बेल्जियमको सेल्फ क्वारेन्टाइन : कुरूप कोरोनाको 'सुन्दर उपहार' 

बेल्जियमको सेल्फ क्वारेन्टाइन : कुरूप कोरोनाको 'सुन्दर उपहार' 

दुई वर्षअघि लुम्बिनीमा १० दिने विपश्यना गर्दा सुरुका दिनमा निकै अप्ठेरो महसुस भएको थियो। दिनको १० घण्टा ध्यानमा लीन भएर मौन रहनुपर्ने कडा नियमले त्यस्तो महसुस हुनु असामान्य थिएन। पहिलोपटक भएकोले नयाँ अनुभव हुनु पनि स्वभाविक थियो। कोरोनापछिको बेल्जियमले लागु गरेको सेल्फ क्वारेन्टाइनमा अहिले  विपश्यनाजस्तै तर केही सहज स्थिति अनुभव गर्दैछु ।

१० दिअघि शुक्रबार बिहान सपिङ गर्न गएको थिएँ। सबै सुपरमार्केट भरिभराउ थिए। मानिसको भीँड निकै कम थियो। जर्मनी, स्पेनतिरबाट सुपरमार्केट खालि हुन लागेको समाचार आउन थालेको थियो। मैले पनि कम्तीमा दुई साता पुग्नेगरी खानाको जोहो गर्न सपिङ गरेँ।

बेल्जियममा पनि सोही अवस्था हुनसक्नेमा द्विविधा नै थिएन। सामान किनेर राखनुस् सर्टेज हुनसक्छ भन्दा धेरैले मलाई किन आत्तिएको ?, त्यस्तो केही हुँदैन बेल्जियममा भनेर गिज्जाए पनि । तर, खै किन हो मेरो मनमा भने केही गढबढ हुन्छ भन्ने लागेकै थियो।

नभन्दै त्यस्तै भयो। सोही शुक्रबार साँझ ४ बजेपछि सबै सुपर मार्केट भरिभराउ भए। एक-डेढ घण्टा लाइन बसेर खोसाखोस गरेर सामान किनियो। लगभग सामान पनि सकियो। यसबाट मानिसलाई आफ्नो जीवनप्रति कति धेरै मोह रहेछ भन्ने पनि देखायो। 

सोही दिन साँझ बेल्जियम सरकारले कोरोनाबाट नागरिक संक्रमित नहुन् भन्ने उदेश्यले नयाँ नियम लागु गर्यो। अत्यावस्यक पसलबाहेक सबै अप्रिल ३ सम्म बन्द गर्ने भनेर सूचना जारी गर्यो। रेस्टुरेन्ट,क्याफे ,स्कूललगायत सबै पूर्ण रूपमा बन्द गरिए । वृद्धवृद्धा राख्ने ठाउँलाई पूर्ण रुपमा नयाँ सिस्टमबाट चलाउन निर्देशन दिइयो। उनीहरूलाई सोही दिनदेखि सेल्फ क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो। बाहिर निस्कन समेत बन्देज गर्यो। मानिसलाई अत्यावस्यक काम बाहेक अरुबेला ननिस्कन भन्यो। तर, आफ्नो परिवारसँग केही छोटो समयको लागि हिँडडुल गर्न मिल्ने, अरूसँगको दूरी डेढ मिटर हुनुपर्ने नियम जारी गर्यो।नियम उल्लंघन गर्नेलाई कडा जरिवाना लाग्ने ब्यबस्था पनि गर्यो। सुरुमा १० जना संक्रमित रहेको बेल्जियममा अहिले तीनहजार पाँचसमयभन्दा बढी संक्रमित भैसके भने ८० जनाको त मृत्यु नै भैसक्यो। 

अहिले मलगायत सबैजना सेल्फ क्वारिन्टिनमा घरमै छौं। यसरी घरमा बस्दा सुरुका २/३ दिन त रमाइलो नै भयो। त्यसपछिका दिन भने कटाउन सहज भएनन्। कसरी कटाउने भनेर सोचिरहेकै बेला मलाई एउटा आइडिया आयो - युटुब हेरेर खाना पकाउन सिक्ने। मेरो पेशा नै कुक भएकोले पनि यसै पनि मलाई खाना बनाउन निकै मन पर्छ। अहिले म युटुब हेरेर नेपाली, इन्डियनलगायतका नयाँ प्रकारका खाना बनाउन सिक्दैछु। नेपाली तथा विदेशी लेखकका पुस्तक अध्ययन गर्दैछु। लगभग ३ वर्षकी छोरी छिन्। उनलाई नेपाली सिकाउँदैछु। लेख्न सिक्दै गरेकी छोरी बोल्न चाहिँ प्रस्ट नै छिन्। उनलाई राम्रा आनीबानी सिकाउन पनि यो समयले साथ दिएको छ। अरुबेला हाम्रो भेट यति बाक्लो हुँदैन। मेरो विदा बाहेकका दिनमा उनी र मेरो भेट दिनको एक-दुई घण्टा मात्रै हो। उनी विद्यालय जाने, म काममा जाने। यो सेल्फ क्वारेन्टलन समय मेरो र मेरी छोरीको लागि राम्रो अवसर हो। धन्यवाद कोरोना यो अवसर जुटाइदिएकोमा।

दिनको एक घण्टा ध्यान गर्छु। विपश्यनापछि ध्यानप्रति मेरो मोह बढेर गएको छ।जीवन बुझ्ने तरिकामै परिवर्तन आएको छ।

ध्यान गर्दा अर्कै आनन्द आउँछ। विचारको द्वन्द हुन्छ। नकारात्मक विचार ध्यानले जलन गराउँछ। ध्यान गर्ने समयमा मैले सबै बिर्सिसकेको हुन्छु। म कहाँ छु ?, कुन अवस्थामा छु भन्ने समेत चेत हुदैन। विशेष चाडपर्व, पूर्णिमाको दिन, शनिवार म विशेष मन्त्रसहित ध्यानमा लीन हुन्छु। म मन्त्रमा शक्ति हुन्छ भन्ने कुरामा विश्वास गर्छु।र, त्यो शक्ति प्राप्त गर्न ध्यान जरुरी छ भन्ने मलाई लाग्छ। अहिलेको यो समय विपश्यना ध्यान र मन्त्र ध्यानलाई दिएको छु।

यसबाहेक गौर गोपालदासका प्रेरणादायी भिडियो, सदगुरुका प्रवचन, ज्योतिषशास्त्रका सामग्री अध्ययन गर्ने प्रशस्त समय पाएको छु। जसले गर्दा हरेक कुरामा नकारात्मकभन्दा सकारात्मक पाटोलाई बढी प्राथमिकता दिनुपर्दछ भन्ने मान्यता ममाथि हावी हुदैछ। 

म यतिबेला बेल्जियममा सेल्फ क्वारिन्टिनमा छु। सुरूका केही दिन आराम गर्न पाइयो भनेर एक किसिमको खुशी नै लागेको थियो तर त्यसपछि त समय कसरी कटाउने भन्ने नै समस्या हुन थाल्यो। अहिले म ध्यान गर्न, अध्ययन गर्न, खानाका परिकार पकाउन, परिवारलाई समय दिनलगायतका काममा समय दिइरहेको छु। मलाई लाग्छ, कुरूप कोरोनाको यो सुन्दर उपहार हो।

सामाजिक सञ्जालमा व्यक्त विचार हेर्छु। मानिस नकारात्मक कुराको प्रचार प्रसार गर्न आतुर देख्छु। चाहे मिडिया होस् वा सर्वसाधारण नै किन नहुन्। अझै नेपालको सवालमा यो त निकै पपुलर विषय बनेको छ। मानिस सकारात्मक पाटोलाई बढवा दिन सकिरहेका छैनन। जसको कारण धेरै मानसिक समस्यामा पर्ने पनि देखिन्छ। यदि कुनै पनि कुराको सकारात्मक पक्षलाई बढवा दिने हो भने समाजमा द्वन्द कम हुन्छ।सबैको कल्याण हुन्छ, सबैको भलो हुन्छ। अन्तत: सबै खुसी रहन्छन् ।

बेल्जियम सरकारले कोरोना बाट बेरोजगार भएकालाई मासिक १५ सय युरोसम्म दिने घोषणा गरेको छ। घरको लोन, बिजुली, पानी, विद्युत खर्चमा पनि सहयोग गर्ने घोषणा गरेको छ। यो घोषणासँगै आत्तिनुपर्ने अवस्था छैन। तर पनि दैनिक आफ्नो काममा व्यस्त रहने शरीरलाई धेरै आराम पनि पचाउन गाह्रो पर्ने रहेछ। यो पनि मज्जाले अनुभव गर्न पाएको छु।

कोरोनापछिको विश्व

"परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठानेका छौ, त्यो नै जीवन हो। एक क्षणमा तिमी करोडौको मालिक बन्छौ, अर्को क्षणमा तिमी दरिद्र बन्न पुग्छौ। मेरो-तेरो, सानो-ठूलो, आफ्नो-पराई, मनबाट हटाइदेऊ, त्यसपछि सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौ।"

यो पंक्ति गीताको सारमध्यको एक हो। जुन अहिले वर्तमान संसारको स्थितिसँग ठ्याक्कै मेल खान जान्छ। निम्न आय हुने व्यक्ति होस् वा संसारकै धनी व्यक्ति किन नहोस्, कोरोनासामु दुबै समान छन्।

कोरोनाको प्रकोपपछि मै हुँ भन्ने देशलाई पनि आफ्नो हैसियतमा फर्काइदिएको छ। ठूल्ठूला हतियारसहित सम्पन्न हुँ भन्ने देशका ती हतियार कोरोना भाइरसले बेकामे बनाइदिएको छ। संसारका सारा जल्दाबल्दा मुद्दा फिक्का भएका छन्, केही गाढा भएको छ भने त्यो कोरोनाको कहर मात्रै गाढा छ।

ठीक दुई साताअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई दोष थुपार्दै कोरोना भाइरसको जन्मदेश भनेर आरोप लगाए। ट्रम्पले कोरोनालाई चिनिया भाइरसको संज्ञा दिँदै ट्वीटसमेत गरे। तर, आज त्यही ट्रम्पको देश विश्वमा कोरोना संक्रमितको संख्याको आधारमा तेस्रो पंक्तिमा आइपुगेको छ भने मृतकको संख्याको आधारमा पाँचौ।

सुरुका दिनमा राजनैतिक किचलोमा परेको इटालीले हेलचेक्र्याइँ गर्दा आज हजारौंको ज्यान गएको छ। कसलाई बचाउने. कसलाई छाडने स्थितिमा त्यहाँका डाक्टर र स्वयंसेवक पुगेका छन्। अहिले मृतशरीरको व्यवस्थापन गर्न समेत सास्ती छ।

आखिर जिन्दगी के रैछ त?,  सबैलाई सोच्न बाध्य पनि बनाएको छ कोरोनाले।

चीनबाट सुरु भएको कोरोना अहिले विश्वभर फैलिएको छ।

अहिले सम्पूर्ण विश्व मानव जातिको उद्धारको लागि र सामाजिक दूरीमा छ! कोरोना भाइरस मानव जातिको लागि सबैभन्दा ठूलो आपत पैदा गर्दैछ तर यतिकै बेला यसले हामीलाई केही सत्य स्वीकार गर्न पनि बाध्य पार्दैछ।

यति धेरै देशमा जनावर र चरा स्वतन्त्र रूपमा घुम्न थालेका छन् । भेनिस सहरका नहरमा डल्फिन देखिन थालेका छन्। सबै देश लकडाउन हुँदै गर्दा प्रदूषणमा कमी आउने पनि निश्चिन्त छ। इकोसिस्टम सन्तुलन गर्न कोरोना महामारीले सहयोगी भूमिका खेल्न सक्ने देखिन्छ। मानिस मांसाहारीबाट साकाहारी हुन थालेका छन्। धर्मप्रति मानिसको आस्था बढन थालेको देखिन्छ।

कोरोनाकै कारण कतै पनि कुनै देशमा राजनीतिक मतभेद भैरहेको छैन। कुनै पनि राष्ट्र एक अर्कासँग लडिरहेक् छैनन्। हरेक मानिस अर्को मानिसको सुस्वास्थ्यका लागि  प्रार्थना गरिरहेका छन्। यसले अझै पनि  हामीमा मानवता बाँचिरहेको छ भन्ने सन्देश पनि दिएको छ। कोरोनाका लाख खरावी भए पनि यसले मानिसलाई वसुधैव कुटूम्बकमको पाठ पढाइरहेकै छ। 

 

 

प्रकाशित मिति: Mar 25, 2020 18:44:20

प्रतिक्रिया दिनुहोस

सबै