‘खाद्यान्नमा कोरोनाको असर छैन, चाहिए जति पाइन्छ’ (भिडियो)

सरकारले कोभिड १९ (कोरोना भाइरस) को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ।

नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशङ्काले चाहिने भन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो ।

कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा बिहिबार सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सञ्चारकर्मीसँग पछिल्लो वस्तुस्थितिबारे जानकारी दिई कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गरेका हुन्।

कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्व तयारीका बारेमा जानकारी दिदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारीसमेत गराए।

उनले खाद्यान्न, नुन, चिनी डिजेल पेट्रोल लगायतका वस्तुहरू पर्याप्त मात्रामा रहेको दाबी गरे। मन्त्री भट्टले अन्तर मन्त्रालय समन्वय गरेर बजार अनुगमनलाई तिव्रता दिइएको बताए।

डिजेल, पेट्रोल र ग्यासको संञ्चित गरेर दुर्घटना ननिम्त्याउन पनि उनले आग्रह गरे। सामान्य अवस्थामा २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भए पनि अहिले ४५ हजार मेट्रिक टन आयात भइरहेको उनले बताए।

अहिले सरकारसँग ३० लाख सम्म सिलिण्डर भर्न सक्ने अवस्था रहेको जानकारी दिए। कालोबजारी गर्नेहरुलाई जरिवाना गरिएको उल्लेख गर्दै मन्त्री भट्टले अब जेलसम्मको सजाय हुन सक्ने बताए।

उनले माघमा ४० जना, फागुनमा १०१ जना र चैत ६ गते सम्म ५६ जनालाई कारवाही गरिएको बताए। चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको त्रासमा रहेको नेपालमा सरकारले उच्च सतर्कता अपनाएको छ।

विश्व स्वास्थ्य संगठनलेसमेत उच्च जोखिममा राखेको नेपालमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। सरकारको निर्देशनसँगै स्कुल, कलेज, सिनेमा हल, जिम हल, डान्स बारलगायत बन्द छन् भने सडकमा मानिसको आवतजावत पातलिएको छ। राजधानी छोडेर बाहिरिने यात्रु बढेका छन्। सवारी साधनमा यात्रुको चाप घटेको छ। सभा सम्मेलन र मानिसको भीडभाड हटेको छ।

सरकारले भनेजस्तै कुनै पनि खाद्य बस्तुमा अभाव देखिन्न। बिएल नेपाली सेवाले उपत्यकाका केही खाद्य स्टोरमा गएर कुरा गर्दा कुनै पनि बस्तुको अभाव नभएको पाइयो।

यस्तै अञ्चल खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडका  प्रबन्धक रणबहादुर बुढाथोकीले कुनै पनि  खाद्यन्यमा अभाव नभएको दाबी गरे।

‘खाद्यान्नमा कुनै प्रभाव परेको छैन्। आउनुपर्ने सामान आइरहेको छ’, उनले भने, ‘हामीले आम जनतालाई गुणस्तरीय खाना प्रदान गरिरहेका छौँ।’कोरोनाको त्रास भए पनि आम जनताले सहज रूपमा उपभोग्य सामानहरू पाइरहेको दाबी उनको थियो।

कोरोनाको प्रभावले खाद्यान्नमा असर परेको कुरा हल्ला मात्रै भएको भन्दै उनले अहिलेसम्म त्यस्तो केही असर नपरेको बताए। ‘हामी कहाँ भारतबाट केही खाद्यान्नको सामान आउदैन। जे छ स्वदेशकै छ।’

आफूसँग सबै सामान भए पनि मागेभन्दा कम गरेर बेच्ने गरेको उनले बताए। ‘सबै जनालाई सामान बेच्नु परि हाल्छ। कसैलाई धेरै र कसैलाई थोरै सामान दिनु पनि त भएन नी’, उनले भने, ‘सामानको अभाव त छैन। मात्र कन्ट्रोल गरेका हौँ। फेरि आवश्यकता अनुसार दिएकै छौं।’

यस्तै कोरोनाको प्रभाव भाटभटेनी सुपरमार्केटमा परेको देखिएन।

‘अहिलेसम्म हामीकहाँ कुनै पनि समानको सटेज छैन्। सामान आइरहेकै छ। ग्राहकलाई सेवा पुर्‍यायाइरहेका छौँ,’ अनामनगर भाटभोटेनीका सहायक प्रबन्धक अजय लामाले बिएल नेपाली सेवालाई भने।

जस्तोसुकै अवस्थामा पनि ग्राहकलाई सुविधा दिने आफ्नो कम्पनीको उद्धेश्य रहेको भन्दै लामाले कोरोनाको त्रास खाद्यान्नमा परेको भन्ने कुरा मात्र भ्रम मात्र भएको बताए। ‘ग्राहकलाई आवश्यक पर्ने खाद्यान्नको सामाग्री आइरहेको छ’, उनले भने।

यस्तै चकलेट, बिस्कुट, झोल पदार्थ तथा कस्मेटिक सामाग्री पाइने ‘तारा इम्पेक्स’ मा पनि कोरोनाको कुनै असर देखिन्न। विगत ७ वर्षदेखि काम गदै आएका कर्मचारी देवी खरेलका अनुसार कोरोनाको असर व्यापारमा खासै परेको छैन।

‘ब्यापारमा कोरोनाको प्रभाव परेको छैन। घटबढ पनि देखिएको छैन।’ कोरोनाको त्रास नहुँदा दिनमा १० हजारसम्मको व्यापार हुने भन्दै उनले भने, ‘अहिले पनि त्यतिकै छ व्यापार।’

यस्तै ‘रविन एण्ड सविन ट्रेड’ का व्यापारी राजु क्षेष्ठको पसलमा पनि केही असर देखिदैन। ‘आवश्यक सामान आइरहेको छ’, श्रेष्ठले भने, ‘सामानको अभाव छैन्।’ कोरोनाको असरले व्यापारमा अहिलेसम्म दायाँबायाँ केही नभएको भन्दै उनले व्यापार राम्रै चलिरहेको बताए।

यसैबिच सरकारले आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको बताएको छ।

यस्तै अर्थ मन्त्री युवराज खतिवडाले मूल्यवृद्धि क्रमशः घट्दो दरमा रहेको भन्दै उद्योग क्षेत्रमा चार प्रतिशतले आयात वृद्धि भएको बताए। ‘चीनतर्फको नाकाबाट सामान ल्याउनमा केही समस्याका कारण स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिन नेपालतर्फ ल्याउनेतर्फ पहल भइरहेको छ । त्यसकारण विषम समस्या आउँछ भन्ने अवस्था छैन । कुनै भ्रमित हुनुपर्दैन,’ उनले भने।

चीनको वुहान प्रान्तबाट ५७ दिनअघि फैलिएको कोभिड– १९ बाट विश्वका धेरै मुलुक प्रभावित भए पनि नेपालमा हालसम्म यसको सङ्क्रमित भेटिएका छैनन् । तर विश्व स्वास्थ्य सङ्गठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा सङ्क्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ।

सरकारले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2020-03-21 06:14:17

प्रतिकृया दिनुहोस्