असमका लिम्बू जाति

नेपालमा परापूर्वकालदेखि बसोबास गरेको जनजातिमध्येको एउटा जाति हो, लिम्बू। जसका आफ्नै कला, संस्कृति, भेषभूषा र लिपि छन्। यस जातिको मूल स्थान नेपालको पूर्वी क्षेत्र हो। कुनै समय लिम्बूको आफ्नै देश थियो, जुन देशलाई लिम्बूवान भनिन्थ्यो। अहिले नेपालको पूर्वी क्षेत्रबाट लिम्बूको बसोबास फैलिएर देशको प्रायः सबै क्षेत्रमा पुगेको छ। देशभित्र मात्र होइन जीविकोपार्जनका लागि विदेश भाँसिएका लिम्बूको संख्या पनि हिजोआज उत्तिकै बढ्दै गइरहेको छ। 

दार्जीलिङ र सिक्किममा लिम्बूको संख्या भारतका अन्य राज्यको तुलनामा बढी छ। लिम्बूहरू ती क्षेत्रमा कसरी बसोबास गर्न पुगे? यसको लामो इतिहास छ। यस लेखमा म त्यो इतिहास कोट्याउन गइरहेको छुइन। यसैकारण यो विषयबाट विमुख हुन्छु। मैले लेखमा अर्को ऐतिहासिक तथ्यलाई कोट्याउने प्रयास गरेको छ। त्यो हो, लिम्बू जातिको लिपी अर्थात सिरिजंग लिपि।

लिम्बू जातिको धर्म ग्रन्थ मन्धुप यही लिपिमा लेखिएको छ। यो लिपिका जनक हुन् सिरिजंग। जसले यसको रचना गरे। उनको रचना भएका कारण यसलाई सबैले सिरिजंग लिपि भन्न थालेका हुन्। 

लिम्बू जातिका परम्परालाई सिक्किममा प्रचार गर्न गएको बेला सत्रौँ शताब्दीमा उनको हत्या तिब्बती लामाद्वारा सन् १७४१ मा भयो। रोचक कुरा– सत्रौँ शताब्दीमा सिक्किम सरकारको अनुग्रहमा हत्या गरिएका उनै सिरिजंगले अस्तित्वमा ल्याएको लिपिबाट हिजोआज सिक्किमे लिम्बूहरू शिक्षा ग्रहण गर्छन्। 

राणाकालमा नेपालमा रेजिडेण्ट भएर बसेका ब्रायन हटसनले वास्तवमा लिम्बू जातिबारे शोध र अनुसन्धान नगरेको भए सिरिजंग लिपिबारे एउटा युग समाप्त भएपछि मात्र विश्वले थाहा पाउने थियो। यसैले लिम्बू जाति सन् १८२९–३१ सम्म नेपालमा रेजिडेण्ट भएर बसेका इस्ट इन्डिया कम्पनीका अफिसर हडसनप्रति अनुगृहीत हुनुपर्छ।


गोर्खाल्याण्डको मागमा युवाको जीवनोत्सर्ग


हडसनको प्रसंग–

सन् १९१६ देखि १८२९ सम्म नेपालमा रेजिडेन्ट भएर बसेका इडवार्ड गार्डनर फर्किएपछि ब्रायन हडसन रेजिडेन्ट नियुक्त भएर आएका थिए। उनी सन् १८४५ मा दार्जीलिङमा पनि बसेका थिए। त्यहाँ बसेका बेला उनले पूर्वी नेपाल र सिक्किमका लिम्बू गाउँबाट लिम्बू जातिका बारेमा लेखहरू संकलन गरेका थिए। लिम्बू जातिको बारेमा थाहा पाउन उनले लेख संकलन गर्दा मैवाखोलाका जोभीनसिंह फागो, ६ थर तांगखुवाका गुनमान सजुम र चांगगेसी फेदांगमालाई मन्धुप, संस्कार, भाषा, इतिहास आदिबारे लेख्न लगाएका थिए। यी लेख सिरिजंग लिपिमा लेखिएका छन, जुन अहिले पाण्डुलिपि अहिले पनि बेलायतको लण्डन लाइब्रेरीमा सुरक्षित छन।

यी पाण्डुलिपि हेर्न र पढ्न तथा शोध गर्न भनेर आयामिक लेखनका त्रिमूर्ति ईन्द्रबहादुर राई, ईश्वर वल्लभ, बैरागी काइँला (तिलविक्रम नेम्वाङ) सन् १९५५ मा लण्डन पुगेका थिए। प्रोफेसर आर. के. स्प्रिंगले हडसनद्वारा खोज गरिएका पाण्डुलिपिमा पाइएका लिम्बू जातिसम्बन्धी सामग्री उनीहरूलाई प्रदान गरेका थिए। लण्डन लाइब्रेरीबाट प्राप्त ती दस्तावेज नेपाल ल्याएपछि इमानसिंह चेम्जोंगले अध्ययन गरे। पछि इमानसिंह चेम्जोंगले यही पाण्डुलिपिको आधारमा सन् १९६१ मा किरात मुन्धुप खाहुन भन्ने पुस्तक प्रकाशित गरे। जुन पुस्तकबाट लिम्बू जातिको जागरण कालको शुभारम्भ भयो। 

यसपछि सिरिजंग तथा सिरिजंग लिपिको चर्चा–परिचर्चा लिम्बू जातिमा मात्र नभएर नेपालीभाषी समुदायमा पनि हुनथाल्यो।

नेपालमा लिम्बू जातिले आफ्ना परम्परा लिपि आदिलाई संरक्षण गर्न भनेर सभा, अधिवेशन गर्न थाले। यसको प्रभाव असममा पनि पर्यो। लिम्बू जातिले असमको विश्वनाथ चारालीमा केही समयअघि मात्र पाँचौँ त्रि वार्षिक अधिवेशन लिम्बू महासभा सुसम्पन्न गरेको छ। 


गोर्खाको लाश गाड्ने माटोको खोजीमा 'मने' उपन्यास


असमका लिम्बू जातिको प्रसंग

असममा लिम्बूहरुकाे उपस्थिति देखेपछि कहिले काहीँ मनमा प्रश्न उबज्नु स्वभाविक हाे, यहाँ लिम्बू जातिको आगमन र बसोबास कसरी भयो हाेला? प्रश्न उब्जिँदा हामीले सर्वप्रथम महादेव अर्थात् देवी–देवताभन्दा पनि माथिका भगवानलाई सम्झनुपर्ने हुन्छ।  हिन्दुका धार्मिक ग्रन्थमा शिवकाे स्थान उपल्लो दर्जामा छ। उनी किराँती थिए भन्ने कुरा धार्मीक ग्रन्थमा रहेकाे भारतका मनीषीले व्यक्त गरेका छन्। नेपालमा बसाेबास गर्ने राई–लिम्बूलाई किराँती पनि भनिन्छ। यसको अर्थ हाे, शिव भगवानको सम्बन्ध लिम्बू जातिसँग छ। यसबाट स्पष्ट हुन्छ–लिम्बू जाति प्राचीनकालदेखि नै भारत वर्षमा बसोबास गर्दै आइरहेका थिए। 

असम यसबाट अछूत रहन सक्तैन। यसको अर्थ लिम्बू जाति असममा प्राचीनकालदेखि नै बस्दै आइरहेका रहेछन्। असमीया साहित्यकार तथा बुद्धिजीवीले पनि यसलाई स्वीकार गरिसकेका छन्। यसको ज्वलन्त उदाहरण असमका मत्सेन्द्रनाथलाई लिन सकिन्छ। यस्ता धेरै उदाहरण यहाँ दिन सकिन्छ तर यो लेख लामो हुने सम्भावनाले गर्दा म मूल विषयमा प्रवेश गर्छु। 

मूलतः असम कुनै बेला सिंगो अविभाजित राज्य भएको प्रसंगमा भन्नु पर्दा असममा लिम्बू जाति प्रामाणिक रूपमा कहिले आए अनि बसोबास गरे भन्ने कुराको उठान सन् १८१४–१६ को इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको युद्धलाई सम्झनु पर्ने हुन्छ। यही युद्धले सुगौली सन्धि अस्तित्वमा आयो। यही अस्तित्वले गर्दा नेपालको आधा उर्वर भूमि टिस्टादेखि सतलजसम्म तत्कालीन इष्ट इण्डिया कम्पनीले राज गरेको भारतमा गाभियो। यही भूमिमा पर्ने गोर्खाहरू पनि भारतमा स्वतः आउनु पर्‍यो। यी गोर्खाहरूमा लिम्बू जाति पनि थिएनन् भन्न सकिन्न।

यो जाति जीवीकोपार्जनका लागि धेरै ठाउँ भौँतारिँदै असम आएका थिए। पछि असममा लिम्बू जातिको आफ्नो समाज गठन भयो। सुगौली सन्धिका कारण इष्ट इण्डिया कम्पनीले गोर्खा पल्टन पनि खडा गर्‍यो। यी पल्टनहरूले अन्य समुदायलाई मात्र हाेइन, लिम्बू जातिलाई पनि भारतका विभिन्न प्रान्तमा छर्ने काम गर्याे।

छरिएका यिनै पल्टने लिम्बूसँग कन्धा मिलाउँदै अपल्टने लिम्बू पनि पछि असम आए। जसले असमभरि लिम्बू जाति (अन्य गोर्खा जातिका समाज पनि) को समाजले प्रादुर्भाव हुन समुचित मार्ग भेट्यो।

वर्तमान असमको परिप्रेक्ष्यमा भन्ने हो भने लिम्बू जाति असमका विभिन्न जिल्लामा केही न केही संख्यामा छन् तर मैले जानेअनुसार अधिक संख्या शोणितपुर, शदिया र उरियामघाटमा छन्।

म असमअन्तर्गत गोलाघाट जिल्लाभित्र पर्ने उरियामघाटको प्रसंगमा लिम्बू जातिसम्बन्धी कुरा स्पष्टसँग भन्नसक्छु। तर, असमका अन्य जिल्लामा भएका लिम्बू जातिको प्रसंगमा भने भन्न सक्तिनँ। कारण अन्य जिल्लामा भएका लिम्बू जातिसँग म सम्पर्कित छैन। उरियामघाटमा भएका लिम्बू जातिबारे म धेरै जान्दछु। कारण म उरियामघाटमा एकपल्ट १८ दिन जति बसेको थिएँ। त्यस बेला मलाई उरियामघाटभित्र पर्ने एउटा गाउँका वासिन्दाले गरमजाेशीका साथ मेराे स्वागत गरेका थिए। गाउँको नाम थियाे, हात्तीडुबी।

अन्य गाउँका गाउँलेले पनि स्वागत नगरेका हाेइनन् तर मैले हात्तीडुबीको नाम पहिले किन लिए भने, हात्तीडुबी लिम्बू जातिकाे बाहुल्य छ। यहाँ बसोबास गर्ने सबै लिम्बूले आफ्नाे भाषा बोल्न जानेका छन्। घरमा लिम्बू बोलीको आदान–प्रदान हुनेगर्छ। जहाँसम्म म सम्झन्छु– यिनीहरूलाई सिरिजंग लिपिबारे त्यति ज्ञान छैन। कारण नेपाली भाषाको पठन–पाठनको कुरामा असम सरकार उदासीन भएपछि सिरिजंग लिपिबारे असममा सरकारले केको टेरपुच्छर लाउँछ र?

सिरिजंग लिपिलाई असममा लिम्बू जातिले बचाउने एउटै उपाय छ। व्यक्तिगत रूपमा लिम्बू जातिले आफ्न नव सन्ततिलाई यसबारे सिकाउने। मैले सुनेको– सदियामा एकजना लिम्बू शिक्षकले सिकाउने कर्म पाइला चालिरहेका छन्।

उरियामघाटभित्र पर्ने गाउँ बडीजान, देवीपुर, फूलबारी, नदीधार, बसापत्थार आदि गाउँमा पनि लिम्बू जाति छन्। ती सबैमा कतिले लिम्बू बोली बुझ्छन्–बोल्छन्। कतिले बोल्न जान्दैनन्। तैपनि आफ्ना लिपि, भाषा, संस्कार इतिहास आदिको संरक्षण गर्नुपर्छ भन्ने चेतना असममा बाँचिरहेका लिम्बू जातिका नव पीढीमा आइसकेको छ।

यसको जीवित र प्रत्यक्ष उदाहरण हो, तीन वर्षअघि उरियामघाटमा असमका लिम्बू जातिको लिम्बू केन्द्रीय समितिको तीन दिने अधिवेशन। उक्त अधिवेशनमा तीन दिनसम्म आफ्नो आत्मकथा कारगिल युद्ध–१९९९ बिक्री गर्न बसेको थिएँ। यो एउटा कीर्तिमान हो– तीनसुकिया जिल्लाअन्तर्गत जागुनस्थित रामपुरमा तीन वर्षअघि अखिल असम नेपाली साहित्य सभाको अधिवेशन हुँदा उक्त आत्मकथा बढी बिक्री भएको थियाे।

लिम्बू जातिले उचित अवसर पायो भने असममा गोर्खा समुदायबीच अगाडि बढ्ने थुप्रै सम्भावना छ। पूर्खाले दिएको कुसंस्कार, रुढिवादी कुपरम्परा हाम्रो पेवा हो र? यसमा लाग्नुपर्ने। यसलाई बचाउनुपर्छ भन्ने विचार त्यागी नव सन्ततिका लागि सुन्दर संस्कार,संस्कृति आदि दिन सकेकाे खण्डमा भविष्य उज्जव भएर जानेछ। 


मजिबर रहमान महिला कलेजको त्यो रक्तरञ्जित इतिहास       


अब सुन्दर संस्कारको प्रसंग
सुन्दर संस्कार त्यसलाई भनिन्छ, जुन संस्कारले कुनै पनि जातिलाई सकारात्मक लक्ष्य दिएर उन्नति पथमा अग्रसर गराउँछ। त्यही समाज सफलताको टाकुरामा पनि पुग्छ। तर म देख्छु– आज लिम्बू जातिका नव सन्तति नव चेतना लिएर अगाडि बढिरहेपनि पूर्खाले छाडेर गएकाे कतिपय रुढिवादी परम्परालाई अंगालेका कारण गोर्खा समुदायभित्र उन्नतशील अन्य जातिको स्पर्धामा आउन सकेका छैनन्। पछि परिरहेका छन्।

मैले माथि नै उल्लेख गरिसकेको छु–उरियामघाटमा तीन वर्ष अगाडि असमका लिम्बू जातिको अधिवेशन भएको थियो। अधिवेशनमा लिम्बू जातिले प्रदर्शनी लगाएको थियो। जसमा लिम्बू जातिका पूर्खाले लाउने भेषभूषा, प्रयोगमा ल्याउने भाँडाकुँडा, फेदांगमाले प्रयोग गर्ने सामाग्री, काेदाेकाे जाँड लगायत अन्य खाने कुरा समावेश थिए।

हो, लिम्बू जातिका पूर्खा तथा मगर–गुरुङ आदिका पूर्खाले जाँड, रक्सी खान्थे। मत खाने भएर गोर्खा समुदायमा मतवाली– भनेर यी जातिको नामकरण भएको कुरालाई नकार्न सकिन्न। यहाँसम्म कि मरेका पितृले स्वर्गमा रक्सी खान पाउँछ भनेर पितृलाई रक्सी चढाउने परम्परा पनि कतिपय मतवालीको छ। पूर्खाले कुनै परिस्थितिवश मत खाएर आफूलाई मतवाली बनाए हाेलान तर त्यस्तो परिस्थिति आजको लिम्बू जातिमा छैन। त्यसैले जाँडको प्रदर्शनी किन? गर्नु परेकाे हाेला। 

ठिकै छ, पूर्खाकाे सम्झनामा प्रदर्शनीमा जाँड राखियो हाेला तर पीउनु किन? कोदोको जाँड लिम्बू जातिले पीउने परम्परा हो भन्दै परम्पराको नाममा कोदोको जाँड बिक्री गरिएको मैले नै प्रदर्शनीमा देखेकाे थिए। कतिपय लिम्बू अग्रजले यस परम्परालाई जिवित राख्दा अग्रजबाट नव सन्ततिले सिक्ने के? याे विषय पनि टड्काराे छ। 


असमको विदेशी हटाओ आन्दोलनकी पहिलो शहीद नेपाली मूलकी वैजयन्तीदेवी


अनुसन्धान गरेर हेर्नुहोस्ः

मतवाली जाति अगाडि बढ्न नसक्नुको मूलभूत कारण हो मतको व्यसन। यही व्यसनले गर्दा मतवाली भनेर नामकरण गरिएका जातिका धेरै घर–परिवार भत्किएका मैले आफ्नै आँखाले देखेकाे छु। कलिलो उमेरमा कलेजो र फोक्सो रित्याएर आफू पनि रित्तिएका धेरै कलिला मुना पनि मेरै आँखाले देखेकाे छ। 

मत खाने परम्परा हाम्रो पूर्खाको थियो भनेर के यसैको पछि हामी लाग्नू उपयूक्त हाेला? हो, पूर्खाले हामीलाई छाडिगएका परम्पराको संरक्षण गर्नुपर्छ तर कुनै काल, परिस्थितिले गर्दा हाम्रा पूर्खाले उनीहरूलाई काम लाग्ने यस्ता कतिपय नीति–नियम पनि बनाए, जो ती बेला उनीहरूका लागि उचित थिए। तर, आजको परिवेशमा ती नीति–नियम हाम्रा लागि सटीक छैनन्। हाम्रा उन्नति पथका काँडा भएका छन्। काँडा भएपछि ती काँडालाई के घाँटीमा पहिरिरहने? ती काँडाहरूलाई परिमार्जन गरेर पुष्पहार नबनाउने? 

मैले धेरैपल्ट ठाउँठाउँमा आफ्नो विचार पाेखेकाे छु–जुन जातिले पूर्खाले छाडिगएका रुढिगत परम्परालाई परिमार्जन गर्दैन।यसैको पछि लगिपरिरहन्छ। नवीन परम्पराको थालनी नगरेर भावीपीढीका लागि रुढिगत परम्परा छाडेर जान्छ तथा समयनाकूल मार्गमा चल्दैन। त्यो जाति विश्वको सबैभन्दा पछौटे जाति हुनेछ। त्यो जाति कालान्तरमा यो पृथ्वीबाट डायनोसारजस्तो हराउनेछ। उदाहरणको रूपमा अन्डाेमान निकोबारको जनजाति जरुवालाई लिए पुग्छ। जरुवा जाति पूर्खाले छाडिगएका परम्परामा हिँड्ने तर समयानूकल आफूलाई परिवर्तन गर्न नसक्दा यति बेला लुप्त हुने संघारमा छ।

यसैकारण लिम्बू वा कुनै पनि जाति पूर्खाले छाडिगएका रुढिगत संस्कारलाई परिमार्जन गरि सुन्दर संस्कारमा आउनुपर्छ, तब यो जाति यस पृथ्वीमा जिउँदो जाति भएर बाँचिरहनेछ।


असमको विदेशी हटाओ आन्दोलनकी पहिलो शहीद नेपाली मूलकी वैजयन्तीदेवी


शिक्षाको प्रसंग:  नकारात्मक र सकारात्मक

आज विश्वमा कतिपय आतंकवादी संगठनले नवयुवकलाई नकारात्मक शिक्षा दिई आंतकवादी बनाइरहेका छन्। यसले गर्दा विश्वमा अशान्ति फैलिरहेछ। मानव–संहार हुँदैछ। यो भयो नकारात्मक शिक्षा।

आजको परिप्रेक्ष्यमा भन्नुपर्दा अहिले यो पृथ्वी प्रदूषणको चेपारोमा परिरहेको छ। बढ्दो प्रदूषणले गर्दा प्राणी जगत् विनाशको संघारमा उभिएकाे छ। यसैकारण पृथ्वीलाई कसरी बचाउने भनेर आजका मानव लागिपरेका छन्। वृक्षारोपण गर्दैछन्,हरित क्रान्तितिर उन्मूख हुँदैछन्। जल संरक्षणप्रति सचेतना जगाउँदैछ। यी गर्नुको अर्थ हो–प्राणी जगतलाई जोगाउनु। सकारात्मक पक्षतिर अग्रसर गराउनु। सकारात्मकतातिर गयो भने विनाशले चियाउने सम्भावना न्यून हुन्छ। प्रगति पथमा अगाडि लम्किन सकिन्छ।

मानव समाज यी दुई पक्षकाे दास छ–नकारात्मक र सकारात्मक। जुन समाजले सकारात्मक पक्षलाई पछ्यायो, त्यो समाज निरन्तर प्रगति पथमा अगाडि बढिरहेको हुन्छ। मैले यहाँ शिक्षासम्बन्धी नकारात्मक र सकारात्मक शिक्षा विषय एकाध उदाहरण मात्र दिएको हाे।

शिक्षा दिने प्रणाली दुई प्रकारका हुन्छन्। कोही जीवनभरि स्कूल गएका पनि हुँदैनन्। भाषिक लिपिसम्बन्धी पनि उनलाई ज्ञान हुँदैन। तैपनि उ कुनै बेला विश्वविद्यालयबाट विद्यावारिधि गरेकाे शिक्षककाे पनि शिक्षक बन्न सक्छ। उदाहरणका लागि म शिलाेङ शहरमा जन्मेकोः स्कूलमा पढेर नेपाली भाषा–लिपिसम्बन्धी ज्ञान पाएको, अरू त अरू नेपाली साहित्यमा भारत सरकारबाट साहित्य अकादेमी पुरस्कार पनि पाएको तर म शहरमा जन्मेको भएर बाँसको चोयाबाट बुनिने डोको बुन्न सक्दिन्।

गाउँका कतिपय मानिस डोको बुन्न जान्दछन्,यद्यपि उनीहरू स्कूल कहिल्यै नगएका होलान्। लिपि के हो भनेर पनि नजानेका होलान् तथापि उनीहरूले मलाई डोको बुन्न सिकाउन सक्छन्। म जतिकै पढेलेखेको भए पनि, उनीहरूबाट डोको बुन्न सिक्छु ,त्यतिबेला म उनीहरूका लागि छात्र हुन्छु। उनीहरू मेरा लागि शिक्षक हुन्छन्। यो भयो शिक्षा दिने पहिलो प्रणाली। दोस्रो प्रणाली हो–लिपिबद्ध भाषामा लेखिएका पुस्तक पढेर शिक्षा दिनु।

अब म लिपि र भाषामा आउँछु। लिपि र भाषाको प्रसंगमा लेख्नुपर्दा आजभन्दा १३–१४ वर्षअघि बंगाली सज्जन डाक्टर मिलन विश्वले भनेकाे कुराको सम्झना हुन्छ। उनी होमियाेप्याथिकका डाक्टर हुन्। म जम्मेको गाउँ बारपत्थरको छिमेकी गाउँ झालुपाडामा उनको होमियाेप्याथिक क्लिनिक छ।

नाम हो स्वस्तिक क्लिनिक। बिरामी हुँदा म यिनीबाट उपचार लिनेगर्छु। उपचारकै बेला एक दिन यिनले मलाई आफ्नो कुरा सुनाएका  थिए– एक दिन अंग्रेजी भाषाले भारतीय भाषालाई निल्नेछ। भारतीयहरू आज आफ्ना मातृभाषालाई बिर्सेर अंग्रेजी भाषाको गुलाम भइरहेका छन्।

डा. मिलन विश्व बंगाली समुदायका हुन्। सर्वविदित छ बंगाली भाषा विश्वका समृद्ध भाषामा पर्छ। यति समृद्ध भाषासँग समर्पीत डा. मिलन विश्वको कुरा सोचनीय विषय हो। आज भारतमा ९ सय ५ भारतीयले आमालाई मारेर आफ्ना छोराछोरीका लागि मम्मीलाई बचाएका छन्। यसमा नेपालीभाषी पनि अछूत छैनन्। गोर्खा जातिभित्र पर्ने जनजाति पनि अछूत छैनन्। यस्तो हुनुको मूलभूत कारण हो अंग्रेजी भाषाको अतिक्रमण भारतीय भाषामा हुन्।

अतिक्रमण हुनुको पछि भारत सरकारको शिक्षा नीति पनि दोषी छ। भारत सरकारले अंग्रेजी भाषालाई भारतीय भाषाभन्दा धेरै महत्व दियो। भारतीय अंग्रेजी भाषाको गुलाम भए आफ्ना मातृभाषालाई बिर्सिदिएर। यही अंग्रेजी भाषाको माध्यमबाट पाश्चिमी संस्कार पनि भारतमा फल्नफुल्न आयो। फलस्वरूप आफ्ना परम्परा, संस्कृति आदिलाई लत्याएर पाश्चात्योन्मुख हुन पनि खोजे भारतीय – कति त भइसके पनि।

सम्झना रहोस् – समृद्ध भाषाले जहिले पनि निर्बल भाषामाथि राज गरेको हुन्छ। त्यो भाषा नै जनमानसको राजा हुन्छ। फलस्वरूप त्यही भाषाको दास जनमानस हुनेहुँदा विश्वबाट ४–५ सय भन्दा बढी भाषा–बोली, यहाँसम्म कि लिपिधरि आजको दिनमा विलुप्त भइसकेका छन्। यद्यपि कतिपय लिपिहरू शिलालेखमा अंकित भएका पनि पाइन्छन्। कुनै कालखण्डमा ती लिपिमाथि अर्का लिपिले राज गरिदिएका कारण मारिदिएको हुनाले ती लिपि आज शिलालेखमा देखिए तापनि पढ्न सकिन्न, बुझ्न सकिन्न्।

तीन वर्ष अघि मलाई मणिपुरवासिनी कवियत्री वसन्ती पाैडेल (शिक्षिका पनि हुन्) ले एक विशेष जानकारी दिएकी थिइन्। जानकारी यो थियो –यूनेस्कोले चेताएको थियो कि, मणिपुरी भाषाप्रति मणिपुरीहरू सचेत भएनन् भने केही कालपछि उनीहरुकाे भाषा लुप्त हुनेछ।

अंग्रेजी भाषाको माया–मोह धेरैजसो मणिपुरीमा छ। यो माया–मोह सबै भारतीयमा पनि पाइन्छ। यसैकारण मणिपुरमा मात्र होइन, भारतका सबै ठाउँमा हिजोआज च्याऊझैँ इ‌ङलिस स्कूल खोलिएका छन्।

भारतको शिक्षा नीतिले ती स्कूलमा विद्यार्थीले आफ्नो मातृभाषा पढ्ने प्रावधान पनि छैन। अभिभावकलाई आफ्ना छोराछोरीले फरर.. र इङलिस बोलिदिए भइहाल्यो। गर्वित हुन्छन् मेरा छोराछोरी शिक्षित भए भनेर अभिभावकहरू – विलुप्तीको अन्धकारमा आफ्नो मातृभाषा अँध्यारियोस्, कुनै चिन्ता छैन ती अभिभावकलाई।

तर चिन्ता पर्‍यो मणिपुर सरकारलाई कतै मणिपुरी भाषा विलुप्तिने त होइन भनेर। यसैकारण मणिपुर सरकारले प्रत्येक स्कूल चाहे त्यो इङलिस स्कूल नै किन नहोस्? एउटा विषय मातृभाषा अनिवार्य रूपमा पढाइनुपर्ने नियम राख्यो। यसले गर्दा नेपालीभाषी,जसले नेपाली भाषालाई लत्याएर आफ्ना छोराछोरीलाई इङलिस स्कूलमा अंग्रेजी भाषामा शिक्षा दिइएका थिए, उनीहरू बाध्य भए आफ्ना छोराछोरीलाई एउटा विषय नेपाली भाषामा शिक्षा दिन।

यो प्रचलन पूर्वाञ्चलका अन्य स्कूलमा मणिपुर छाडेर यस बेला कतै छैन भन्ने मलाई लाग्छ।

गत वर्ष मैले शिलाेङबाट निस्कने दैनिक पत्रिका (दि शिलांग टाइम्स्)मा दुईपल्ट खासी भाषालाई लिएर प्रकाशित समाचार पढेको थिएँ। समाचार अनुसार कुनै अन्तर्राष्ट्रिय संस्थाले चेताएको थियो कि, खासी भाषा एक समयमा विलुप्तिनेछ भनेर। यही भएर खासी समुदाय आफ्नो मातृभाषालाई जोगाउनुपर्छ भन्ने कुरामा सचेत हुनगइरहेको छ। संविधानमा मान्यता प्राप्त होस् भनेर अग्रसित पनि भइरहेको छ।

नेपाली भाषालेचाहिँ मान्यता पाइसक्यो। मान्यता पाएर पनि शिलाेङमा हाम्रो समुदाय भने नेपाली भाषाप्रति त्यति सचेत भएको देखिँदैन। यसैकारण शिलाेङका आजका हाम्रा नवपीढीले नेपाली भाषा पढ्न, लेख्न जान्दैनन् एकाध छाडेर – झन् गोर्खा समुदायभित्र पर्ने जनजातिको कुरा त नगरे पनि भयो।

कुनै पनि समृद्ध भाषाको अतिक्रमण कुनै निर्बल भाषामाथि भयो भने अथवा राजनीतिक कारणले पनि भयो भने निर्बल भाषाले अवसानको बाटो लिने डर हुन्छ। यो कुरा असममा प्रत्यक्ष देखिँदो छ। असमिया भाषा अनिवार्य पढ्नुपर्छ तर आफ्नो मातृभाषा पढ्ने व्यवस्था असममा धेरैजसो समुदायको छैन। यसैकारण कतिपय नेपालीभाषी विद्यार्थीले नेपाली भाषा लेख्न, पढ्न जान्दैनन्। गोर्खा समुदायभित्र पर्ने जनजातीय भाषाको कुरा त नसोचे पनि भयो।

यी जनजातिका भाषा–लिपि कुनै बेला कुनै समृद्ध भाषाको अतिक्रणले गर्दा अवसानको मार्गतिर अग्रसर हुँदैथिए। यसलाई नकार्नुपर्ने कुरै छैन।

सन् २००४ मा सिक्किमको राजधानी गान्तोकमा सम्पन्न सिक्किम सम्मान सम्मेलनमा सहभागी हुनपुगेको थिएँ। त्यसबेला सिक्किमका तत्कालीन मुख्यमन्त्री पवन चामलिङले भन्नुभएको कुरा मेरो मानसपटमा अझसम्म ताजै छ। उहाँको भनाइ के थियो भने, नेपाली भाषा महासागर हो। जनजातीय भाषा महासागरमा मिसिने खोलाहरू हुन्।

यदि यी खोलाहरू सुके, नेपाली भाषा पनि सुक्छ। यसकारण हाम्रा जनजातीय भाषाको संरक्षण हुनुपर्छ। यसैकारण सिक्किममा बस्दै आइरहेका जनजातिले आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने प्रचलन चामलिङले सिक्किमका स्कूलमा राखिदिनुभयो र यो प्रचलनभित्र लिम्बू भाषा पनि पर्छ।  यस्तो प्रचलन असममा छैन।

