जीवन आचार्य
सबै पुरूषहरू महिलालाई छुन मात्र चाहन्छन्। सँगै सुत्न चाहन्छन्। पुरूषहरूबारे अधिकांश महिलाको धारणा यस्तै हुन्छ।
वास्तवमा प्रेमका भोगी हुन्छन् पुरूषहरू। उनीहरूलाई जीवनको प्रत्येक मोडमा एउटी महिलाको जरूरत पर्छ-पर्छ। बाल्यकालमा आमाको अनि त्यसपछि दिदीबहिनीको। जवानीमा प्रेमिकाको, विवाहपछि श्रीमतीको। बुढेसकालमा छोरा छोरीको, मर्नेबेला नाती नातिनीको।
प्रत्येक मोडमा महिलाले पुरूषलाई झेल्दै आएका हुन्छन्। तर, जीवनको एक मोड यस्तो हुँदोरहेछ जहाँ पुरुषले महिलालाई झेल्नुपर्दोरहेछ।।
१ पूजा: पूजा सुवेदी
हामीबीच लगभग छ-सात वर्षको ग्याप हुँदो हो। सानैदेखि उनी मलाई जिस्काइरहन्थिन्। भन्थिन्, ‘म तँलाई मन पराउँछु, बिहे गर्छस् मसँग?’
म लाजले भुतुक्कै हुन्थेँ। रातो र पिरो हुन्थ्यो मेरो अनुहार। म उनको नजरबाट सक्दो चाँडै भाग्न खोज्थेँ। त्यही बेला उनी मेरा दुवै हात चरप्प समातेर देब्रे गालामा कडप्प टोक्थिन्। म चिच्याइ चिच्याइ रून्थेँ।
म रोएको सुनेर आमा दगुर्दै आइपुग्नुहुन्थ्यो। र, उनलाई खुब गाली गर्नुहुन्थ्यो। आमा भन्नुहुन्थ्यो, ‘अर्कोपटक मेरो छोराको आसपास आइस भने तेरा खुट्टा भाँचिदिन्छु।’
‘मैले त माया लाएर म्वाई खाएकी मात्र हो। हजुरको रून्चे छोरो त्यस्सै नखरा पार्छ,’ मेरा गाला तान्दै उनी भन्थिन्।
म झन् चर्को स्वरमा चिच्याइ चिच्याइ रून्थेँ। ‘ए! ए! होइन होइन’ त्यति भन्दै उनी पर सर्थिन्।
‘हेर त दागै बनाइदिइछे’ मेरो गाला मुसार्दै आमा भन्नूहुन्थ्यो। उनी मुस्कुराइरहेकी हुन्थिन्। आमाले मलाई देखाउन उनलाई पिटे झैं गर्नुहुन्थ्यो। म थोरै शान्त हुन्थेँ। तर, मलाई याद छ, आमाले उनलाई कहिल्यै पिट्नुभएन।
मैले कक्षा सातको परीक्षा दिँदा उनले बि.ए पास गरिसकेकि थिइन्। र, मलाई पहिला जस्तो जिस्काउन छोडिसकेकी थिइन्। बरू म उनलाई जिस्काउन खोज्थेँ। तर हिम्मत भने कहिल्यै गरिनँ।
उनलाई माग्न शहरदेखि कैयौं केटाहरू आएका थिए। घरका सबै मञ्जुर भए पनि उनले सबैलाई इन्कार गर्दै आएकी थिइन्। पछि घरको करले हो या आफ्नै खुशीले अन्ततः उनले शहरको एउटा केटासँग बिहे गर्ने निधो गरिन्।
बिहेको निम्तो दिन घरमा उनी स्वयं आएकी थिइन्। घरमा म एक्लै थिएँ। मेरो हातमा सुपारी थमाइदिँदै उनले भनिन्, ‘दुई तारिक दही खाने, चार तारिक बिहे। आमा बुवा दुवैलाई भन्दे ल!’
