कहिले फेरिएला जुम्लाको मुहार ?

BreaknLinks
BreaknLinks

नेपाल लोडसेडिङ मुक्त भएको वर्षौं बितिसक्यो तर कर्णाली प्रदेशको जुम्ला जिल्लामा हप्ताको एक/दुई दिन मात्र बिजुली आउँछ भन्दा हामीलाई अचम्म लाग्नसक्छ। तर कोही कसैले अचम्म मान्नुपर्ने कुरा छैन, वर्षौँदेखि अन्धकार झेलिरहेका जुम्लावासीहरुको समस्या जस्ताको त्यस्तै छ। विश्वले एक्काइसौं शताब्दीको फन्को मारिरहँदा पनि जुम्लाका समस्या जहाँका त्यहीँ छन्।

युगौंदेखि भौगोलिक विकटताले पिछडिएको मेरो प्रदेश एवं जुम्ला जिल्ला अझैसम्म पनि पिछडिएको छ। राजाको शासनकालदेखि सौतेली व्यवहार खेप्दै आएको मेरो जुम्ला अझै पनि सौतेली व्यवहार खेपिरहेको छ।

कति राजा रजौटा फेरिए, कति प्रधानमन्त्री, मन्त्री अनि सरकार फेरिए तर पिछडिएको मेरो जुम्लाको मुहार फेर्न कसैले सकेन। मेरो जुम्ला अझैसम्म दुर्गममै सीमित रह्यो। कहिल्यै फेरिएन, युगौंदेखि समस्यासँग जुध्दै आएको मेरो जुम्लाको मुहार फेर्ने दिन अनि विकासको काम गर्ने लिडर।

२१औँ शताब्दीले जस्तोसुकै गाथा गाए पनि जुम्ला एवं कर्णालीका विकट बस्तीहरूमा देखिएको नियमित विद्युत्, खानेपानी र सरसफाइको अभाव, अशिक्षा, गरिबी, भोकमरी, छुवाछुत तथा छाउपडी जस्ता सामाजिक कुसंस्कारले नराम्ररी सताएको छ। अब हामी आफैँ विचार गर्न सक्छौँ जुम्ला एवं समस्त कर्णालीको हालत कस्तो छ भनेर।

नजर डुलाउँदा पाइलै पिच्छे बिजुलीका पोलहरु ठडिएका छन्, गाउँगाउँमा विद्युत गृह छन् तर बत्ती छैन। घरैपिच्छे धाराहरु छन् तर धारामा नियमित पानी नभएर स्थानीय आकुल-व्याकुल भएको छन्।

बाहिरबाट हेर्दा सेवा सुविधा भएको हस्पिटल छ भन्ने छ, कठै! भनेजस्तो राम्रो सेवा सुविधा दिन सकेको छैन। कोही गाउँमा बिरामी पर्दा हस्पिटलसम्म ल्याउने सवारी साधन एम्बुलेन्सको कुरा त परै जाओस् एउटा स्ट्रेचरसम्म छैन।

हेर्दा बाहिरबाट सबैलाई लाग्नसक्छ घर-घरसम्म बाटोघाटो पुगेको छ तर बाटोको डिजाइन, गुणस्तर र बाटोमा गुडिरहेका गाडी कहिले देखिँदैनन्।

विद्यालय छन् तर विद्यार्थी देखिँदैनन्। गन्तव्य एउटै छ, विकासको नाममा प्रकृतिको विनाश हुनेगरी ३/४ ठाउँबाट बाटो खनिएको छ। 'जसको शक्ति उसकै भक्ति' भनेझैँ मेरो प्रदेश एवम् मेरो जन्म जिल्ला जुम्लामा यो कुरा यथार्थ साबित भएको छ।

