जुगल हिमालको पदमार्ग पछ्याउँदै ने-पेमाछाल पुग्दा... (तस्बिरसहित)

सुरेन्द्र राना ‘घुमफिरे’

जुगल (सिन्धुपाल्चोक)

प्राकृतिक सौन्दर्य र धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पवित्रस्थल सिन्धुपाल्चोकस्थित जुगल हिमालको काखमा अवस्थित पवित्र तपोभूमि ने-पमाछालमा नयाँ वर्षको पूर्वसन्ध्यामा पाइला टेक्यौं। सयौं जुगलवासीले गुरु रिम्पोछेको दर्शन पाउँदा खुसीले गदगद हुँदै उनको हातबाट वाङ (आशिर्वाद) थापे। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष २०८० लाई भव्य रुपमा स्वागत गरे।  


जुगल हिमाल पदमार्गको दोस्रो दिन :

साँझपख तेम्वाथाङ गाउँ पुग्दा गायक प्रेम लोप्चन तामाङको गीत घन्किरहेको थियो। प्रेम दाइ काभ्रे, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकलगायत हिमाली क्षेत्रका चर्चित ‘सेलो किङ’को रुपमा चिनिन्छ। मिठो स्वागतपछि स्थानीयवासी आँगनमा स्याब्रु नाचिरहेका थिए।

हमै लिला खै लाला
पाँचै पोखरी मेलामा
सपना जस्तै भेट भयो
दौतारी भेटभाको बेलैमा
डोको त बुन्ने कामरासी 
न आज मर्छ न भोलि न आज मर्छ 
गरीमा राखौँ रामरासी 
हो की ल होइन हो भन हो कि ल होइन
ढल्कियो पापी जोवान
हुर हुर हुर हुर 
०००
जुगल हिमाल हिउँ पानी
मन खोली रमरसी गरेमा
आफैं हुन्छ चिन जानी आफैं हुन्छ 
हो किन हो भन हो किन होला
सपना जस्तै भेट भयो 
होकिला होइन हो भन होकिला होइन...

नयाँ वर्ष २०८० को अवसरमा ‘समृद्ध जुगलको आधार पर्यटन’ भन्ने नाराको साथ सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका- ३ स्थित ने-पेमाछालमा पर्यटन प्रवर्द्धन कार्यक्रम राखिएको थियो। काठमाडौँबाट नजिक रहेको जुगल हिमालश्रृंखलामा पर्ने ८ वटा हिमालको आधार शिविरको काखमा समुद्र सतहदेखि ३५ सय मिटरकाे उचाइमा ने- पेमाछाल उपत्यका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पवित्रस्थल हो। जुगल गाउँपालिकाद्वारा उक्त कार्यक्रम आयोजना गरिएको थियो, जसकाे मुख्य उद्देश्य जुगल हिमाल पदमार्ग र आरोहणलगायतको पर्यटन प्रवर्धन गर्नु थियो।

पर्यटन अभियान्ता मिलन तामाङको निम्तोमा जुगल हिमाल पदमार्ग घुम्ने अवसर जुरेको थियो। उनी विगत एक दशकदेखि जुगल क्षेत्रमा पर्यटनको सम्भावनाबारे खोज, अनुसन्धान तथा प्रवर्धन कार्यमा निरन्तर जुटिरहेका छन्। उनी जुगल हिमाल अभियानको नेतृत्कर्ता तथा गेल्जेन हिमालको प्रथम आरोही पनि हुन्।

उनकै नेतृत्वमा हामी केही संचारकर्मी, चर्चित सेलो किङ प्रेम तामाङ दाइ, ब्लगर तथा क्यामेरामेन पावल तामाङ, २ जना आनीसहित हामी काठमाडाैँबाट बेलुकी ३ बजेतिर पूर्व बलेफीतर्फ लाग्यौँ। अभियान्ता मिलनजीको व्यवस्थापनमा कार्यक्रमको लागि आवश्यक म्याट्रेस, स्लीपिङ ब्याग, टेन्टलगायत अन्य सामान बसमा थियो।

भक्तपुर–बनेपा–धुलिखेल–पाँचखाल–दोलालघाट–सुकुटे हुँदै बलेफी बजार पुग्दा साँझ परिसकेको थियो। बसका गुरुज्यूले हेडलाइट बालेर उत्तरतर्फ गाडी मोड्दै बलेफी खोलाको तिरैतिर गाडी हुइँक्याए। चनौटे पुग्दा साँझकाे ८ बजेकाे थियाे। गाडी श्री रत्नराज्य स्कुलको विशाल कम्पाउण्डभित्र टक्क रोकियो। काठमाडाैँदेखि करिब १२७ किमी दूरिमा पर्छ चनौटे।

