राष्ट्रपति 'ताक्दै' प्रचण्ड, सभामुख 'माग्दै' माधव नेपाल

रविन भण्डारी

काठमाडाैँ
File Photo
File Photo

नेपाली कांग्रेसभित्र संस्थापन इतर समूहको आन्तरिक किचलो र ‘चीन—भारत’को समर्थन जुटाउन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदको पहिलो साढे दुई वर्ष प्रधानमन्त्री बन्ने कसरतबाट पछि हटेका छन्।

पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधव नेपालको सल्लाहअनुसार अब आफूहरूको पहिलो प्राथमिकता ‘प्रधानमन्त्री र सभामुख’ भएको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बताएका छन्।

प्रधानमन्त्री पदको दाबी कांग्रेस सभापति शेरबहादुर देउवाले नछाडे माओवादीले राष्ट्रपति र एकीकृत समाजवादीले सभामुख लिइ छाड्ने वाम—लोकतान्त्रिक राजनीतिक वृत्तमा चर्चा छ।

सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले नयाँ सरकारका लागि ‘ग्रिन सिग्नल’ दिएपछि सत्ताधारी गठबन्धनलाई बहुमत पुग्ने देखिएको छ।

सत्तास्वार्थका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाइरहेका छन्।

देउवानिकट स्रोतकाअनुसार सत्ताधारी दलका नेताहरू ‘प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुख’ पदको बाँडफाँटमा जुटेका छन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले ‘उल्लेखित पद’मा आ—आफ्नो दाबी कायमै राखेका छन्।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार साँझ उपचारका लागि चीन उड्नुपूर्व अध्यक्ष प्रचण्डले आगामी सत्ता समिकरणबारे पुनसँग सल्लाह मागेका छन्।

‘देउवाले आलोपालो प्रधानमन्त्रीका लागि सकारात्मक प्रतिक्रिया दिएपनि पहिलो कार्यकाल नछाड्ने जनाउ दिएको’ उनले उपमहासचिव पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरलाई बताएका छन्।

प्रधानमन्त्री नपाउने पक्का भएपछि अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको तर्फबाट राष्ट्रपति पद ताकेका छन्। तर ‘राष्ट्रपति कसलाई बनाउने’ भन्नेबारे उनी चिन्तित देखिन्छन्।

पुननिकट स्रोतकाअनुसार पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सल्लाह र सम्झौता गरेर हालका उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर र अग्निप्रसाद सापकोटा मध्ये एकलाई राष्ट्रपतिमा अघि सार्नेछन्। त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल पनि आगामी फागुनभित्र सकिँदै छ।

प्रधानमन्त्री र राष्ट्रपति पदमा आफ्नो कुनै दाबी पेश नगरेको एकीकृत समाजवादीले भने सभामुख नछाड्ने बताएको छ। सभामुखका लागि सांसद राजेन्द्रप्रसाद पाण्डेलाई अघि सार्नेबारे पार्टीभित्र संवाद भइरहेको छ।

माधव नेपालको दूतको रुपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता प्रकाश ज्वालाले शुक्रबार देउवालाई भेटेर सभामुख मागेका छन्। ‘एकीकृत समाजवादीले अरु कुनै पद मागेको छैन। प्रधानमन्त्रीमा शेरबहादुरजीलाई समर्थन गर्छौ। राष्ट्रपति माओवादीले लैजाओस्। तर हाम्रो पार्टीले सभामुख छाड्दैन,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने नियम छ।



ओलीको सन्देश बोकेर देउवालाई भेट्न बालुवाटार पुगे एमाले उपमहासचिव

प्रकाशित मिति: : 2022-12-03 21:45:00

प्रतिकृया दिनुहोस्