किन बिदेसिए लाखौँ नेपाली?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल। पहिलो त नामले नै यहाँबाट या त मानिस विदेश जाने भए या त विदेशबाट आउने। दोस्रो विमानस्थल नै सानो छ। थोरै मानिस आउँदा जाँदा पनि ठूलै भीड देखिन्छ। तेस्रो, नेपाल आउनेभन्दा नेपालबाट बाहिर जानेको संख्या ठूलै पनि छ।

यी तीन कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षभन्दा प्रस्थान कक्ष भीँडभाड नै छ। प्रस्थान कक्षको यही भिडभाड दृश्यले नेपाली मिडियाले एउटा लगभग स्थायी हेडलाइन पाउँछ, विमानस्थलमा देश छोड्नेको ताँती।

जब समाचारको संख्या कम हुन्छ वा कुनै बिकाऊ समाचार हुँदैन। तब, हरेकजसो मिडियाका सम्पादक आफ्ना समाचारदातालाई भनिहाल्छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहोस्। एक हैन, अनेक समाचार पाइन्छन्।’

सम्पादकबाट धेरै पटक यस्तो सल्लाह पाएका समाचारदाता पनि अब समाचार पाइने ठाउँका बारेमा जानकार भइसके। हुन पनि हो खासगरी विमानस्थलको प्रस्थानकक्षमा पुग्ने हरेक मान्छेसँगै कुनै न कुनै किसिमको कथाव्यथा भैहाल्छ। त्यो कथाको एक दुईवटा बाइट लियो।

विमानस्थलको प्रस्थान कक्षको भीड खिच्यो। विमानस्थलमा आफन्तलाई छोड्न आएकाको बिदाइको दृश्य र आँसु खिच्यो। भावुक एंगल बनायो। त्यसपछि त तयार भैहाल्छ, एउटा विकाउ समाचार– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्नेको ताँती।

यही मेसोमा विमानस्थलको आगमन कक्षमा पनि अर्को एक बिकाऊ समाचार बनिरहेको हुन्छ। आगमन कक्षको कम भिडभाडवाला वा भरिशक्य कोही नभएको मौका पारेर लिएको दृश्य हाल्यो। बाहिर उभिएर एउटा बिकाऊ भाषाको स्याण्ड–अप लियो। अनि, अर्को समाचार बुलेटिनमा सह–उत्पादित समाचार हाल्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष सुनसान, नेपालमा पर्यटक आउनै छोडे।

यसरी नेपाली मिडियामा वर्षौँदेखि लगभग एउटै समाचार शीर्षकमा समाचार आइरहेका छन्। समाचार शीर्षक एउटै नभए पनि आशय लगभग एउटै हुन्छ, नेपालीहरू देश छोडिरहेका छन्, देश रित्तिँदै छ, नेपाल बस्न लायक देश नै बनेन, युवाको पलायन बढ्दो, राज्य असफल हुँदैछ।

यी सजिलै बन्ने बिकाऊ समाचार वर्षौयता चलिरहँदा नेपालको छवि एक बस्नै नहुने देशको रूपमा निर्माण भैरहेको छ। यो सँगै एक जबर्जस्त भाष्य बनिसकेको छ, त्यो के भने ‘नेपालमा भविष्य नै छैन?

अहिले त मूलधारका मिडियामा आएका यी बिकाऊ समाचारको ग्लोरीफाइ गर्न सामाजिक सञ्जाल एक वैकल्पिक सञ्चार माध्यमका रूपमा उपस्थित छ। यी सञ्जालवालालाई पनि लाइक, सेयर र भ्यू नै चाहिएको छ। त्यसैले उनीहरू पनि टीआरपी भएका यस्तै विकाउ समाचार सेयर गर्छन्।