आयोजकले हाम्रो खानपिन र बासको व्यवस्था स्कुल प्राङ्गणमा गरेकाे थियाे। चिनियाँ सरकारको सहयोगमा निर्मित भव्य स्कुल भवन तथा पूर्वाधार निर्माण। स्कुल र होस्टेल निकै व्यवस्थित थियाे। त्यो रातको खानापछि हामी होस्टेलमा बास बस्यौं।

स्कुलमा करिब पाँच सय विद्यार्थीहरु प्लस टु सम्म अध्ययपन गराइन्छ र सिभिलतर्फ डिप्लोको पनि पढाइ हुन्छ।

०००

दोस्रो दिन खाना खाएर करिब ११ बजेतिर अगाडि यात्राको सुरसार कसियो। गाउँपालिकाका करिब १ दर्जन कर्मचारी, स्कुलका स्टाफहरु, स्थानीयलगायतको जम्बो टोली यात्रामा निस्कियौं। टोली २ वटा जिप र एउटा बसमा बाँडियो।

सिन्धुपाल्चोकका विभिन्न गाउँ/वस्ती कात्तिके बजार–मन्जे–बोल्दे–गुन्दे हुँदै गाडी नेस्याम खोला दोभान (१५८० मि) पुग्यो। गाडीको अन्तिम पोइन्टमा पुग्दा दिउँसोको २.३० बजेको थियो।

हामीलाई त्यहाँबाट साढे २ घण्टाकाे पैदल हिँडाइमा तेम्वाथाङ पुग्ने बताइएको थियो।

बलेफी खोलामा मात्रै कम्तीमा ९ वटा हाइड्रोपावर स्थापना भइरहेका रहिछन्। केही सञ्चालनमा आएका छन्, त केही धमाधम निर्माण भइरहेका छन्। हाइड्रोपावर स्थापनाले कच्ची सडक निकै माथिसम्म छिचोलिएको छ। कच्ची नै भए पनि यो क्षेत्रको जनजीवनमा ठुलो परिवर्तन ल्याएको रहेछ सडक सञ्जालले।

हामी जिपमा चढ्यौँ, अगाडि पुग्यौं। पछाडि बसमा करिब ३०-३५ जना सवार थिए। केहीबेर पर्खिएपछि पछाडिको बस झण्डै ठुलो दुर्घटनाबाट बचेको खबर पायौं। मनमा कता कता चिसो पस्यो।

तुरुन्त दुई पत्रकार भाइ (किरन लामा र अशिम राई) जो बसमा थिए, फोन घुमाएर जानकारी लिए। ‘अहो ! दाइ, हामी चढेको बस त झण्डै दुर्घटना भयो नि ! हामी त बाल बाल बाँचियो,’ किरन र अशिमले आत्तिदै सुनाए‘विस्तृत कथा भेटेर कुरा गरमला है !’

जे होस्, सबै यात्रु सकुसल रहेछन्, ढुक्क भइयो।

०००

दोभानदेखि झाेलीतुम्बा बोकेर विस्तारै हाम्रो पैदल यात्रा सुरु भयो। खोला तरेर खन्दै गरेकाे नयाँ सडकमा हिँडाइ, बाटोमा वच्छे बाजा बजाउँदै ओरालो झर्दै गरेकाे जनक तामाङ भाइ भेट भो। ‘वोल्देमा मेरो पसल छ, फर्किदा पस्नु है दाइ,’ खाना बस्नको निम्तो दिए भाइले।

करिब आधाघण्टाको कच्ची सडक पार गरेपछि दाहिनेतिरको गोरेटो पछ्याउँदै एउटा गोठमा पुग्याैँ। त्यसपछि केही समय ओरालो लागेपछि काठको पुल हुँदै खोला तर्‍यौं।

त्यसपछि सुरु भयो, खोलाको ढुङ्गै ढुङ्गाको बगर यात्रा। ठुला-ठुला ढुङ्गा टेक्दै करिब आधा घण्टा जति ढुङ्गे बाटो कटेपछि केहीबेर बुट्यान समाउँदै उकालो गोरेटो पछ्याउँदै यात्रा अगाडि बढ्यो।

आम्ममाम्मा, खल खल पसिना बग्यो, थाकेर हत्तु !