प्रचलन नभए पनि गोर्खा समुदायभित्र पर्ने सबै जातिमा यसरी चेतना आएका हुनाले ती जनजाति विशेष नवपीढी असममा आफ्नै ढंगले आफ्ना संस्कृति, परम्परा, भाषा–लिपि आदिलाई संरक्षण गर्नुपर्छ भन्ने दिशातिर उन्मुख हुँदै गइरहेछन्। यी भित्र असमका लिम्बू जाति पनि पर्छ। यो शुभ संकेत हो।

यो शुभ संकेतले सन् १९४० को दशकतिर असममा बसोबास गरेका लिम्बूहरूबीच प्रगति पथमा हिँड्नुपर्ने कुरा लिएर गतिमयता पाएको थिएन। माल पाएर पनि मालको गुणवत्ता कस्तो छ भनेर त्यसबेला असमका लिम्बू जातिले चाल पाएको थिएनन्। चाल नपाएको कथा यस्तो छ। 

असमलाई आफ्नो जन्मभूमि मानेर यसबेला असममा बसोबास गरिरहेका धेरै लिम्बूलाई थाहा छैन कि, सन् १९४० को दशकमा निर्मलसिंह लिम्बू नामक व्यक्तिले आजको तीनसुकिया जिल्ला– त्यतिबेलाको डिब्रुगढ जिल्ला–अन्तर्गत बिशागाउँ भन्ने गाउँको नजिक २ नम्बर टोकलोंग नेपाली गाउँ बन खोलेर बसाएका थिए। भारतमा राज गरेको तत्कालीन बृटिश सरकारको अनुमोदनमा यसैकारण यस गाउँमा बसोबास गरेका लिम्बूको निजी भूमि–पट्टा छ। उनको समयमा उक्त गाउँमा लिम्बूहरू मात्र थिए। यसैकारण यस गाउँलाई आज पनि लिम्बू गाउँ भनेर जानिन्छ।

निर्मलसिंह लिम्बूले बन खोलेर गाउँ बसाएपछि सन् १९४२–४३ मा उनी यस गाउँका गाउँबूढा भएका थिए।

सन् २००५मा यस गाउँमा साहित्यकार टीका भट्टराईसँग म पुगेको थिएँ। पुग्नुको मुख्य उद्देश्य थियो– मैले त्यसबेला लेखिरहेको उपन्यास माटो बोल्दो हो का लागि तथ्यात्मक कुराहरू बटुल्न। मैले यस गाउँलाई उक्त उपन्यासमा ठाउँ पनि दिएको छु, जुन उपन्यासकी प्रमुख पात्रा दीया छेत्री यही गाउँमा जन्मेकी भनेर उक्त उपन्यासमा वर्णित छ।

म टीका भट्टराईसँग उक्त गाउँमा पुगेपछि निर्मलसिंह लिम्बूका एक मात्र नाति जगतसिंह लिम्बूसँग मिल्ने सुयोग जुर्‍यो। उनकी आमा फिपरानी लिम्बूसँग पनि भेट्न मलाई सुयोग जुर्‍यो। यो भेटाइमा जगतबहादुर लिम्बूले मलाई त्यस बेलासम्म पनि जेगाइराखेको तर टुक्रैटुक्रा भएर टाल्न पनि नसकिने, जिरक्स पनि गर्न नसकिने एउटा प्रामाणिक कागजपत्र देखाए।

त्यो कागजपत्र साधारण कागजपत्र नभएर सन् १९४२–४३ मा उनका बाजे निर्मलसिंह लिम्बू उक्त गाउँका गाउँबूढा थिए भन्ने प्रामाणिक कागजपत्र थियो। जुन कागजपत्र असमिया भाषामा लेखिएको छ। यो कागजपत्रमा डिब्रुगढ जिल्लाको कुनै अफिसको मोहर पनि लागेको थियो। अक्षर एकदमै पुरानिएको तर पढ्न सकिन्थ्यो।

मैले प्रामाणिक कागजपत्रमा भएका कुरा नेपाली भाषामा टिपोट गरे। उक्त कागजपत्र लिइन्। निर्मलसिंह लिम्बूका परिवारको निजी सम्पत्ति हो भनेर। तर मैले जगतबहादुर लिम्बू र उनकी आमासँग भने जान्नखोजेँ – यो कागजपत्रलाई यसरी किन सिंगो राखिएन? च्यातिएको अवस्थामा किन रह्यो?


अल्फाको हत्याकाण्डले रक्तरंजित असमको इतिहास


जान्नखोज्दा गाउँको लिम्बू जातिको पृष्ठभूमि मलाई थाहा भयो। त्यसबेला त्यस गाउँको लिम्बू जाति भनेजस्तो शिक्षित नभएको र पूर्खाले छाडिगएको रुढिगत परम्परा रक्सी (अफिम पनि खान सिकेको)मा भुल्ने – प्रामाणिक कागजपत्रको महत्व नबुझ्ने स्पष्ट छ। त्यसैकारण जगतबहादुर लिम्बूले मलाई देखाएको उक्त प्रामाणिक कागजपत्रको त्यो अवस्था भयो।

मैले यो पनि उनी र उनकी आमाबाट जान्न खोजेँ। निर्मलसिंह लिम्बू गाउँबूढा भएपछि यस गाउँसम्बन्धी अरू प्रामाणिक कागजपत्र पनि उनीसँग थिए भन्नुपर्छ,जो यसबेला तपाईँहरूसँग होलान्?

उत्तर पाएँ– यस गाउँका एकजना नागा महोदय गाउँबूढा भएपछि ती जम्मै कागजपत्र उनलाई दियौँ।हामीलाई काम लाग्दैन, उनी गाउँबूढालाई काम लाग्छ भनेर।

अब उक्त नागा महोदयले ती कागजपत्र उनीहरूलाई फर्काउने होइनन्। यसैलाई भनिन्छ – माल त भेटिएको हो तर मालको मोलबारे चाल नपाएको।

यो कथा २ नम्बर टोकलोंग नेपाली (लिम्बू) गाउँको मात्र होइन, वरन् असममा बस्ने सबै नेपालीभाषीको हो – प्रामाणिक कागजपत्रहरू सम्हालेर राख्न नजान्ने, जसले गर्दा आज असममा राजनीतिले ल्याएको समस्याभित्र आजका हाम्रा नवपीढीले पूर्खाको नराम्रो बानी र गल्ती भोग्नुपरिरहेका छन्।

भोग्नुपरिरहेकाले आजका हाम्रा नवपीढी सचेत हुँदैगइरहेका छन्। यसमा आजका असमका लिम्बू जाति पनि पर्छ।
अबका लिम्बू जाति हिजोको लिम्बू जातिजस्तो छैन। विविध क्षेत्रमा अगाडि बढिरहेको छ। लिम्बू जातिलाई मात्र नभएर आफ्नो सुकर्मले असमका गोर्खा समुदायलाई पनि अगाडि बढाउने भूमिका खेलिरहेको छ। यसका ज्वलंत उदाहरण हुन् असम गोर्खा सम्मेलनका पूर्व अध्यक्ष तथा सांसद मणिकुमार सुब्बा,जो आज हामीबीच छैनन्।

विधायक गणेश लिम्बूले पनि असमका लिम्बू जातिको मात्र नभएर असमका गोर्खा समुदायको पनि प्रतिनिधित्व गरेका छन्। आज असमका नेपालीभाषी समुदायबीच बर्सेनी असमका ठाउँठाउँमा तिहार–उत्सव– समारोह मनाइने गरिन्छ। यस उत्सवको जनक हुन् प्रदीप लिम्बू। जो असमको तीनसुकिया जिल्लाअन्तर्गत माकुम किल्लाका वासी हुन्।

सन् १९८६ मा यिनले दीपावली उत्सव मनाउने उद्देश्यमा माकुम किल्लामा दीपावली उत्सव समिति खोलेर यस समितिका सचिव भईकन उक्त ठाउँमा “दीपावली उत्सव मनाइएको थियो। यस समितिका त्यसबेला अध्यक्ष थिए लालबहादुर छेत्री – दीपावली उत्सव लाई सफलिभूत पार्न माकुम किल्लाका जनताको ठूलो योगदान थियो्। यही “दीपावली उत्सव“ पछि गएर “तिहार समारोहको रूपमा असमभरि गोर्खा समुदायबीच प्रचलित भयो।

यी सबै कुरालाई पर्गेल्दा यसअघि असमको लिम्बू जातिले उत्तरोत्तर प्रगति गरिरहेको छ। असममा लिम्बू जातिले गरेका प्रगतिको विविध कथा अरू पनि धेरै छन्। यीबारे खोज्न अझ बाँकी नै छ। शोध गर्नुपर्ने विषय हो।

आज असमको लिम्बू जातिका युवावर्ग आफ्नो परिचय जोगाइराख्न भनेर कटिबद्ध भएका छन्। आफ्ना परम्परा, संस्कृति, इतिहास, भाषा–लिपि आदि बचाउने तथा संरक्षण गर्ने उद्देश्यमा आफ्ना सबै थोक हाम्रो सर्वोपरि हो भन्दै अरूका थोकलाई पनि नगण्य नसम्झोस् लिम्बू जातिले। मैले यस्तो किन लेखेको भने, आज संसारभरि सबै जातिभित्र पृथकतावादको रोग संक्रमण भइरहेको छ–जातिको नाममा, धर्मको नाममा, भाषाको नाम– अझ परम्पराको नाममा।

हो, हामीले आफ्नो परिचय गुमाउनु हुँदैन। संरक्षण गर्नुपर्छ। अरूको परिचय पनि संरक्षित होस् भन्ने मनोवृत्ति हामीमा हुनुपर्छ। अनि मात्र अरूहरूले पनि हाम्रो परिचय संरक्षित होस् भन्ने मनोकामना गर्नेछन्। यसैलाई भनिन्छ–वसुधैव कुटुम्बकम। यस्तो भए लिम्बू जातिका परम्परा, रीति–रिवाज, संस्कृति, खानपान, भेषभूषा, इतिहास आदिले वट वृक्षको रूप लिनेछन्। जुन वट वृक्षको मुनि बसेर अरू जातिले लिम्बू जातिको उदारचित्तलाई आत्मसात् गर्नेछन्। 

प्रकाशित मिति: : 2021-03-07 10:04:00

प्रतिकृया दिनुहोस्