आफूमाथि भएको आक्रमण सम्झनेछ’

२७ मार्च, १९५७। 

तिब्बतमा चिनियाँ सेनाको उपस्थिति बाँक्लिन थालेपछि नेपाल र भुटानलाई ‘आफ्नो प्रभाव क्षेत्र मान्ने’ भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूले लोक सभामा दिएको बयान हो, यो। 

सन् १९४९ मा लोकसभामै उभिएर नेहरूले भुटानलाई भारतको ‘सेटलाइट देश’ को दर्जा दिइसकेका थिए। यस्तो अवस्थामा यो बुझ्न गाह्रो थिएन, भारतीय प्रधानमन्त्रीको ईसारा नेपालतर्फ बढ्दै गरेको चीनविरूद्ध लक्षित थियो। 

भारत र चीनबीच सीमा विवादको तानातानीका बीच ४ अक्टुबर १९६२ मा चिनियाँ विदेश मन्त्री मार्सल चेन ईको अर्को अप्रत्यासित बयान बाहिर आयो। उनले आफ्नो बयानमा नेपालको विषय उठान गर्दै भारतलाई स्पष्ट चेतावनी दिएका थिए, ‘कदम कदाचित कुनै विदेशी शक्तिले नेपाल माथि आक्रमण गर्छ भने हामी चिनियाँ जनता तपाई (नेपाल) को पक्षमा उभिने छौं।’

नेपाल र चीनबीच सीमा सन्धि भएको वर्षगांढको अवसर पारेर चिनियाँ विदेश मन्त्रीको बाहिरिएको यो बयानले नेहरूको मात्र होइन, तत्कालिन भारतीय नेताहरूको पनि मुटुमा ढ्याङ्ग्रो फुट्यो। यद्यपि नेहरूले चिनियाँ विदेश मन्त्रीको भनाईलाई अनावश्यक ‘प्रोपोगण्डा’ भन्दै लोक सभामा छल्न खोजेका थिए। 

तर, ५ वर्षको दौरानमा नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धमा त्यस्तो के तिक्तता आयो? जसका कारण कुनै बेला चीनको सम्भावित हमलाबाट नेपाललाई जोगाउने प्रतिबद्धता संसद भवनमा दोहर्‍याइरहेका नेहरू नेपालकै विषयलाई लिएर उल्टै चीनको घेरामा परे। 

मार्सल चेन ईले नेपालको पक्षमा बयान दिएको दुई साता नबित्दै २० अक्टुबर १९६२ मा भारत–चीन युद्ध सुरु भयो। करिब एक महिना जारी यो युद्ध किन भयो र के कारणले रोकियो भन्ने विषयमा अनगिन्ति लेख प्रकाशित छ। तर, यसको चित्त बुझ्दो ब्याख्या अझै हुन सकेको छैन। सीमा विवादलाई लिएर भएको यो युद्धमा आसामको तेजपुरसम्म आइपुगेको चिनियाँ सेना त्यो स्थान कब्जा नगरि जसरी र जुन बाटो आएको थियो, त्यही बाटो लुरुलुरु फर्कियो। 

सन् १९५९ मा तिब्बती धर्मगुरू दलाई लामाले भारतमा ‘राजनीतिक शरण’ लिनु र चीनमा जारी ‘ग्रेट लिफ’ को असफलताबाट सिर्जित परिस्थितिका कारण माओको आदेशमा सन् १९६२ भारत–चीन युद्ध भएको लेख्नेहरू धेरै छन्। तर, के यी दुई कारणले मात्र युद्ध भएको थियो, त? 

सन् १९५७–६२ सम्मको समयलाई मध्यनजर गर्ने हो भने– भारत–चीन युद्धको अर्को ‘फ्याक्टर’ नेपाललाई मान्दा अत्यायुक्ति नहोला। 

नेहरूले सन् १९५७ मा लोकसभामा नेपालको विषयमा भाषण गर्नुभन्दा २ महिनाअघि चिनियाँ प्रधानमन्त्री चाउ इन–लाई पहिलो पल्ट नेपालको भ्रमणमा आएका थिए। यति बेला उनले भारतलाई स्पष्ट पार्न खोजेका थिए, ‘नेपालसँग हाम्रो (चीन) रगतको नाता छ। हाम्रो मित्रतामा कसैले विष घोल्न सक्दैन।’ 

२०१७ साल पुस १ गते जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार ‘कू’ गर्न नेहरूले राजा महेन्द्रलाई सहयोग गर्दा उनलाई लागेको हुनुपर्छ, आफ्नो योजनामा विपीभन्दा राजा महेन्द्रलाई बढी उपयोग गर्न सकिन्छ। (यस विषयमा अर्को लेखमा चर्चा गरौंला) 

तर, महेन्द्रले सन् १९६० मा विपीले चीनसँग सीमा विवाद सुल्झाउन सुरु गरेको प्रयासलाई निरन्तरता दिँदै थप काठमाडौं–कोदारी राजमार्गको नीव राखे। नेपाल र चीनबीच सम्पर्क बढाउने उद्देश्यले गरिएको यो सम्झौतापछि झस्केका नेहरूले २५ नोभेम्बर १९६१ मा लोकसभामा भने–‘भारतको सुरक्षा संवेदनशीलतालाई बाटोले ठूलो धक्का लागेको छ। यो १९५० को सन्धिको बर्खिलाप हो।’

भारतीय मिडियाले पनि यो विषयलाई निकै उछालेका थिए। चौतर्फी दबाब बढेपछि राजा महेन्द्रले एउटा वक्तब्य नै दिनु पर्‍यो, ‘कम्युनिज्म ट्याक्सी चढेर नेपाल आउँदैन’ भनेर।

२०१५ सालमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने भएपछि राजा महेन्द्रको प्रधानमन्त्रीको पहिलो रोजाई सूवर्ण शमशेर राणा थिए। नेहरू पनि चाहदैन्थे, विपी प्रधानमन्त्री बनोस्। उनले त अझ् विपीविरूद्ध अपशब्द नै प्रयोग गरेका थिए। (यसको पनि चर्चा अर्को लेखमा गरौंला) 

१९६० मा राजा महेन्द्रसँग अमेरिकाको भ्रमणबाट फर्किएपछि सूवर्णलाई थाहा भइसकेको थियो–‘राजाको ‘मूड’ ठिक छैन। उनले कुनै पनि बेला ‘कू’ गर्छन’ भन्ने। त्यसैले उनी केही समयको बिदा मागेर भारतको कोलकाता लागेका थिए। उनी कोलकाता गएको तीन दिनपछि नेपालमा ‘कू’ भयो। यसपछि सूवर्ण नेपाल फर्किएनन्। 

शाषन सत्ता हातमा लिएपछि महेन्द्रले ‘चिनियाँ कार्ड’ को भरपूर उपयोग गरे। यही बेला हो, महेन्द्रलाई ‘साइज’ मा ल्याउन नेहरूले सूवर्णको ‘कार्ड’ खेल्ने प्रयास गरे। जननिर्वाचित सरकार ‘कू’ भएपछि नेपाली कांग्रेसका सबै शीर्ष नेताहरू जेलमा थिए। पार्टीबाट कुनै ठोस् निर्णय भएको थिएन तर भारतमा एक्कासी सशस्त्र युद्ध छेडियो। 

राजा महेन्द्रविरूद्ध लक्षित त्यो सशस्त्र युद्धमा सबै सहयोग नेहरूले गरेको नेपाली कांग्रेसका दिंवगत नेता भरत शमशेर राणा बताउँथे। सन् २०१४ मा ‘नेपाल म्यागजिन’ का लागि कोलकातामा लेखकलाई दिएको अन्तर्वार्तामा राणाले भनेका थिए, ‘म आफै पिथौरागढदेखि पूर्वसम्म नेपाल–भारत बोर्डरमा खटिएको थिए।’

यो आन्दोलनले राजा महेन्द्रलाई ‘हम्मे हम्मे’ पारिसकेको थियो। तर, एक्कासी चीनले सीमा विवादलाई लिएर भारतमाथि आक्रमण गर्‍यो। यसपछि आन्दोलन बीचमै तुहियो। 

राजा महेन्द्र र वीरेन्द्रसँग २९ वर्ष काम गरेका राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी त्यति बेला अमेरिका र भारत मिलेर तिब्बतलाई चीनबाट अलग्याउने अभियानमा लागेको र ‘खम्पा बिद्रोह’ लाई साथ दिइरहेको बताउँछन्। 

‘चीनको पनि सबैभन्दा ठूलो टाउको दुःखाई खम्पा बिद्रोही बनिरहेका थिए। अमेरिका र भारतको सहयोगमा नेपाललाई सेल्टर बनाएर तिब्बत हान्ने तयारीमा थिए,’ सुवेदी त्यति बेलाको परिस्थिति बताउँदै भन्छन्, ‘सन् १९६१ मा राजा महेन्द्र चीन गएको बेला माओत्से तुङले नै ‘खम्पा बिद्रोही’ को विषयमा कुरा राखेका थिए। महेन्द्र सरकारले पनि चिनियाँ पक्षलाई आश्वस्त पारेर आउनु भएको थियो।’

कालापानी क्षेत्र तथा गोरखाभन्दा माथि सयौंको संख्यामा रहेको खम्पाहरूको सेल्टरमा खानादेखि हतियारसम्म ओसार्ने काम युएनडिपीको विमानले गर्ने गरेको सुवेदी बताउँछन्। ‘स्युचाटारमा एयरपोर्ट नै बनाएका थिए। माओको आग्रहपछि राजा महेन्द्रले खम्पा बिद्रोहलाई निमिट्यान्ने पार्नुभयो,’ उनी भन्छन्। 

जानकारहरू राजा महेन्द्रले भारतीय सीमाबाट आफूविरूद्ध भइरहेको सशस्त्र आन्दोलनको विषयमा पनि चीन सरकालाई जानकारी दिएको बताउँछन्। 

४ अक्टुबर १९६१ मा चिनियाँ विदेश मन्त्री मार्सल चेन ईको बयानलाई मध्यनजर राख्ने हो भने, त्यो यही सेरोफेरोमा आएको थियो। किनभने त्यति बेला न भारतले अहिले जस्तै लिपुलेक, कालापानी र लिम्पियाधुरामा आफ्नो दावी ठोकेको थियाे। न अन्य भू–भागमै। यसैले मार्सल चेन ईको बयान नेहरूको उक्साहटमा भारतमा भइरहेको सशस्त्र आन्दोलनतर्फ इंकित थियो भन्ने स्पष्ट हुन्छ। 

यो पनि हेर्नुहोस्-

नेपाल-भारत सीमा विवाद १- भारत–चीन युद्धमा आसाम छिरेको चिनियाँ सेना लिपुलेकमा किन अडियो?

प्रकाशित मिति: Jun 06, 2020 09:40:30

प्रतिक्रिया दिनुहोस