केहीबेर पहिरोको बाटो छिचोल्दै गहुँबारी पुग्दा गाउँ देखियो र मन आनन्दित भयो। अहो ! आजको बास बस्ने तेम्वाथाङ गाउँ।

पहिलो दिनको यात्रा त्यति लामो थिएन तर ढुङ्गे बगरको यात्राले केही थाकेका थियाैँ। साङमु पाख्रिनको पहिलो घर, बाटोमै थियो। त्यहाँ छिरेर एक जग छ्याङ बनाउन लगाएर आइरकको चुस्कीसँगै गफिँदै थकान मेटियो।

‘बर्खा मौसममा खोला बढ्छ, पुल छैन, तर्न गाह्राे हुन्छ। त्यो बेला हामी पुरानो लामो बाटो गुन्दे र गुम्बा गाउँको बाटो हिँड्नपर्छ, दिनभरि लाग्छ,’ स्थानीयले सुनाए।

तेम्वाथाङको मिठो सम्झना

समुन्द्र सतहदेखि करिब २१६० मिटरमा अवस्थित सुन्दर तेम्वाथाङ गाउँ। करिब २१० घरधुरी रहेको शेर्पा बाहुल्य गाउँमा ८ घर जति तामाङ समुदायको बासोवास गर्ने हिमाली गाउँ। यहाँका बासिन्दाको मुख्य पेसा खेतीपाती। गहुँ, जौं, मकै, आलुसँगै सागसब्जी प्रशस्त उब्जनी हुने र पशुपालनमा कुखुरा, बाख्रा र चौरी। गाउँका धेरै युवा राेजगारीकाे लागि विदेश गएका छन्।

तेम्वाथाङवासीको मिठो स्वागत, स्वादिष्ट खानपिनपछि अबेरसम्म शेर्पा नाचगान चलिरह्यो। यात्राभर केन्द्रविन्दुमा गायक प्रेम तामाङ रहे। उनी निकै जोसिला र रसिला, तेम्वाथाङवासी र आगन्तुकलाई अबेरसम्म नाच/गानमा झुमाए।

०००

तेम्वाथाङको बास आरामदायी रह्याे। तेस्रो दिनको बिहान हिमाली आलु र नुन-खुर्सानीको अचार र तातो चियाको चुस्कीपछि टोली अगाडि बढ्न तरखर भयो।

म भने अलिक माथि उक्लिएर माने नजिकबाट गाउँकाे केही फोटो कैद गरेँ।

त्यहाँबाट सिधै पल्लोतिर झर्दै गर्दा स्थानीयहरु बारीमा आलु खन्ने र बारी जोत्ने गतिविधिमा व्यस्त देखिन्थे। गाउँले आलु गोड्दै थिए, बारीमा हरियो सागसब्जी उम्रेको थियाे। उनीहरुलाई बिहानको कामको चटारो थियो। सरल गाउँले जीवन र दृश्य निकै रमणीय थियो।

तर, गाउँमा बिजुली पुगेको छैन, सोलार बत्तीको भर छ। बाटोमै भेटिइन् कोक्रोमा नानी बाेकिरहेकी मिङ्मार शेर्पा। उनी भन्दै थिइन,‘आलु त राम्रो फल्छ तर बाँदर/ दुम्सीले दुख दिन्छ, सबै खाइदिन्छ, गार्‍हो छ।’

बिस्तारै तेम्वाथाङलाई पछि छाड्दै तेर्सो पैदल मार्ग पछि यात्रा खोलामा पुग्यो। बगर हुँदै खोला तरेपछि जंगलको यात्रा सुरु।

करिब २ घण्टाको यात्रापछि १० बजेतिर दिपु गाउँ पुगियाे, दिउँसोको लञ्च खाने ठाउँ। यो क्षेत्रको अन्तिम गाउँ। मिलनजीले थपे, ‘दिपुभन्दा माथि गाउँ छैन, कपालभन्दा माथि रौँ छैन।’

खोलाको छेउमा अवस्थित (२२३५ मिटरमा) सुन्दर स्यानो दिपु गाउँ। गाउँमा ११ घरधुरी छन्। हरियाली गहुँबारी। हेर्दै रहरलाग्दो।

दुईतले काठको घरको भान्सामा खाना पाकिरहेको थियो। केहीबेर थकाइ मार्दै गफिँदै गर्दा खाना तयार भयो। खानामा दाल भात, आलुको तरकारी र साग। एकदम मिठो खाना।

दिउँसोको खानापछि यात्रा पुनः सुरु भयो। जंगल र बगरको गोरेटो हुँदै खोलाको दोभन ‘छि दक्पु’ पुगियो। यो पदमार्ग चर्चित ग्रेट हिमालयन ट्रेलअन्तर्गत पर्दछ। यहीबाट उत्तर लागे तिलमान पास हुँदै लाङताङ पुगिन्छ। पश्चिमतिर गए ठुलो डाँडा कटेर पाँचपोखरी पुगिन्छ।

लाङताङ मुहानबाट निस्केको खोला र जुगलबाट ने-पेमाछाल खोलाको दोभान। ‘उ... त्यहाँ माथि चौर छ, आज रातको हाम्रो बास,’ एक जना सहयात्रीले बताए। सहयात्री मिलन र अशिम भाइसँगै हाम्रो टोलीले बिस्तारै आफ्नो लयमा यात्रा गर्‍याे। हामीसँगै २१ वर्षे वाङदी शेर्पा थिए। उनले विदेश जाने तरखरमा रहेको सुनाउँदै थिए। अन्तिम १५ मिनेटमा बगर हुँदै चौरमा पुगियाे।

केहीबेरको गुराँसे जंगल हुँदै अन्तिम उकालो कटेपछि दिउँसो ३ बजेतिर समथल भूमि छेन्ताङ टक्यौँ।

रातको बास यही रहेछ।

०००

समुद्र सतहदेखि करिब २६३६ मिटरमा अवस्थित समथल चौर, ऐतिहासिक र धार्मिक महत्व बाेकेको स्थल छेन्दाङ। गज्जबको चौर, चारैतिर डाँडाले घेरिएको, दायाँ-बायाँ जुगल हिमाल र लाङताङबाट निस्किएका दुई वटा स्वच्छ खोला बगिरहेको- लाङताङ र ने-पेमासाल खोला।

किम्बदन्तीअनुसार परापूर्वकालमा तिब्बतमा सुरु भएकाे झगडा पेमाछाल हुँदै यो ठाउँमा आएर टुंगिएको बताउँछन्, तेम्वाथाङवासी फुर्वा वाङदे। यहाँ पुरानो गुम्बा छ, भू-कम्पले क्षति पुर्‍याएपछि गुम्बाको अवशेष छ अहिले। नजिकै गुरु रिम्पोछे आराम गरेको जस्ताे आकारमा ढुङ्गा पनि छ। केही तल झाडीभित्र गाईले दूध दिइरहेको आकार पनि छ। मिलनजीले हामीलाई सबै ठाउँको इभिनिङ टूर गराए।

छेन्दाङमा २/३ वटा गोठहरु छन्, अहिले काठको घरहरु बनेका छन्। यात्रुलाई खाने बस्ने सुविधा छ।

जुगल गाउँपालिका- ४ का अध्यक्ष प्रेम तामाङलगायत अन्य युवाले बेलुकाकाे बासको व्यवस्थापन गर्न व्यस्त थिए। महिला आगन्तुकलाई अलिक माथिको घर र अन्यलाई तलकाे नयाँ घरमा राति सुत्ने व्यवस्था गरिएको थियो। ठाउँ नपुग्नेहरुलाई चाहिँ चौरमा टेन्टमा व्यवस्था गरियो। अशिम र किरन भाइसहित हाम्राे लागि भने ढुङ्गाको छेउमा टेन्ट टाँगेर बासस्थानको तयार भयो। हाम्रो नजिकै टेम्बाथाङका सहयोगी भाइहरु साङ्गे लामा, छेटुप लामा, पासाङ लामा, कर्पो लामा र साइला दोङले टेन्ट ठड्याए।

‘ल बेलैमा खान खाएर सुताैँ, भोलि बिहान बेलैमा हिँड्नपर्छ,’ अध्यक्ष प्रेम तामाङजीले जानकारी गराए। छेवैमा क्याम्प फायर लगाइएको थियो। केहीबेर चिसो मौसममा आगोको रापमा न्यानो भएर हामी टेन्टतिर लाग्यौं, केही सहयात्रीहरु भने प्रेम दाइको सेलोको तालमा झुम्दै थिए।

चौंथाे दिनको बिहान ६ बजे उठ्दा शीतले टेन्ट भित्रपट्टी पनि भिजेको थियो। टेन्ट टाँग्दा केही ढङ्ग पुगेनछ हाम्रो।

बिहान उठ्दा किरन र अशिम भाइले एक्कासी काठमाडाैँ फर्किने योजना सुनाउँदा म एकछिन छक्क परेँ। अलिक नरमाइलो लाग्यो। सँगै आएका सहयात्री छुट्ने भए। तर, पनि उनीहरुको आफ्नै व्यक्तिगत कारण होला, टिम लिडर मिलन सरसँग सरसल्लाह गरेर उनीहरु फर्किने तय भयो।