मैले ‘भन्दिन्नँ’ भनेँ। उनी सेता दाँत देखाएर फिस्स हाँसिन्। म एकजोर आँखाले उनीसँग नजर जुधाइरहेँ। ‘के हेरेको त्यसरी क्वार क्वारती?’ मेरो पाखुरामा प्याट्ट पिट्दै उनले सोधिन्।
उनका दुवै हात एउटै हातले समाएर अर्को हात उनको गालामा राख्दै भनेँ, ‘म तपाईँलाई प्रेम गर्छु।’
मेरो भुँडीमा एक मुक्का हानेर उनले मेरो प्रेमलाई ‘पागल’ को इनाम दिइन्।
बचपनमा उनले मेरो गाला टोक्दा पनि त्यति रोएको थिइनँ सायद, जति उनको बिहेको दिन रोएको थिएँ।
२. पल्लवी: पल्लवी सिवाकोटी
ऊसँग मेरो भेट हाइ स्कुलमा भएको थियो। म कक्षा नौ मा थिएँ। ऊ दशमा पढ्थी। उसको क्लास र मेरो क्लास अगलबगल मै पर्थ्यो।
झम्का भेट हुँदा हाम्रा आँखा लुकामारी खेलिरहन्थे। प्रायःजसो ऊ लुकाउँथी। म हेरिरहन्थेँ उसलाई।
एक दिनको त्यस्तै झम्का भेटमा मैले ओठ नखोली मुसुक्क हाँसेर बताएँ। कफी कलरको ओठ खोलेर उसले मुस्कान फर्काइ। ऊ हाँस्दा अनारका दाना जस्तै मिलेका सेता दाँत टिर्लिक्क टल्किए। जब ऊ मुसुक्क हाँस्थी, उसका दुवै पट्टीका गालामा सुन्दर खोपिल्टा पर्थे। मलाई ती खोपिल्टामा चुम्बन दिन मन लाग्थ्यो।
आँखाबाट ओठ बोल्न थालेका थिए। झम्का भेटमा मुस्कानको सुरुवात उसले गर्न थालेकी थिई। मुस्कानलाई प्रेममा रुपान्तर गर्ने निडर मैले गरेँ।
लभ लेटर लेखेर उसले थाहा नपाउने गरि उसको ब्यागमा राखिदिएको थिएँ। त्यसको जवाफ एक हप्ता पछि उसले मेरै हातमा आएर थमाइदिएकी थिइ। साच्चै! हिम्मतवाली हो केटी।
सुरू सुरूसमा चिठी साटासाट गरिन्थ्यो। पछि एउटा किताब नै बनायौं हामीले। पहिलो दिन ऊ लेख्थी र अर्को दिन मलाई दिन्थी। अर्को दिन म लेख्थेँ र अझ अर्को दिन उसलाई दिन्थेँ।
पछि हामी चोरीचोरी भेट्न पनि थाल्यौं।।
जति हाम्रो भेट बाक्लिँदै गयो, प्रेमले झन् बहादुर बनाउँदै गयो हामीलाई। कसैको प्रवाह, कसैको डर लाग्न छोडेको थियो। हामी पब्लिक प्लेसमा पनि एकअर्कालाई भेट्न थाल्यौं।
बिहान स्कुल जाँदा उसको घर अगाडिको गल्लीसम्म म उसलाई लिन जान्थेँ। बेलुका उसलाई त्यहीँसम्म छोड्न पुग्थेँ। दिउँसोको खाना खाँदा ऊ आफ्नै हातले मलाई खाना खुवाँथी। बिदाइको दिन चौतारीमुनी एकअर्काको अंगालोमा दिनभर बिताउँथ्यौं। मिठाइँहरू सबै खाएर सकेपछि एउटै चुइगम पालैपालो चबाउँथ्यौं।
कसम! क्या रमाइला थिए हाईस्कुलका ती दिनहरू। सम्झिँदा पनि त्यहीँ समयमा फर्केर जाऊ जाऊ लाग्छ।
कक्षा दशको अन्तिम परीक्षाको दिन थियो त्यो। ऊ परीक्षा सकाएपछि सिधै मलाई भेट्न आएकी थिइ। र, मलाई देख्नासाथ अंगालोमा बेरेर डाको छोडेकी थिइ। मलाई लाग्यो, उसलाई परीक्षा दिन आएन। तर कुरो अर्कै थियो।
ऊ म्यान्मार छोडेर सधैका लागि नेपाल जाँदै थिइ। बाँकी रहेको पढाइ उतै गर्ने बताइकी थिइ उसले। मैले उसलाई रोकिनँ। उसको निधार एकपटक चुमेर मुस्कुराउँदै बिदा दिएको थिएँ।
जब ऊ मेरा नजरबाट लुप्त भएकी थिइ, तब देब्रे आँखाबाट एक बुन्द आँसु फुत्त हामफालेर गाला तर्फ दौडिएको थियो। मलाई याद छ, त्यतिबेला मैले आँसु पुछेको थिइनँ।
३. ज्योती: ज्योती बस्नेत
ऊ ब्याचलर फाइनलमा थिइ। म बल्ल एजिटिआई सकेन्डमा थिएँ। ऊ र म बीच दुई वर्षको ग्याप भए पनि ऊ म भन्दा सानै देखिन्थी। उसको र मेरो मेजर एउटै थियो। ऊ सिनेमा कि भोगी थिइ। हप्तामा एकदिन क्लास बङ्क गरेरै सिनेमा हेर्न गइन्थ्यो। म कहिलेकाहीँ नाइनास्ती गर्थेँ। ऊ भन्थी ‘ह्या! म पढाइदिहाल्छु नि’ साच्चै पनि, टिचरले क्लासमा एक घन्टा लगाएर पढाउने पाठ ऊ मलाई दस - पन्ध्र मिनेटमै बुझाइदिन्थी।
मलाई अझै पनि याद छ। उसलाई आमासरी नै सताउँथेँ म। ऊ मसँग कहिल्यै रिसाइन। बरू मसँग रीस उठ्यो भने बिचरी एक्लै बसेर रून्थी। मैले उसलाई कहिल्यै फकाइनँ। तर ऊ रोएको भने पटक्कै देख्न सक्दिनँ थिएँ। ऊसँग सँगै बसेर रोइदिन्थेँ। ऊ उल्टै मलाई फकाउन लाग्थी।
ऊसँग बिताएको त्यो दुई साल, मलाई आज पनि दुई दिन जस्तै लाग्छ। कसरी बित्यो मलाई पत्तै भएन।
उसको कलेज सकियो। म ब्याचलर फस्ट इयरमा थिएँ। सुरुसुरुमा हप्तामा एक दिन ऊ मलाई कलेजसम्म भेट्न आउँथी। कहिलेकाहीँ म उसलाई भेट्न तीन घन्टासम्म बाइक कुदाएर उसको शहर पुग्थेँ।
खै! किन हो?
बिस्तारै बिस्तारै हाम्रो भेटघाट पातलिँदै गयो। फोनमा बिताउने समयहरू घन्टौंदेखि मिनेटमा बद्लिदै गए। च्याटमा सन्नाटा छाउन थाल्यो।
एक्कासी एकदिन मलाई खबर नगरी ऊ मेरो कलेज आइपुगेकी हुन्छे। म उसलाई देखेर खुशी हुँदै दगुर्दै गएर अँगालोमा बेर्छु।
‘तिमीलाई केही कुरा भन्नू छ,’ मेरो अँगालोबाट बिस्तारै फुत्किएर नजरलाई अन्यत्र लाँदै ऊ भन्छे।
‘भनन’ म नजर जुधाउने प्रयास गर्दै भन्छु।
‘मेरो बिहे हुँदै छ!’ त्यति भनिसक्दा उसका दुवै आँखाबाट आँसुका नदी भेल सरी बगेर जान्छन्।
म जवाफमा मौनता मात्र फर्काउनसक्छु। ऊ मलाई कसेर अँगालोमा बेर्छे। म अझै पनि स्तब्ध नै छु।
करीब तीन मिनेटपछि केही बोल्नु जरूरी ठानेँ। र, सोधेँ, ‘ऊ को हो?’
