कथित राष्ट्रवाद –मुर्दावाद

कथित राष्ट्रवाद –मुर्दावाद

राणा शासनमा राणा शासकहरुमा विदेश र समग्र विदेशी सहायता प्रति पटक्कै रुचि थिएन । किनकि उनीहरुका नजरमा विदेशी सहायताको अर्थ नीजि वा आन्तरिक मामलमा बाह्य हस्तक्षेप थियो । उनीहरु नेपाललाई अरु राष्ट्रसँग अलग्गै राख्न पाएकोमा धेरै हद्सम्म सन्तुष्ट थिए ।

सदियौँदेखि चलिआएको आर्थिक प्रणालीलाई नै उनीहरुले चलाइराखेका थिए । यो वास्तवमै नेपाललाई आफ्नै मौलिकतासहितको समृद्ध नेपाल बनाउने उनीहरुको गुरु योजना थिएन । 

उनीहरु स्थानीय नेपालीलाई बाह्य संसारको शिक्षा र यसको कारण विश्वले अनिवार्य अवलम्बन गर्नु परेको प्रजातान्त्रिक शासन व्यवस्थासम्बन्धी सूचनाबाट अलग्याउन चाहन्थे । वास्तवमा त्यो त खाटि राष्ट्रवाद भन्दा पनि कथित राष्ट्रवाद वा वर्णवादी हिन्दुवाद रहेको थियो । इतिहासको लामो कालखण्डपछि मात्र आम सर्वसाधरणले एउटा देश नाम गरेको पिंजडा तोड्न सफल भए । 

फलस्वरुप अहिले नेपाली नपुगेको सम्भवत देशै नहोला । जानेर वा अन्जान, चाहेर वा नचाहेर... खुसीको कुरा पनि हो र चरम दुःख अनि लज्जाको कुरा पनि ।

यहाँ एउटा विडम्बनाको कुरा यो पनि छ, यहाँका तथाकथित उच्च जातिका मानिस यो देशलाई अहिले पनि हिन्दु (विभाजनकारी वर्ण व्यवस्थामा आधारित हिन्दुवाद) राष्ट्रको रुपमा देख्न चाहन्छन् । एकातिर उनीहरु यहाँका दलित, गरिब, जनजातिका घरका धुरिबाट क्रिस्चियन धुन फैलिरहेको कदापि देख्न चाहन्न ।

तर अर्कोतिर विदेशी चर्चमा भेटि स्वरुप संकलित रकमबाट नेपालमा संचालित युएन तथा त्यस्तै खाले विदेशी दातृ निकायका ठूलाठूला पदमा बसेर मासिक लाखौं लाख रुपैयाँ तलब पनि बुझिरहेका छन्। घरभित्र एक, बाहिर अर्को । यस्तो द्वैध मानसिकताले न त समाजमा एक अर्काप्रति विश्वासनियताको वातावरण नै बनाउँछ, न त वैदेशिक सम्बन्धलाई नै गठिलो बनाउन मद्धत गर्छ । 

यतिखेर कर्णालीमा प्रचलित एउटा कथनको याद आयो । ‘हरियो परियो, मेरो गादो भरियो’ अथवा जसरी भएपनि मेरै पोल्टोमा परेको वेश भन्ने प्रचलनले के देखाउँछ भने कुनै कुराको ठूलो भाग आफूतिर पर्ने पक्का भएमा यो राष्ट्रवाद, साष्ट्रवाद भाड मे चले जाय भन्न बेर नलगाउने। तर, आफूले काम नपाएको वा गफाडी रोजगार वा बेरोजगार भएको बेला भने नेपाल हिन्दु देश हुनुपर्छ। 

बाह्य सहयोग भनेको हाम्रो धर्म माथिको आक्रमण हो भन्दै चर्का नारा लगाउदै विभाजनकारी हिन्दुवादको संरक्षण गर्ने लक्ष्य सहित राष्ट्रिय एकताको ढ्वाङ फुक्ने ? के यो देश बचाउने जिम्मा हिन्दुहरुको ठेक्का हो ? के वास्तवमा हिन्दुहरुले चलाएका सबै चालहरु प्रति यहाँका गरिब दलित,आदिबासी, जनजाति (जो पछि इतिहास बिर्सेर वा दबाबमा हिन्दु भनिन विवस भए) पूर्णतया सन्तुष्ट छन् त ?

यो विषयमा पछि पनि अवश्य छलफल र बहस होलान। अहिले एकछिन् कुरालाई कोरोना सिर्जित राष्ट्रवादतिर मोडौं । कोरोना एउटा भाइरस जसले विश्वलाई नै हल्लाई दिएको छ । 
यतिसम्म कि विश्वका महाशक्ति राष्ट्रबीच यसकै प्रसंगलाई लिएर खुवै तनावको स्थिति पनि बनिरहेका छन् । एक हिसाबले यो मानव स्वास्थ्य सम्बन्धी एजेण्डा मात्र नभएर आर्थिक,सामाजिक र राजनैतिक रुपमा विश्वब्यापि एजेण्डा बनिसकेको छ ।

कोरोना सम्बन्धी एउटा प्रसंग यस्तो बन्यो– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट समाजशास्त्रमा स्नातकोत्तर सकेर जापान भाँसिएका एक जना दाई ६ वर्षपछि कोरोनाको अवसर पारेर नेपाल फर्के छन् । जाँदाजादै बाटोमा भेट भयो । साधारण औपचारिकता पछि मेरो जिज्ञासु मनले दाई जापान कस्तो रहेछ भनि सोध्छ? प्रश्नले भुई नटेक्दै उनी एकदमै उत्साहित, अझ भनौ आक्रामक भएर भन्न थाले ‘ह्या... भाई कुरै नगर । जापान त स्वर्ग हो स्वर्ग । एदमै विकसित छ यार । काठमाडाैं भन्दा त हजारौं गुणा राम्रो छ । मुगुभन्दा त झण्डै लाखौं गुणा राम्रो होला यार । हाम्रो विकास त के विकास? छ्या । यहाँ त नेता पनि राम्रा छैनन्। अब हेर त त्यो माथि मुगुमा गाउँपालिकाको अध्यक्षको के हैसियत छ?’

मनमनै लाग्छ सडक पेटिमा गिट्ठी कुट्नेदेखि त्रिवी हाक्नेसम्म विदेशमा गएर भाँडा माझ्ने अनि यहाँको विकास कसले गरिदिन्छ ? 
मान्छे मर्दा मलामी पाउन गाह्रो भैसकेको यो देशमा असल नेता कहा खोज्न जाने ? के साँच्चै देश चलाउन नेता पनि अब विदेशबाटै, त्यसमाथि विदेशी सहायता वा विदेशी लाहुरेले पठाएको रेमिट्यान्सबाटै खरिद गर्नु पर्ने दिन आएकै हुन त ? अवश्य होइन । 

नेपाललाई गरिब राष्ट्र, यहाँ त केहि छैन । यहाँ बसेर के काम भन्ने । आफूले खाएको भातको थाल धुन पनि श्रीमतीकै हात कुर्ने तर विदेशमा भने दिनभरी भाँडामाझ्दा पनि खुसी हुँदै सेल्फी हान्ने हाम्रा रेमिट्यान्सदाताले दशै, तिहार, छट, लोसार,तिज जस्ता नेपाली राष्ट्रिय चाँडहरुमा विदेशमा फहराउने ठूलो नेपाली राष्ट्रिय झण्डावाला राष्ट्रवादको के अर्थ ? 

वास्तवमा अर्थ खाज्ने नै हो भने, हामीले पठाएको रेमिट्यान्सले नै यो सगरमाथा बनेको हो भन्ने भ्रम पालेका हाम्रा लाहुरे बन्दुहरुले के भुल्नु हुँदैन कि पैसा एक्लैले मात्रै त केहि हुनेवाला छैन । मान्छेको हात बिनाको रुपैयाँ त केवल कोरा कागज हो । देश बनाउनलाई, देश बनाउने इच्छा चाहिन्छ । देश प्रतिको प्रेम चाहिन्छ । माटो मुछ्ने कर्मठ हात चाहिन्छ । शहरमा एकतले घर बनाउने इच्छाले के देश बन्ला ? तपाईले पठाउनु भएको रेमिट्यान्स छ, यो त सरकारको समृद्धि फुक्ने नारा हो र साथ साथै केहि ठूला नेता, कर्मचारी र कमिसन खोरको चारा हो । यसले त देशमा विकराल आर्थिक असमानता मात्र सृजना गरेको छ ।

ठूलाले गगन चुम्ने र साना कहिल्यै नपलाउने चक्र बनेको छ, यहाँ । जब हामी छिमेकीको घरमा बस्ने बानी परिसकेका हुन्छांै नि, हामीले थाहै नपाई उसको घर पनि सृंगारिरहेकै हुन्छौं । जब एकदिन उसको घरमा केहि वित्यास पर्छ नि, त्यो संकटको घडीमा उसले पहिले आफ्ना लालाबालाको याद गर्नेछ र हामीलाई हाम्रै घरको बाटो देखाइदिनेछ । 

अहिले हामीलाई त्यस्तै भएको छ र संसारलाई नै त्यस्तै भएको छ र विवस पनि छ, छिमेकी । अस्ति भर्खरै मात्रै चीनबाट १ सय ६० विद्यार्थीलाई यहि गरिब मुलुकका हैसियत नभएका नेताले बचाएर ल्याए । कतिको विदेशमा हताहती छ र त्यसको लागि पनि हाम्रो देशको सरकार, जो आफ्नो बल र बुताको प्रयोग गर्दै उनीहरुको उद्धारमा रात दिन खटिरहेकै छ । विदेशमा रमिरहेका हाम्रा रेमिट बन्दुलाई विश्वब्यापि कोरोना आक्रमणको कारण विदेशी राष्ट्रबाट पनि आ–आफ्नो देशमा पठाइरहेका बेला एउटा यस्तो सिकाई जरुरी हुनु त पर्ने नै हो कि, गरिबै भएपनि अविकसित नै भएपनि आखिर अन्तत चाहिने भनेको आफ्नै देश हो । आफ्नै घर हो । 

जहाँसम्म हामी हाम्रो देश गरिब भन्छौ नि, देश कसरी गरिब भयो भन्ने कुरा कहिल्यै सोच्दैनौं । गाउँमा वा शहरमा जब दश लाखको कुलो खन्ने आयोजना आउँछ, त्यो सरकारी आयोजनाले सयौं खाले कमिशनका गुह्या चक्रहरु पार गर्नुपर्छ र अन्तमा एक लाख मात्रैको काम बन्छ । यसको जिम्मेवार को ? तपाई हामी त हौं। 

तपाईलाई जापानको भिषा लगाउँदा तपाईका बाले पचास लाखको सिंगै झोलुङ्गे पुल एक्लै खानु हुन्छ त अनि देश कसरी धनी हुन्छ यार ? जब तपाई आफ्ना लागि गगनचुम्बी महल बनाउने सपनासहित बिसौं लाख खर्चेर विदेश जानुहुन्छ, जब तपाईलाई कुनै संकट पर्छ फेरि सरकारले नै सरकारी प्लेनबाट उद्धार गर्ने स्थिति बन्छ त, देश कसरी धनी हुनु? 

आफ्नो घर घडेरी, टन्न बैंक ब्यालेन्स हुँदाहँुदै जब सरकारले सिटामोल पनि दिएन भनेर हजार बार गुनासो गरिरहन्छांै । आँखा चिम्लेर अकुत सम्पत्ति कुम्लो पारेर विदेशी बैंकमा लुकाउछौं त कसरी समृद्ध बन्छ हाम्रो देश ? के हामी छातिमा हात राखेर भन्न सक्छौं कि, यो गरिब उपमा पाएको हाम्रो देश, दुःख पर्दा चाहिने चुहिने छहारिका लागि हामीले कति लगानी गरेका छौं? कहिले काहिँ त भन्न मन लाग्छ व्यक्ति धनी हुने व्यवस्थामा देश कदापि धनि हुन सक्दैन। अर्थात व्यक्ति धनी हुने देश कहिल्यै धनी बन्न सक्दैन ।

कुनै बेला विश्व विख्यात समाजशास्त्री डोरबहादुर बिष्टले जुम्ला चौधविसका साना–साना बालबालिकालाई हात धुन लगाएर दिएको शिक्षाको प्रसंग पढ्न भुलेका शास्त्री ती रेमिट दाजुसँगको अर्को भेटमा मलाई एउटा प्रश्न सोध्न मन छ, ‘दाई तपाई चाहिँ अहिले मात्रै किन नि नेपालमा?’

आफूले सिन्को पनि विदेशकै भाँच्ने अनि फेरि यो देशमा केहि छैन भनेर प्रश्न तेस्र्याउनेसँग हामीले पनि सोध्नु पर्ने थुप्रै प्रश्न हुन्छन् ।

यसरी दुःखको बेला त्यहि चुहिने धुरिको माया लाग्ने । सुखको बेला झिलीमिली संसारमा रुमल्लिने । रेमिट्यान्सको दम्भमा सम्भ्रान्त ठहरिने, हातमा माटो लाग्दा जात खस्नु जस्तै मान्ने विदेशमै बसेर नेपालको ग्रामिणता, दुर्गमता र गरिबीबारे जिल्ला छाड्नेको कथित राष्ट्रवाद त वास्तवमै मुर्दावाद भन्न लायक छ । जिन्दावाद भन्न होइन । 

आउनुस्,विश्वब्यापि रुपमा सन्त्रास फैलाइरहेको कोरोनालाई राष्ट्रिय एकता तथा राष्ट्र निर्माणको अवसरमा बदलौं । यो एउटा असली मौका पनि हो असली राष्ट्रवाद प्रर्दशन गर्नका लागि । हामी हाम्रो देश हाम्रै मौलिकतामा रहेर बनाऔं । यसको सृंगार गरौं । हाम्रो देश हामी आफैले सृंगार्ने हो। ताकि हामीलाई कसैले पनि कुनै पनि दिनमा यहाँबाट निकाल्ने छैन । यो हाम्रो देश हो ।
 

प्रकाशित मिति: Mar 25, 2020 21:54:09

प्रतिक्रिया दिनुहोस

सबै