त्यसैमाथि पनि उनीहरू होमा हो मिलाउँदै आफ्नो इन्डोर्समेन्ट पनि थपेर लिंक सेयर गर्छन्। अर्थात्, जानेर÷नजानेर उनीहरू पनि यही भाष्यको बजारीकरण गरिरहेका हुन्छन्।

यसबाट प्रकारान्तरमा नेपालमा एउटा एजेण्डा नै सेट हुन पुगेको छ, साँच्चै नै नेपालमा भविष्य छैन। यही भाष्यलाई यथार्थमा परिणत गर्न सरकार आफ्ना देशका युवालाई रेमिटेन्सका लागि विदेश निर्यात गरिरहेको छ।

देशमा उद्यम गर्नेलाई भन्दा विदेश गएर रेमिटेन्स ल्याइदिनेलाई स्याबास भन्दै धाप मारेर सहजीकरण गरिरहेको छ। कृषिलाई आधुनिकीकरण गर्ने र रोजगार सिर्जना गर्नेतिर सरकारको पटक्कै ध्यान गएको छैन। शैक्षिक स्तरोन्नति र व्यवस्थापन गर्नेभन्दा पनि १०+२ गर्ने बितिकै पढ्ने नाममा विदेशतिर लघारिरहेको छ।

एकातिर मिडियाले नेपालमा भविष्य छैन भनेर भाष्य बनाउने अर्कोतिर सरकारले त्यस भाष्यलाई चिर्नेभन्दा पनि सघाउने काम गरेको छ।

यो सत्य हो कि नेपालबाट बाहिरिने क्रम बढ्दो छ। संख्या बढ्दो छ। यसरी जानेमा अहिले सबैभन्दा ठूलो संख्या विद्यार्थीको छ। त्यसपछि अरब मुलुकहरू, मलेसिया, जापान, कोरियालगायतका देशमा कामका लागि जाने नेपाली श्रमिकको संख्या पाइन्छ। यसरी जाने गन्तव्यमा अहिले इजरायल, केही युरोपेली र अफ्रिकी मुलुक पनि थपिएका छन्। गोर्खा सैनिकका रूपमा सेवा गरेबापत हङकङ र बेलायत पुग्ने नेपालीको कथा त अर्कै छ।

पछिल्लो समय कामभन्दा पनि अमेरिका, बेलायत र युरोपका कतिपय शरणार्थीप्रिय देशमा उतै बस्ने गरेर शरण लिने नेपालीको संख्या पनि ठूलै छ। सुरूमा नेपालीहरू युरोपमा शरण लिन र स्थायी रूपमा बस्न कागज बनाउन जहाँ सजिलो हुन्छ, त्यही प्रवेश गर्ने र कागज बनिसकेपछि आफ्नो सपनाको देशमा जाने क्रम बढ्दो छ।

यस अतिरिक्त केही समययता चिकित्सक, इन्जिनियर, नर्स, प्राध्यापकजस्ता दक्ष नेपाली पनि विदेश जान थालेका छन्। यी दक्ष नेपाली भने जाने देशकै आवश्यकताअनुसार जाने भएकाले उनीहरू उतै रहने सम्भावना बढी हुन्छ। पछिल्लो समय हुर्कँदै गरेको ग्लोबल सिटिजन अवधारणाले पनि उनीहरूको बिदेसिने र उतै बस्ने सम्भावनालाई बढाएको छ।

यसरी समग्रतामा हेर्दा नेपालीहरू काम गर्न, पढ्न, शरण लिन नै विदेश जाने गरेका छन्। यस अतिरिक्त डीभी लट्री परेर अमेरिका जाने तथा विदेशीसँग विवाह गरेर विदेशिनेको संख्या पनि उल्लेख्य छ। उनीहरूमार्फत् चेन माइग्रेसनको गति र प्रवृति पनि बढ्दो छ।

अब प्रश्न उठ्छ, के यो नेपालीको पलायन हो? सिधा हेर्दा मूलतः नेपालीहरू या त पढ्न गएका छन् या त काम गर्न। पढ्न जाने विद्यार्थी र काम गर्न जाने श्रमिक विदेश जानुलाई पलायन भन्न मिल्ला र? उनीहरू त उच्च शिक्षा हासिल गरेर र कमाएर नेपाल आउनकै लागि विदेश गएका हुन्। उनीहरूको भिसा स्टाटस पनि त्यही नै हो। यसरी कानूनी रूपमा पनि कामदार वा विद्यार्थी भिसा स्टाटसमा विदेश जानु यो न पलायन हो न उनीहरू नै पलायनवादी हुन्।

तर, यो भित्र लुकेको सत्य चाहिँ के हो भने नेपालको अवस्था यस्तै रह्यो र उनीहरूले देशमा भन्दा विदेशमा सुरक्षित भविष्य देखे भने उनीहरू नेपाल फर्कँदैनन्। यो समय ग्लोबल सिटिजन अवधारणाको हो, जननी जन्मभूमिश्च स्वरेगादपि गरियसी भनेर भावनात्मक मन्त्र जपेर मात्र चित्त बुझाउने समय हैन।

त्यसैले, नेपाली समाजमा जरा गाढेको पलायनवादको बिल्ला अब ग्लोबल सिटिजनको अवधारणाले क्रमशः विस्थापित गर्दैछ। यो सोचको कालो रङ क्रमशः खैरो हुँदै छ। सत्य के हो भने मानिस घुमन्ते प्राणी हो र ऊ आफ्नो हितका लागि नयाँ र आफूलाई पायक पर्ने ठाउँतिर विचरण गरिरहन्छ।
संसारका हरेक देशमा त्यो देशका आदिवासीहरू या त लोप भैसके या त घट्दै गएर लोप हुने क्रममा छन्। नेपालका अधिकांश नेपाली पनि कुनै बेला घुम्दैफिर्दै नेपाल पुगेका हुन्। नेपालमै पनि गाउँबाट सहर पस्ने, पहाडबाट मधेस झर्ने बसाइ सराई आमप्रवृति हो। अहिले त्यसको आवृति बढेर देशबाट विदेश मात्र भएको हो।

त्यसैले सिद्धान्ततः पढ्न र काम गर्न गएका मानिसको संख्याकै आधारमा नेपालमा भविष्य छैन, नेपाल बस्न लायक देश नै भएन भन्ने भाष्य बनाउनु गलत हो। तर, के चाहिँ सत्य हो भने चाहे काम गर्ने भनेर होस् वा पढ्ने भनेर, यदि उनीहरूले विकसित देशमा बस्ने अवसर पाए भने उनीहरू उतै बस्छन्। र, त्यसका लागि अनेक प्रयत्न पनि गरिरहेका छन्।

अहिले पढ्न भनेर अस्ट्रेलिया, अमेरिकी, क्यानडा र युरोपेली देश पुगेकाहरू त्यहाँ राम्रो पढाइ हुन्छ भनेर मात्र गएका छैनन्, उनीहरू उतै बस्ने भित्री आशयले नै गएका हुन्। यो भने ओपन सिक्रेट हो।

अबको प्रश्न भनेको उनीहरूलाई कसरी काम सकेर वा पढाइ सकेर नेपाल फर्काउने भन्ने नै हो। त्यसका लागि नेपाल बस्न लायक देश बनाउनु प¥यो। विधि विधानले बनाउनु पर्यो, प्रक्रिया र व्यवस्थाले बनाउनु पर्‍यो । अझ भनेर हैन, गरेर नै देखाउनु पर्‍यो ।

अहिलेको नेपालको मूल समस्या भनेको एकातिर देश बस्नलायक छैन भन्ने खालको भाष्य बनाउने र त्यसलाई चिर्नुपर्ने देशको राजनीतिक परिपाटी र सरकारले जानेर/नजानेर त्यसैलाई सघाइरहने प्रवृति हो। देशमा हरेक दिन यही कोणबाट मिडिया रायल भैरहनु विडम्बना हो।

अहिलेको पद्धति र सरकारको काम गर्ने तरिका अनि जनताको सोच्ने तरिका पनि यस्तै भइरहने हो भने यो भाष्य यथार्थमा परिणत हुन धेरै दिन लाग्दैन। त्यसपछि भने विदेश गएकाहरू जतिसुकै अप्ठ्यारो भएपनि त्यसलाई छिचोल्नतिर लाग्छन्, नेपाल फर्कँदैनन्। त्यो अवस्थामा चाहिँ नेपाल साँच्चै नै बस्नलायक देश रहने छैन।

नेपालमा पद्धति र मेरिटोक्रेसीले काम गर्ने हो भने विश्वका समृद्ध देशमा भन्दा पनि नेपालमा जीवन सहज छ। कामका लागि प्रतिस्पर्धा छैन। जन्मजात नेपाली भाषा, परिवेश, हावापानी हुने भएकाले त्यसमा अभ्यस्त हुन थप केही गरिरहनै पर्दैन। हावापानी, खानपिनको कोणबाट पनि नेपाल अतुलनीय छ। पूर्वीय समृद्ध संस्कृतिको घर नेपाल सभ्यताको कोणबाट पनि माथि छ।

हामीले यी राम्रा कुराको प्रवर्द्धन गर्‍यौ, कामको अवसरहरू सिर्जना गर्‍यौ, पद्धतिले काम गर्ने बनायौ र हरेक क्षेत्रमा मेरिटोक्रेसी स्थापना गर्न सक्यौ भने नेपालीका लागि बस्नका लागि नेपाल जतिको सुन्दर देश कहीँ पनि छैन। त्यसैले नेपाल बस्न लायक देश छैन, यहाँ भविष्य छैन भन्ने भाष्य बनाउन आजैदेखि लगाम लगाऔँ।

तर, घाम जतिकै सत्य कुरा के पनि हो भने नेपालमा सबै ठिकठाक भयो भने पनि सबै नेपाली नेपालमै चाहिँ बस्दैनन्। मान्छे स्वभावैले नयाँ अनुभव, गन्तव्य र प्राप्तिका लागि उत्सुक भइरहने जिज्ञासु प्राणी हो।

त्यही भएकाले आजका नेपालीका पुर्खा घुम्दैफिर्दै नेपाल पुगेका थिए, अहिले उनीहरूका सन्तान अरू देशतिर लागेका छन्। ग्लोबल सिटिजनको अवधारणाले काम गरिरहेको यो युगमा सबै नेपाली नेपालमा बस्दैनन्। हामीले गर्न सक्ने भनेको धेरैभन्दा धेरै नेपालीलाई नेपालमै बस्न सक्ने वातावरण बनाउनेसम्म हो।

अहिलेसम्मको सत्य के हो भने नेपाल अहिले पनि बस्नलायक देश छ, यसलाई अहिलेको सन्दर्भमा थप बस्नलायक बनाउन जरुरी छ। प्रश्न सरकारको मात्र हैन, त्यसका लागि हरेक नेपालीले आआफ्नो भूमिका निर्वाह गर्न जरुरी छ। अरू केही गर्न नसके पनि हरेक नेपालीले नेपालमा भविष्य नै छैन भनेर भविष्यवाणी नगर्न त सक्छन् नि। अहिलेका लागि त्यो पनि ठूलो योगदान हुन्छ।

त्यसैले नेपालको भोलिको बारेमा आजै नकारात्मक भविष्यवाणी गर्ने पानी ज्योतिष नबनौँ। एक नेपाली भएर कम्तीमा यति त भन्न सकिन्छ, नेपालमै भविष्य छ; भोलि कसले देखेको छ र?

प्रकाशित मिति: : 2024-02-23 20:50:00

प्रतिकृया दिनुहोस्