आजको यात्रा सबैभन्दा लामो छ, करिब ५ घण्टा हिँड्नु पर्ने भनेर बेलुकी नै हामीलाई बताइएको थियो।

चिया र आलुको नास्ता खाएर मिलन र किरन भाइ फर्किए, ओरालो तेम्वाथाङतिर।

अन्य ठुलो टोली भने ने-पेमाछालतिर उकालाे चढ्याे।

अधिकांश सह-यात्री अघि-अघि गुटुङटुङ हिँडे। म पनि बिस्तारै आनन्दले आफ्नै तालमा भिर, पखेरा, डाँडा, पाखा, खोला, नाला र हरियाली जंगलको आनन्द लिँदै बिस्तारै उकालो यात्रा अगाडि बढ्यो- ने-पेमाछालतिर।

०००

गुराँसे र घनाघोर जंगल छिचोल्दै करिब पौने घण्टाको रमाइलो यात्रापछि स्यानो चौरी गोठ भेटियो। अगाडिका साथीहरु चौरीको फोटो खिच्दै थिए। सञ्चारकर्मी कमला बहिनी चौरी गोठ मालिकहरुसँग अन्तर्वार्ता गर्नमा व्यस्त थिइन्।

एक चौरी मालिकनी फुर्साङ शेर्पा आफ्नो चौरी फुकाएर चराउन ठिक्क परेकी थिइन्। तेम्वाथाङ- ३ निवासी उनी ३ जना छोरीहरुसँगै गोठमा बस्छिन्।

छोरीहरु किन स्कुल नपठाएको जिज्ञासा राखेँ। ‘घरमा भात पकाउने कोही छैनन्, त्यसैले यतै मसँग गोठमा लिएर आएको,’ उनी सहजै उत्तर दिइन्।

चौरीहरु गाउँबाट बर्खातिर चराउँदै लेकतिर गरिन्छ। भने, हिउँदको मंसिरतिर हिउँ पर्न थालेपछि बिस्तारै गाउँतिर ओरालिन्छ। परापूर्वकालदेखि बर्खाभरि यसरी नै चलिरहेछ गाउँका गोठाले जिन्दगी।

केहीबेरको फोटोसेसनपछि छेउको चौरी गोठका मालिकले नुन चियाको प्रस्तावले हामी रोकियौं। २२ वटा चौरीका मालिक ५२ वर्षे कर्पु शेर्पा। निकै हसिला र बलिया। उनका ३ छोरी र ३ छोरा छन्। ठुलो सन्तानबाहेक सबैजना पढिरहेको उनले सुनाए। छुर्पी, घिउ र चौरी किन/बेच उनको मुख्य आम्दानी स्राेत।

दाइको आत्मीय व्यवाहार र स्वादिष्ट चियाले ऊर्जा भरियो। ने-पेमाछालमा भेट्ने गरी बिदाइ भइयाे। स्वादिष्ट नुन चिया (भोटे चिया)को लागि थुचे कर्पु दाइ।

एकछिनको भलाकुसारीपछि यात्रा फेरि सुरु भयो। करिब १ घण्टाको हिँडाइपछि ठुलो पहिरो भेटियो। २०७२ को भू-कम्पमा गएको याे पहिरोमा २ जनाको ज्यान गएको स्थानीयले सुनाए। दु:ख लाग्यो। पहिरो काट्न करिब १५ मिनेट लाग्यो।

यात्रामा म प्राय: आफ्नै गतिमा बिस्तारै हिँड्छु। उकालो यात्रा, झोला र लामो यात्रामा आराम गर्दै बिस्तारै पाइला अगाडि सार्दै।

धेरै जसो जम्बो टोली अगाडि गइसकेका थिए। घनाजंगलको उकालो गोरेटोमा हिँड्दै थिएँ, पछाडि स्यानो टोली देखें। गाउँपालिकाको टोली रहेछ। बराङजे- ५ का अध्यक्ष रवीन्द्र घिमिरे, प्रमुख प्रशासीकय अधिकृत नर्वदा घिमिरे (म्याम) र अन्य स्टाफ। यात्राको साथी भेटियो- गफ गर्दै, यात्रा अघि बढ्यो।

