गजेन्द्र बोहरा
कहिले कांग्रेस अनि कहिले एमाले र त्यसपछि थपिएको तत्कालीन माओवादी। यसअघिका हरेक निर्वाचनमा दंगाली मत यिनै तीन पार्टी वरिपरी नै घुमिरहन्थ्यो। कम्युनिष्टका अगुवाहरूदेखि प्रजातान्त्रिक आन्दोलनका कैयौं अगुवाहरूसमेमत जन्माइसकेको दाङको राजनीतिमा यसपालि भने देशभरिको जस्तै अलि फरक तर रोचक चुनावी माहोल छ।
दाङको राजनीतिक इतिहास हेर्ने हो भने यहाँको राजनीतिले एकसे–एक राजनीतिक नेताहरू बनाएको छ। दाङको भूमिबाट चुनाव जितेर जानेहरू राष्ट्रको नीतिनिर्माण तहसम्म सिधै पहुँच राख्ने वा पार्टीमा समेत प्रभावकारी भूमिकासम्म पुगिसकेका छन्। २००७ देखिकै निर्वाचनबाट दाङले राष्ट्रियस्तरमै सम्भावना बोकेका राजनीतिज्ञहरू चुनेर पठाएको छ। २००७ सालको क्रान्तिपछि बनेको ‘राणा-कांग्रेस’को संयुक्त मन्त्रिमण्डलमा दाङका भरतमणि शर्मा पनि थिए। उनलाई राणा कांग्रेसको सरकारले खाद्य तथा कृषिमन्त्री बनाएको थियो।
त्यसपछि २०१५ सालको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका परशुनारायण थारुले निर्वाचन जिते। त्यो बेला दाङमा दुई निर्वाचन क्षेत्र थिए। तत्कालीन राजनीतिक क्षेत्र विभाजनअनुसार दाङको ६२ नं निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका थारुले यहाँका वामपन्थी नेता नारायणप्रसाद शर्मालाई पराजित गरे। उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार थिए। शर्मा त्यसपछि लेखक र पत्रकार बने। अहिले पनि उनी पत्रिका प्रकाशनमै सक्रिय छन्।
त्यस्तै निर्वाचन क्षेत्र नं ८० बाट नेपाली कांग्रेसका गणेशकुमार शर्माले चुनाव जिते। नेपाल कम्युनिस्ट पार्टीका छबिलाल चौधरी पराजित भए। नेपाली कांग्रेसले यो बेला दुवै निर्वाचन क्षेत्रमा बाजी मार्यो। परशुनारायणलाई त्यो बेला बीपी कोइरालाले मन्त्री पनि बनाएका थिए। बीपीका विश्वास जितेका परशुनारायणलाई त्यो बेला नै बीपीले भनेका थिए ‘नेपालमा अब थारुको छोरा प्रधानमन्त्रीसम्म बन्नसक्छ…।’ तर उनी नेपाली कांग्रेसमा टिकेनन्। बरु राष्ट्रिय पञ्चायततिर लागे। २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनाव पनि जिते अनि मन्त्रीसमेत भए। त्यसपछि उनी राजनीतिबाट हराउँदै गए।
२०४८ सालको आम निर्वाचनबाट दाङले अर्को नेता जन्मायो खुमबहाहादुर खड्का। नेपाली कांग्रेसभित्र बीपीका ‘सिपाही’का रुपमा चिनिने खड्काले २०४८ सालको निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचन जितेका थिए। यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाङको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसकै हरि चौधरीले निर्वाचन जिते तर दाङको क्षेत्र नं २ बाट भने कम्युनिस्ट नेता शिवराज गौतमले चुनाव जिते। पार्टीभित्रै पनि प्रभावशाली मानिने खड्का त्यसपछि गृहमन्त्रीसमेत भए।
