जीवनका गौंडा र गौंड्याभीट्

मान्छे जहाँसुकै पुगोस्। जुनसुकै गोरेटामा लम्कियोस। बेलाबखत सम्झनाका गौडाहरुमा टुसाएकै हुन्छ विगत। जिन्दगीका घुम्तीहरुमा अनायासै भैदिन्छ कहिलेकाही कसैसँग गौंड्याभीट्। असंख्य छन् जीवनका गौंडाहरु जो झुल्किन्छन् बेलाबखत कहिले पीडाका चोइटा बनेर त कहिले सुखका धर्सा बनेर। विगतको त्यही गोरेटो अनि यही जिन्दगीको रंग देखाएर। 

युटुबमा दृष्टि पर्छ एउटा डेउडा गीतमा। गीतमा डोटेली भाषाको ठेट शब्द ’गौंड्याभीट्‘ प्रयोग गरेका रहेछन् शुसिल बोहराले। सोच्दै जादा त्यो एकै शब्दले धेरै कुरा बताएझैं लाग्छ। सुदूरपश्चिममा गौंडाको अर्थ हुन्छ अप्ठेरो बाटो। अन्तबाट जाने ठाउँ नहुँदा त्यसै ठाउँबाट आवत जावत गर्नु पर्ने उकालो ओरालो भएको खुट्टा उचालेर हातले टेकेर बिस्तारै उक्लिनु पर्ने वा ओर्लिनु पर्ने बाटो अर्थात् तलबाट हेर्दा ससानो पाहाड जस्तो र माथिबाट हेर्दा खाल्डो जस्तो लाग्ने बाटोलाई गौंडो भनिन्छ। त्यस्तो स्थानमा धेरै वर्षपछि अप्रत्यासित रुपमा हुने जम्काभेटलाई गौड्याभीट भनिन्छ। गौंड्याभीट्लाई निकै नै छोटो भेटका रुपमा पनि परिभाषित गर्न सकिन्छ। बाटो दोबाटोमा दुईतिरबाट आइरहेका कुनै परिचित मनको अकस्मात हुने मिलन पनि गौंड्याभीट् नै हो। अर्को अर्थमा यात्रामा अलि अप्ठ्यारा ससाना उकाला ओराला जस्ता गौंडाहरु पार गर्दै गर्दा अर्कोतिरबाट आएर जुध्न पुग्ने नयनहरुसँगको भेट पनि गौंड्याभीट्् नै हो।  त्यति बेला अहिलेको जस्तो सञ्चारको बिकास भएको थिएन। त्यो गौंड्याभीट् नै जीन्दगीको अविष्मरणीय पल बन्थ्यो कहिले काही कसैका लागि। त्यही गौंड्याभीट्मै जिन्दगीको लय गुञ्जिन पनि सक्थ्यो कसैकसैको।

त्यो गौंड्याभीट् पुराना दिनमा माल (मदेश) जाने मलौटेको हुन्थ्यो। वर्षौपछि कहिलेकाही नौ डाँडा पारि पुगेकी चेलीको माइतिबाट बोलाउन आउनेसँग हुन्थ्यो। साथीसँगीहरुसित हुन्थ्यो। लामो समय माइतमा बसेकी महिलाको घरबाट लिन आएका श्रीमान् देवर, शसुरा आदि सँग हुन्थ्यो। गौंड्याभीट्को महत्व त्यही झल्किन्थ्यो –जब लुकीछिपी डेउडा खेलेका, सँगै मेलापात गएका सँगै गाईबाख्रा चराउन गएका प्रेमी प्रेमिकासँग वर्षौपछि अचानक बाटोमा जम्काभेट हुन्थ्यो र बोलचाल केही नभएर फर्कीफर्की हेर्दै बाटो लाग्नु पथ्र्यो। सामान्य बोलचाल भैहाल्दा पनि क्षणिक समय हुन्थ्यो या त साथमा अरु नै कोही हुन्थ्यो र त धेरै बेर गफ्फिन पाउँदैन थिए। केवल सञ्चो बिसन्चोसम्म सोध्न सकिन्थ्यो। या त कर्के नजरले हेरेर बाटो तताउनु पथ्र्यो। 

यसरी हुने गौड्याभीट मध्ये कसैलाई बोलाउन जाने क्रममा जसलाई बोलाउन गइएको हो सोही मान्छे आफैं आइरहदा बाटोमा हुनजाने भेटलाई अशुभ मानिन्थ्यो। यस्तो भेटलाई अशुभ मानिने भएकै कारण दोष कट्नका लागि दुबैले आफूसँग भएका कपडाबाट एउटा सानो टुक्रा च्यातेर त्यहीनेर फ्याक्ने चलन थियो। हुने खानेहरुले सम्भव भए त्यतिबेलै नभए दोश्रो दिन कुखुरो काटेर भेट भएको ठाउँनेर फ्याक्ने समेत गर्थे। यस्तो भेटमा बोलाउन गइरहेको र आफैं आइरहेको मध्ये एउटाले मात्र देख्यो भने कतै नदेखिने ठाउँतिर लुक्ने वा बाटो बद्लेर अन्यत्र हिँड्ने गरिन्थ्यो। यदि दुबैले देखे भने कपडा च्यातेर फ्याक्नुका साथै लिन गएकोले सम्बन्धितको आँगनसम्म पुगेरै फर्किनु पर्ने हुन्थ्यो। यसरी कपडा च्यात्ने काम अनजानमा सानाले ठुलालाई ढोग्न पुग्दा र कसैलाई सम्भोग गरिरहेको देख्दा पनि गरिन्थ्यो। जुन एउटा लोक चलन मात्रै थियो। हिजोआज बिस्थापित हुँदै गइरहेका छन् यस्ता पुराना अन्धविश्वासमा आधारित कतिपय चलनहरु।

गौंड्याभीट् त अचेल पनि हुन्छ होला गाउँघरतिर। पुराना पे्रमिल मनहरुसँग। सहृदयी मित्रहरुसँग  । समकक्षी साथीभाइहरुसँग। अचेल देखिन्छन् केवल जिन्दगीका गौंडाहरु। सहरबजारमा पनि हुन्छ होला गौंड्याभीट् कहिलेकाही घुष दिने र लिनेको बीचमा। एकमुठो रायोको साग किन्दा समेत मोलमोलाई गर्ने घुस्याहा र फुटपाथमा साग बेचिरहेको स्वाभिमानी मनका बीचमा। गाउँबाट चप्पल लगाएर काठमाडौं छिरेको केही समयमै महल ठड्याएका नेता र कार्यकर्ताका बीचमा। स्वार्थको दुनो सोझ्याउनेहरुका बीचमा। चाकडीका महारथीहरुका बीचमा। अनि आत्मश्लाघीहरुका बीचमा। 

एक महिना अघि वर्षौ पछि एक जना गायकसँग भएको थियो गौंड्याभीट। ती निकै नै गलेका जस्ता देखिन्थे जिन्दगीदेखि। उनका फ्यानहरु थुप्रैछन् बजारमा। म आफैं पनि उनको स्वरको फ्यान हुँ। उनको मुहारमा झुल्किएन विगतको जस्तो मुस्कान। आकाशका किनारातिर बादलका धर्साहरु गनिरहे जस्तो हेराइ थियो उनको। कुरा गर्दा पनि जाँगर गुमाएर बोल्नकै लागि मात्र बोलिदिए जस्तो, प्रश्नको उत्तर दिनकै लागि वाध्यताले कुनै अन्तर्वार्तामा बसेजस्तो बडा अजिवको थियो उनको स्वभाव। म खोज्दथेँ उनको विगतको चञ्चलता। मुसुक्क मुस्कुराउने पन अनि मुस्कुराउँदा सुटुक्क देखिने हिमाल जस्ता दन्तलहर। अचेल धमिलो प्रकाश जस्तो जिन्दगी बोकेर यात्रारत रहेछन् उनी। बेलाबेलामा आँखा रसिला पारेर कुरा फुत्काउँथे – ‘उनी रक्सी खाएर झगडा गर्छिन्,त्यो पनि फोनमा मात्रै। माया त लाग्छ तर.......।’ उनी को हुन् चाहेनन् उनले भन्न। मात्र उनका रसाइरहने नयनमा उनी लुकेकी थिइन्। विगतमा सुनिएको डेउडा गीत आइदिन्छ सम्झनामाः
जिन्दगीका गौडा उसाइ बाटो पन फेरोइ
रिस पन तोइ देखि उठ्दो माया पन तेरोइ।


यहाँ जिन्दगीका गौंडा भन्नु जीवनमा देखापर्ने उतार चढाबका घटनाहरु पनि हुन्। त्यो रिस पनि उठाइरहने अनि मायाको तलाउमा पनि डुबाइ रहने अनुहार कसको थियो भन्न चाहेनन् उनले। बेहोसीमा चुहिएको कुरा सम्झी चिन्तित बन्दै भनेका थिए – ‘प्लिज सर यो कुरा कतै नभनी दिनु होला।’ उनको त्यो अनुरोध सम्झेपछि सकेन मैले उनको नाम उल्लेख गर्न। जरुर त्यहाँ केही गडबडी थियो रत चिन्तित देखिन्थे बारम्बार। एकातिर ति युवती तड्पिरहेकी होलिन् अर्कोतिर युवक अर्थात गायक। 

कतै खतरनाक ढंगले देखापर्छन जीवनका गौडाहरु। यतिखेर कोरोनाले सोचमग्न तुल्याइदिएको छ जिन्दगीका गौडालाई र सुय्य सुस्केरा हाल्न लगाइरहेको छ। जन्मदेखि मृत्युसम्म तमाम गौडाहरु पार गर्नु पर्ने हुन्छन्। जिन्दगीको सुन्दर बिम्ब बनिदिन्छन् कतिपय गौडा र गौंड्याभीट्हरु। रुवाउछन कहिले काही तिनै बिम्बहरुले। 

उता एक जना पृय  छन् राम्रो लेख्छन् तर कोठाभित्र लुकिरहन्छन्। कहिलेकाही वर्षमा एक दुई पटक ठोकिन्छन् सहरी गोरेटोमा र भन्छन् – ‘हिजोआज रुने वातावरण सिर्जना गरिरहेको हुन्छु।’ उनको त्यो वातावरण कतिखेर किन र कसरी आउछ म अनभिज्ञ बनिदिन्छु। उनको लुकिरहने बानी मेरो नजरमा निकै नै अजीव लाग्छ। किनकी उनी अरुकै लागि बाँचिरहे जस्तो लाग्छ। उनी हाँस्दै भनिदिन्छन् – ‘कुनै दिन निस्किन्छु गुफाबाट बाहिर।’ त्यो गुफाभित्र उनले कसको लागि कति ठेली लेखे। कतिलाई लेखक बनाए अत्तोपत्तो छैन। फेरि सोच्न थाल्छु  आखिर सन्तुष्टि लिने न हो। जसरी लिए नि हुन्छ। तर कहिले काही सन्तुष्टिका नाममा के के उपाय अपनाइ दिन्छ मान्छे। यसै हप्ता सुनेँ कतैबाट पुरस्कार माग्न दैलो ढोग्ने केही ढोंगी मनुष्यहरुको कथा। ती मनुवाहरु रातदिन चाकडी गरिरहन्छन्। पुरस्कारका लागि  बिन्ती पत्र बिसाइरहन्छ। मलाई साह्रै टिठ लाग्छ ती दयनीय मनहरु देखेर, तिनका बारेमा खवर सुनेर। मेरा केही मित्र भनाउँदाहरु पनि छन् जो अरुलाई फोन गर्छन् हात जोडेर केही भूमिका माग्छन् अनि बजारमा फुर्ति लडाउछन् मलाई फलानोले फोन गरेर यसो गरिदिनु पर्‍यो भनेर साह्रै अनुरोध गर्‍यो। के गर्ने नाई भन्न सकिनँ भनेर। मेरा मित्र कृष्ण मल्ललाई राम्ररी थाहा छ यो कुरा उनी भेटका क्रममा हसाउँछन् प्रंसङ्ग सम्झाएर।

अचेल म आफै यी सारा गतिविधिहरु देखेर सुनेर माक्सले नाकमुुख बन्द गरेर मौनतामा हिँडिदिन्छु एक्लै एक्लै। त्यही एक्लो हिँडाइका क्रममा कहिलेकाही भइदिन्छ कसैसँग गौंड्याभीट्। पल्टिन थाल्छन् स्मृतिपटलमा विगतका पानाहरु। छड्के परेर हिँड्नेहरु पनि छन् यहाँ। टाउको निहुराएर हिँड्नेहरु पनि छन्। लाज पचाएका ठाडो शिरघरीहरुसँग पनि भैदिन्छ कहिलेकाही गौंड्याभीट्। हिसाव किताव केही हुन्न गौंड्याभीट्को अचेल। मान्छे निर्लज्ज हुँदै गएपछि, स्वार्थको पाहाड ठड्याउँदै जान थालेपछि, भौतिकवादी सोच र दम्भले भरिपूर्ण भएपछि रहँदैन बिछोडिएका दिलहरुको भेटको कुनै गरिमा।

वर्षौँअघि एक अपरिचितले पठाएको पत्रमा लेखिएको थियो – ‘समय अभावका कारण हाम्रो भेट हुन सकिरहेको छैन्। समय नमिल्दा पनि कतै न कतै गौड्याभीट त कसो नहोला।’ दिन बिते महिना बिते वर्ष बिते अझसम्म उनको समय उब्रेनछ क्यार। बरु सोच्दै नसोचेको महामारी बनेर आइपुग्यो कोरोना भएन उनको आगमन। न त्यो दिन नै आयो न त आयो उनको कुनै खवर। सम्झनामा आए कुनैबेला उनले पठाएका गीतका पक्तिहरु।

निउँरो पलाइरदो खोलीका किनार
अभागीका दिन् जोखिजा सुन् जोख्ने सुनार


खोलीको किनारतिर लुकिछिपि पलाएको निउरोसँग दाजिएकोछ जिन्दगी। कतिखेर जोख्छ समयले मान्छेका दिनहरु थाहा छैन। मान्छेले न मान्छेका दिन जोख्न सक्छ न त मन नै। मात्र गीतका माध्यमबाट सुनाइरहेछ स्रष्टाले जिन्दगीको आलाप। हिँडेकै छ जिन्दगीको गोरेटो। लमतन्न परेकै छन् अभावका पुलहरु। 

त्यो पाहाड, त्यो गाउँ, त्यो सुन्दरता अनि ती हरफहरु एकाएक छाइदिन्छन् स्मृतिपटलमा। त्यहाँ न कुनै स्वार्थ थियो, न दम्भ थियो, न दुखेसो थियो अनि न त थियो कुनै आशक्ति। त्यहाँ थियो त केवल निश्चल निष्कपट मनको भावपूर्ण आग्रह थियो। प्रेमिल मनका केही केस्राहरु थिए। समयका छटाहरु थिए। अनि थिए बाध्यता र विवशताका डोबहरु। दिनप्रतिदिन जटिल बन्दै गइरहेका छन् जिन्दगीका गौंडाहरु। देखिनु हुन्न सपनीमा क्षितिज पारि पुगेका बाआमा पनि। आफ्नै मनसँग हुन सकेको छैन गौंड्याभीट्। बरालिरहन्छ यो मन जात्रा हेर्न जादा खल्तिमा एक सुका नभएको त्यही उदाश दिन जस्तै बनेर।

 हेमन्त विवशका थप आलेख 

प्रकाशित मिति: : 2020-07-12 00:11:00

प्रतिकृया दिनुहोस्