पालिकामा भर्खरै पदभार ग्रहण गर्नुभएकी अधिकृत म्यामको घर काठमाडाैँ चाबहिलमा रहिछ। पदयात्रा र एडभेन्चरमा सौखिन, फरासिलो बोली, सहासिक र सकारात्मक सोचकी धनी। मन-मनै सोचेँ- यस्तै जोसिला युवा राष्ट्रसेवकहरु नेपालको विभिन्न दुर्गम ठाउँमा हुनुपर्छ।

दिन छिप्पिँदै थियो, यात्रा निरन्तर चलिरहेको थियो। बायाँतिर कल्कलाउँदै बगिरहेको ब्रह्मयाणी नदि, वरिपरि अग्ला-अग्ला पहाड, हरियाली घना वन जंगल, चिरविर चराचुरुंगीको आवाज। हाम्रो टोली थकाइ मार्दै, यात्रा गर्दै अगाडि बढिरह्यो। दिउँसो करिब १ बजिसकेको थियो। बिहानको खाजा पनि सकिँदै थियो। शरीरमा ऊर्जा पनि घट्दै। झोलामा बोकेका बिस्कुट, चकलेट र पानीले शरीरलाई फूर्ती भर्दै हाम्रो यात्रा निरन्तर बिस्तारै जुगलको काखतिर लम्किरह्यो।

बाटाेभरि जुगलका विभिन्न गाउँबाट मेलामा सहभागी हुन स्थानीयहरु ने-पेमाछालतिर उक्लिरहेका थिए, हामीलाई उछिन्दै। दुई दिनपछि काठमाडाैँकाे फर्पिङबाट ठुला गुरुहरु भ्रमण गर्ने कार्यक्रमले उत्साहित थिए, उनीहरु। वाङ (आशिर्वाद) थाप्नलाई मानिसहरु आ-आफ्नो काम थाँती राखेर पवित्र भूमी ने-पेमाछालको यात्रामा निस्केका थिए। पहिलो पटक रिम्पोछेको दर्शन गर्न र आशिर्वाद लिन पाइने भएकोले सबैको अनुहारमा आशाको किरण छल्किरहेकाे थियाे।

करिब १ बजेतिर विशाल तोङ्छुप गुफामा पुगियाे।

गुरु काल्धेन दोर्जे लामाकाअनुसार गुरु रिम्पोछेले १० हजार चेला लिएर २५ वर्ष ध्यान/तपस्या बसेको ठाउँ। लामाजीले १ वर्षभन्दा धेरै ध्यान गर्ने विचार सुनाए।

यात्रामा ७ वर्षको याङजी ने-पेमाछालमा रिम्पोछेको दर्शन र मेला हेर्न आएको रे। मलाई उछिन्दै छिटोछिटो अगाडि हिँडिन्। 

०००

चैत ३१ गते करिब दिउँसाे साढे २ बजेतिर ने-पेमाछाल उपत्यकामा टेकियो। धेरै सह-यात्रीहरु अगाडि पुगिसकेका थिए।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका- ३ को ३५०० मिटर उचाइमा अवस्थित ने- पेमाछाल उपत्यका एक ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको सुन्दर स्थान हो। गुरु पद्मसम्भवले ध्यान/तपस्या गरेको यस तपोभूमिमा पवित्र ग्रन्थहरु सुरक्षित साथ लुकाइएको विश्वास गरिन्छ।

बौद्ध धर्मग्रन्थमा संसारका १० उत्कृष्ट भूमिमध्ये ने-पेमाछाल पनि उल्लेख गरिएको छ।

बेलुकी नयाँ वर्षको इभ। सुनसान उपत्यकामा त्यसदिन सयौँ स्थानीयले निकै रौनक थपिएका थिए। सबै आगन्तुकहरुलाई बासस्थानकाे बन्दोवस्त गरिएको थियो। कोही काठले बनेका घरहरुमा, कोही गोठमा, त कोही भने ट्न्टमा सुतियाे। पहिला गोठ मात्रै भएको याे ठाउँमा अहिले नयाँ घरहरु बनेका छन।

हामी सयौं जनाको लागि एउटै भान्सा थियाे।

बेलुकी न्यु इयर इभमा तामाङ सेलो र समुदायको स्याब्रु नाच अवेरसम्म चलिरह्यो। बेलुकी १२ बजे नयाँ वर्षको शुभकामाना साटासाट गरियाे। माहोल रमाइलो बन्याे।

ने-पेमाछालको कार्यक्रममा जुगल गाउँपालिका सेरोफेरो तेम्वाथाङ, दिपु, कयाङसिङ, गुम्बा, टेगा, बोल्दे, गोल्छेलगायत टाढाबाट आएका मानिसहरुकाे सहभागिता थियाे।

०००

नयाँ वर्षको पहिलो दिन। पदयात्रा सुरु गरेको चौंथो दिन। काठमाडाैँदेखि हिँडेको पाँचौं दिन। बिहान जुगल बेसक्याम्पतिर जाने कार्यक्रम थियाे। केही टोली बिहान ५ बजेतिर निस्किएछन्। म भने केहीबेर आनिहरुको पूजाको दृश्य क्यामेरामा कैद गरेर ७ बजेतिर माथि उक्लिएँ। मौसम सफा थियो। फुर्वाज्याख्युङ हिमाल टलक्क टल्किएको, वरिपरि डाँडा हिउँले ढपक्क ढाकेको थियो।

प्रदेश सरकारको बजेटमा सिन्धु पर्यटन समाजले निर्माण गरेको चिट्टिक्क परेको ढुङ्गाको सिँढी पहिल्याउँदै, वरिपरि हिमालको दृश्य अवलोकन गर्दै उकालो चढ्यौं।

जुगलका केही फुर्तिला वाङदी शेर्पा, छिरिङ दोर्जे शर्पालगायत एक हुल भाइहरुको साथमा उकालो गफिँदै, तस्बिर कैद गर्दै उकालो चढियो।

ठाडै उकालो, करिब ९ बजेतिर ४२०० को उचाइमा रहेको बुम्बसेर्पुमा पुगियो। वाह ! कति अलौकिक स्थल। भक्तपुरबाट समेत देखिने अर्थात् फुर्वाज्याख्युङ (बोलीचालीमा फुर्वी झेजुङ सुनिन्छ) स्थानीय भाषामा ज्याको अर्थ चरा र ख्युङको चुच्चे हिमाल आँखै अगाडि नजिकैबाट अवलोकन गर्न पाउँदा आनन्द लाग्यो। उचाइमा मौसम केही चिसो थियो। बिस्तारै घाम छिप्पिदै गर्दा तापक्रम बढदै गयो।

यहाँबाट करिब १ घण्टा तेर्सो बाटाे हिँडेर तल्लो बेसक्याम्प पुगिन्छ। म लगायत प्रेम दाइसहित स्थानीयहरु त्यही अडियौँ। गुरु काल्धेन दोर्जे लामाजीबाट वाङ थापियो।

प्रेम तामाङ दाइको गीतमा सबै बम्बुसेर्पुमा नाचे। हिमालको पृष्ठभूमि पारेर म्युजिक भिडियोको क्लिप खिचियो।

अन्य टोली ४५ सय मिटरसम्म पुगेर फर्किदै गर्दा मनमा थक-थक लाग्यो। ४७ सय मिटरमा भिया फेराता तर्ने र ५२ सय मिटरको उचाइमा अवस्थित हाई क्याम्प पुग्ने रहर अपुरो रह्यो। यो बेला पदमार्ग हिउँले ढाकेको, क्लाइम्बिङ गियर चाहिने भएकोले जान नसकिने मिलनजीले बताए।

नेपाल र चीनको बोर्डरमा पर्ने ६ हजार ६ सय ३७ मिटरको उचाइ फुर्वीघ्याचु हिमाल धित मर्ने गरी हेरियो। करिब ३ घण्टा जति त्यहाँ बसेर मध्य दिनमा ने-पेमाछालतिर बिस्तारै ओर्लियौं र राति बास बस्यौं।

०००

शनिबार २ गतेको दिन ने-पेमाछालमा ५औं औतारी गोचेन टुल्कु साङ-ङग रिन्पोचेज्यूको उपस्थितिमा सयौँ स्थानीयवासीले वाङ (आशिर्वाद) ग्रहण गरेका (थापेका) थिए।

पहिलो पटक यस पवित्र स्थानमा भ्रमण गर्ने अवसर मिलेकोमा रिन्पेचेज्यु अत्यन्त हर्षित भएको रिन्पोचेज्यूले प्रवचनको क्रममा स्थानीयवासी समक्ष बताएका थिए।

अर्को दिन २ गते बिहान ८ बजे नै फर्पिङबाट रिम्पोछेको स्वागतको लागि सबै स्थानीयहरु खादा लिएर लाइनमा उभिएका थिए। तर, हेली उडानमा ढिलाइ भयो। सबै भक्तालु भोक र थकाइले लखतारन पर्ने बेला १ बजेतिर हेलीको आवाज सुनेपछि हतारहतार स्वागतको लागि पुनः तयारी भयाे।