२०५१ सालमा पनि दाङका चार निर्वाचन क्षेत्रमध्ये ३ वटामा नेपाली कांग्रेसले नै जित्यो। तीमध्ये एक खुमबहादुर खड्का पनि थिए। उनले यो बेला क्षेत्र नं ४ बाट चुनाव जिते। क्षेत्र नं १ पनि कांग्रेसकै हरि चौधरीले निर्वाचन जिते। क्षेत्र नं ३ मा कांग्रेसकै बलदेव मज्गैयाँले चुनाव जिते तर क्षेत्र नं २ मा भने नेकपा एमालेका शंकर पोखरेलले बाजी मारे। पोखरेल अहिले पनि दाङ क्षेत्र नं २ मै उम्मेदवार छन्। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन जितेको पोखरेलको यो पहिलो चुनाव थियो। त्यसपछि जितेका छैनन्।
२०५६ सालको आम निर्वाचनमा दाङका चारै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले नै जित्यो। क्षेत्र नं १ बाट फेरि खुमबहादुर खड्का जिते। २ मा बलदेव शर्मा मज्गैयाँ, ३ मा कृष्णकिशोर घिमिरे र ४ मा गेहेन्द्र गिरीले चुनाव जिते। माओवादी युद्ध चर्किसकेको थियो र त्यसपछि लामो समय देशमा चुनाव हुन सकेन। यही बेला नेपाली कांग्रेस पनि औपचारिकरुपमै फुट्यो। एकातिर दरबारको शासन अनि अर्कोतिर देशको सबैभन्दा ठूलो पार्टीको विभाजन। त्यो बेला खड्का शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकतिर थिए।
त्यहीबेला दरबारले बनाएको शाही आयोगले उनलाई भ्रष्टाचारको मुद्दा लगायो। त्यसपछि उनी फेरि संस्थापनतिरै फर्किए। शान्ति प्रक्रियापछि २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन भयो। यतिबेलासम्म दुवै कांग्रेस एक भइसकेका थिए। यो निर्वाचनमा खड्का फेरि दाङ क्षेत्र नं १ को उम्मेदवार भए। तर मतदान हुनुभन्दा अघिल्लो रातमात्रै उनकै निर्वाचन क्षेत्रमा भएको एउटा गोलीकाण्डमा पाँच जना मारिएपछि खड्काले चुनाव नलड्ने घोषणा गरे।
पहिलो संविधानसभाको निर्वाचनमा पहिलोचोटी निर्वाचनमा आएको तत्कालीन माओवादीले दाङका पाँच निर्वाचन क्षेत्रमा चुनाव जित्यो। दाङमात्रै नभएर देशैभरि चुनाव जितेर पहिलो संविधानसभामा माओवादी पहिलो पार्टी बन्यो। यसअघि नै खड्कामाथि भ्रष्टाचार मुद्दा थियो। भ्रष्टाचारको मुद्दा लड्दा–लड्दा जेलसमेत बसेर गलिसकेका उनी त्यसपछि नेपाली कांग्रेसमा उत्तिधेरै सक्रिय भएनन्। केही समय उनले पार्टीभित्रै देशलाई हिन्दू राज्य बनाउने अभियान चलाए। त्यसपछि उनी बिरामीले थला परे।
२०७४ साल चैतमा उपचारकै क्रममा उनको निधन भयो। २०४८ सालपछिका हरेक सरकारैपिच्छे मन्त्री भएका उनी दुईदुई पटक गृहमन्त्रीसमेत भए। अरु मन्त्रालयहरूमा पनि दोहोरिइरहे। पार्टीभित्र, संगठन र आम मतदातामासमेत गहिरो प्रभाव पार्नसक्ने नेता त्यसपछि दाङले पाउन नसकेको विश्लेषण आज पनि दंगाली मतदातामा छ।
२०६४ सालकै निर्वाचनबाट दाङले अर्का नेता पायो कृष्णबहादुर महरा। युद्धकालीन नेता महरा आफ्नो जिल्ला छोडेर दाङ आएर निर्वाचन लडे। युद्धकालमै तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासिला पात्र भइसकेका उनी पार्टीमा पनि निर्णायक तहमै थिए। उनी सञ्चारमन्त्री अनि सभामुखसम्म भए। सभामुख छँदै उनीमाथि यौन शोषण र महिला हिंसाको गम्भीर आरोप लाग्यो। उनको पद पनि गुम्यो। जेल समेत परे। त्यसपछि राजनीतिकरुपमा सुस्ताएका उनीमाथि सुन तस्करका समेत मुद्दाहरू छन्। पटक–पटक उनी पक्राउसमेत परिसकेका छन्। कुनै बेला प्रचण्डका उत्तराधिकारीसमेत भनेर प्रचार गरिएका महरा राजनीतिक जीवनको उत्तरार्द्धमा अब भने सक्रिय छैनन्।
पार्टीको नेतृत्व तहसम्मै पुगेर प्रभावशाली भूमिका बनाएका अर्का नेता हुन् नेकपा एमालेका शंकर पोखरेल। नेकपा एमालेको महासचिवसमेत रहेका पोखरेल यसअघिदेखि नै ओलीका ‘उत्तराधिकारी’का रुपमा चर्चा चलाइएका राजनीतिज्ञ हुन्। २०५१ सालमा पहिलोचोटी प्रतिनिधिसभाको निर्वाचन जितेपछि उनले यहाँबाट कहिल्यै चुनाव जितेका छैनन्। २०७४ सालमा प्रदेशसभामा जितेपछि मुख्यमन्त्रीसमेत भएका उनले त्यसअघि र यसपछिका कुनै पनि चुनाव लड्न भने छुटाएका छैनन्। २०६४ सालपछि दाङका चारवटै निर्वाचन क्षेत्र २०७० सालमा नेपाली कांग्रेसले क्लीनस्वीप गरेको थियो।
२०७४ सालमा नेकपा एमाले र तत्कालीन माओवादीबीच गठबन्धन थियो। यो बेला भने पोखरेल प्रदेशसभामा लडेका थिए। २०७९ सालमा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी तथा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भयो। यो बेला दाङको क्षेत्र नं १ मा नेकपा एसका मेटमणि चौधरी, क्षेत्र नं २ मा गठबन्धन उम्मेदवार रेखा शर्मा र क्षेत्र नं ३ मा दीपक गिरीले चुनाव जिते। यो बेला प्रदेशसभाबाट प्रतिनिधिसभामा उक्लिन खोजेका शंकरलाई कांग्रेस-माओवादीको गठबन्धनले छेकिदियो।
र फेरि पनि पोखरेल यसपालि यही क्षेत्रबाट चुनाव लड्दैछन्। तर यतिबेला यो चुनावी मैदान अझ चुनौतीपूर्ण बनेको छ। देशभरिजस्तै यसपालि दाङमा पनि परम्परागत राजनीतिक दलहरूमात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टी पनि सशक्त बनेको आएको छ। पहिलोपटक २०७९ सालको निर्वाचनमै दाङका दुई निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अप्रत्याशित मत ल्याएका थिए। यसपालि पोखरेलको यो निर्वाचन क्षेत्रमा रास्वपाले एकजना युवा इन्जिनियर बीपीन आचार्यलाई उम्मेदवार बनाएको छ। क्षेत्र नं ३ मा अघिल्लोपटक पनि चुनाव लडेका कमल सुवेदी र क्षेत्र नं १ मा देवराज पाठकलाई उम्मेदवार बनाएको छ। पाठक यसअघि नेपाली कांग्रेसबाट पटक–पटक लाभको पद पाइसकेका नेता पनि हुन् र पूर्व शिक्षकसमेत हुन्।
यसपालि गाउँसहरमा रास्वपाका स्थानीय उम्मेदवारहरूसँग देखिने जनलहर अनि रास्वपाका सभापति दाङ आउँदा उर्लिएको जनलहरले यहाँका रैथाने उम्मेदवारहरूलाई अझ चुनौती थपिदिएको छ। देशभरिजस्तै यहाँका गाउँ,टोल र सहरहरूमा ‘घण्टी’को उस्तै बिगबिगी र राजनीतिक चकचकी उत्तिकै बढिरहेको छ। शुक्रबार दाङको घोराहीमा भएको रास्वपाका सभापति रवि लामिछाने पनि यहाँका उम्मेदवार नेकपा एमालेका महासचिवसमेत रहेका शंकर पोखरेलमाथि गम्भीर निशाना साँधे। आफूलाई ‘जेल पठाउने’हरू यहि क्षेत्रमा उम्मेदवार बनेका छन् भन्दै रविले भनेका थिए ‘तिमीहरूले सुन्नेगरी भन्न चाहन्छु, संसदबाट त निकाल्यौ तर, जनताको मनबाट निकाल्न सकेका छैनौ।’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया