काठमाडौंमै साढे दुई रोपनी जग्गामा व्यावसायिक माछापालन

काठमाडौंमै साढे दुई रोपनी जग्गामा व्यावसायिक माछापालन

काठमाडौंको कपनमा साढे दुई रोपनी जग्गा भाडामा लिएर डोमा शेर्पा तामाङ दम्पत्तिले व्यवसायीक माछापालन गरिरहेका छन्। विगत तीन वर्षदेखि माछापालनबाटै परिवारको गुजारा चलाइरहेका यी दम्पत्तिको दिन माछाको स्याहार सुसारमै बित्ने गर्छ।

३३ वर्षीय डोमालाई आफ्ना साथीले गरेको माछापालन व्यवसाय देखेर आफू पनि त्यस्तै गर्ने जाँगर चलेको थियो। उनको जाँगरमा श्रीमान धनकुमार तामाङले प्रोत्साहन गरे।

‘साथीहरूले माछापालन गरेका थिए। सोही देखेर मलाई पनि यस्तै व्यवसाय गर्न रहर लागिरहेको बेला श्रीमानले पनि आँट गर्नुभयो, त्यसपछि सम्भव भयो,' बिएल नेपाली सेवासँग कुरा गर्दै तामाङले भनिन्।

यही व्यवसाय गरेर उनले परिवार पाल्दै आइरहेकी छन्। यद्यपी उनले माछापालन गरेर वर्षौं बितिसक्दा पनि आफूले अहिलेसम्म नाफा वा नोक्सानको अनुभव नगरेको सुनाइन्। 'खै खान लगाउन पुगेकै छ। नाफै त होला नि' उनले भनिन्, ‘नाफा नहुँदो हो त किन यस्तो झन्झटिलो काम गर्थ्यो होला र।’

माछापालनमा हेर्दा जति नै सजिलो देखिए पनि काम गर्न त्यति नै अप्ठारो हुने उनको भनाई छ। ‘माछालाई पोखरीमा मात्र राखेर हुँदैन त्यसलाई आहारा दिनै पर्छ’, उनले भनिन्, ‘कुखुराको आन्द्रा र दाना दिनैपर्छ। स्याहार्न मुश्किल छ।'

माछाका भुरालाई हुर्काउन ६ महिनासम्म लाग्ने उनले बताइन्। ‘हुनत ४ महिनादेखि नै माछा खान योग्य हुन्छ। तर त्यसमा खासै तौल हुँदैन। त्यसैले ६ महिना पुगेपछि मात्रै होलसेलमा बेच्ने गरेका छौं,’ उनले भनिन्।

उनीहरूले चार वटा पोखरीमा माछा पालेका छन्। एउटा पोखरीमा १० हजार माछा अट्छन्। माछा बिक्रीका लागि तयार नभएसम्म महिनामै  १६ हजार खर्च हुने उनले बताइन्। माछा जति बढ्दै गयो त्यति नै बढी खर्च लाग्ने हुन्छ।

तयारी भएका माछा उनीहरूले नै होलसेल कालिमाटी गएर बेच्ने गर्छन्। तर कहिलेकाहि भने व्यापारीहरू घरमै पनि आउने गर्छन्। उनले होलसेल १७० रूपैयाँ प्रतिकेजीमा माछा बिक्री गर्दै आएकी छन्।

तामाङ दम्पतिले माछापालनसँगै हाँस र कुखुरा पनि पालेका छन्। अहिले उनीहरूको खोरमा १२० वटा भन्दा बढी हाँस र त्यतिकै संख्यामा लोकल कुखुरासमेत पालेका छन्।

यसबाट अतिरिक्त आम्दानी हुँदै आएको उनले सुनाइन्। उनीहरू प्रतिहाँस ७/८ सय रूपैयामा बेच्दै आएका छन्। माछापालन व्यवसायले उनीहरूको परिवारलाई खान लाउन र वार्षिक ६० हजार जग्गा भाडा तिर्न पुगिरहेको छ। उनीहरूका ६ वर्षको छोरी र ४ वर्षको छोरा छन्।

पछिल्लो समय कोभिड-१९ को रोकथामका लागि नेपाल सरकारले गरेको लक डाउनले उनीहरूको व्यवसायमा असर परेको छ।

‘लकडाउनले श्रीमान गाउँमै फस्नुभयो। माछा र हाँसका लागि चारो लिन जान मान्छे नै छैनन्। आफैं जान पनि सक्दिनँ। एउटा गाउँले भाइलाई लिन पठाउने गरेको छु। तर कहाँ सधै अरूले ल्याईदिन्छन् र?,' उनले भनिन्,‘अब छिट्टै लकडाउन खुलोस्।'

नेपालमा पछिल्लो समय तिब्र रूपमा देखापरेको कोभिड-१९ को त्रास उनलाई पनि परेको छ।

उनी हिजो आज दैनिक साबुन पानीले १०/१२ पटक हात धुने गरेकी छ्न्। स्यानीटाइजरको पनि प्रयोग गर्ने गरेको उनले बताइन्। अहिलेको भाइरसबाट बच्नका लागि स्वयम नै सचेत हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: May 05, 2020 16:48:38

प्रतिक्रिया दिनुहोस

सबै