त्यसपछि लामा गुरुद्वारा पूजाआजा गरेपछि चोख्याएर भूत/प्रेतात्माहरु धपाए र ने-पेमाछाल उपत्यका चोख्याइएकाे थियाे। स्थानीयवासीले गुरु रिम्पोछेको दर्शन गरे र वाङ (आसिर्वाद) थापे। गुरु रिम्पोछेकोको भ्रमण र सयौं स्थानीयकाे पहिलो भ्रमणले ने-पेमाछाल गुन्जयामान थियो। सबै स्थानीयहरु खुसी थिए।

केहीबेरमा जिल्ला तथा प्रदेशका नेता तथा सांसदहरु भ्रमण र भाषणले कार्यक्रम ४ बजेसम्म लम्बियो। त्यो रात पनि ने-पेमाछाल बस्ने योजना एक्कासी फेरियो। बेलुकी ४ बजेतिर छेन्दाङको यात्रा तात्याे।

छेन्दाङ पुग्दा रातकाे ८ बजेको थियो। बाटाेमा तेगाका एक हुल आमाहरु भेटिए। यात्राको साथी पनि भयो। सँग-सँगै गफ मार्दै हिँड्द बाटो काटेको पत्तै भएन। बाटाेभरि गाउँ घरको सुख दुखको कथाहरु सुनियो। तेगाको आमाले बुहारी र नातीलाई खोलाले बगाएको कहानी सुन्दा मनमा नरमाइलो लाग्यो।

‘बर्खाको बेला, नातीलाई तेम्वाथाङमा सुई लगाएर फर्किदा खोलाले बगाएर लग्यो,’ उनले दर्दनाक कथा सुनाइन। गाउँ घर सुन्दर र रमाइलो छ तर दुख पनि त्यतिकै छन्। बाटोघाटो र बिजुलीको सुविधा छैन। परापूर्वकालदेखि पुर्खाले यसरी नै जीवन बिताइरहेका छन्। कुनै दिन देश विकास होला र हरेक गाउँघरमा विकास पुग्ला, यो आशा जिवितै छ।

त्यो रात छेन्दाङमा खानपिन गरेर आर्को दिन बिहानै दिपुमा ढिडो खान पुग्यौं।

तेम्वाथाङको पुग्नु अगाडि स्वच्छ खोलामा अगाडिको टोली सँगै नुहाइ-धुवाइ गरेर बेलैमा तेम्वाथाङ बास बस्न पुगियो।

यात्राकाे अन्तिम रात तेम्वाथाङवासीको न्यानो सत्कार, मिठो खान र आरामदायी बसाइँपछि अर्को दिन २ घण्टा हिँडेर नेश्याम खोला दोभानबाट गाडी चढेर काठमाडाैँ फर्कियाैँ।

हामीले जुगलमा एक हप्ता बितायाैँ। तपाईं पनि घुम्न आउनुस् है जुगल।

जुगल गाउँपालिकालाई धेरै - धेरै धन्यवाद, सम्पूर्ण स्थानीयवासीलाई थुचे एवम तुजुजे।

जुगल हिमाल पदयात्रा कसरी पुग्ने :

पहिलो दिन काठमाडौंबाट बलेफी हुँदै दोभानसम्म करिब ५ घण्टाको गाडी यात्रा। सोही दिन २ घण्टा पदयात्रामा तेम्वाथाङ (होमस्टेमा बास)। दोस्रो दिन दिपु हुँदै छेन्दाङ (४ घण्टा)। तेस्रो दिन छेन्दाङदेखि ने-पेमाछाल बास (५ घण्टा)। चौंथो दिनमा ने-पेमाछालदेखि बुम्बासेरपु हुँदै (आधार शिविर)। आधार शिविर ४७२० मिटरमा क्याम्पिङ बास (४-५ घण्टा)। पाँचौं दिन बेसक्याम्प- ने-पेमाछाल- छेन्दाङ (६-७ घण्टा) र छैठौं दिन छेन्दाङ दिपु तेम्वाथाङ हुँदै दोभानसम्म पैदलमार्ग (३.५ घण्टा) अगाडि काठमाडाैँको यात्रा गाडीमा।

सिन्धुपाल्चोककाे पवित्र तपोभूमिमा ‘ने-पेमाछाल प्रवर्धन कार्यक्रम’ आयोजना (फाेटाे/भिडियाे)

प्रकाशित मिति: : 2023-05-28 20:00:00

प्रतिकृया दिनुहोस्