पहिले जस्तो समस्या भोगेको थिएँ दसैँ-तिहारमा जुम्ला आउँदा यो वर्ष पनि त्यस्तै समस्या भोग्नु पर्यो मैले। परापूर्व कालदेखि जुम्ली जनताले भोगेका विभिन्न समस्यासँग फेरि पनि मैले जुधेर बस्नुपर्यो। सुन्थें, पहिलाभन्दा जुम्ला केही विकसित भएको छ तर २/४ कामहरुबाहेक अरु केही कुरामा विकसित भएको देखिनँ।

म जुम्ला आएको दिनदेखि राम्रोसँग बत्तीको मुहार पनि देख्न सकिएन। यताउति हेर्दा बत्तीका अनगिन्ती पोलहरू ठडिएका नेपाल विद्युत प्राधिकरणका साना जलविद्युत आयोजनाका समितिले सञ्चालन गरिरहेका विद्युतका पोलहरु छन्। पोलमाथि बत्तीको तार पनि तानिएको छ तर त्यो तारमा बत्ती छैन।

खबर सुन्थेँ, पोलमाथि तानिएका तारहरु स्थानीय विद्युत गृहमा जोडिएका छन् र नयाँ विद्युत गृहबाट उत्पादन भएको बत्ती पनि जोडिएको छ। अझ भनौं राष्ट्रिय ग्रिडमा पनि जुम्ला जोडी सक्यो भन्ने खबर सुन्दा काठमाडौंमा म जति खुशी भएको थिएँ तर वास्तविकता के रहेछ जुम्ला आउँदा थाहा भयो।

'सदियौंदेखि झरो र टुकीको सहायताले उज्यालो गरिरहेका हामी जुम्ली जनताहरु अझैपनि घर अगाडि ठडिएका विद्युतका पोलहरुमा तानिएका तारहरू हेर्दै बत्ती आउने आशामा झरो र टुकी बालिरहेका छौं। वर्षमा एकचोटी आउने दसैँ-तिहारजस्ता चाडपर्वहरु पनि जुम्ली जनताले बत्तीको अभावमा अन्धकारमै मनाइरहेका छन्। नेपालका सहरी बस्तीहरु झलमल्ल बत्तीले झकिझकाउ हुँदा पिछडिएको गाउँ मेरो जुम्ला अझैपनि अन्धकारमा रुमल्लिरहेको छ।'

जुम्लामा अन्धकार भएपछि सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार उपलब्ध गराए । २ सय केभी (१६० किलोवाट) क्षमताको उपकरण ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो। तर डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ।

जुम्लाको बिजुलीको विषयमा सडकदेखि संसद्सम्म चर्काे विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्काे डिजेल प्लान्ट पनि पठायो, तर डिजेल भने पठाएन। त्यो उपकरण पनि ल्याएदेखि थन्किएको छ। अहिले ती डिजेल प्लान्ट कता छन् कसैलाई अत्तोपत्तो छैन।

विद्युतको अभावले गर्दा जुम्लामा उद्योग, कम्पनीहरु खुल्न पनि सकेका छैनन् र भएका साना उद्योगहरु पनि धमाधम बन्द भइरहेका छन्। वर्तमान अवस्थामा कुनै पनि विकासको काम गर्दाखेरि विद्युत् अति नै आवश्यक पर्ने हुन्छ जहाँ विद्युत् छैन, त्यो क्षेत्र पिछडिएको हुन्छ। आफूले चलाउने मोबाइलदेखि ठूला कलकारखाना चल्नसम्म हामीलाई विद्युत्को आवश्यक पर्छ।

विश्व बजार अहिले डिजिटललाइज भइसकेको छ। सहर बजारदेखि गाउँ-गाउँसम्मका सम्पूर्ण कामकाजहरु, कारोबारहरु डिजिटल माध्यमबाट हुने गरेका छन्। विद्यालयका पठनपाठनदेखि संघसंस्थाका ठूल्ठूला मिटिङ, कार्यक्रमहरू अहिले डिजिटल माध्यमबाट नै हुने गरेका छन् र यो डिजिटल माध्यम सञ्चालनको लागि विद्युत् अनिवार्य छ, तर मेरो ठाउँमा यो कुरा अहिलेसम्म सम्भव भएको छैन।

अब कुरा गरौं मेरो जन्म जिल्ला जुम्लाको, जहाँ कि महिना दिनसम्म बत्तीको मुहार देख्न सकिँदैन। त्यस ठाउँको अवस्था कस्तो होला हामी सोच्न पनि सक्दैनौँ।

विकासको मुख्य आधार नै विद्युत् हो। जहाँ विद्युत् छैन, त्यहाँको जीवन कस्तो होला? वर्तमान अवस्थामा विद्युत बिना कुनैपनि दैनिकी कामहरु गर्न सकिँदैन। विद्यालय तथा विश्वविद्यालयहरूले अनलाइन विधिबाट कक्षा तथा परीक्षाहरु सञ्चालन गरिरहेका छन्। दूरदराज एवं दुर्गम ठाउँका विद्यार्थीलाई कति समस्या भएको होला हामी सोच्न पनि सक्दैनौँ।

आफ्नै घरमा बसेर अनलाइन कक्षा लिने र परीक्षा दिने कसलाई मन हुँदैन? सबैलाई हुन्छ। सकिनसकी मोवाइलमा डाटा प्याक लिएर गाउँघरका डाँडाकाँडा अनि रुखको टुप्पामा बसेर अनलाइन कक्षामा सहभागिता त होउँला तर मोबाइल चार्ज गर्ने बत्ती छैन र भनेको बेला नेट पनि चल्दैन। त्योबेला दुर्गमका विद्यार्थीहरुलाई बत्ती र नेटले गर्दा कति दुःख दिन्छ, त्यो सुन्दा पनि अचम्म मान्ने स्थिति छ सहर बजारमा बस्नेहरुको।

जुम्लामा विद्युत् नहुँदा दैनिक क्रियाकलापमा समस्या आएको छ। मोबाइल चार्जदेखि उद्योग कलकारखाना सञ्चालन गर्न नसकिने भएको छ। विद्युत सेवा नआउने भएसंंगै स्थानीय फोटोकपी, प्रेस सञ्चालकहरुले सेवाग्राहीलाई महंगो सेवा प्रदान गर्दै आइराखेका छन्। मोबाइल चार्ज गर्न नसक्दा जिल्ला बाहिर रहेका आफन्त जनसंग कुराकानी गर्न सकेका छैनन्। स्थानीय एफएम स्टेशनहरु बन्द हुने अवस्थामा छन्।

कर्णाली प्रदेश सरकारले डिजिटलमय प्रदेश बनाउने भन्दै आएकोमा दैनिक लोडसेडिङको मार खेप्नु परेकोमा स्थानीय दुःखी छन्। लोडसेडिङका कारण सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने दैनिक क्रियाकलाप प्रभावित हुने गरेका छन्। लोडसेडिङले बैकिङ कारोवारमा समेत समस्या ल्याएको छ।

जुम्ला खलंगाको विद्युत समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले एक मेगावट सोलार प्लान्ट राख्ने तयारी पनि थालेको थियो, यसको काम कहाँ कत्तिसम्म पुग्यो त्यसको थाहा पत्तोसम्म छैन। आशा गरौँ त्यो कामले गति लिनेछ र  जुम्ली जनताले झलमल्ल बत्ती बाल्न पाउनेछन्।

अन्ततः आशा छ घर अगाडि आँगनमा ठडिएका बत्तीका पोलहरुमा तानिएका तारहरूमा दैनिक बत्ती आउनेछ अनि सदियौंदेखि झरो र टुकीको भरमा उज्यालो गरिरहेका हामी जुम्ली जनताको मुहारमा बत्तीले उज्यालो छर्ने छ र विकासको कामले गति लिने छ।

प्रकाशित मिति: : 2022-10-11 18:20:00

प्रतिकृया दिनुहोस्