अनि त्यसपछि, उसले आफ्नो हुनेवाला श्रीमानबारे उसलाई जे जती थाहा थियो सबै बताइ। म केही नबोली चुपचापले सुनिमात्र रहेँ।
र, छुट्ने बेला उसका दुवै हात चुमेर उसलाई बिदा गरेँ। खै! किन हो? त्यतिबेला मलाई रून आएन।
जब राति केटाहरूसँग बसेर रक्सी पिएको थिएँ। तब डाँको छोडेर रोएको थिएँ रे! बिहानपख केटाहरूले बताएका। तर मलाई याद छैन।
४ मायिला: मायिला कुरैशी
ऊसँग मेरो भेट ब्याचलर फाइनलमा भएको थियो। ज्योती पश्चात् ऊ आएकी थिइ मेरो जिन्दगीमा। मेरो घाउको मलहम बनेर। ऊ मुस्लिम थिइ। म हिन्दू। परन्तु प्रेमले मुस्लिम-हिन्दू कहाँ भन्दोरहेछ र!
मलाई सबैभन्दा अधिक उसको कसिलो ओठले लोभ्याउँथ्यो। मलाई ऊसँग एकान्त पाउँनै हुँदैनथ्यो। पाइसक्दा म एकैचोटि उसको ओठ चुम्न झम्टिन्थेँ। उसको तल्लो ओठ पाकेको स्ट्रबेरी जस्तै रसिलो थियो। तर, मलाई उसको ओठको रस भन्दा जिब्रोको स्वाद झन् मीठो लाग्थ्यो।
पछि हाम्रो भेट हुनुको मतलब नै एकअर्काको ओठ चुम्न कै निम्ति जस्तो भइसकेको थियो। उसको ओठ चुमिरहँदा आफ्ना हात उसका गालादेखि गर्धन, र गर्धनदेखि छातीसम्म पुर्याउने हिम्मत मैले गरिसकेको थिएँ। ऊ मेरो र्सटका बटन खोलेर मेरो सेतो छातिका काला रौं हरु खेलाउने भइसकेकी थिइ।
हाम्रो परीक्षा सकिएको थियो। त्यो साँझ हाम्रो अन्तिम साँझ थियो। ऊ मेरो अंगालोमा थिइ। पछाडिबाट मैले आफ्ना दुवै हात उसको कमरमा बेरेको थिएँ। मेरा हातलाई थोरै फुकालेर म तिर फर्केर मेरा हात आफ्नो कमरमा फेरि कस्दै उसले भनी, ‘हिजो घरमा तिम्रोबारे बुवालाई बताएकी थिएँ।’
‘के भन्नू भयो त?’ औपचारिक प्रश्न थियो मेरो।
‘उसले आफ्नो धर्म त्यागेर हाम्रो धर्म मान्न तयार छ भने हुन्छ भन्नुभयो’ मेरा आँखामा हेर्दै उसले भनी।
मैले जवाफ दिन जरुरी ठानिनँ।
उसले थप प्रश्न गर्ने हिम्मत गरिन। छुट्ने बेला उसको स्वादिलो ओठ चुमेर उसलाई बिदा गरेँ। ऊ आँखाभरि आँसु बोकेर मलाई हेरिरहेकी थिइ। मैले पछाडि मोडेर हेरिनँ।
५ कविता: कविता पराजुली
ऊसँग मेरो भेट अनलाईनमा भएको थियो। एक हप्ताको च्याटिङ पश्चात् दुई रात तीन-तीन घन्टा फोनमा समय बिताएर उसलाई प्रपोज गरेको थिएँ।
ऊ फस्ट इअरमा थिइ। मैले जब गर्न लागिसकेको थिएँ। महिनावारी सुरु हुन लागेको एक साल पूरा नभएकी, ऊ भर्खरकी एक तरूनी। म चार वटी आइमाईलाई प्रेम गरिसकेको एक परिपक्क पुरूष। उसलाई आफ्नो प्रेममा पार्न मैले धेरै मेहनत गर्न परेन।
ऊ बिहान बिउँझिसक्दा मलाई फोन गर्थी। राति मेरो आवाज सुन्न नपाए निदाउँदैनथी। तर हामीले एकअर्कालाई देखेका भने थिएनौं।
आखिर त्यो दिन पनि आयो। पहिलोपटक बाहिर भेट्न इजहार उसैले गरेकी थिइ।
साच्चै! मैले कल्पना गरेभन्दा धेरै राम्री थिइ ऊ। गोल परेका स-साना आँखा, काला लामा आँखीभौं, पातलो ओठ, स्पाइरल कपाल, खिरिलो कमर, युकलिटसका हाँगा जस्तै सुरिला र सग्रा पाखुरा।
‘उफ्! परीहरु कथामा मात्र होइन हकिकतमा पनि हुँदारहेछन्,’ पहिलोपटक नजर जुद्धा मैले भनेको थिएँ।
प्रतिउत्तरमा ऊ मुस्कुराएकी थिइ। लजालु मुस्कान।
फोनमा घन्टौंसम्म बोलिरहने ऊ त्यसदिन कम नै बोली। आधा घन्टा नहुँदै उसले जान्छु भनी।
मैले वेटरलाई इशारा गरेर बोलाएँ। वेटर हिसाब गर्दै थियो, उसले आफ्नो ब्यागबाट एक हजारका दुईवटा नोट निकालेर मेरो अगाडि राखिदिइ। टोटेल तीन हजार लागेको थियो। दुई हजारमा एक हजार थपेर वेटरको हातमा थमाइदिएँ।
दुई हजार पाँच सयको त उसैले खाएकि थिइ। मैले जम्मा पाँच सय खाल्के कोल्ड्रिङ पिएको थिएँ।
‘आऊ म तिमीलाई बसस्टपसम्म छोड्दिन्छु,’ क्याफेदेखि बाहिरिएपछि मैले भनेँ।
ऊ टक्क अडिइ। र, मेरा आँखामा सिधा प्रवेश गर्दै बोली ‘म आजसम्म बस चडेकी छैन।’
मैले अक्ट फिल गरेँ। र, ऊदेखि नजर हटाएँ।
घर पुगेपछि उसलाई म्यासेज गरेँ, ‘Thank you! Today for your time and cute smile.’
आधा घन्टासम्म रिप्लाई आएन। अर्को म्यासेज गरेँ ‘Did you arrive home safely?’
अँ ह! रिप्लाई आएन। फोन लगाएँ। स्वीच अफ। फेसबुक खोलेँ। उसले मलाई ब्लक गरिसेकी थिइ।
अनि त्यसपछि, प्रेमको पछि भाग्न छोडेर मैले आफ्नो करियरमा फोकस गर्न थालेँ। चार वर्ष बित्यो। भर्खर प्रमोशन मिलेको थियो। महिनाको प्रन्ध्र लाख स्यालरी थियो। तर, अर्काको नोकरी गर्ने मन हराइसकेको थियो। बैंकमा पैसा टन्न थिए। सोचेँ, अब आफ्नै बिजनेस सुरू गर्छु।
तर त्यो भन्दा पहिला मलाई सेटल हुनु थियो। आमालाई गएर भनें, ‘आमा! अब बिहे गर्नुपर्छ होला!’
आमा खुशी हुँदै सोध्नु हुन्छ, ‘गर्ल फ्रेन्ड बनाएको छस्?’
मेरो दिमागमा सबैभन्दा पहिला ज्योतीको नाम याद आउँछ। फेसबुक खोलेर उसको प्रोफाइल चियाउँछु। सबैभन्दा माथि उसले आफ्ना दुइटा छोराको तस्बिर पोस्ट गरेकि छे।
खै! किन हो? मलाई उसको कान्छो छोरो म जस्तै लाग्छ।
समाप्त
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया