चौतारीमा जम्मा भएका चार पाँच जनाको समूहलाई देखाउँदै सोधेको थिएँ हलो बोकेर खेततिर गइरहेको दलजितेलाई, ‘त्यहाँ के भैराख्या छ?’ ‘अषाढ सकिन्ना छ। ठूलाबडालाई उवेल लागेको छ। दन्कलो मच्चिया होला उपभोक्ता समितिको। इन्जिनियर आया हुन्ना। कागजमी बनन्ना योजना। दक्षिणा टक्र्याउनु पड्डे होलो माथिल्लो निकायसम्मलाई, और के होला यै देशमी।’– एकै सासमा सुनाए उनले। दलजितेले भनेझै प्रदेश र स्थानीय सरकारका थुप्रै कार्यक्रम उपलब्धिबिहिन नै देखिएका छन् गाउँघरतिर।
धेरै वर्षपछि सुन्नमा आयो डोटेली भाषाको ठेट शब्द दन्कलो। सुदूरपश्चिमका पहाडी जिल्लामा वैशाख जेठमा गहुँ र आश्विन कार्तिकमा धान काटिएपछि खालि हुन गएका खेत पाखामा गाईगोरु छोडिन्छ। डोटेली भाषामा त्यतिखेरको त्यस्तो खाली जमिनलाई ‘उबेल’ भनिन्छ भने थुनाबाट मुक्ति पाएका गाईबाच्छीहरु रमाइलो मानेर प्रफुल्ल मुद्रामा उर्फिने कार्यलाई मतर्कनु अर्थात बुर्कुसी मार्नु भनिन्छ।
सुदूरपश्चिममा यस्तो दृश्यलाई उबेलका गाईबाच्छी उफ्राई भनिन्छ। यसरी पिठिमा पुच्छर राखेर सीधै पल्लो छेउ हेरेर उफ्रिदा कहिले काही कसैकसैको खुट्टा खाडलमा परेर वा गराको डिलबाट चिप्लेर लड्छन् पनि। जसरी लड्छन बेलाबखत यो देशका सत्तापिपाशु सम्राटहरु। अनि सम्झेँ त्यस्तै गणतन्त्ररुपी मैदानमा उफ्रिरहेका नैपालका साँढेलाई। जो शोभनियतालाई नै तिलाञ्जली दिएर धुर्तता र पाखण्डीपनमा रमाइरहेका छन्। उबेलाको बेला गाईबाच्छीको पछिपछि बहर, गोरू दौडिने कार्यलाई डोटेली भाषामा दन्कट अर्थात् दन्कलो भनिन्छ। यसलाई अझै प्रष्ट्याउनु पर्दा भन्न सकिन्छ कि गाईबाच्छीले बहर खोज्ने बेला हुन थालेको संकेत गर्दा वा बहर खोज्ने चेष्टा गर्दा उसको पछिपछि दौडिन्छन् कतिपय बहर अनि गोरु। बुढा गोरुदेखि तरुना बहरसम्मको दौडाहा समूह लामबद्ध देखिन्छ गाईको पछाडि।
जो शक्तिशाली छ ऊ सबैलाई हिर्काउँदै अग्र पंक्तिमा लम्किरहेको हुन्छ। यौन उत्तेजनाले उफ्रिरहेको यौवनारुढ बाच्छी होस् वा गाई ठाडो पुच्छर लगाएर दौडिरहेको हुन्छ। दौडिने क्रममा पछाडिबाट एकले अर्कालाई हिर्काउने क्रम चलेकै हुन्छ। शक्तिशाली बहर जो छ ऊ पछाडि फर्किदै अरूलाई हिर्काउँदै पुनःगाईको पछाडि लाग्छ। कतै मौका पाइएला कि भन्ने सोचले अरु बहर गोरु पनि पछाडिपछाडि दौडेकै हुन्छन्। गाईबाट यीनलाई छुटाउन कयौं मोटामोटा लौरी तोड्नु पर्नेहुन्छ। जति चोट पाउदा नि घोसे मुन्टो लगाएर छोड्दैनन् पछिपछि दौडिन। निकै हैरान तुल्याउछन्।
एकातिर त्यो दृश्य सम्झनामा आइरह्यो अर्कोतिर सम्झिन थालेँ– बेलाबखत दन्कलो मच्चाइरहेका नैपालका कैयौं सम्राटहरुलाई। जहाँ पैसा र पोष्टको पछाडि चलिरहेकै छ दन्कलो। रूघिरहेंकै छन् सत्तालिप्त मनस्थिति भएकाहरु सिंहदरवारलाई जसरी मौका पाउदा रूघिरहेको हुन्छ बुढो गोरुले गाईबाच्छीलाई। अहंकारी, पाखण्डी घुषेहा र आत्मश्लाघीहरुमा हुँदैन दूरदर्सिता। ऐय्याशीका महारथीहरुलाई मतलब छैन देश र जनताको। मतलब छ त केवल शत्ताको, आसेपासेको, कमिसनतन्त्रको। यहाँ बेलाबखत सडक आन्दोलन भए, सडकमा देखिने गरीव, सीमान्तकृत, मजदुरहरु बारम्बार बनिरहे बलिका बोका। महशूस गर्न पाएनन् तिनले कहिल्यै कुनै तन्त्रको।
कदर गरिएन शहीदले बगाएको रगतको। गणतन्त्र भन्नु एउटा व्यवस्था न हो। संचालक गतिला नभएपछि नाम मात्रको व्यवस्थाले मात्रै के गर्नु। यी सम्राटहरु गणतन्त्रका पछाडि यसरी हात धोएर लागि परे कि भोकाएको भालुलेझैं छोडेनन् झम्टिन। च्यातिरहे गणतन्त्रका बस्त्रहरु। नाङ्गेझार तुल्याइरहे गणतन्त्रलाई। अनि दन्कलो मचाइरहे गणतन्त्रकै पछि लागेर। गणतन्त्रकै नाम लिएर। गाउँघरतिर हिजोआज प्रायले गाईबस्तु पाल्न छोडिसके। निकै कम मात्रामा देखिन्छ गाउँघरमा दन्कलो। दन्कलो त्यहाँ सरेको छ जहाँ सत्ताधारी मुखिया, डिठ्ठादेखि महारथीसम्म विराजमान छन्। दन्कलो अराजक भीडको दौड हो। जो प्राय जसो उपलब्धी बिहिन नै हुन्छ। यो रिस, डाह र ईष्र्याले भरिएका मनहरुको लडाई हो। बहर र गोरु गाईबाच्छी पाउन वा तिनको नजिक भएर आफ्नो प्यास मेटाउन खोज्दछन् भने यो देशका छोटे राजनहरु कुर्सी र पैसाको लागि एक आपसमा लडिरहेका हुन्छन्। जो विवेक गुमाउछन् र अराजक बनिदिन्छन्। शक्ति र सम्पत्तिका भोकाहरु अघाउँदैनन् कहिल्यै पनि। अन्तत्वगत्वा ढुकुटी रित्याउछन् र खोक्रो पारिदिन्छन् देशलाई।
एउटा वडा कार्यालयको प्राङ्गणमा त्यहाँका कर्मचारी आलो पालो भनिरहेका थिए – खै अध्यक्षले के के समान किनेको हो थाहा छैन म त गर्दिन् बिल भौचरमा हस्ताक्षर। क्वारेन्टिनमा ५ लाख खर्च भन्छन् दुई लाखको त रासन भने अरु तीन लाखको केके किने थाहा छैन। उनीहरुका अनुसार कर्मचारीको खाजा र खाना भत्ता वापत नगरपालिकाले दिएको १ लाख ८० हजार रुपैया समेत अध्यक्षले कतिखेर पचाइसकेछन्। त्यस्तै विवध खर्च बापतको ५ लाख रुपैया पनि हजम गरिसकेछन्। अफिसमा एउटा ह्वाइट पेपरसम्म भेटिदैन।
उता सुदूरपश्चिम प्रदेश सरकार कोरोना नियन्त्रणका लागि खर्च गर्नेमा अग्रस्थानमा देखापर्छ। तर सीमामा आइपुगेका श्रमिकलाई एक छाक खाना खुवाउन कैलालीका उद्यमी र सहयोगी मनहरु देखा पर्दछन्। ह्युमानिटी फाउण्डेसन नेपाल र बिभिन्न देशमा रहेका सुदूरपश्चिम समाजको सहकार्यमा चन्दा उठाएर डडेल्धुरामा पिसिआर मेसिनको स्थापना गरिन्छ। लाज सरम केही छैन प्रदेशका मुखियालाई पनि।
दन्कलो सरेकोछ अचेल स्थानीय निकायमा, प्रदेशमा र सिंहदरबारमा। त्यही दन्कलोले उपलब्धी बिहीन बनाइदिन्छ देशलाई लामो समयसम्म। सास्ती खेपेकाहरुले झन सास्ती खेप्नु पर्छ यहाँ। सास्ती खेप्ने तिनै गरिव निमुखाहरु हुन्छन्। गोसाईहरु त चिल्ला कार गुडाइरहेकै छन् सडकमा। छैन तिनका लागि लकडाउन। सरकार अनलाइन क्लासदेखि टेलिभिजनबाट कक्षा संचालनको दन्कलो मचाइरहेछ। जसको चुलो बल्दैन उसले छोराछोरीको लागि कहाँबाट जुगाड गर्छ टचेवल मोबाइल, ल्यापटप, इमेल र टेलिभिजनको। नेपालका सबै ठाउँमा बिजुली पुगेको छैन। सबै अभिभावकको क्षमता छैन अनि कसरी हुन्छ समानता ?
देउसराले निन्याउरो मुहार बनाएर सुनाइन –‘नातीले भन्दो छ, बज्यै अचेल कम्पुटर, टिभी बटाहै पढाइ हुन्लाछ रे। हामरा घर त नाइ आथी, म कसेरी पढूँ आव।’ देउसराका जस्ता कैयौं विपन्न गरिव र सिमान्तकृतका छोराछोरी नाती नातिनाहरु चिन्तित छन्। सम्राटहरुको सहरले, सम्राटहरुको व्यवहारले सधैं चिन्ता मात्र उत्पन्न गराउछ गरिवहरुलाई। पीडा मात्रै झेल्न लगाउछ। पञ्चायतकालमा रवैया देखाइरहेका सम्राटलाई पाखा लगाएर गणतन्त्र आयो। तर यतिखेर देखापरे सैकडौं सम्राटहरु। अझै भन्नु पर्दा देखापरे कैयौं साढे र बुढा गोरु। जसले बेलामौकामा दन्कलो मचाउन थाले अनि थकित मुद्रामा पनि रुघिरहे सिंहदरवारलाई। दन्कलो चल्दा गराको एक छेउबाट अर्को छेउतिर र गोरेटोमा दौडिरहन्छन् गाईगोरु। मात्र लखेटिरहन्छन् गाईबाच्छीलाई। हुँदैन् केही उपलब्धी। त्यस्तै शब्द दौडाएर, चिल्ला गाडी दौडाएर लकडाउन गरेर सिंहदरबारमा दन्कलो मचाएर, अर्बौ घोटाला गरेर केको बन्थ्यो र देश। कसरी होला र गणतन्त्रको सम्मान। राष्ट्र बन्नका लागि त नैतिकता र इमानदारिताका साथ उपलब्धिपूर्ण काम बन्नु पथ्र्यो। मौका पाए भन्दैमा बुढा गोरुले गाई रुघेर बस्नु समयको वर्वादी र दुर्भाग्य शिवाय अरु के नै हुन्छ र।
भेटमा समाचारका कतिपय नबुझेका कुरा सोधिरहिन् देउसराले। उनले बुझ्ने गरी बताइरहेँ केहीबेर। ‘अचेल और के हुन्ना छ नेपालमी ?’– छुट्टिदा पुनः प्रश्न तेस्र्याइन। ‘नेपालमी अचेल कोरोना गाई बन्या छ, सिंहदरवार उबेल बन्याछ, लकडाउनका बेला भित्रभित्रै दन्कलो मच्चिएको छ। कसले कोरोनाको पछि लागेर कति कमाउन सक्छ भन्ने होडबाजी एकातिर छ कुर्सीको लडाई अर्कोतिर चलेको छ देउसरा’ – मैले उनलाई सुनाएँ। यै देश इशोइ हो गोसाई भन्दै खिन्नता प्रकट गर्दै हिँडिन उनी आफ्नो मार्गमा।
हिजो उत्सुकतापूर्वक हर्षित मुद्रामा गणतन्त्रको पक्षमा भोट खसाल्नेहरु, माओवादी सत्तामा आएपछिको परिवर्तन देख्न चाहनेहरु यो देशका जनताहरु सबै खिन्न छन्। राज्य गरिब र निमुखाको पहुँचभन्दा टाढा छ। हिजो गरिवगुरुवासँग कुरा गर्ने, उनलाई आश्वासन दिने कतिपय नेता भनाउदाहरुको जिन्दगी नै अर्कै भैसक्यो। चाहदैनन् तिनले विगत सम्झिन। छाडिसके तिनले जनता चिन्न पनि। यो देशमा आन्दोलनका नारा जेसुकै भए पनि, जुन तन्त्र ल्याए पनि आखिर हरेक तन्त्रमा केवल सम्राटहरु मात्र देखापरे।
देश अहिले पनि दलाल र कमिसनखोरकै हातमा छ। निरिह जनताहरु भोक, रोग र शोकले मरिरहेका छन्। देशको नियम कानुनदेखि ढुकुटी सबै आफ्नै मुठ्ठिमा राखेर तानासाह बन्न खोज्ने गोसाईहरु छन् यहाँ। कैयौं धोकेबाज, मुकुण्डोधारी छन् यहाँ। राणा शासनदेखि पञ्चायत र गणतन्त्रसम्म कोरोनाजस्तै मुकुण्डोधारीहरु आए, सिंहदरबारका कुर्सीमा निदाए, आफ्नै जिन्दगीका सपना देखे। सात पुस्तासम्मको लागि कमाए र पञ्चेहरुलेझैं संस्कारी ,खानदानी र ठुलाबडाको धाक लगाए। चाकरी बजाउने भाटहरु कमिसनखोर दलालहरु वरिपरि घुमि नै रहे। गरिव र सिमान्तकृतहरु टुलुटुलु हेरिरहे तिनका तमासा।
अहिले पनि तै चुप मैचुप भनेझैं सांसद बिकास कोषको मोटो रकम हातमा लिएर परेड खेल्दै छन् साहुजीहरु। ठेकापट्टामा व्यस्त छन् कमाउनिष्ठ कतिपय मन्त्रीहरु। स्वरको आयतन बढाउँदै गर्जिरहेकै छन् बडेमानका गोसाईहरु। आगो सल्केसरी फैलिरहेछ केरोना। जलिरहेछ देश। मरिरहेका छन् गरिब र निमुखाहरु। चाकडी चाप्लुसी, झगडा, अन्तरघात, भ्रष्टाचारको पछाडि लागिरहेका कैयौं सम्राटहरुका बीच मच्चिरहेको छ दन्कलो–शक्ति, शत्ता र कमाउधन्दाका लागि। अनि देउसराहरु गीतका माध्यमबाट गरिरहेका छन् प्रश्नः
पञ्चायत ढाली, राजतन्त्र ढाली, गणतन्त्र आयो
नैपाल दन्कलो चल्यो जनताले के पायो 
यसरी एकातिर प्रश्न उठिरहेको छ अर्कोतिर दन्कलो मच्चिएको छ। अप्ठेरो साँगुरो बाटोमा हिँडिरहँदा सामुन्नेमा देखापरेको पशुहरुको दन्कलोझैं जिन्दगीको मोडमा एकाएक देखापरेको छ कोरोना संन्त्रासदेखि भोकको महामारी। पशुहरुका बीच चल्ने दन्कलो प्राकृतिक हुन्थ्यो। बिलियो बहरले त्यस्ता गाई वा बाच्छीलाई लखेटिरहदा कतै सुरक्षित स्थानमा पुग्यो वा मौका मिल्यो भने गर्भाधान पनि हुन जान्छ। जुन उपलब्धिमुलक मानिन्छ। यो देशका सम्राटहरुको दन्कलो उपलब्धि बिहिन अनि भयावह देखिन्छ।
हेमन्त विवशका थप आलेख
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया