सबै परिकारका खाना सडकमा

रासस

विराटनगर

स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली खानाको परिकारको स्वादको अनुभूति गराउन ‘विराट सडक महोत्सव’ सुरु भएको छ । मन्जिना मुभिज क्रिएशनद्वारा आयोजित बुधबारदेखि शुरुभएको महोत्सव ट्राफिकचोकदेखि महेन्द्र चोकसम्म यही माघ ४ गतेसम्म सञ्चालन हुने छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै भ्रमण वर्षलाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवद्र्धनमा महोत्सवले सहयोग पुर्‍याउने बताए ।

महोत्सवमा नेवारी, थारू, मारवाडी, थकाली राजवंशीलगायतका समुदायका विभिन्न परिकारहरुको तीन दर्जन प्रदर्शनीकक्ष रहेको क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी दिए । दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने सडक महोत्सस्थलमा प्रदेश नं १ का रमणीय पर्यटकीय गन्तव्यहरूको तस्वीरसमेत राखिएको छ ।

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ । महोत्सवको एक लाख दर्शकले प्रत्यक्षरूपमा अवलोकन गर्नुका साथै एक करोडको कारोबार हुने लक्ष्य राखिएको छ । रासस

प्रकाशित मिति: : 2020-01-16 15:08:22

प्रतिकृया दिनुहोस्