रसिया–युक्रेन युद्ध: युराेपभर सङ्कट

प्रकाश ढकाल

डेनमार्क

रसिया र युक्रेन युद्धले युरोपमा सामाजिक र आर्थिक प्रभाव निकै पारेको छI तर युरोपेली देशहरू त्यो देखाउन चाहँदैनन्, हामी ठीक छौँ भन्ने भान विश्वसामु पार्दै आएका छन्I

आउनुहोस् केही उदाहरण हेरौं, यो युद्धबाट युरोपका देशहरू र यहाँ बस्ने मानिसहरू कति प्रभावित भइरहेका छन्? यसमा डेनमार्कको उदाहरण हेर्नुहोस्I

युरोपका सम्पूर्ण देशहरूमा पेट्रोल र डिजेल अनि बाल्ने ग्यास रसियाबाट पाइपलाइनबाट आउँछI त्यसको मूल्य अहिले उच्च भएको छI युद्ध सुरु हुनुभन्दा अगाडि डेनमार्कमा करिब ११.३९ डेनिस क्रोनर रहेको पेट्रोल बढेर १७.७९ सम्म पुग्यो भने अहिले थोरै घटेर १५.३९ भएको छ। जुन पनि उच्च मूल्य हो, जसको मार प्रत्यक्ष जनतालाई परेको छI

डिजेलको पनि मूल्यवृद्धि त्यही अनुपातमा छI तेलको मूल्य बढेपछि स्वाभाविक रूपमा यातायात तथा सामान ढुवानीको खर्च बढ्छ अनि त्यसको स्वत: असर दैनिक उपभोग्य सामानमा पर्छI ग्यासको मूल्य २ सय प्रतिशतले बढेको छI 

जनताले दैनिक उपभोग्य गर्ने सामानको मूल्य न्यूनतम ३० देखि ५० प्रतिशतसम्म बढेको छI उदाहरणको लागि खाने तोरीको तेल १७ बाट २६ पुगेको, दूध लिटर ११ बाट १५ पुगेको, पाउरोटी पनि यही अनुपातमा मूल्य बढिरहेको छ। कुखुराको मासु किलोको २५ बाट ४२ पुगेको, खसी भेडाको मूल्य पनि यही अनुपातमा बढिरहेको छI अन्डाको मूल्य प्रतिगोटा १ बाट २ भएको छI

हरियो तरकारीको मूल्य २५ प्रतिशतले बढेको छI पहिला दुई सय डेनिस क्रोनरमा झोला भरी सामान आउँथ्यो भने अहिले झोलाभरि सामान किन्न ३२० देखि ३५० खर्च गर्नुपर्छI दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै छ तर व्यक्तिको तलब भने बढेको छैनI 

बिजुलीको मूल्य : बिजुलीको मूल्य चाहिँ कोठा, फ्ल्याट तथा घरअनुसार न्यूनतम १३० प्रतिशतदेखि ३०० प्रतिशतसम्म बढेको छI सबैभन्दा महँगो बिजुली भएको छI बिजुलीको मूल्य बढ्नुको खास कारण पेट्रोल र डिजेलको मूल्य बढ्नाले हो। त्यसैले डेनमार्क अहिले भयंकर उर्जा सङ्कटबाट गुज्रिरहेको छI

डेनमार्कको बिजुलीको मुख्य स्रोत भनेको विन्ड मिल (हावाबाट बिजुली उत्पादन), ग्यास, कोइलाबाट तथा फोहोर जलाइ त्यो तापबाट बिजुली उत्पादन गर्ने अनि बाँकी स्विडेनबाट आयात गर्ने होI स्विडेनमा पनि अहिले उर्जा सङ्कट भएकोले उसले निर्यात कम गरेको हुँदा डेनमार्कलाई मार परेको होI

साँझ नपर्दै डेनमार्कका उज्यालो हुने सार्वजनिक स्थानहरू अहिले अँध्यारा छन्I अत्यावश्यक सार्वजनिक ठाउँहरूबाहेक कतै बिजुली छैन, अँध्यारा देखिन्छन् सडकहरू अनि गाडी पार्किङ स्थानहरूI राति यात्रा गर्दा उज्याला देखिने हाइवे/ राजमार्गहरू अहिले अँध्यारा देखिन्छन्, सडक बत्तीहरू बलेका छैनन्I

सन् १९९७ पछि डेनमार्कमा मुद्रास्फृती (Inflation rate) अहिले उच्च भएको छI सामान्यतः प्रत्येक वर्ष २.४ रहने यहाँ अहिले बढेर ९.६ पुगेको छI पुरा सरकारको नियन्त्रण बाहिर छI मुद्रा मुद्रास्फृती उच्च हुनु भनेको बजारमा हरेक वस्तुको मूल्य उच्च हुनु अनि त्यहाँको जनताको बसाइ महँगो हुनु होI मुद्रास्फृती  सरकारले चाहेको खण्डमा नियन्त्रण गर्न सक्छ तर अहिले सरकारको नियन्त्रण बाहिर छI

त्यसैगरी सबै युरोपेली मुलुकका जनता अलि सहनशील छन्। त्यसैले खास बाहिर देखाउँदैनन् तर यो सहनशीलता कहिलेसम्म जान्छ? भन्न सकिँदैनI युरोपेली मुलुकहरू मानव अधिकार, लोकतन्त्र तथा शासनको स्थायित्व प्रति प्रतिबद्ध छन्। यदि जनताको उकुसमुकुस यही किसिमले बढिरह्यो भने त्यो थेग्न सरकारलाई गाह्राे देखिन्छI किनभन्दा जनताको खर्च बढेको छ। मध्यमवर्ग मारमा छ तर आम्दानी बढ्दैन अनि सरकारले सहयोग गर्दैनI

जनताको सार्वजनिक दबाब जब सतहमा आउँछ, तब सरकारलाई दबाब बढ्छI युद्धले युरोपभर यत्रो सङ्कट ल्याउँदा पनि केही नभए जस्तो भान पारी संसारलाई हामी ठीक छौँ, हामीलाई केही भएको छैन जस्तो देखाउन युरोपेली मुलुकका सरकारहरू चाहन्छन् भने त्यो अलि खतरा साबित हुनेछI

मलाई लाग्छ अब आगामी चुनावहरूमा युरोपेली मुलुकका देशहरूमा केही उथलपुथल हुनेछ। नयाँनयाँ शक्ति तथा पार्टीहरू अस्तित्वमा आउन सक्छन्। यदि रसिया र युक्रेनबीचको युद्धलाई समाधानतर्फको बाटोमा अहिले सम्बोधन नगर्ने हो भने युरोपेली मुलुकहरूबीच नै नयाँ ध्रुवीकरण सुरु हुनेछI

प्रकाशित मिति: : 2022-09-23 13:04:00

प्रतिकृया दिनुहोस्